Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसाकार कहिले होला मेलम्ची सपना ?

साकार कहिले होला मेलम्ची सपना ?


काठमाडौं । चैतको तेस्रो सातासम्म काठमाडौँमा पानी ल्याउने समाचार सम्बन्धित क्षेत्रले सञ्चारमाध्यमहरूमा भन्दै आएको छ । मूलतः गत साउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यसमा नेपाल सरकारले विसं २०७९ वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने लक्ष्य राखेको हो । अब मेलम्ची खानेपानी आयोजनालाई पानी उपभोक्ताहरूको भनाइ रहेको छ । जसरी गत वर्ष पानी वितरण गरेको सम्पूर्ण उपभोक्ताहरूलाई चित्त बुझेको छैन । किन भनेदेखि नेपाल सरकारले मेलम्ची खानेपानी आयोजनामा ठूलो लगानी गरेर ल्याएको ठूलो ओयोजना हो ।

गत वर्ष भने मेलम्ची खानेपानी पुरानो पाइपबाट पानी दिएको थियो । जसमा चार/पाँच सय स्थानहरूमा पानी चुहेर खोला नै बगेको थियो भने कतिपय घरमा भने एक थोपा पनि पानी धारामा आएको थिएन । यी पुराना पाइपहरू सयौँ वर्ष पुरानो र खिया लागेर पानी पनि नआउने अवस्था रहेको छ । यी कुराहरूलाई बेलैमा सम्बन्धित क्षेत्रको ध्यान पुगोस् । यस्तो किसिमको असमान तरीकाले पानीको वितरण गर्ने प्रणालीलाई हटाउनको लागि सम्बन्धित क्षेत्रलाई अनुरोध पनि गरिन्छ । अब आउने नयाँ सालमा भने मेलम्ची खानेपानीलाई नयाँ पाइपबाट नै पानी वितरण गरिदिनुहुन सम्पूर्ण ग्राहकवर्गको अनुरोध पनि रहेको छ ।

सरकारले विसं २०२९ सालदेखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालेकामा विसं २०४१ सालमा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्चीलगायत विभिन्न २२ वटा विकल्प पहिचान गरेको थियो । विसं २०४९ को तुलनात्मक अध्ययनबाट आर्थिक र प्राविधिकरूपमा उत्तम विकल्पका रूपमा मेलम्ची, यांग्री र लार्के नदीबाट दैनिक कुल ५१ करोड लिटर (प्रत्येकबाट १७ करोड लिटर) पानी काठमाडौँ उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निष्कर्ष निकालिएको थियो । फलतः आयोजनामा एसियाली विकास बैंकले कुल लागतको झण्डै ८० प्रतिशत र नेपाल सरकारले २० प्रतिशत लगानी गरेको छ । आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको थियो । तसर्थ संघीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षामा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटर मात्र भइरहेको छ । यसर्थ वीर शमशेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करिब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । यसरी उपत्यकामा ३० देखि ४० प्रतिशत खानेपानी चुहावट भएको सम्बन्धित क्षेत्रले जनाएको छ । यसरी मेलम्ची आएपछि हिउँदमा पनि २५ करोड लिटर पानी वितरण गर्न सकिने मन्त्रालयले जनाएको छ । जबकि धारामा पानी नआए पनि ८० देखि ८५ प्रतिशत उपभोक्ताले मासिकरूपमा महसुल तिरिरहेका छन् ।

मुलुकमा झण्डै तीन दशकदेखिको मेलम्चीको पानी खान पाउने राजधानीवासीको सपना पूरा हुने अवस्थामा झिनो आशा पलाएको छ । फलतः खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेपछि सुरुङमा पानी हालेर परीक्षण सुरु गरिएसँगै राजधानीका धारामा छिटै मेलम्चीको पानी झर्ने सम्भावना बढेको हो । यसरी मेलम्चीको पानी वितरण गर्न काठमाडौंमा एक सय ४४ वितरण केन्द्र निर्माण गरिएको र २६ केन्द्र तयारी हालतमा रहेको आयोजनाले जानकारी दिएको छ । यसर्थ पाइपलाइनमा पानी हाल्दै परीक्षण गर्दै अघि बढ्ने र पहिलो चरणमा चक्रपथभित्रका करिब ३० हजार धारामा पानी वितरण गर्न सकिने आयोजनाले जानकारी दिएको छ । अहिलेलाई सुन्दरीजल जोड्ने २६ किलोमिटर लामो सुरुङमा प्रतिसेकेण्ड दुई सय ६० लिटर पानी जाने गरी परीक्षण गरिएको हो । सुरुङ भरिन करिब १६ दिन लाग्ने प्राविधिक अनुमान गरिएको छ । त्यसपछि सात दिन सुरुङभित्रको समग्र अवस्थाका बारेमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै प्राविधिक टोलीले निरीक्षण गर्नेछ । सबै अवस्थाको जाँच पड्ताल गरिसकेपछि सुरुङ ठीक रहेको निष्कर्ष निकाल्ने र सुन्दरीजलमा पानी झार्ने तयारीमा मन्त्रालय छ । यसरी राजधानीवासीहरूको घर–घरमा पानी पु-याउन दुई महिनाको समयसीमा लाग्ने अनुमान उक्त आयोजनाले गरेको छ ।

समग्रमा भन्नुपर्दा नेपाल सरकारकारले तय गरेको राष्ट्रिय गौरवको आयोजना २५ मध्ये कुनै पनि आयोजनाहरूको समयमै सम्पन्न हुन सकेको छैन । त्यसमध्ये मेलम्ची पनि एक ठूलो राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजना गत असार/श्रावणतिर गएको पहिरोको कारण मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउन रोकिएको थियो । यसरी सिन्धुपाल्चोकको यांग्री, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य प्रवेशद्वार (बफर ड्याम) हेड वक्र्स र अडिट टनेलमा थुप्रिएको गेग्रान र लेदो हटाएर पानी सञ्चालन गर्ने तयारी भइरहेको छ । सोही खानेपानी मन्त्रालयले उक्त लक्ष्यअनुरूप आयोजनालाई समयअगावै सम्पन्न गर्नेगरी कार्ययोजनासहित काम गरिरहेको छ। यसको साथसाथै उक्त सफाइको काम सकिएलगतै मुहानबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा पठाउने तयारी भइरहेको छ ।

यस आयोजनामा बाढीले क्षति पुगेको क्षेत्रमा कार्ययोजनासहित काम भइरहेको छ । जसले गर्दा कार्यप्रगति सन्तोषजनक रहेकाले तोकिएको समयै पानी सुचारु हुने दाबी सम्बन्धित क्षेत्रको रहेको छ । यसमा चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइका लागि ३५ करोड रुपियाँको ठेक्का पाएको थियो । उक्त कम्पनीले तोकेको समयभन्दा एक महिनाअघि काम सक्ने गरी अन्य तीनवटा सहायक ठेकेदारमार्फत काम गरिरहेको छ । अतः काकाकुल उपत्यकावासीको तिर्खा मेटिएला भनेर पर्खेको झण्डै तीन दशक हुन लागि सकेको छ । फलतः आयोजना प्रगतिको कछुवा गतिले राजधानीवासीको धैर्यको बाँध टुटाउन लागेको छ । राजधानीवासीलाई आयोजना सञ्चालकहरूले दिएको आश्वासन पट्ट्यारलाग्दो गरी कुरेका छन् ।

पछिल्लो पटक आयोजनाकै तर्फबाट विभिन्न सयममा राजधानीमा मेलम्चीको पानी आउने आश्वासन दिइएको थियो । तर मुहान र सुरुङ क्षेत्रमा भएको प्रगतिसँग मेलम्ची आयोजना नेतृत्वले दिएको आश्वासन मेल खाँदैन । सरकारले सन् २००१ मा एसियाली विकास बैंक (एडीबी) सँग ऋण सम्झौता गरी सात वर्षभित्र काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने लक्ष्य राखेयताका १९ वर्षको प्रगति विवरणले देशको समग्र विकासको बेथितिलाई दर्साइरहेको छ । यो गतिहीनता प्राकृतिक होइन, मानवसिर्जित हो । हदसम्मको यस्तो हेल्चेक्र्याइँका जिम्मेवारमाथि कारबाही चलाउनुपर्ने हो ।

देशमा दण्डहीनता मौलाएका कारण आयोजना ढिला भए पनि कसैलाई जिम्मेवार ठह-याइन्न । सन् २००७ को लक्ष्यलाई पटक–पटक सार्दै २०७५/७६ सालसम्ममा मेलम्चीको पानी काठमाडौंमा आउने समयसीमा परिवर्तन भई नै रहेको छ । त्यो समयसीमा पनि टर्दै गएको छ । अनि मेलम्ची आउला भनी काठमाडौंवासीले धुलो खाँदै पर्खिबसेकाहरूले पनि केका निम्ति धैर्यधारण गर्नुपर्ने हो, गम्भीर प्रश्न उब्जिएको छ । अतः आयोजनामा देखिएको सुस्तताको कारण सरकारदेखि आयोजनाका अधिकारीसम्मको चरम लापरबाही र अनुत्तरदायी कार्यशैली हो । सोहीबमोजिम कार्य हुने हो भने विसं २०७८ चैत्र मसान्तसम्ममा काठमाडौं उपत्यकामा पानी आइपुग्ने सम्बन्धित क्षेत्रको भनाइ पनि टरेर नजाओस् । यसरी बारम्बार मेलम्चीको पानी ल्याउने समयसीमा परिवर्तन हुनाले आश्वासन पनि दिवा सपनाजस्तो मात्र हुन्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

1
0
Would love your thoughts, please comment.x
()
x