खोटेहाङ क्षेत्र विकासमा कृषि तथा पर्यटनको महत्व
काठमाडौं । खोटेहाङ गाउँपालिका खोटाङ जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका हो । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि करिब ७६ किमि दक्षिणमा रहेको यस गाउँपालिका किराँतहरूको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थान हो ।
किराँतकालीन राज्य व्यवस्थामा यस स्थानमा खोटे नाम गरेका किराँती राजाले राज्य गरेको इतिहास पाइन्छ । खोटाङ शब्द कसरी उत्पन्न भयो भन्ने सन्दर्भमा खोजी गर्दा बादलभित्रका ताराहरू नामक पुस्तकमा उल्लेख गरेअनुसार किराँतीहरू विभिन्न शाखा उपशाखामा विभक्त छन्, तसर्थ भाषाहरू पनि फरक–फरक छन् । त्यसमध्ये एउटा शाखा चाम्लिङ हो र चाम्लिङभित्रको विभिन्न उपशाखामध्ये खोताहोंछा एउटा पाछा (उपशाखा) हो । किराँतहरूको घना आवादी रहेको ठाउँमा ‘त’ वर्गको शब्द उच्चरण गर्दा अझै पनि ‘ट’ उच्चारण गर्ने चलन भएको पाइन्छ । जसले गर्दा खोतोहोंबाट खोटोहोङ भएको हो भन्ने भनाइ रहेको पाइन्छ ।
चाम्लिङ भाषामा राजा बुझाउने शब्द ‘होङ’ भएकाले खोटोहाङ हुँदै खोटाङ शब्दको उत्पत्ति भएको हो र यही शब्दबाट जिल्लाको नामाकरण समेत खोटाङ भएको हो भन्ने भनाइ रहेको पाइन्छ । खोटाङ जिल्लाको नामकरण समेत यसै गाउँपालिकासँग सम्बन्धित भई राखिएको हुनाले खोटाङ र खोटेहाङ शब्दको उत्पत्ति एकै प्रकृतिको रहेको देखिन्छ । यस पालिकाभित्र ‘खोटे’ नामका राजाले शासन गरेको र किराँत भाषामा राजालाई हाङ भनिने हुँदा खोटे र हाङ खोटेहाङ (खोटेराजा) नामाकरण गरिएको पाइन्छ । विसं २०७८ सालको जनगणना को प्रारम्भिक प्रतिवेदनअनुसार यस गाउँपालिकाको जनसंख्या १६ हजार नौ सय ५२ रहेको छ, जसमा महिला आठ हजार पाँच सय ३५ र पुरुष आठ हजार चार सय १७ रहेको छ ।
धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलहरूले भरिपूर्ण यस पालिकाभित्र सोलढुङ्गा (सानो हलेसी), कालिका भगवती, पामाखामगढी, गुप्तेश्वर, नाछिरिङ, माहादेवथान, सिद्धेश्वर गुफा, कपासे भञ्ज्याङ, सेल्मे गुँरास पार्क, लुछुम्बु झरना, साकेन्वा थान (चण्डी मन्दिर), थामखर्क विमानस्थल, इन्द्राणी पोखरी, कत्ले छाँगा, चुल्ठेछाँगा, छरछर झर्ना, शङ्खेश्वर महादेव मन्दिर, टुँडीखेल, गणेश मन्दिर, बागेढुंगा, भैरवी मन्दिर, रक्तमाला देवी, सात तले झरना, रोक्सिम भञ्ज्याङ, विभिन्न देवी देउराली आदि ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू यस क्षेत्रमा अवस्थित छन् । यस क्षेत्र कृषि, पशुपालनको लागि समेत अति महत्वपूर्ण स्थान हो । खोटाङ जिल्लाकै प्रसिद्ध ‘रावाको माछा, सावाको भात, आँपचौरको दही, मजुवाको पात’ भन्ने चलन छ । तीमध्ये सावा यस गाउँपालिकामा पर्दछ ।
विश्वमा सूचना र सञ्चारको जगतमा एक्काईसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा महामारीको रूपमा फैलिएको कोरोना माहामारीले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि कृषि तथा पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।
समृद्ध गाउँ तथा नगरको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक, संस्कृतिक र पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।
यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिवाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।
भगवान गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रूपमा मात्र विश्वमा परिचित नभई वीर गोर्खाली, पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रको रूपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको संगमस्थल रहेको क्षेत्र हिन्दू तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्रामस्थलको रूपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौँदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मिहिनेती समुुदायको साझा फूलबारी हो ।
यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमिले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीयस्थल हुँदाहुँदै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण खोटेहाङ क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ ।
ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहना प्राकृतिक सौन्दर्यको अनुपम उपहार खोटेहाङ क्षेत्र हो ।
यस क्षेत्रको लागि एकीकृत कृषि तथा पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षणस्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन बजेटको अभावमा सकिएको स्थिति पाइँदैन ।
यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू पालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने आवश्यक पक्की सडक, नियमित हवाई यातायात, सञ्चार, विद्युत्, खानेपानीको उचित व्यवस्थापन, होमस्टे तथा होटलहरूको स्थापना, स्थानीय कृषि उपजको व्यवस्थापन आदिको विकास गर्नुपर्ने अवस्था छ । त्यसैले, खोटेहाङ क्षेत्रको लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित पर्यटकीय गुरुयोजना तर्जुमा गर्नु समयको माग हो ।
अतः कृषि, अमूल्य वनस्पति तथा जडीबुटी, पर्यटन विकास, धार्मिक, सांस्कृतिक, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यस क्षेत्रको समग्र आम्दानीमा कृषि तथा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरगाउँपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत कृषि तथा पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । खोटेहाङ गाउँपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ ।
पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य स्रोत र साधनले भ्याएसम्म गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरूको विकास गरी कृषि तथा पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ ।
कृषि तथा पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै खोटेहाङ गाउँपालिका क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ ।
जसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरी नमूनाको रूपमा खोटेहाङ क्षेत्रलाई विकास गर्न सकिन्छ । पूर्वाधारको विकास सँगसँगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न सकिन्छ । लेखकः डा. अधिकारी गुणस्तर जीवनमा विद्यावारिधि ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया