जडीबुटी उत्पादन, निकासी अवस्था र सदुपयोगका उपाय
काठमाडौं । नेपालबाट निकासी भईरहेका जडीबुटी एचएस कोड नंबर १२११२०००, १२११९०१०, १२११९०९० अन्तर्गत पर्दछन् । नेपालबाट जडीबुटी भारत, चीन, हङकङ, सिंगापुर, ताइवान, यूके, बंगलादेश, जापान, कोरिया, पाकिस्तान, थाइलैन्ड, भियतनाम, क्यानाडा, अमेरिका, निदरलैन्ड, फ्रान्स, जर्मनी, इटाली, स्वेडेन, हंगेरी, पोलैन्ड, अष्ट्रेलिया आदि छन् ।
नेपालबाट टिमुर, अमलवेद, काकडसिंघी, गुच्छीच्याउ, कुटकी, पदमचाल, हलहलेजरा, कुरिलोजरा, भृगराज, चिरेता, सामलदान, रिठा, विषजरा, पाखनवेद, भूतकेश, दालचिनीलगायतका जडीबुटी भारत निकासी हुँदै आएको देखिन्छ । त्यस्तै मजिठा, आमला, बोझो, जीवन्ती, गुजरगानो, सिकाकाइ, काउलो बोक्रा पाउडर, अकरकरा, दारुहल्दी, निरमसी, तितेपाती, पीपला, लोहान, अतिस, तेजपात, कुकरडाइनो, नागवेली पाउडर, तिगेडी, सेतकचिनी, गोकुल धुपलगायतका जडीबुटी नेपालबाट निकासी भएका छन् ।
नेपालका विभिन्न जिल्लामा आयुर्वेदिक औषधि उत्पादन गर्ने वा वनजन्य कच्चापदार्थमा आधारित प्रशोधित वस्तु उत्पादन गर्ने कम्पनीहरू छन् । ती कम्पनीहरूलाई चाहिने कच्चापदार्थका रूपमा चाहिने जडीबुटी वा कच्चापदार्थ कम्पनी भएको जिल्लाबाहिरको जिल्लाबाट आपूर्ति हुँदै आएको देखिन्छ । यसले के देखाउँछ भने नेपालका जिल्ला–जिल्लामा व्यापक जडीबुटीको खेती आवश्यक छ । कृषकले जडीबुटी खेती गरेमा यस्ता जडीबुटी सम्बन्धितले सहजै खरिद गर्दछन् ।
सबै जडीबुटीहरू सबै जिल्लामा पाइने भन्ने छैन । हर्राे, बर्राे, अमला, गुर्जो कुनै जिल्लामा पाइन्छन् भने कुनै जिल्लामा अरु जडीबुटीहरू प्राप्त हुने गर्दछन् । जिल्लामा भएका कुनै आयुर्वेद कम्पनीले त वार्षिक सात करोड रुपैयाँको आयुर्वेदिक औषधि उत्पादन गरिआएका छन् । मध्यपश्चिम तथा सुदूरपश्चिमका पहाडी जिल्लाबाट जडीबुटी संकलन गरी भारत निकासीका लागि त्यस क्षेत्रका तराईका जिल्लाहरूका सहरहरूमा ल्याउने गरिएको देखिन्छ ।
खेती गर्ने युवा विदेश गएका कारण यस्ता जडीबुटीका उत्पादनमा कमी हुँदै आएको बताइन्छ । कतिपय जडीबुटी जस्तै सर्पगन्धा, कुटकी, जटामसी, चिराइतो पाँचऔँले आदि प्राकृतिकरूपमा मासिँदै वंश विनास हुँदै गएको अवस्था छ । जिल्ला–जिल्लाका सामुदायिक र कबुलियती वनले जडीबुटी खेती गरे उत्पादक कम्पनी र कृषकलाई पुग्ने देखिन्छ । जिल्ला–जिल्लामा एक कृषकले यस्ता कम्पनीलाई जडीबुटी बेचेर वार्षिक दुई लाखसम्म आम्दानी गरी आएका छन् ।
जिल्ला–जिल्लामा व्यावसायिक जडीबुटी खेती फस्टाउँदै गएको पाइन्छ । साढे तीन दशकअगाडि सरकारी स्वामित्वमा देशकै सबैभन्दा ठूलो जडीबुटी तथा प्रशोधन कम्पनी स्थापना भएपछि यसको खेतीप्रति किसानको आकर्षण बढेको देखिन्छ । देशमा उत्पादित जडीबुटीको तेल कम्पनीले पाँच सयदेखि १३ हजारभन्दा बढी रुपैयाँमा प्रतिकिलो किनिदिने गरेको देखिन्छ । नेपालमा जडीबुटी खेतीबाट वार्षिक साढे १३ हजार टन तेल कम्पनीले उत्पादन गर्दै आएको देखिन्छ ।
कम्पनीले किसान परिवारलाई जडीबुटी खेतीका लागि जग्गा उपलब्ध गराई आएको देखिन्छ । खाद्यान्न, भिटामिन, औषधि, कस्मेटिक, मच्छरधुपलगायतको सामग्रीमा प्रयोग केही जडीबुटीजस्तै लेमनग्रास, सिट्रानेला, पामारोजा, मेन्था, फ्रेन्चवेसिल, क्यामोमाइल, आदिका खेती नेपालमा हुने गरेको देखिन्छ । अन्य बालीको तुलनामा यस्मा राम्रो आय हुने भएकाले किसानको जिवनस्तर फेरिएको किसान बताउदछन । यस क्षेत्रमा अध्ययन–अनुसन्धान जरुरी भएको किसान बताउँछन् ।
नेपालबाट चिराइतो भारतमा निकासी हुँदै आएको भए पनि ती चिराइतो फेरि भारतबाट खाडी देशमा निर्यात गएिको भेटाइन्छ । नेपाली चिराइतो तिब्बतमा माग भइआएकोले उता पनि जान खोजेको छ । उत्तरी सीमामा नेपालको चिराइतो प्रतिमन २६ हजारको मूल्य रहेको देखिन्छ । नेपालको जडीबुटी अधिकतम मूल्य पाउन ठाउँ–ठाउँमा प्रशोधन केन्द्र खोल्ने कार्य सुरु गरिँदै छ । निर्यात सम्भावना भएको जडीबुटीको पहिचान गरेर यस्को निकासी बढाउन आवश्यक छ । जडीबुटी निर्यात सम्भावना भएको १९ निकासी वस्तुमा पर्दछ । निर्यात प्रशस्त सम्भावना भएको जडीबुटीको ब्रान्डिङ आवश्यक छ । जडीबुटीलाई प्रशोधन गरेमा बढी मूल्य प्राप्त हुन्छ ।
आव २०६८–६९ मा ८५ करोडको जडीबुटी निकासी भएको थियो । जडीबुटी निर्यात बढ्दो रहेकोले तयारी वस्तुमा निर्यात गर्नसके धेरै फाइदा लिन सकिनेछ । सन २०१२–१३ (२०६९–७०) मा त यसको निकासी एक अर्ब २७ करोड भएको छ । आउँदा वर्ष अझ निकासी बढ्नेछ । कच्चा वस्तुलाई तयारी वस्तुमा परिणत गरी बढी मूल्य लिएमा व्यापारघाटा घट्न जाने सम्भावना देखिन्छ । नेपालले ठूलो परिमाणमा जडीबुटीको कच्चा स्वरूपमा निर्यात गरेर नेपालले फेरि त्यही कच्चा जडीबुटीको प्रशोधित पदार्थ आयात गरेर धेरै विदेशी मुद्रा गुमाउनु परेका छ । नेपालले बोराका बोरा जडीबुटी निकासी गरेर त्यसकै ट्याबलेट धेरै मूल्यमा आयात गरिरहेको छ । भारतको जडीबुटी तथा आयुर्वेदिक वस्तुहरू उत्पादन गर्ने कम्पनीका अधिकारी वस्तुका प्रवद्र्धन गर्न नेपाल आउँदा नेपालको जडीबुटीको प्रयोग गरी भारतमा र नेपालमा कारखाना राख्ने मनसाय गरी नेपालको जडीबुटी सदुपयोग गर्ने बताउँछन् ।
विगतमा भारत उतरप्रदेश वन कार्यालयले लगाएको ट्रान्सजिट पास –परमिट विवाद समाधान हुन नसक्दा नेपालबाट जडीबुटी निर्यात घटेको थियो । यस्तै र अरु समस्याहरूले नेपालको जडीबुटी निकासीमा असर पारेको छ । नेपालको सरकारी पक्षले ध्यान नदिँदा विगतमा कृषि उत्पादन रामदाना, फापर, गहत निकासीमा पनि भारतीय पक्षले विगतमा अवरोध खडा गर्दै आएको थियो । समय–समयमा कत्था, रोजिन निकासीमा पनि विगतमा अप्ठ्यारो महसुस हुँदै आएको थियो । बताइन्छ नेपालबाट निकासी गरिने १७ जातका जडीबुटी मात्रै भारतमा सूचीकृत छन् । तर पहिले नेपालबाट ८० भन्दा बढी प्रकारका जडीबुटी नेपालबाट निकासी हुँदै आएको व्यापारीको भनाइ छ ।
स्मरण गराइन्छ कि नेपाल–भारत वाणिज्य तथा पारवहन सन्धिअनुसार नेपालबाट निकासी हुने जडीबुटीमा भारतमा सरकारको राज्य सरकार वा स्थानीय निकायको नियम नेपालको सन्दर्भमा लागू हुनु नपर्ने हो । तर भारतको उतरप्रदेशको सरकारले नेपालबाट निकासी हुने वनजन्य वस्तुमाथि इमारती लकडी एवं अन्य उपज अभिवाहन नियमावली –१९७८ लागू गरेर असर परेको देखिन्छ । नेपाल–भारत सरकारबीच भएको वाणिज्य सन्धिमा नेपालबाट भारतमा मालसामान निकासी गर्दा भारत सरकारबाट लाइसेन्स तथा परमीट लिन नपर्ने व्यवस्था भए पनि उत्तर प्रदेश सरकारले जडीबुटी निकासीमा भारतको वन विभागबाट ट्रान्जिट पास लिनुपर्ने अनिवार्य व्यवस्था केही वर्षअगाडि गरेको देखिन्छ ।
यस्तो ट्रान्जिट पासलगायतको प्रक्रिया पूरा गर्न भारतीय व्यवसायी भएर त्यहाँको वन विभागबाट स्वीकृत लिएर मात्र जडीबुटी निकासी गर्नुपर्ने अवस्था पहिले आएको थियो । यस्तो प्रावधानले गर्दा जडीबुटी निकासीका लागि ट्रान्जिट पास बनाउन भारतीय सीमा भन्सारबाट अनुमति लिई भन्सार र वन विभागअन्तर्गतका रूपेडिया, नानपारा, बहराइच र गोन्डा गरी चारवटा कार्यालयहरूमा पुग्नु पर्दा नेपालको निकासी प्रक्रिया पूरा गर्न नै महिनौँ लाग्ने निश्चित हुनगएको थियो । यस्तो समस्या मोदी सरकार आएपछिका दिनमा हुँदैन कि ?
नेपाल–भारत खुला सिमानाका कारण नेपालको करोडौँ पर्ने जडीबुटी हरेक वर्ष सुरक्षाको अभावमा कर छली भारततिर चोरबाटो भएर सहज रूपमा गइरहेका छन् । तर वैधरूपमा भारतमा नेपालको जडीबुटी निकासी गर्न पर्दा अनेकन भन्सार र गैरभन्सारजन्य अवरोधहरू सामना गर्दा नेपालको जडीबुटी भारतमा निकासी ज्यादै मुस्किल देखिन्छ । यसमा सत्यता कति छ अनुसन्धान आवश्यक छ ।
त्यसैगरी स्थानीय जनताको भनाइमा सरकारी कर्मचारीको मिलोमतोमा यस्ता जडीबुटी कौडीको भाउमा भारतमा सहजै गइराखेका छन् । यसमा पनि सत्यता के छ ? वनका कर्मचारी आफैँ पहाडका जडीबुटी खुलेयाम भारततिर गइराखेका छन् भनी भन्दछन् । यो भन्न करै लाग्छ कि खुला सिमानाको फाइदा सबैभन्दा बढी स्म्गलरले लिइराखेका छन् । अब राज्यका तर्फबाट के गर्नु प-यो त ? भारततर्फ हरेक तीन किलोमिटरमा सुरक्षागार्ड छन् भने नेपालतर्फ ५० किलोमिटरमा पनि सुरक्षापोस्ट राखिएको छैन ।
त्यसर्थ, नेपालतर्फ सुरक्षा पोस्ट टाढा–टाढा राखिनु कमजोरी मात्रै होइन यसले नेपालको वातावरण, वनजन्य र जंगली जनावरको विनाश गरिराखेको छ । व्यापारीले एक किसिमको निकासी गर्ने लाइसेन्स लिएर सबै किसिमका वैध–अवैध जडीबुटी निकासी गरिआएका देखिन्छन् । यसमा पनि सत्यता के छ त ?
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया