म काठमाडौंको नेतृत्वमा अहिले नै किन ?
काठमाडौं । नेपाली कांग्रेससँग मेरो र मेरो परिवारको सम्बन्ध कांग्रेसको स्थापनाकालदेखि नै गाँसिएको छ । सर्वविदित नै छ, मेरो दाइ पीएल सिंह स्वर्गीय वीर गणेशमान सिंह र सिंह परिवारका मुख्य विश्वासपात्र थिए । २०१७ सालतिर घर छाडेर भूमिगत भएका पीएलले सारा जीवन कांग्रेस पार्टीका लागि समर्पण गर्नुभयो । घरको जेठो सन्तानले घर छोड्दा कुन आमाबुबाको मन रोएन होला र ? तैपनि पृथक सोच लिएर बढेका पीएल र नेपाली कांग्रेस पार्टीलाई मेरो परिवारले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सधैँ सहयोग गरी नै रह्यो । पञ्चायतको समय सजिलो थिएन । भूमिगत जीवन बिताइरहेका कांग्रेस नेतृत्व र कार्यकर्ताहरूलाई जोखिम मोलेर कति पटक आश्रय दिइयो त्यसको लेखाजोखा छैन ।
दाइ राजनीतिमा होमिनुभएको र हामी तीन दिदीभाइ सानै भएकाले, मेरो बुबा स्वर्गीय चन्द्रलाल सिंहलाई एक्लै घर धान्न निकै अप्ठ्यारो थियो । जसोतसो हामीलाई उच्च शिक्षा अध्ययन गर्न आर्थिक सहयोग जुटाउनुभयो । स्वच्छ छविका पीएलले कहिले पनि राजनीतिलाई आफ्नो कमाउने भाँडोको रूपमा प्रयोग गरेनन् र गर्न पनि चाहेनन् । त्यसबीच मेरो उद्देश्य भनेकै परिवार पाल्न थियो । अध्ययन सकिएलगत्तै घरखर्च सघाउन म एक अधिकारीको रूपमा राष्ट्रिय विकास सेवा (त्रिभुवन विश्वविद्यालय) कार्यालयमा सामेल भएँ । जागिरको सिलसिलामा २०३४ सालमा मलाई श्रीलंकामा काम गर्ने प्रस्ताव आयो । मैले चार वर्षको लागि श्रीलंकामा संयुक्त राज्य संघको स्वंससेवकको रूपमा जागिर खाएँ । संयोगवश श्रीलंकाको बसाइमा मैले डाएटी आर्यरत्नसँग सहकार्य गर्ने सुवर्ण मौका पाएँ । उनले सुरु गरेको ‘सर्वोदय श्रमदान मुवमेन्ट’, सामाजिक विकासको क्षेत्रमा एउटा अद्भुत मिसाल नै बन्न पुग्यो । रमोन मगसासे पदकबाट विभूषित डा. आर्यरत्नलाई ‘लिटल गान्धी’को संज्ञा पनि दिइन्छ । उहाँसँगको सहकार्य नै मेरो जीवनको ‘टर्निङ पोइन्ट’ बन्न पुग्यो । उहाँले अँगाल्नुभएको नीति, विचार र सिद्धान्तलाई मैले जीवनभरि नै अँगाले र आफ्नो काममा लागू गरेँ ।
विदेशमा लामो समय बस्ने मनसाय नभएकाले पुनः नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले म फेरि २०३८ सालमा नेपाल फर्किएँ । श्रीलंकामा गरेको कामको राम्रो कार्य मूल्यांकन भएकाले मैले नेपालस्थित युनिसेफमा जागिर पाएँ । युनिसेफको अतिरिक्त स्वर्गीय ऐश्वर्या राज्यलक्ष्मी शाहले मलाई सामुदायिक सेवा समन्वय समितिको नेतृत्व सम्हाल्न आग्रह गर्नुभयो र मैले चार वर्ष स्वयंसेवकको रूपमा काम गरेर सफलतापूर्वक निभाएँ । त्यसैबीच बुबाले अवकाश पाउनुभयो अनि मैले घरको पूर्ण जिम्मेवारी थामें । आफ्नो समय जागिरेको रूपमा बिताएँ । जागिरको सिलसिलमा म प्रत्यक्षरूपमा सामुदायिक विकास कार्यक्रममा संलग्न भएँ र सामाजिक सेवामा खटिएका सरकारी र गैरसरकारी संस्थालाई टेवा पु¥याउने र नियमन गर्ने मौका पाएँ । यस अवधिमा दाइ पूर्णरूपमा भूमिगत हुनुहुन्थ्यो । आकलझुकल खबरबाहेक उहाँलाई हामीले वर्षौँ देखेनौँ ।
२०४६ सालको बहुदलीय व्यवस्था स्थापनापछि स्थिति अलिक सहज बन्न पुग्यो । कार्यालयको कर्मचारी भएर सक्रिय राजनीतिमा लाग्न पाइँदैन यद्यपि अप्रत्यक्षरूपमा म पार्टीको काममा संलग्न भएँ र चुनावमा कांग्रेस पार्टीका लागि पटक–पटक घरदैलोमा पुगेर भोट माग्न पुग्थ्यौँ । प्रथम स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट पीएल दाइले उम्मेदवारी जनाउनुभयो । उक्त निर्वाचनका बेला के वृद्ध के बच्चा, हामी पूरै परिवार नै चुनाव प्रचार प्रसारमा लागेका थियौँ र सफलता पनि हात लागेको थियो । दाइ काठमाडौं महानगरपालिकाका प्रथम जन निर्वाचित मेयरका रूपमा स्थापित हुनुभएपछि मैले उहाँको कार्यकालमा सामाजिक विकासका विभिन्न अवधारणाहरूलाई अगाडि सार्ने मौका पाएँ । दुर्भागयवश ती कार्यक्रमहरूलाई पछिको नेतृत्वले अगाडि बढाउन सकेन र चाहेन ।
युनिसेफले मलाई अन्तर्राष्ट्रिय जागिरको प्रस्ताव ग¥यो । पहिले म स्वयंसेवकको रूपमा काम सिक्न गएको थिएँ, दोस्रो चोटि भने मातृभूमिमा काम गरेको दुई दशकको अनुभव समेटेर सामाजिक विकासका मोडललाई विदेशी भूमिमा रूपान्तरित गर्न विशेषज्ञ हैसियतमा विभिन्न देशमा काम गरेँ । नेपालबाहिर काम गर्दा मैले आफ्नो विज्ञता मात्रै दिएन तर धेरै कुरा सिकेँ र विभिन्न विकास मोडलहरू बुझेँ । काम सजिलो थिएन, असीमित चुनौती र अति भिन्न सामाजिक संरचनाका बीच पनि आफ्नो कार्य योजनाहरू पूरा गरेरै छाडेँ । २०५७ देखि २०६८ सालसम्म मैले युनिसेफको अन्तर्राष्ट्रिय कर्मचारीको रूपमा काम गरेँ । ६८ सालमा नेपाल फर्किँदा नेपालको राजनीतिक तालमेलमा आमूल परिवर्तन आइसकेको अवस्था थियो । राजतन्त्र समाप्त भइसकेको थियो, माओवादी मूलधार राजनीतिमा आइसकेको अवस्था थियो अनि कांग्रेसभित्रै पनि अनेकन परिवर्तन आइसकेको स्थिति थियो ।
विभिन्न समकालीन विषय वस्तुप्रति असुन्तष्टि जनाउँदै पीएल दाइले सक्रिय राजनीतिबाट अघोषित अवकाश नै लिइसक्नुभएको थियो । यस स्थितिमा उहाँको रेखदेखका लागि हाम्रो नरदेवी घरमा स्थानान्तरण गर्नु उचित देखेँ र सोही गरेँ । पीएल दाइ सक्रिय हुँदा म पार्टी र पीएल दाइको समर्थक थिएँ । मेरा साथीहरू र शुभचिन्तकहरूले मलाई राजनीतिमा आउन सल्लाह दिनुहुन्थ्यो । दुवै सक्रिय राजनीतिमा हुनु उचित होइन भन्ने मलाई लाग्छ यद्यपि म सधैँ इच्छुक थिएँ ।
हिजोसम्म म युवा, महिलालगायत समुदायको उत्थानका लागि विभिन्न सामुदायिक विकास कार्यमा संलग्न थिएँ । त्यो शक्तिविनाको राजनीति थियो तर पीएल दाइले निष्क्रिय भूमिका लिएपछि म सक्रियरूपमा शक्तिविहीन राजनीतिबाट मूलधारको शक्ति राजनीतिमा म संलग्न भएँ । सक्रिय राजनीतिमा आउनका लागि प्रकाशमान सिंहलगायतका साथीहरूसँग सल्लाह गरेँ । आजसम्म आइपुग्दा म नेपाली कांग्रेसको काठमाडौं क्षेत्र ७ बाट क्षेत्रीय महासमिति प्रतिनिधिमा निर्वाचित भएको छु । सक्रिय राजनीतिमा प्रवेश गर्नुको मुख्य कारण हो, म सम्झन्छु लोकप्रिय ग्रीक दार्शनिक ‘प्लेटो’ले भनेको कुरा ‘सार्वजनिक मामिलाहरूमा उदासिनताको लागि असल मानिसहरूले तिर्ने मूल्य भनेको खराब मानिसहरूद्वारा शासित हुनु हो ।’
काठमाडौंमा नै जन्मेको हुर्केको हुनाले मलाई स्थानीय विकासमा लाग्नुपर्ने कर्तव्यबोधले घचघाच्याइरह्यो । पहिले आफू उभिएको धरातल, आफ्नो घर, छिमेक र समाजलाई नै विकास नगरी राष्ट्र विकासको परिकल्पना पनि गर्न सकिन्न भन्ने विचार अँगाल्दै स्थानीय राजनीतिमा अगाडि बढ्ने निर्णय गरेँ । मलाई काठमाडौंको विकासको धेरै चिन्ता थियो । मैले आफ्नो जीवनकालमा आर्जेको सीप भनेकै विभिन्न चुनौतीपूर्ण स्थितिका बीच पनि माटो सुहाउने सामाजिक विकासका कार्ययोजना बनाउनु र तिनीलाई सशक्त ढंगबाट कार्यान्वयन गराउनु हो । चाहे त्यो काठमाडौँ होस्, पाकिस्तानको युद्धग्रस्त बलोचिस्तान प्रान्त या संसारकै अति दुर्गम मानिने इथियोपियाको अफार क्षेत्र, वा बंगलादेशका पिछडिएका समुदाय र शरणार्थी । सामाजिक विकासको काममा मैले देश विदेश गरी आफ्नो तीन दशक बिताएँ ।
मेरो योग्यता र अनुभवको आधारमा म काठमाडौंको नेतृत्व गर्नसक्छु र गर्नेछु भन्ने दृढ विश्वास थियो र छ । सर्वप्रथम प्रकाशमान सिंहसँग परामर्श गरेर मेयरमा उम्मेदवारी दिने निर्णय गरेँ र आगामी चुनावमा लड्ने मन बनाए । मैले काठमाडौंको लागि आफ्नो भिजन बनाएको छु – ‘काठमाडौं बस्नयोग्य सहर’, म शतप्रतिशत विश्वस्त छु, यदि मलाई मेयरको रूपमा स्थानिय नतृत्व दिने हो भने मैले काठमाडौंको मरेको शाखलाई पुनः ब्युँताउन सक्छु । (लेखक क्षेत्रीय महासमिति प्रतिनिधि काठमाडौं क्षेत्र ७ का हुनुहुन्छ ।)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया