Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्वास्थ्य बीमा आफैँ अस्वस्थ

स्वास्थ्य बीमा आफैँ अस्वस्थ


काठमाडौं । संविधानले प्रत्येक नागरिकलाई राज्यवाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ ।

स्वास्थ्य सेवामा कार्यान्वयन भएका विभिन्न कार्यक्रमको फलस्वपरूप प्रतिहजार जीवित जन्ममा शिशु मृत्युदर ३२, नवजात शिशुु मृत्युदर २१ र पाँच वर्षमुनिको बाल मृत्युुदर ३९ तथा मातृ मृत्युदर २३९ (प्रतिलाख जीवित जन्ममा)मा झरेको छ भने कुल प्रजननदर २ दशमवल ३ प्रतिमहिला रहेको छ । त्यसैगरी पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना घटेर ३६ प्रतिशत रहेको छ । यस परिप्रेक्षमा नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवं स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथिक चिकित्सा क्षेत्र, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ । पन्ध्रौँ योजनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु-याउन राज्यको नेतृत्वदायी र निजी तथा सहकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।

पन्ध्रौँ योजनाको सफल कार्यान्वयनपछि, स्वस्थ, सबल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रतिहजार जन्ममा नवजात शिशु मृत्युदर १४ र पाँच वर्षमुनिको बाल मृत्युदर २४ मा झर्नेछ । पाँच वर्षमुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ । नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् । स्वास्थ्य बीमामा आबद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी ८ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहँुच भएका घरपरिवार ८० पुगेको हुनेछ । प्रोटोकलअनुसार कम्तीमा चार पटक गर्भवती जाँच गराउने महिला ८१ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएका बालबालिका ७९ प्रतिशत र पूर्ण खोप पाउने बालबालिका ९५ प्रतिशत हुनेछन् । मलेरिया, कालाज्वर र हात्तीपाइले रोग निवारण हुने अपेक्षा राखिएको छ ।

नेपालको संविधानले व्यवस्था गरेको संघीय स्वरूप, भौगोलिक एवं जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बीमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैको लागि स्वास्थ्य बीमा लागू गर्नु, वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु साथै कोभिड–१९ को प्रभावले नेपालीको जनस्वास्थ्यमा ठूलो असर पु-याएको छ । अति विपन्न र जोखिममा परेको नागरिकलाई उच्च प्राथामिकतामा राख्दै आवश्यक स्वास्थ्य सेवा पु-याउनु आजको आवश्यकता हो ।

संघीय प्रणालीअनुरूप स्वास्थ्य संस्थाको प्रभावकारी व्यवस्थापन नभई स्वास्थ्य बीमालाई प्रभावकारी कार्यान्वयन गराउन सकिएको छैन । कोरोना महामारीमा बीमा गरिएका बहुसंख्यक लक्षित समूहले आजसम्म बीमा भुक्तानी पाएका छैनन् । नेपाल सरकारले नाफामूलक स्वास्थ्य क्षेत्रलाई क्रमशः सेवामूलक क्षेत्रमा रूपान्तरण गरी स्वास्थ्य क्षेत्रलाई मानव स्वास्थ्यप्रति जिम्मेवार बनाउनु, स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्व वहन गर्ने, सीप मिश्रित दक्ष स्वास्थ्य जनशक्तिको सन्तुलित व्यवस्था गर्नु, औषधि उत्पादनमा आत्मानिर्भर बन्नु, औषधि तथा औषधिजन्य सामग्रीको प्रभावकारी व्यवस्थापन तथा नियमन गर्नु, स्वास्थ्य सूचना प्रणालीलाई प्रभावकारी गर्नु भन्ने नेपाल सरकारको नीति तथा कार्ययोजना भए पनि सो कागजमा मात्र सीमित भएको छ ।

उदाहरणको रूपमा स्वास्थ्य बीमा आफैँ अस्वस्थ भई सोको प्रभाव मध्यमवर्गीय मानिसहरूमा परेको छ । स्वास्थ्य बीमा लागू भएका अस्पतालहरूले नेपाल सरकारले समयमै आवश्यक बजेट प्रदान नगरेको भन्दै सेवा नै बन्द गरेका छन् भने केहिले बन्द गर्ने तयारीमा छन् । बीमा कार्यक्रम राम्रो भए पनि बाध्यताले यसको सेवा नै बन्द गर्नुपरेको सम्बन्धित सरोकारवाला बताउँछन् । यसको प्रभाव मध्यमवर्गीय र सीमान्तकृत वर्गलाई प्रत्यक्षरूपमा परी संविधानले सबै जनतालाई स्वास्थ्य सेवा निःशुल्क हुन्छ भन्ने कुरालाई चुनौती दिएको छ । स्वास्थ्य बीमा बोर्डले भने जनशक्ति अभावमा अस्पताललाई समयमा मागदाबीअनुसार भुक्तानी दिन नसकिएको जनाएको पाइन्छ । स्वास्थ्य बीमा बोर्डका अनुसार स्वास्थ्य बीमा सेवा दिने अस्पताल चार सय ४९ भएको पाइन्छ । यी अस्पतालबाट दैनिक २५ हजार बिरामीको लागि भुक्तानी दाबीको लागि माग आउने गरेको पाइन्छ । स्वास्थ्य बीमा बोर्डको हालको जनशक्तिले दैनिक १० हजारसम्मको लागि मात्र सेवा दिन सम्भव हुन्छ भनी जनाएको पाइन्छ ।

समग्रमा माथि उल्लेख भएजस्तै नेपाली जनताले अपेक्षा गरेअनुसारको स्वास्थ्य सेवाको विस्तारित पहुँच र एकरूपता लक्षित समूहसम्म नपुग्नु, सोसम्म स्वास्थ्य बीमामार्फत पु-याउने प्रयास भए पनि हाल आएर विभिन्न बहानामा सेवा नै धमाधम बन्द हुनु मध्यमवर्गीय जनताको स्वास्थ्यमा ठूलो खेलबाड हो भन्नुमा अत्युक्ति नहोला ! सेवामूलक तथा जनस्वास्थ्यप्रति उत्तरदायी सेवा, जनशक्ति तथा भौतिक संरचनाको अभाव भएका संरचना तथा जनशक्ति पनि आवश्यक मात्रामा प्रयोग गर्न नसक्नु, विभिन्न महामारीसम्बन्धी जनस्वास्थ्य उत्पादन र उपयोगबीच सामान्जस्यता हुन नसक्नु, स्वास्थ्य सेवामा सरकारी तथा निजी क्षेत्रको सहभागिता यथोचित समन्वयको अभाव आदि कारणले पनि स्वास्थ्य सेवामा ठूलो प्रभाव परेको पाइन्छ । माथि उल्लिखित विभिन्न व्यवधानले पन्ध्रौँ योजनाको सफल कार्यान्वयनपछि स्वास्थ्यको सफलतामा नै प्रश्नचिह्न खडा भएको छ । यसो हुनुको मुख्य कारण स्वास्थ्य सेवामा कार्यान्वयनको अभाव हो ।

अतः प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा तीनै तह सरकार, गैरसरकारी संस्था, लक्षित समूहको भूमिका महत्वपूर्ण हुन्छ । स्वास्थ्य संस्थामा आवश्यक दक्ष स्वास्थ्य जनशक्तिसहित आवश्यक साधन स्रोत हुनु पर्दछ । आम नागरिकलाई प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्दछ । स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा उत्साहका साथ कार्य गर्ने वातावरण मिलाउन आवश्यक छ । स्वास्थ्य बीमा बोर्डको उद्देश्यअनुसार कार्यान्वयनमा जोड दिनुपर्दछ । तब मात्र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुगी गुणस्तर जीवनयापन गर्न मदत पुग्नेछ । (लेखकः गुणस्तर जीवन विषयमा विद्यावारिधि)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x