गुरु पूर्णिमा, नैतिक शिक्षा र गुरुको महत्व
काठमाडौं । कुनै पनि विषयमा गहिरो ज्ञान प्राप्त गर्ने वा गराउने प्रक्रिया शिक्षा हो । यो एउटा व्यक्तिभित्र रहेको प्रतिभा वा सीपलाई बाहिर ल्याउने साधन हो । शिक्षा एउटा नियमित कार्य विधि हो । यो जीवनपर्यन्त चलिरहने प्रक्रिया हो । जीवन पद्धति सरल बनाउँदै आफ्नो क्षमता वा प्रतिभालाई पहिचान गराउँदै आफैँमा बच्न सिकाउने मार्ग हो । यो व्यक्तिको तेस्रो आँखा हो । व्यक्तित्व विकासको मेरुदण्ड नै हो । समष्टिमा शिक्षा एउटा व्यक्तिको जीवनमा सबैभन्दा महत्वपूर्ण आवश्यक तत्व हो । यसमा योग्य शिक्षक एवं गुरुको भूमिका महत्वपूर्ण हुन्छ । विशेषगरी यस लेखमा गुरु पूर्णिमा/भानु जयन्ती/ व्यास जयन्ती पर्व नैतिक शिक्षा र गुरुको महत्वबारे संक्षेपमा चर्चा गर्न सान्दर्भिक होला ।
यसै सिलसिलामा २०७९ असार २९ गते गुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती पर्वको रूपमा विभिन्न कार्यक्रमसाथ मनाइयो । आफूलाई शिक्षा दिने अग्रजहरूको सम्झना गरी सबैले यस दिन गुरु पूर्णिमा पर्वको रूपमा मनाउने गरेको पाइन्छ । यसैदिन नेपाली भाषाको प्रथम कवि भानुभक्तको जयन्ती पनि मनाइन्छ । भानुभक्त महान् कवि हुन् । गुरु पूर्णिमामा गुरु व्यासको पनि जन्मदिन पर्दछ । गुरु व्यास महाभारतका रचयिता एवं एक जीवन्त पात्र पनि हुन् । यसैदिन उनको जन्मजयन्ती पनि मनाइन्छ । गुरु, कवि भानुभक्त, व्यास सबै शिक्षाका ज्योति एवं ज्ञानका पथप्रदर्शक हुन् । शिक्षा क्षेत्रमा यी महान् व्यक्तित्वहरूको योगदान धेरै छ । त्यसैले हरेक वर्ष असार गुरु पूर्णिमा एक शैक्षिक तथा ज्ञान पर्वको रूपमा मनाइन्छ ।
नेपाली समाजमा गुरु पूर्णिमाको सांस्कृतिक, सामाजिक महत्व रहँदै आएको छ । सबै गुरुबाट प्राप्त नैतिक ज्ञान, सीपको महत्व धेरै छ । व्यक्ति, समुदाय र राष्ट्रको लागि सीप, व्यावहारिक नैतिक शिक्षामा गुरुको योगदान धेरै हुन्छ । आधुनिक शिक्षण सिकाइ प्रक्रियामा धेरै प्रारूप र प्रविधिबाट सिकाउने गुरुको तुलना अरुसँग हुन सक्दैन । गुरुको तुलना डुङ्गा चलाउने व्यक्तिको रूपमा पनि लिन सकिन्छ । डुङ्गाबाट धेरै मानिसहरू तारिन्छ । तारेका मानिसहरू माथिमाथि पुगी महान् बन्छन् तर डुङ्गा तार्ने मान्छे डुङ्गामा तारेका तारै हुन्छन् । पहिलेको जस्तो गुरु–चेलाबीचको सम्बन्धमा अहिले अवरोध आएको छ ।
