Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगव्यापारघाटा बढ्दो, विलासी वस्तुको आयात रोक्न सरकार असफल

व्यापारघाटा बढ्दो, विलासी वस्तुको आयात रोक्न सरकार असफल


काठमाडौं । पहिलेका बुढापाकाले भन्थे, ‘सुन किनेर राख्यो भने त्यो जुनसुकै बेलामा पनि काम लाग्न सक्छ । बैंकमा राखेको पैसाभन्दा बढी भर सुनको हुन्छ ।’ आपत्विपत् पर्दा तत्कालै बेचेर प्रयोग गर्न मिल्ने, अर्कोतिर बैंकमा जस्तो झन्झट पनि नहुने । कतै जाँदा लगाउनुपप्यो भने पनि आफूसँगै हुन्छ । यता, अफिस बिदा भएको दिन पनि अप्ठ्यारो नपर्ने । १० नबजी वित्तीय संस्था खुल्दैन । बेलुका ४ बजेपछि यी संस्था बन्द भइहाल्छन् । तर, पैसाले त बिहानबेलुका र बिदाको दिन भन्दैन । जतिखेर पनि आवश्यकता पर्न सक्छ । पछिल्लो समय सुनमा आकर्षण बढ्दो छ । सुन किन्ने सर्वसाधारणहरूको संख्या पनि उत्तिकै बढेको छ । सुन एउटा यस्तो वस्तु हो जुन विवाहका निम्ति अनिवार्यझैँ छ । यता, केही पैसा हुनेबित्तिकै सुनमा लगानी गरौँ भन्ने मनशाय भएका मानिसहरूको कमी छैन । किन कि सुनको मूल्य प्रत्येक दिन बढिरहेको छ । अहिले सुनको मूल्य प्रतितोला एक लाखको हाराहारीमा पुगेको छ । हिजोको दिनमा जसले बाठो भएर सुनमा लगानी ग-यो उसलाई धेरै नाफा भएको छ । सुन किनेर राख्नेहरू मूल्य बढेपछि दङ्ग परेका छन् ।

तर, जसले बढी ब्याज खानका निम्त वित्तीय संस्थामा राखेको न उनीहरू चिन्तित भएका छन् । किन कि उनीहरूले ब्याज पाएका छैनन् भने सावाकै खोजीमा हरहमेसा निस्किनुपर्ने बाध्यता आइपरेका छन् । त्यस्तै, सेयर, घरजग्गा र निजी गाडीमा लगानी गर्नेलाई ‘मर्नु न मोटाउनु’ भएको छ । यी तीन क्षेत्रमा लगानी गरेकाहरू अहिले चिन्तित भइसकेका छन् । किन्ने कोही छैनन् भने बेच्ने यत्तिकै छन् । पहिले एउटै जग्गा हेर्नका लागि दिनमा दश हुल जति ग्राहकहरू आउँथे । तर, अहिले एउटा पनि आउँदैनन् ।

केही वर्षअघिसम्म ५० लाखमा बिक्री हुने जग्गा अहिले दश लाखमा बेच्छु भन्दा पनि किन्ने मान्छे छैनन् । तीन हजार कित्तामा किनेको सेयर सय रुपैयामा पनि बिक्दैन । निजी प्लेटको गाडी पनि उस्तै । तर, सुन दिन दुई गुणा र रात चौगुणाले बढिरहेको छ । पैसा हुनेजतिको एउटै सोचाइ । अहिले किनेर राख्ने, महँगो भएपछि बेच्ने । यता, भोजभतेर गर्नुप-यो भने पनि सुनको खाँचो उत्तिकै हुन्छ । त्यसैले सुनमा लगानी गर्नु सबैभन्दा उत्तम उपाय मानिएको छ । पहिलेको एउटा उखान, ‘बगेको ठाडो खोला पनि १२ वर्षमा फर्किन्छ । धैर्य गर्न मात्र गाह्रो हो ।’ अहिले ठ्याक्कै त्यस्तै नै भयो ।

घरजग्गा, सेयर र निजी प्लेटका गाडीका कारण बाटो बिराएकाहरू फेरि पनि सुनमै लगानी गर्न आइपुगेका छन् । वित्तीय संस्थामा पैसा भए पनि अहिले प्रयोग गर्नसक्ने स्थिति छैन । किन कि बैंक र सहकारीमा आर्थिक तरलता बढ्दो छ । खाँचो परेको बेलामा बैंकमा राखेको पैसाभन्दा पनि सुनको महत्व बढी देखिन्छ । आफ्नो बचत गरेको रकम समेत सर्वसाधारणले निकाल्न पाएका छैनन् ।

सुन हाम्रो मुलुकमा उत्पादन हुँदैन । विभिन्न मुलुकबाट डलरमा खरिद गरेर सुन भित्र्याइन्छ । सुन खरिद गर्नका निम्ति सरकारले डलरको प्रयोग गर्नेगरेको छ । जसका कारण व्यापारघाटा बढ्ने देखिन्छ । सर्वसाधारणहरूको सुनप्रति आकर्षण बढ्नु एक हिसाबले मुलुकका लागि नराम्रो पनि हो । किन कि यसले विदेशी मुद्राको सञ्चिति झनै घट्दै जान्छ । देशको अर्थतन्त्रमा धक्का पुगेपछि सरकारले पछिल्लो समय निश्चित परिणाममा मात्र सुन भित्र्याउन दिन्छ । तर, यसमा पनि प्रतिबन्ध लगाउन जरुरी देखिएको छ ।

सरकारले हालै मात्र सार्वजनिक गरेको व्यापार प्रतिवेदनमा घाटा बढेको छ । माछादेखि लिएर दुधसम्म नेपालले बाहिरबाट आयात गरिरहेको छ । फलफूल र तरकारी पनि ठूलो मात्रामा बाहिरबाटै आउँछ । निजी प्लेटका गाडी पनि बाहिरैबाट आयात गरिएको छ । चकलेट, प्लास्टिकलगातयका विलासी वस्तु पनि आयात गरिन्छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले बेवास्ता गर्दा व्यापारघाटा दिनानु दिन बढिरहेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दलालीहरूसँग लुप्त हुँदा मुलुक तहसनहस बन्ने भो । किसानहरूले आफूले उब्जाएको तरकारीको मूल्य पाइरहेका छैनन् । दुध नबिकेर लगेर फ्याक्नुपर्ने बाध्यता छ । तर, अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीले नेपालमै उब्जनी भएकालाई बजारमा ल्याउनमा जोड नदिएर दलालीहरूसँग मिलेर बाहिरी मुलुकबाट सामान ओसारिरहेका छन् । यस्तो अक्षम र सोचाइ नभएको अर्थमन्त्री र गभर्नर मुलुकले पाउँदा अर्थतन्त्र बिग्रियो । व्यापारघाटा स्वाट्टै बढ्यो ।

बजारमा महँगी दिनानु दिन बढिरहेको छ । महँगीले सम्पूर्ण नेपालीको ढाड सेकेको छ । अर्थतन्त्रमा झनै ठूलो संकट पर्ने देखिन्छ । तापनि, नालायक मन्त्री र गभर्नरलाई केही चासो छैन । अर्थतन्त्रलाई यत्रो धक्का पुगिसक्दा पनि यिनीहरू पातमा कीरा टाँसिएझै कुर्सीमा टासिएर बसेका छन् । नैतिकता थियो भने यिनीहरूले राजीनामा दिनुपर्थ्यो र सक्षम व्यक्तिलाई अर्थतन्त्र चलाउन दिनुपर्थ्यो । न प्रधानमन्त्री शेरबहादुर देउवाले यी दुई व्यक्तिलाई हटाउन सक्छन् । कांग्रेस पार्टीभित्रै नै अर्थमन्त्री र गभर्नरलाई हटाउनुपर्ने भन्दै आवाज उठिरहेको छ ।

तर, प्रधानमन्त्री सुने पनि नसुनेझैँ नाटकी रुप देखाएर बसेका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल अर्थमन्त्रीलाई हटाएर देशको अर्थतन्त्र सुधार्नतिर लागि पर्दैनन् । कांग्रेस र माओवादी मिलेर नेपाललाई श्रीलंका बनाउने भए । यता, विपक्षी पार्टी एमाले भ्रम फिजाएर भो लने दाउपेचसहित अघि बढिरहेको छ । कांग्रेस र माओवादीलाई आरोप लगाउँदै सत्तामा आउने योजना एमालेले बुनेको छ । सहकारीहरू टाट पल्टिसकेका छन् । कति सहकारी बन्द भइसके । कति चलाउनै नसक्ने स्थितिमा आइसकेको छ । जनताले बचत गरेको पाँच अर्बभन्दा बढी रकम जोखिममा छ ।

सर्वसाधारणहरूले वित्तीय संस्थामा पैसा डिपोजिट राख्न छोडिसके । भएकाहरूको रातको निद्रा दिनको भोक हराएको छ । तर, अर्थमन्त्री र गभर्नरलाई कमिसनकै चिन्ता छ । कुनचाहिँ व्यापारीले कमिसन देला भनेर उनीहरू कुरिरहेका छन् । सहकारी र बैंकको कारणले धेरै आम नागरिक सडकछाप बन्दै छन् । हाम्रो नेपालमा सरकार छ र ? भनेर जनताहरूले प्रश्न उठाउन थालिसकेका छन् । सरकार भएको भए देशको अर्थतन्त्र सही ट्रयाकमा आइहाल्थ्यो, उनीहरू भन्छन् । सरकारमा चलाउने चाबी लिएर बसेकाहरू जनताले तिरेको करबाट तलबभत्ता खान्छन् ।

सरकारी गाडी चढ्छन् र अर्थतन्त्र ठीक छ भनेर जनतालाई ढाँट्ने काम मात्र गर्दछन् । पाँच लाखको चेक लिएर गयो भने बैंकले साट्दैन् । सहकारीसँग एक लाखको चेक साट्न सक्ने क्षमता छैन् । हिजो जनताको पैसा हाँसेर लियो तर अहिले फिर्ता गर्ने बेलामा उनीहरूको दातबाट पसिना निक्लिएको छ । अब के गर्ने ? बचतकर्ताहरू अन्यौलमा परेका छन् । बचत गरेको रकम फिर्ता नगरेको धेरैको गुनासो छ । सबैले पैसा घर–घरमा राखे भन्ने कुरा लुकाएर लुक्दैन । लुकाएको पैसा सरकारले बाहिर ल्याउन सक्दैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x