Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहिमाल आरोणको इतिहास, १४ अग्ला हिमाल र विविध कहानी

हिमाल आरोणको इतिहास, १४ अग्ला हिमाल र विविध कहानी


काठमाडौं । हो, अहिले नेपालमा हिमाल आरोहणको सिजन छ । त्यसैले यो लेखमा हिमाल आरोहण र विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल, हिमाल आरोहणको इतिहास, हिमालको कमाइ आदिबारे केही लेखिनेछ ।

हालसम्म विश्वमा आधिकारिक ढंगले मान्यताप्राप्त आठ हजार मिटर अग्ला हिमाल १४ वटा मात्रै रहेका छन् । हालसम्म विश्वमा आधिकारिक ढंगले मान्यताप्राप्त आठ हजार मिटर अग्ला हिमाल १४ वटा मात्रै रहेका छन् भनी किन भनिएको हो भने लगभग चार वर्षदेखि नै आठ हजार मिटरभन्दा माथिका अरु छवटा हिमाल थप हुने कुरो भइरहेको छ । जुन कुरो (थप हुने छवटा हिमालको घोषणा) निकट भविश्मै लागू होला अथवा भनौँ कार्यान्वयनमा आउला भन्ने आशा गरौँ । साथै सुखद कुरो के छ भने, थपिने ती छवटै नयाँ हिमालहरू नेपालमा सरहदभित्रै रहेका छन् । जे होस्, यहाँ विश्वका ती अग्ला १४ वटा हिमचुचुराहरू कस–कसले/कहिले चढे ? ती पर्वतारोहीहरू कुन–कुन देशका थिए ? ती १४ वटा अग्ला हिमाल कहाँ–कहाँ छन् ? छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ ।

आठ हजार मिटरभन्दा माथिका सबै अर्थात् १४ वटै हिम चुचुराहरू एसिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएर रहेको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ भने आठवटा त (६० प्रतिशत) नेपालमा रहेका छन् । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको आठ हजार मिटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मिटर भएको)सम्म रहेका छन् ।

यसरी विश्वकै अग्लो हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८,८४८.८६ मिटर) हो भने सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक चोमोलुङमा चढेका थिए । त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु) हो । यो हिमालको उचाइ आठ हजार छ सय ११ मिटर रहेको छ । यो हिमाल सन् १९५४ को ३१ जुलाइमा इटालीयन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलो पटक सफलतापूर्वक चढेका थिए । उता विश्वको तेस्रो अग्लो हिमालचाहिँ कञ्चनजंघा (सेवालुङसेन्छेलुङ) हो । यो हिमाल नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम राज्य तथा पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्लाको सीमामा रहेको छ भने यो हिमालको उचाइ आठ हजार पाँच सय ८६ मिटर हो । यो हिमाललाई बेलायतका पर्वतारोहीद्वय जर्ज ब्यान्ड र जो ब्राउनले पहिलो पटक चढेका थिए ।

साथै विश्वको चौथो अग्लो हिमालचाहिँ ल्होत्से/चे हो । यसको उचाइ आठ हजार पाँच सय १६ मिटर रहेको छ । यो हिमाललाई सर्वप्रथम आरोहण गर्ने काम सन् १९५६, मे १८ मा भएको थियो भने, स्वीटजरल्यान्डका पर्वतारोहीद्वय फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले गरेका थिए । त्यस्तै विश्वको पाँचौँ अग्लो हिमाल मकालु हो । यसको उचाइ आठ हजार चार सय ६३ मिटर रहेको छ भने जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको एक जन्ती टोलीले नै आरोहण गरेका थिए । त्यस्तै विश्वको छैटौँ अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ आठ हजार दुर्ई सय एक मिटर रहेको छ । यो हिमाललाई सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरकद्वय हर्बर्ट टिची र सेप जेक्लर एवं नेपाली आरोही पासाङ दावा (लामा) शेर्पाले पहिलो पटक आरोहण गरेका थिए । त्यस्तै विश्वको सातौँ अग्लो हिमाल धवलागिरि हो भने, यसको उचाइ आठ हजार एक सय ६७ मिटर रहेको छ । यो हिमालको सफल आरोहण सन् १९६० को, १३ मे मा गरिएको थियो । स्वीटजरल्यान्डका पर्वतारोहीहरू कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर र नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए ।

त्यस्तै विश्वको आठौँ अग्लो हिमालचाहिँ मनास्लु हो भने यो हिमालको उचाइ आठ हजार एक सय ६३ मिटर रहेको छ । मनास्लु हिमालको प्रथम सफल आरोहणचाहिँ सन् १९५६ मे ९ मा जापानीज पर्वतारोहीहरू तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । एवं रीतले विश्वको नवौँ अग्लो हिमालचाहिँ नांंगा पर्वत हो । यो हिमालको उचाइ आठ हजार एक सय २६ मिटर रहेको छ । पाकिस्तानमा रहेको यो हिमाल अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाइ ३ मा पहिलो पटक चढेका थिए ।

साथै विश्वको १०औँ अग्लो हिमाल ‘अन्नपूर्ण–१/प्रथम’ हो । यो हिमाल नेपालमा रहेको छ भने यसको उचाइ आठ हजार ९१ मिटर रहेको छ । स्मरणीय छ, आठ हजार ९१ मिटर अग्लो हिमाल मानव इतिहासमै सर्वप्रथम चढिएको हिमाल पनि हिमाल ‘अन्नपूर्ण–१/प्रथम’ नै हो । यो हिमालमा फ्रान्सका पर्वतारोहीद्वय माउरिस हर्जोग र लुइस लाचेनलले सन् १९५० जुन ३ मा पहिलो पटक सफलतापूर्वक आरोहण गरेका थिए । एवं प्रकारले विश्वको ११औं अग्लो हिमालचाहिँ ‘गासेरब्रुम–१’ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यो हिमालको उचाइ आठ हजार ८१ मिटर रहेको छ । यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्वय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए ।

त्यस्तै विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक हो यो हिमाल पनि पाकिस्तानमै रहेको छ । यो हिमालको उचाइ आठ हजार ५१ मिटर हो । यो हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो बेला अस्ट्रियन पर्वतारोहीहरू फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३औँ अग्लो हिमाल ‘गासेरब्रुम–२’ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यसको उचाइ आठ हजार ३५ मिटर हो । सन् १९५६ को जुलाइ ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले पहिलो पटक सफलतापूर्वक चढेका थिए ।

त्यस्तै विश्वको १४औँ र हालसम्मको आठ हजार मिटर अग्लो अन्तिम हिमाल ‘सिसापाङमा’ हो । यो हिमालको उचाइ आठ हजार २७ मिटर रहेको छ भने यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमानामा रहेको छ । हुन त खासमा नापजाँच गर्दा र भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पर्छ भने नेपाली (खस/पर्वते) भाषामा यसको नाम ‘गोसाईँनाथ’ राखिएको हो । जे होस्, त्यो बेला चीन सरकारले आफ्नो देशमा विश्वकै अग्लो हिमाल चोमोलुङमा (सगरमाथा) नपर्ने भएपछि ‘सिसापाङमा’ आफूलाई दिन आग्रह गरेको भन्ने भनाइ अनौपचारिक रूपमा सुनिन्छ । त्यसपछि ‘सिसापाङमा’ चीनमा पर्ने गरी राजनीतिक रूपमा नेपाल र चीनबीच सहमति भएको मानिन्छ । जे होस्, यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरूको जम्बो टोलीले सफलतापूर्वक आरोहण गरेका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x