शिक्षाको व्यापारीकरणसँगै शिक्षक तथा गुरुहरू अर्थुपार्जनको लागि दौडधुपमा व्यस्त छन् । गुरुचेलाको सम्बन्ध पनि पहिलेको जस्तो छैन । विभिन्न कारणले स्वार्थको सम्बन्ध हुन गयो । शिक्षक विद्यार्थी सम्बन्ध चिसिँदै गई नैतिक शिक्षाको कमी भयो । यो हुनु दुर्भाग्य हो । सोको कारण विद्यालयमा साना बालबालिका गृहकार्य नगरेको निहुँमा विभिन्न यातना, यौन दुव्र्यवहारको घटना बाहिर आउने क्रम तीव्र भएको छ । समाजमा गुरुवर्गबाटै यस्तो हुनु दुर्भाग्य हो । यस क्षेत्रमा विकृति, विसंगती र बदमासीको केही अंशका हिस्सेदार हाम्रा आदणीय शिक्षकहरू मुछिनु दुर्भाग्य हो । उता शिक्षकबाट केही सिकेर आफूलाई सुधार गर्नुपर्छ भन्ने भावना आजभोलिका युवा विद्यार्थीमा पनि छैन । शिक्षक–विद्यार्थीको सम्बन्ध राम्रो नभई र शिक्षामा राजनीतीककरण भई शिक्षाको गुणस्तर खस्किँदै गई जसको प्रभावस्वरूप सुशासनमा खडेरी परेको छ ।
वास्तवमा समयआनुकूल नैतिक एवं गुणस्तरीय शिक्षा दिने गुरुवर्ग एवं शिक्षकको खडेरी परेको छ । प्रत्येक बालकको पहिलो गुरु आमा/बुबा, दिदीबहिनी, दाजुभाइ आदि हुन् । धेरै स्नेह, प्रेम र वात्सल्य वर्षाउने आमालाई पहिलो गुरु हुन् भन्नुमा अयुक्ति नहोला । आमाको गुरुत्व धेरै हुन्छ । प्रकृति पनि ज्ञान आर्जन गर्ने स्थान हो । गौतम बुद्धले प्रकृतिबाटै ज्ञान हाँसिल गरेका थिए । साधारण तथा शिक्षालाई दुई भागमा विभाजन गर्न सकिन्छ । साधारणतया शिक्षाका दुई पक्ष हुन्छन्, व्यावहारिक पक्ष र सैद्धान्तिक पक्ष । व्यवहारिक पक्षअन्तर्गत नैतिक शिक्षा पर्दछ । हुन त शिक्षाका दुवै पक्ष उत्तिकै महत्वका हुन्छन् । तर पनि नैतिक वा व्यावहारिक पक्षले व्यक्तिलाई चरित्रवान्, कर्मठ, लगनशील, अनुशासित बनाउने हुँदा यसको महत्व अझ बढी देखिन्छ । नैतिक शिक्षा वैज्ञानिकतामा भन्दा भावनामा आधारित शिक्षा हो । यसले चामत्कारितालाई भन्दा भावनालाई जोड दिएको हुन्छ ।
भौतिक विकासलाई भन्दा आत्मिक विकासलाई ध्यान दिएको हुन्छ । बाहिरी संसारमा क्रमलिनुभन्दा भित्री संसारमा रमाउनुलाई महत्व दिएको हुन्छ । एक–आपसमा सुमधुर सम्बन्ध प्रतिस्थापित गरी सम्पूर्ण समाज देश एवं विश्वमा नै भाइचाराको सम्बन्ध स्थापित गराउने कला सिकाइरहेको हुन्छ । यो शिक्षाले कुनै प्रमाणको आधार खोज्दैन बरु आफैँ प्रमाणित भएको हुन्छ । नैतिक शिक्षाले निहित स्वार्थ अन्त्य गरी भ्रष्टाचार न्यूनीकरणमा मदत गर्दछ । यसको लागि योग्य गुरुको महत्वपूर्ण भूमिका हुन्छ ।
वैज्ञानिक चमत्कारलाई नै मुख्य लक्ष्य वा आधार बनाई दौडिरहेको आजको विश्वमा नैतिक शिक्षाले कम महत्व पाइरहेको बेला नेपालमा पनि यसलाई लगभग बेवास्था गरेको पाइन्छ । जसको कारण सुशासनमा नकारात्मक असर परेको छ । आजभन्दा दुई दशक पहिलेसम्म नैतिक शिक्षालाई बढी जोड दिएर पाठ्यपुस्तक तयार पारिएको पाइन्थ्यो । त्यस समयका विषयवस्तुहरू प्रायः सबै नैतिकतामा आधारित पाइन्छ । उदाहरणका रूपमा हेर्ने हो भने पनि त्यस समयमा ‘मातृ देवो भवः पितृ देवो भवः आचार्या देवो भवः राष्ट्र देव भवः’ आदि भनेर आफ्ना आमा, बुबा, गुरु र राष्ट्र प्रतिको सम्मान एवं सद्भाव देखाइएको पाइन्छ ।
त्यति मात्र होइन पानीको मुहान वा नीद किनारमा दिशापिसाब वा फोहोर फालेमा पाप लाग्छ, फाल्नु हुँदैन भनेर नदिनाला सफा राख्ने नैतिक कुराहरू सिकाइन्थ्यो । जसले गर्दा एक त वातावरणसफा हुन्थ्यो त्यस्तो भएमा आजको जस्तो फोहोरमैलाको समस्या तथा सोको प्रभावस्वरूप विभिन्न माहामारीको सामना गर्नुपर्ने थिएन भने अर्कोतर्फ जन्मभूमि, आमा, बुबा, गुरु प्रतिको सम्मानले समाजमा सदभाव कायम थियो । यस्तो नैतिक शिक्षाका क्रमपछि आएर एउटा मात्र पाठ्यपुस्तकमा सीमित गराइयो । तर आजभोलि त्यसलाई पनि छोडेर ऐच्छिकरूपमा राख्न थालिएको छ । जसको परिणाम आज हामी आफ्नै अगाडि स्पष्ट देख्न सक्छौँ ।
हामी जता जाऔँ आपसी झगडा, असहयोग, स्वार्थीपना र भ्रष्टाचार मात्र देख्न सक्छाँै । प्रदूषित वातावरण, लागुपदार्थको सेवन, हत्या, आतङ्क यसैका विकराल परिणाम हुन् भन्न सकिन्छ । यति मात्र होइन ठूलो महल बनाई बाक्ला–बाक्ला बिछ्यौनामा सुत्दा पनि निद्रा नपाउनु र सुखको अनुभव गर्न नसक्नु नैतिक शिक्षाको अभावका परिणाम हुन् भन्दा अनर्थ नठहरिएला । मानिसलाई सुख के हो, शान्ति के हो कसरी प्राप्त गर्ने भन्ने विषयमा प्रवेश गराइएन र खालि व्यापारीकरण, सम्पन्नताको पाठ मात्र सिकाइयो । जसको फलस्वरूप मानिस सुख शान्ति र निहित स्वार्थमा मात्र मस्त भए । यहाँ सक्षम गुरुबाट नैतिक शिक्षा नै दिइएन ।
माथि नै भनिएको छ कि नैतिक शिक्षा भावनामा आधारित व्यावहारिक शिक्षा हो । यसलाई पाठ्यक्रममा राख्दा पनि अरु पाठ्यपुस्तक जस्तो कण्ठ गराएर वा घोकाएर परीक्षामा ल्याएको अंकलाई आधार बनाइ सफलता र असफताको कडीमा जाँच्न सकिँदैन । यो त व्यक्तिले वा विद्यार्थीले कतिको व्यवहारमा लागू गर्न सक्यो यसलाई आधार बनाइनुपर्दछ । उदाहरणका लािग के भन्न सकिन्छ भने स्वास्थ्य शिक्षाअन्तर्गत हाम्रा राम्रा बानी वा स्वच्छ रहन आवश्यक पर्ने बानीहरू के–के हुन् भनेर विद्यार्थीलाई सिकाइन्छ भने ती राम्रा बानी कसरी व्यवहारमा उतार्न लगाउने भन्ने कुरा सिकाइनु पर्दछ ।
परीक्षामा विद्यार्थीले राम्रा बानीका बारे पूरै कापीमा लेखेर भर्न सक्छ । तर व्यवहारमा उतार्न सक्दैन भने यसको कुनै महत्व हुँदैन । अथवा परीक्षामा लेख्दा नङ टोक्न हुँदैन भनेर लेख्दै छ तर नङ पनि टोक्दै छ भने यसको के महत्व रह्यो र ? शिक्षकले उसलाई अंक दिँदा त लेखेको आधारमा राम्रै दिनु पर्दछ । तर व्यवहारमा ऊ अनुत्तीर्ण भइरहेको हुन्छ । सेवा प्रवाहमा निहित स्वार्थ राख्नु हुँदैन । त्यस्तै कुनै कार्यालयमा गर्ने राष्ट्रसेवकलाई लोकसेवा आयोगले निहित स्वार्थ र भ्रष्टाचार निराकरणको लागि प्रश्न सोधी उत्तर लेख्न लगाउँदा सो राष्ट्रसेवकले प्रश्नको उत्तरमा त निहित स्वार्थ तथा भ्रष्टाचारले कानुनी शासन नभई देश नै बर्बाद हुन्छ भनी कपिमा उत्तर लेखेर मात्र हुँदैन उनीहरूले व्यवहारमा नै परिवर्तन गरी नैतिकवान् हुन आवश्यक छ । यसको लागि पनि सक्षम गुरुको शिक्षा आवश्यक पर्दछ ।
यहाँ नैतिक शिक्षालाई पूरै पाठ्यक्रम बनाई धेरै पाठ्यपुस्तक तयार पार्र्दै अघि बढ्नु पर्दछ भन्न खोजिएको अवश्य होइन । केबल भएका पाठ्यपुस्तकका कुराहरूलाई पनि नैतिकताको आधारमा वा नैतिकतामा परिवर्तन गरेर पढाउन सकिन्छ भन्ने आशय राख्न खोजिएको हो । उदाहरणका रूपमा हेर्ने हो भने गणित पढाउँदा समेत नैतिक विषयवस्तु पढाउन सकिन्छ । जस्तो कि जोड, घटाउ वा भाग सिकाउँदा यही हामी आँप वा सुन्तलाको उदाहरण दिन्छौँ भने यति आँप कुहिए अथवा नोकरले चोरेर खायो भन्नुको सट्टा काम गर्ने मानिसलाई भोक बढी लागेकोले ममीले माया गरेर यतिवटा दिनुभयो अथाव घरमा रहेका काम गर्ने मानिस समेत सँगै बसेर यति–यति वटा भाग लगाएर सँगै खाए भन्ने कुराको उदाहरण दिन सकिन्छ ।
जसले विद्यार्थीको बाल मस्तिष्कमा काम गर्न मानिस (नोकर) प्रतिको धारणा सकारात्मक हुन सक्छ । यस्ता उदाहरण सामाजिक शिक्षा, विज्ञान शिक्षा र सँगै बाँडी–चुँडी खानुपर्दोरहेछ भन्ने भावनाको विकास हुन्छ । नेपालीजस्ता पाठ्यपुस्तक पढाउँदा त झनै सजिलोसँग सिकाउन सकिन्छ । अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकुदमा प्रतिस्पर्धाभन्दा आपसी मेलमिलाप, सहयोग, अनुशासनको कुरा सिकाउनु झनै सरल हुन्छ । कथा कहानी भन्दा पनि नैतिक विषयवस्तुलाई प्रमुख स्थान दिन सकिन्छ । योगा, प्राणायाम, ध्यानजस्ता कुराहरू पनि अतिरिक्त क्रियाकलापमा राख्ने हो भने त झन् सुनमा सुगन्ध नै हुन सक्दछ । यसले त विद्यार्थीको नैतिकता मात्रै होइन शारीरिक तन्दुरुस्तता पनि ल्याइदिन्छ ।
यसरी अन्त्यमा के भन्न सकिन्छ भने नैतिक शिक्षालाई अन्धविश्वासमा आधारित शिक्षा परम्परावादी शिक्षा, धर्ममा आधारित शिक्षा, वैज्ञानिकताविरोधी शिक्षा आदि भनेर बेवास्ता अथवा हेला गर्नुको सट्टा त्यसमा रहेको यथार्थतालाई बुझेर सके पाठ्यपुस्तक नै तयार पारेर नभए भइरहेका पाठ्यपुस्तकमा समावेश गरेर, त्यति पनि नभए नैतिकतालाई आधार बनाई कक्षाहरूमा विश्लेषण गरेर अगाडि बढ्नु आजको आवश्यकता हो । नैतिकताको विषयवस्तु पुरानो वा अव्यावहारिक कहिल्यै हुँदैन । खाली त्यसलाई नयाँपन वा व्यावहारिक कसरी बनाउने भन्ने सोचाइको कमी मात्रै हो । यदि हामी हाम्रो समाज देश वा विश्वलाई साँच्चै स्वच्छ, शान्त र समृद्ध बनाउन चाहेकै छौँ भने यी कुराहरूलाई एक पटक गहिरिएर मनन गर्नु आजको प्रमुख आवश्यकता हो । तब मात्र हरेक वर्ष मनाइने गुरु पूर्णिमाको सार्थकता हुनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया