नेपाल र श्रीलंका : बिम्स्टेक र हामी
काठमाडौं । विषय प्रवेश : संसारमा युक्रेनको जति चर्चा छ अहिले युद्धग्रस्त भएर, त्यति नै चर्चा छ समृद्धिको दिशामा ओरालो लागेको श्रीलंकाको । भर्खरै, उसले, समृद्धिको सपना बोकेका आफ्ना भेगी देशहरूको समूह बिम्स्टेकको पाचौँ शिखर सम्मेलन सम्पन्न गरेको छ । तीन वर्षअघि चौथो सम्मेलन नेपालले गरेको बिम्स्टेकको अबको छैटौँ सम्मेलन गर्ने आयोजक देश हुनेछ थाइल्यान्ड । हालको श्रीलंका सम्मेलनमा नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुुअल सम्बोधन गरे भने परराष्ट्र मन्त्री उहीँ पुगे । नेपाल र श्रीलंकाको दूरी जम्मा २३ सय किमि मात्रै छ, तर आत्मीयताको दूरी भने अझैै निकट छ । दुई देशका बीच अन्तरसम्बन्धका बारे संक्षिप्त चर्चा गर्ने यो लेखको उद्देश्य हो ।
कस्तो थियो वैदिक काल ? सत्य युगदेखि स्वतन्त्र र स्वाधीन हामी, सन् १९४७ दखि बृटिस औपनिवेसिकताबाट मुक्ति पाएको भारत र सन् १९४८ देखि बृटिसबाटै मुक्ति पाएको श्रीलंकाको चर्चा गर्दा यो सबै क्षेत्र कुबेरको ढुकुटी भन्ने बुझिन्छ । कलियुगको आरम्भमा मात्रै राजनीतिक सिमा विभाजन भएको हो संसारको, पहिले एउटै थियो, अहिले पनि भूमण्डलीकरण भनिन्छ । लंकाको शासक रावण शिवभक्त थियो, दश टाउके रावण दशै दिशा आफ्नो बनाएको आफ्नो शिर नै आहुति दिएर श्रीशिवलाई खुसी गरायो र देवताको सुनखानी लिएर बसेका कुवेरसँग स्वर्ण लंका नै हात पा-यो । नेपाकी चेली सीताको, नजिकै अयोध्या नरेश दशरथका पुत्र रामसँग बिहे भयो, चित्रकुटबाट राम्री युवती सीतालाई रावणले छद्मभेषमा अपहरण ग-यो । त्यति मात्रै होइन, नेपाल आएर बागमती किनार गोकर्णमा शिवलाई खुसी गरायो । हाम्रो पशुपति मृगस्थलीमा कुवेरको ढुकुटी रहेको छ र त अहिले पनि प्राचीनस्थल पशुपतिलाई दोहन गर्दै ठेकेदारहरू अरबपति हुँदै छन् कंक्रिटको ठेक्कापट्टाबाट । यतैका छिमेकी देशको आधुनिक सम्झौता हो अहिलेको सार्क, बिम्स्टेक, साफ्टा आदि । बिम्स्टेकमा हामी छौँ, श्रीलंका, भारत, थाइल्यान्ड, भुटान, म्यानमार, बंगलादेश पनि छ, पाकिस्तान छैन । दक्षिण एसियाली राष्ट्रहरूको क्षेत्रीय संगठन सार्क बनेको थियो पहिले, भारत पाकिस्तानको चिसो सम्बन्धका कारण बिम्सटेक उदायो पछि । अचम्म झण्डै १२ लाख ५० हजार वर्ष पहिलेको धनी सुनको श्रीलंका अहिले दैनिक १३ घण्टाको लोडसेडिङको मार खप्दै छ, र डिजेल बिक्री बन्द भई सर्वत्र मार खेप्दै छ । जलस्रोतको उम्दा देश हामी पनि विगतमा १८ घण्टाको लोडसेडिङमा प¥यौँ, अहिले उद्योगमा १३ घण्टाकै लोडसेडिङ सुरु भएको छ, ऊर्जाको संकटमा देशको समृद्धि कस्तो हुन्छ भन्ने चर्चा गरिरहनु परेन ।
बिम्स्टेकको थप सेरोफेरो : आफ्नो क्षेत्रभित्र सडक, रेल, हवाइ तथा जलमार्गको विस्तार, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, रामायण सर्किट, बुद्ध सर्किट यसका विषयवस्तुहरू हुन् । सन् १९९७ मा स्थापित यसको सदस्यता नेपलले लियो सन् २००४ मा मात्र । अढाई दशक पार गरे पनि बिम्स्टेकको प्रगति शून्य प्राय छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग यसको मूल ध्येय हो । अहिले अमेरिका एमसीसीमार्फत यता दृष्टिपात गर्दै छ भने चीन खुला सहयोग, शान्ति र सडक, सञ्चार भन्दै बीआरआईको अवधारणा ल्याउँदै छ, यसमा नेपालले सम्झौता गरेको पाँच वर्ष व्यतीत भए पनि तयारी पूरा नभएको भन्दै आलटालको प्रयास भएको छ, यहाँ छिमेकी चीनको हालैको उच्च भ्रमण आफैँमा ठूलो उपलब्धिमा जान सकेन ।
के हो श्रीलंकाको समस्या ? श्रीलंकामा ६ महिनाअघि देखि आर्थिक सङ्कटकाल घोषणा गरिएको छ, राजनीति साह्रै खराब नहुँदा पनि देशको अर्थतन्त्र ओरालो लाग्दोरहेछ । नेपाल जस्तै हो देश श्रीलंका, जसको अर्थतन्त्रको आधार थियो कृषि, पर्यटन र ऊर्जा । त्यहाँको गरिबी यहाँ कोभन्दा कम छ ११ प्रतिशत मात्र । बेरोजगारी दर पनि यहाँको भन्दा केही कमी नै हो, साँढे चार प्रतिशत मात्र, आर्थिक वृद्धिदर उस्तै छ यहाँको भन्दा केही बढी ३ दशमलव ३ प्रतिशत । हामीकहाँ उत्पातैको वृद्धिदर आकलन गरियो, यथार्थमा फरक छ प्रगति । जनसंख्या थोरै छ यहाँको तीन करोड मात्र, उताको छ, सवा दुई करोड । विदेशमा रोजगारीको खोजी यहाँको जस्तै हो त्यहाँको पनि ।
पर्यटनमा पाँच लाखको प्रत्यक्ष रोजगारी र अप्रत्यक्षमा २० लाखभन्दा बढीको संलग्नता छ, पर्यटनबाटै वार्षिक पाँच लाख डलर कमाउने गरिएको हो । तीन वर्षअघि सन् २०१९ मा आतङ्ककारीको निशानामा प-यो श्रीलंकाको कोलम्बो, पर्यटन क्षेत्र ओरालो लाग्न सुरु भयो, त्यसमा थपियो कोरोना । ढाडै सेकायो अर्थतन्त्रको, लाखौँ मानिस बेरोजगार भए । राजस्वमा कमी, ब्याजदरका बढोत्तरी, धेरै विदेशी ऋण, विदेशी मुद्रा सञ्चितिमा गिरावट, बाह्य र आन्तरिक ऋण धान्ने प्रयासमा नयाँ आफ्नो मुद्रा छ छपायो उसले तर यूएस डलरमा यसको मूल्य घट्नाले मुद्रस्फीतिको चाप, बजार महँगो, धान्नै नसक्ने, छाक टार्नका लागि पनि दुई हजार टन चामल चीनले उपलब्ध गराएको अवस्था, डेढ अर्ब डलर सफ्ट लोन छिमेकी भारतले उपलब्ध गराएको अवस्था, विदेश गएर हातमुख जोर्न सकिन्छ कि भन्दै पासपोर्टका लागि श्रीलंकनहरूको भिड टीठलाग्दो अवस्थामा छ । वस्तुको मूल्य दोब्बर बढ्नाले आम उपभोक्तालाई समस्या छ भने डलर भएका व्यक्तिलाई डलर दिई श्रीलंकन रुपैयाँ लग्न आदेश जारी गरिएको छ । सन् १९९१ मा भारत यस्तै अवस्थामा पुग्दा नेतृत्वको सुझबुझले ऊ अहिले अब्बल दर्जामा र आगामी ७ वर्षभित्र संसारको एक नम्बरमा पुग्ने सोच राख्दै छ, र नजिकको श्रीलंकनलाई सापटी दिने, सहयोग गर्ने र सेरोफेरोकालाई उसले सहयोग दिन बजेटमै रकम राख्ने गरेको छ ।
श्रीलंकाले आफ्नो अर्थतन्त्र सुधार गर्न प्राङ्गारिक मलको अवधारणा ल्याउँदै आयातीत रासायनिक मल र सवारीसाधनमा रोक लगाएको छ । मल नहुँदा कृषि उत्पादन घट्न गई समस्या थपिएको छ र कृषि उब्जा र चियाको उत्पादनमा समेत कमी हुनाले निर्यातमा पनि अवरोध सिर्जना भएको छ । विद्युत् उत्पादनमा कमी आउनाले लोडसेडिङ र आयातीत कोइला खरिद गर्न विदेशी मुद्राको अभाव भएको छ । उद्योगहरू नचल्दा उत्पादन, उपभोग र निर्यातमा समस्या अनि विद्यालयहरूमा परीक्षाका लागि चाहिने कागज किन्न नसक्दा ४५ लाख विद्यार्थीको भविष्य अन्योलमा छ । विदेशी ऋणको किस्ता झण्डै पाँच अर्ब तर सञ्चिति लगभग डेढ अर्ब मात्रै छ । उसले तिर्नुपर्ने विदेशी ऋण ५१ अर्ब डलर छ रे, चीनले दिन्छु भनेको सहयोग अढाई अर्ब डलर छ । अहिले डलरको अभावमा विदेश जान पनि नपाएको अवस्था छ । यो वर्ष सुरु हँदासम्म उसको आयात २ दशमलव २४ अर्ब डलरबराबरको आयात, निर्यातमा १ दशमलव १६ अर्ब झण्डै आधाआधी हो । अहिले त्यहाँको रुपैयाँ तीन सय बराबर छ एक डलरको, भनौँ अवमूल्यन धेरै ।
घरभित्रकै कुरो : आफ्नो घरको कुरा सबैलाई थाहा छ, नेतृत्वमा हानाथाप छ, कसले बाजी मार्ने र जिभ्रो रसाउने दौडधुप छ, सिद्धान्त र निष्ठालाई लात हानिएको छ दलहरूले एकलौटी चलाए देश, ३२ वर्ष भयो, छाडा छोडेको साँढेजस्तै भएका छन् दलहरू, करको मार अनि महँगीले आम नागरिक घिटीघिटीमा छन्, कोइला आयात गर्दा महँगो परेको भन्दै भारतले सस्तो मोलमा बिजुली दिन आनाकानी गरेको देखिन्छ, प्रतियुनिट बिजुली ३८ तिर्दा उद्योग मात्रै होइन देश टाट पल्टने निश्चित छ, उत्पादन र सेवा दिने तमाम पुराना उद्योगहरूमा ढुसी प-यो, ओझेल परे, नयाँ उद्योगको सपना धेरै बाँडियो, कोरोनामा सिटामोल नपाउने जनताको गाँस काटेर उठाइएको पैसा सगरमाथाको उचाइजस्तै भ्यूटावरमा परिणत भयो । आव ०७८–०७९ को प्रथम ८ महिनामा मात्रै विप्रेषण ४ दशमलव ९ प्रतिशतले घटेको छ, मुल्य वृद्धि दोहोरो अंकमा छ, यतिबेला आयात १४ खर्बबराबरको छ भने निर्यात बढेको भनिदा डेढ खर्बको छ र व्यापारघाटा छ १२ खर्ब बढिको । शोधनान्तर स्थिति दुई खर्ब ५० अर्ब बढीले घाटामा छ, पहिले १२ महिनाको बस्तु र सेवा आयात धान्न सकिने बचत भनिएकोमा अहिले ६ महिना मुस्किलले भन्न लगिएको छ । यसअघि असारमा वस्तु एवं सेवा खरिदका लागि ११ महिना धान्न सक्छ भनिएको थियो विदेशी मुद्राको सञ्चिति ।
बैंकमा तरलताको अभाव छ, वैदेशिक ऋण जीडीपीको ४२ प्रतिशत पुगेको छ, विश्व बैंकले यसअघि नै आर्थिक वृद्धिदर घटाइसकेको प्रक्षेपण गरेको छ । ऊर्जा संकट सुरु भइसकेको छ, उद्योगका भएका उत्पादनमा आधा कटौती भइसकेका छन्, कृषि उत्पादनमा कटौती, मूल बाली धान उत्पादनमा झण्डै १२ लाख टनको कटौती, सिँचाइ सुविधाको अभाव रासायनिक मलमा ठूलै राजनीति, सरकारी खातामा रकम भए पनि वातावरण प्रदूषण नियन्त्रणमा शून्यता, पुँजीगत खर्चको अभाव, भएका खर्चको खर्बौँ बेरुजु, भएको पैसा तलव भत्ता, चालू खर्च, गाडी इन्धन, भ्यूटावर, कर्मचारीको पेन्सन, वृद्धभत्ता वितरण, अनि देशैभरि वर्षभरि नै तीन थरिको चुनावको लहर, उही सडेगलेको राजनीतिक संस्कार र होलसेलको तरकारीजस्तैको सिट बाँडफाँट, भोट र चुनावको जोडघटाउ यस्तै परिवेशले नेपाल र हालको श्रीलंकाको उस्तै दौँतरी अवस्था होला कि ? जताततै नेपालको अर्थतन्त्र धराशायी छ भन्ने गरिएको छ, सूचकहरू हेर्दा पत्याउनुपर्ने अवस्था छ । अब त देशको अर्थतन्त्रलाई बिरामीलाई एक्सरे गरेर रोग हेरेझैँ हेरेर पुग्दैन कि, अल्ट्रासाउन्ड वा सीटी स्क्यानले पनि नभएर एमआरआई नै गर्नुपर्ने अवस्था देखिएको छ, रोग त यसै पनि थाहा छ, सुतेको समृद्धिलाई हेर्न अनुत्पादक भ्यू टावर नै पर्याप्त छ, चिल्ला गाडी, र हेलिकोप्टर नै पर्याप्त छन्, थपक्क एमसीसी छिरेको छ, उत्तरी मित्रको आँखा कस्तो हुने हो, कतै रसियाको आँखा युक्रेनमा परेजस्तै पो हुने हो कि ?
र अन्त्यमा अभागी नेपालीले फ्रान्सको इफेल टावर हेरेर, सिँगापुर मलेसियाका गगनचुम्बी मलहरू हेरेर, अमेरिकी राष्ट्रपति सामान्य रेष्टुराँमा बसेर चिया, नास्ता गरेको दृश्य अनि सन्तान पढाउन राष्ट्रपतिको जागिर छोडेर प्राइभेट जागिर खान गएको दृश्य हेरेर, डेनमार्ककी प्रधानमन्नी साइकल चढेर कार्यालय गएको दृश्य हेरेर, पाँच वर्षसम्म बेलायतको शक्तिशाली प्रधान मन्त्री बनेका डेभिड क्यामरुन कार्यालय जाँदा बाटो जाम हुँदा मेट्रो चढेर जाने गरेका र अहिले रेडक्रसको सामान लिएर राहत दिन रेडक्रसको गाडी आफैं चलाएर युक्रेन सहयोगका लागि जाँदै गरेको दृश्य हेरेर चित्त बुझाउने त होला, हाम्राले सुनको थालमा विदेशीसँगको भिक्षा थापेको हेरेर मन बुझाउने त होला ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया