Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवैदेशिक अध्ययनका लागि विद्यार्थी बाहिरिँदा अर्बौँ विदेशियो

वैदेशिक अध्ययनका लागि विद्यार्थी बाहिरिँदा अर्बौँ विदेशियो


काठमाडौं । देशमा रोजगारी नभएको कारण अधिकांश नेपालीहरू विदेशिन बाध्य भएका छन् । यसका साथै उच्च शिक्षा अध्ययनका लागि पनि विदेशिने क्रम दिनानुदिन बढ्दोछ । हाम्रा शिक्षण संस्थाले उत्पादन गरेका जनशक्तिका लागि उपयुक्त वातावरण र गन्तव्य हुन नसक्दा विद्यार्थीको ठूलो समूह बाहिरिएको हो । यसका लागि दक्ष जनशक्ति उत्पादन गरी बजारमा बिक्ने खालको शिक्षा दिन हाम्रा विश्वविद्यालय तयार हुनुपर्ने देखिन्छ ।

व्यावहारिक र प्राविधिक शिक्षामा राज्यले जोड दिन नसक्दा हरेक वर्ष विद्यार्थी अध्ययन गर्न विदेशिने क्रम बढिरहेको छ । शिक्षालाई सीप र सीपलाई उत्पादनसँग जोड्ने शिक्षा नै आजको आवश्यकता हो । एकातिर शिक्षण संस्थामा हुने प्रत्यक्ष राजनीतिक हस्तक्षेप नियन्त्रण गर्न नसक्दा गुणस्तरीय शिक्षामा समेत राज्य पछाडि परेको छ । शिक्षा विकास र समृद्धिको मूलबाटो भएकाले दिगो विकासको लक्ष्य शिक्षाबाट मात्र सम्भव हुन्छ । त्यसैले हाम्रो शिक्षा गुणस्तरीय र समयसापेक्ष हुनु आवश्यक छ ।

सरकारी तथ्याङ्कअनुसार हरेक वर्ष ६० देखि ७५ हजार युवा विद्यार्थी विदेश अध्ययनका लागि जाने गर्दछन । उक्त जनशक्ति विदेश गएपछि विरलै फर्कने गरेको देखिन्छ । प्रत्येक वर्ष अबौँं रूपैयाँ वैदेशिक शिक्षाका नाममा देशबाट बाहिरिने गरेको छ । यसरी बाहिरिने क्रमलाई नरोक्ने हो भने हाम्रो युवा प्रतिभा र पैसा सबै विदेशीको हातमा पुग्छ । यसलाई रोक्न हाम्रा शैक्षिक संस्था सबल हुनु आवश्यक छ । देशका प्रत्येक विश्वविद्यालय राजनीतिले ग्रस्त छन् । सरकारको पूर्वाधार, प्राज्ञिक जनशक्ति भए पनि शैक्षणिक सुधारका पक्षमा कटिबद्ध नहुँदा विश्वविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने उद्योग बनेका छन् ।

केही वर्षदेखि शिक्षा मन्त्रालय र नेपाल सरकारसँग सम्बन्ध नै नराखी विदेश पढ्न जाने विद्यार्थीको संख्या बढिरहेको छ । विद्यार्थीले समयसापेक्ष गुणस्तरीय शिक्षा प्राप्त गर्नसके वा सकेनन् यसतर्फ राज्यको ध्यान पुग्न सकेको छैन । विदेशिएको जनशक्तिको ज्ञान र क्षमता स्वदेशी बजारमा कति उपयोगी छ भनेर सरकारले कहिल्यै आकलन गरेको देखिँदैन । अदक्ष कामदारका कारण विश्वबजारमा नेपाली श्रमिकको जीवन पीडादायक र कष्टकरसमेत बन्न पुगेको छ ।

विदेशमा प्रशिक्षित जनशक्तिलाई कसरी नेपाल फर्काउने र नेपालमै रोजगारी वा व्यवसाय गर्ने वातावरण बनाउने भन्नेमा सरकारको ध्यान पुगेको देखिँदैन । आकर्षक विज्ञापन र चोकचोकमा खुलेका कन्सल्टेन्सीका कारण उनीहरूको सम्पत्ति सकिएको छ भने ती कन्सल्टेन्सीमार्फत भएका विद्यार्थीले विदेशमा थुप्रै समस्या भोग्नुपरेको पनि देखिन्छ । कतिले त ज्यान पनि गुमाएका छन् । सरकारी नीतिकै कारण उच्च शिक्षाका लागि विदेशिएका युवा नेपालमा कमै फर्केको देखिन्छ । यो प्रतिभा पलायनलाई नरोक्ने हो भने मुलुक अघि बढ्न सक्दैन ।

हालको तथ्याङ्कअनुसार कुल तीन लाख २३ हजार नौ सय ७२ जना विद्यार्थी विश्वका विभिन्न देशमा अध्ययन गर्दै छन् । गतवर्ष ६३ हजार तीन सय ५९ जनाले विदेश अध्ययनका लागि निवेदन दिएका थिए । जबकि २०६८/६९ मा १० हजार तीन सय २४ र २०७४/७५ मा ५६ हजार दुई सय १६ जनाले अनुमति पाएका थिए । अस्ट्रेलियापछि उच्च शिक्षाका लागि विद्यार्थीको रोजाइमा परेको जापान दोस्रो हो । गतवर्ष ६३ हजार नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । उच्च शिक्षाका लागि खासगरी नेपाली विद्यार्थीले विश्वका ३९ भन्दा बढी मुलुकलाई शैक्षिक गन्तव्य बनाएको देखिन्छ । मुख्यतया उनीहरू ती देशमा स्वास्थ्य, व्यवस्थापन, विज्ञान प्रविधिलगायत विषयमा अध्ययन गर्न गएको देखिन्छ ।

शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०१७/१८ मा ५८ हजार ७५८ विद्यार्थी अध्ययनका लागि विदेश गएका थिए । यसमा अष्ट्रेलिया जानेको संख्यामात्र ६३ हजार दुई सय ५९ थियो । जबकि २०१३ मा मात्र जम्मा १६ हजार पाँच सय विद्यार्थी विदेश अध्ययन गर्न गएका थिए । यसबापत १५ अर्ब १२ लाख नेपाली रकम विदेशिएको देखिन्छ । सन् २०१८ को जुन/जुलाईमा सबैभन्दा बढी विद्यार्थीले विदेश अध्ययनका लागि अनुमति लिएको देखिन्छ । सन् २०१८ को तथ्याङ्कमा ६९ राष्ट्रमा अध्ययनका लागि विद्यार्थी गएको पाइन्छ । यसरी जानेमा ६० प्रतिशतले अस्ट्रेलिया आफ्नो पहिलो शैक्षिक गन्तव्य बनाएको देखिन्छ । यसका लागि उनीहरूले ४१ अर्ब नेपाली रकम खर्च गरेको पाइन्छ । सन् २०१८ मा अमेरिका अध्ययनका लागि जानेको संख्या एक हजार चार सय ९१ थियो । यसरी प्रत्येक वर्ष विद्यार्थी विदेशिँदा नेपाली अर्थतन्त्रको ठूलो अंश पनि विदेशिएको छ ।

यसरी वर्षैपिच्छे विद्यार्थीहरू किन विदेशिएका हुन् ? उनीहरूलाई कसरी नेपालमै स्थापित गराउने भन्नेमा राज्यको ध्यान दिएको देखिँदैन । विदेश पढेकाको प्राप्त ज्ञान र सीप स्वदेशी भूमिमा नै प्रयोगमा ल्याउन सरकारले कुनै कदम चालेको छैन । वास्तविक यसकै कारण हुनसक्छ विदेश भएको युवाशक्ति नेपाल नफर्किएको ।

स्वदेशमा अध्ययन र यसको गन्तव्य स्पष्ट नदेखेर विदेशिएका युवामा जन्मभूमिप्रति अधिक प्रेम सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारबाट थाहा पाउन सकिन्छ । गाउँमा शिक्षा र अवसर नभएर सहर पस्ने अनि सहरबाट विदेशिनुपर्ने शृङ्खलाको अन्त्य कहिले हुने हो ? आफ्नै विश्वविद्यालयमा अध्ययन गरी देशमै वस्तु तथा सेवा उत्पादन गर्ने मानव स्रोत साधनको पहिचान हुन जरुरी छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x