Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअर्थ साहित्य : खुसी र सुखीको कुरा

अर्थ साहित्य : खुसी र सुखीको कुरा


काठमाडौं । नारायण गोपालको गीत कसलाई मन नपर्ला ? ‘मलाई नसोध कहाँ दुख्छ घाउ, यो रुने मन छ म हाँसौँ कसोरी’ अर्थ राजनीतिमा अर्थ साहित्य मिसाउँदा सरस होला बढी ।

सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कले सार्वजनिक गरेको वर्ल्ड हेप्पिनेस रिपोर्ट २०२२ ले नेपाललाई विश्वकै खुसी देशको सूचीमा राखेछ, दक्षिण एसियामै अत्यन्त खुसीको सूचीमा पर्ने देशको नागरिक भएछौँ हामी, गौरव मान्नु पर्ला, त्यसको आधार के हो, यद्यपि अमेरिकामा पनि ऋण नभएको होइन, गरिब पनि, गोल्डेन टच कथामा राजालाई सुनकै छोरी, सुनकै पलङ र खाना पनि सुनका डल्ला थिए तर अन्त्यमा उनले हार खाए र पनि न्यूनतम पूर्ति नभई दिल खोलेर हाँस्न सकिन्न, नहाँसी सुखी कसरी ? यो वर्ष मात्रै होइन अघिल्लो वर्षमा पनि विश्वको एक सय ५० देशमा हाम्रो देश लगातार खुसीको सूचीमा दर्ज हुनु, संसारमा ८५औँ स्थानमा पर्न सफल हुनु गौरवको कुरा हो । अघिल्लो वर्ष सन् २०२१ मा ८७औँ स्थानबाट माथि उठेर अहिले ८५औँमा पर्नु हामीभन्दा पछाडि मात्रै बुल्गेरिया र माल्दिभ्स हुनु, नजिकको बंगलादेश ९४औँ स्थानमा हुनु र निकट छिमेकी भारत १३६औँ मा देखिँदा हाम्रो दौड राम्रो होला, त्यसै भनेका रहेनछन् स्रष्टाहरूले ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ, आँफू मिटाई अरुलाई दिनु जहाँ छ’ ।

No description available.

हामी गरिवको कर उठाएर कार चढ्छौँ त्यसैले खुसी छौँ, भारतमा युक्रेन वारको बाछिटाले पेट्रोल डिजेलको भाउप्रति लिटर ८० पैसा बढ्दा यहाँ पाँच बढ्छ, त्यसैले खुसी छौँ, लोकतन्त्रको नमूना संसद् वर्षदिनमै दुईपल्ट कोमामा जान्छ र खुल्यो भने विधेयकहरू पास हुन्नन्, इतिहासमा चलेको जनकपुर जयनगर रेल चलाउन अध्यादेश ल्याउँछौँ यतिबेला, त्यसैले हामी खुसी छौँ र हाम्रो राजनीतिक एजेण्डा नै ‘सुखी नेपाली र समृद्ध नेपाल’ हो, खुसी नभई धरै छैन । जुन देशमा महिला राष्ट्रपति छन् र लैंगिक हिंसाले उखरमाउलो गरेको छ, १३ वर्षकी निर्मलाहरूले बलात्कार पछि ज्यान गुमाउँछन्, मात्रै होइन डेढ वर्षकी बालिका बलात्कृत हुन्छिन् र स्कुले दुधे बालिकालाई शिक्षकले आँखा लगाउँदा लेटाङको भिडले प्रहरी जवानको हत्या गरिदिन्छ, त्यसैले हामी खुसी छौँ ? जुन सहरमा तीस वर्षको नारामा मेलम्ची उठ्दैन, राजधानी काकाकुल हुन्छ र फोहर उठ्दैन, सन् २०३० भित्र सबैलाई पानी र सरसफाइको राष्ट्रिय नारा पनि हुन्छ त्यसैले हामी खुसी छौँ ।

१६ वर्षमा सक्षम हुन्छ नागरिक भन्दै नागरिकता दिइन्छ, सवारीचालक प्रमाणपत्र लिन लाइन बसाइन्छ, चुनावको अघिल्लो दिन १८ वर्ष पुग्नासाथ बुथमा लाइन बस्न पाइन्छ तर युवा होइन बुढो भइसक्दा रोजगारी पाइँदैन र हामी खुसी नै छौँ ।जुन देशमा तिहारको भाइ मसला, दशैँको खसी, बोका, माघे संक्रान्तिको तरुल, तीजका साडी, मात्रै होइन फागुको लागि मात्र दुई अर्बको रंग आयात गरिन्छ, नाना, खाना, दाना, छानाका वस्तु आयात हुन्छ र उच्च व्यापारघाटा छ, आयात भएका वस्तुबाट झण्डै आधा राजस्व उठाइन्छ त्यसैले खुसी भयौँ हामी ।

पानी नआउने धारामा बिल र जरिवाना, पढाइ नहुँदा पनि तिर्र्न नसकिने विद्यालयको बिल, सामान्य बिरामी पर्दा घर, घडेरी बेचेर उपचार गर्नुपर्ने, उठेको करले दलका नेताहरू विदेशमा रहेर उपचार पाउने, विदेशी ऋण र अनुदानले कसैलाई केही भन्न नसकिने, चुच्चे नक्सालाई कागजमै राख्नुपर्ने, विदेशीहरूलाई दिन रात कोठामै रातो कार्पेट बिच्छ्याउनुपर्ने, नारी दिवसमा अरुले आएर ग्यास सिलिन्डर, चुलो वितरण गरिनुपर्ने, छ हजार बढी नदीनालाहरूबाट पानी खेर जाँदा यहाँ सिँचाइ नहुने, रासायनिक मल, बीउको लागि पर निर्भर भई कृषिप्रधान देश भन्दै आलु, प्याज, सागसब्जी, दाल, गेडागुडी सबै विदेशबाट ल्याउनुपर्ने, त्यसैले खुसी छौँ हामी ।

धेरै युवालाई विदेश धकेलेर, यहाँ भएका युवालाई राजनीतिमा लगाएर विकासतिर पटक्कै नलगाउँदा, खेत बारी बाँभैm हुँदा, असारे विकासले माटो गलेर भूक्षय, बाढी, पहिरो गइरहँदा, अवैध पैसालाई व्यापारीहरूले राखिदिँदा, लगानी गरिदिँदा, राजनेता हुन ५० वर्षसम्म सिद्धान्त र दुरदृष्टि राख्नुको साटो दिनदिनै बोली फेर्दा, अप्राकृतिक गठबन्धन हुँदा, दलीय व्यवस्थामा फ्लोर क्रस गरी मतदानमा भाग लिँदा, सूर्यलाई भोट दिएका जनता कलम भएर घर आँगनमा आउँदा नागरिक सम्प्रभूत्ता भन्ने हामी खुसी नभए को हुने ? जुन देशमा आर्थिक वृद्धिदर साँढे आठ प्रतिशतको लक्ष्य तर उपलब्धि ऋणात्मक अनि अरुले दान दातव्य दिएका खोपले कोरोना धपाउने, दुई जना संक्रमित हुँदा देशै ठप्प हुनेगरी पूरै बन्द गर्ने, भकाभक ज्यान जोखिम हुँदा भेन्टिलेटर, ओखती, आइसोलेसन वार्ड नपाई रोइरहँदा अभिभावक नपाउँदाको आँसु पिएरै त हामी खुसी भएका छौँ ।

आत्महत्याको सूचीमा विश्वको दशौँ स्थानमा पर्ने, भूकम्पीय उच्च जोखिम, संसारमै खराब मौसम र प्रद्रूषण, भौगोलिक विकटताले सवारी दुुर्घटनाको उच्च जोखिम, यहाँबाट चल्ने वायुयानले युरोपयात्रा गर्न नपाउने, भारत, चीन मौन बस्दा एक कदम अगाडि बढेर युक्रेनतिर समर्थन जनाउँदै असंलग्नताको नीतिमा कायापलट गराउने, यहाँको भू–राजनीतिको अध्ययनविना नै कसैसँग दुई हात अघि बढेर मित्रता गाँस्ने, पहिले हुन्न भनेर जनता उचाल्ने अनि दुई चार फोनबाटै संसदमा एमसीसी सदर हुने, सदरपछि तुरुन्तै संसद् बन्द हुने, हिंसाले ग्रस्त विगत, लगातार १० वर्षसम्म जनयुद्ध, भू–कम्पले ध्वस्त, कोरोनाले आर्थिकस्तर घटाउँदा हामी खुसी छौँ । समाज खण्डित छ, धर्मको नाममा, वर्गका नाममा, जात जातिका नाममा, भूगोल भनौँ प्रदेशका नाममा, १९१० देखि चलेको मुलुकी ऐन शारीरिक आवश्यता र समाजशास्त्रको अध्ययनविना नै परिवर्तन भयो, अहिले धेरै यौन केसहरू प्रहरी, अदालतमा गएका छन्, सामाजिक मान, प्रतिष्ठामा आँच आएको छ, सामाजिक सञ्जाल र युट्युबहरूको अवस्था के छ, हेरिसक्नु छैन, यसरी नसंग्लिएको राजनीति र नसम्हालिएको सामाजिक संरचना हेरेर हामी खुसी छौँ ।

व्यापारीहरू मात्रै छिरेनन् राजनीतिमा देशैभरि कलाकारहरूको बाढी आएको छ यसमा र हामी खुसी छौँ, त्यसैले भनिएछ राजनीति सबैको माउ नीति भनेर । राजनीति यति सत्रिय छ देशमा कि आयोगले पदबहाली हुँदा हुँदै चुनाव लड्न पाइन्न भन्छ, हामी हत्तपत्त केस हालिहाल्छौँ अदालतमा । भारतमा स्थानीय चुनाव दलगतरूपमा हुन्न, चीनमा त चुनावै हुन्न, यहाँ दलीय आधारमा चुनाव त हुन्छ तर दल अदल बदल पनि हुन्छ र चितवन मात्रै होइन सिटहरू अन्यत्र पनि सुरक्षित हुन्छन् साटेर, तर काठमाडौँ उपत्यकामा उहिल्यैबाहेक एकै जातिभन्दा अरुले मेयरको हातलागी गर्न सकेका छैनन्, अहिलेका मेयरले पदबहाली गरेपछि कुचो लिएर सडकमा निस्के तर बन्चरे डाँडोले बन्चरो देखायो, ओखरपौवाले कडा ओखर, सिस्डोलले सिस्नो, फोहोर त घरको घरैमा, सडकको सडकैमा । सिंहदरबारको नक्कल गरे उनले पनि धारा बत्ती छुट, बजेटमै भने अर्थमन्त्री र मेयर दुवैले तर बत्तीमा झन् बढीको बिल आयो, धाराको अफिसमा गएको फटाहा कुरा लिएर नआउनूस् भने पंक्तिकारलाई । अब केरुङको रेल, काठमाडौँको मोनोरेल, विद्युतीय गाडी, पूर्व–पश्चिम रेल रेडियोमा बज्ने गीतमा सीमित भएनन् भन्न सकिएन ।

सामाजिक, आर्थिक, भौगोलिक, वातावरणीय उपसूचकहरूलाई आधार मान्दै खुसीको स्तर कायम गरिएको रहेछ रिपोर्टमा । सबैभन्दा खुसीको देश रहेछ फिन्ल्यान्ड र नेदरल्यान्ड । नेपालभन्दा तीन स्थान माथि रहेछ ८२औँ स्थानमा चीन, चर्चित देश रसिया ७४औँ र साँढेको जुधाइमा पर्ने देश युक्रेन रहेछ १०८ औँ स्थानमा । खत्तमको सूचीमा रहेछ अफगानिस्तान र त्यसपछि लेबनान अनि जिम्बाबे । नहोस् पनि कसरी युद्धका बाछिटाहरू कति आए त्यहाँ ? फिनल्यान्ड त लगातार पाँच पटकसम्म सर्वाधिक बनेछ खुसीको सूचीमा, प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक संरचना र समर्थन, स्वस्थ औसत आयु, जीवन सञ्चालन गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको कठोर अवधारण आदिको मापदण्ड बनाई यस्ता सूचीको सार्वजनिक गरिने रहेछ ।

तर ट्रान्सपरेन्सी इन्टरनेसनलले के भन्यो विगतैदेखि, तादात्म्यकता भएन कि, साँच्चै देशमा सुशासन भएको पो हो कि ? सुशासन भएको भए अख्तियारमा दिन दिनैको मुद्दा कसरी आयो, बेरुजु पाँच खर्ब कसरी भयो, चुनाव किन महँगो भयो, संघीयता धान्नै नसकिने खर्चिलो किन भयो, टोल–टोलमै राजसी खान्दानी एक राजा हटेर झ्यालझ्यालमै मन्त्रालयहरू किन भए, बजार कहालिलाग्दो किन भयो, विप्रेषणका लागि नेपाली किन विदेसिए, यहाँ किन उद्योगधन्दा बन्द भए, किन खुलेनन्, राजनीतिलाई किन व्यवसाय बनाइयो, सेवामूलक राखी अवैतनिक किन भएन, दलमा एक अर्कामा किन सत्तोसराप, नेपाली जनजीविकाका विषयमा दलहरूले एक दिन पनि बहस नगरी हरपल हरक्षण सत्ता टिकाउने अभियानमा मात्र किन, धेरै खुसीमा परेको डेनमार्ककी प्रधानमन्त्री साइकिलमा कार्यालय जान्छिन् हाम्रा महाराजहरूलाई पाँच दर्जन सुरक्षाकर्मी, पीए, पजेरोहरू, आवास सुविधा किन ? सेवा छोड्नै नहुने, छोडिहाले संस्था खोलेर करोडौँ रकमको सुविधा किन, फाटेको टालो भिर्ने जनतासँग कर उठाएर हेलिकोप्टर किन ? यी अनुत्तरित प्रश्नहरू हुन् ।

धेरै खुसीमा डेनमार्क परेछ, उसले सुशासन पनि सिकाएको छ, दोस्रो परेछ आइसल्यान्ड, तेस्रो परेछ स्वीट्जरल्यान्ड, नेदरल्यान्ड र लक्जम्बर्ग पाचौँ र छैटौँमा परेछन् स्वीडेन, नर्वे, इजरायल नवौँ । इजरायलमा जहाँ पानीको कत्तिको सदुपयोग छ जसले आफ्नो कृषिलाई अब्बल, उर्बर बनाएको छ, दशौँ उर्बर खुसीको देश परेछ न्यूजिल्यान्ड यी देशहरूको नाम लिएर खुसी हुने त होला हामी । खुसी हुन मुटुदेखि नै देशको माया गर्नुपर्छ, तर माया देशलाई भन्दा एक नम्बरमा राख्ने हो हाम्रो दललाई भन्दै हिँड्ने, दलको बैठक दलको कार्यालयमा नगरी सरकारी कार्यालयमा गर्ने, चुनाव नआउँदै देश दौडाहा गर्दे उद्घाटन र शिलान्यास भन्दै सरकारी रवाफमा भ्रमण गर्दै दलको भाषण गर्ने, हुम्ली आएर काठमाडौँबाट चामल लैजाने, तराईका उखु किसान आएर थापाथली मण्डलामा धर्ना गरेपछि तिनको मूल्य पाउने यस्तो संघीयताले नेपाली मन कसरी हाँस्ला र, नहाँसी कसरी खुसीको अभिव्यक्ति होला र ।

सागको मुठा किन्दा, ग्यासको सिलिन्डर उचाल्दा, पेट्रोल र डिजेलले आफ्नो मुख आकाशतिर फर्काउँदा, तेल, फलफूल, औषधि दिनपरदिन किन्न आयस्रोत नभई रोएको नेपाली मनले कसरी गालामा मुस्कान देला ? अनि मनमा कुण्ठा, लज्जा, भय, त्रास, चित्कार, इर्स्या र वैमनस्यता बोकेर खुसी कसरी होला । पूर्वीय दर्शन नीति, नैतिकता, निष्ठा, इमान्दारिताको सट्टा बिचौलिया, ठेक्का, सिन्डिकेटलाई हेरेर चित्त बुझाइनु पर्दा पनि खुसी हुनुपर्ने अवस्था, त्यसैले स्रष्टाहरूले भनेछन्, ‘यो रुने मन छ म हाँसौँ कसोरी’ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x