Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवित्तीय साक्षरता किन ?

वित्तीय साक्षरता किन ?


काठमाडौं । वित्तीय साक्षरता खासमा यो पैसाको विषयमा केन्द्रित हुन्छ । अविकसित तथा विकासोन्मुख राष्ट्रहरूमा पैसा कसरी कमाउने र बचतमा कसरी वृद्धि गर्दै समग्र पारिवार, समाज र समुन्नत राष्ट्रको विकास गर्ने भन्ने कुराहरूमा अन्योलता भइरहेको हुन्छ । हामी र हाम्रो समाज पैसाको निर्माण कहाँबाट र कसरी हुन्छ, के प्रयोजनका लागि हुन्छ भन्ने साना कुराहरूमा अल्झिएर बसेका छौँ, कारण वित्तीय साक्षरताको कमीका कारण हो । ग्रामीण समाज जहाँ गाँस र आवासमै केन्द्रित भएका कारण पनि वित्तीय ज्ञानको आभावमा रहेका छन् । हाम्रो समाजले वित्तीय साक्षरताको महत्व र आवश्यकताको पहिचान गर्न नसक्नुका साथै त्यो समाजसम्म वित्तीय साक्षरताको प्रभावकारिता र फाइदाको बारेमा उल्लेख्य कार्यक्रम नहुनाले पनि आज ग्रामीण समाजहरू वित्तीय साक्षरताको पहुँचभन्दा टाढा रहेका छन्  ।

जब राज्य पुनर्संरचानामा देश गएपछि गाउँ नगरहरूमा नेपाल राष्ट्र बैंकको परिधिभित्र रही बैंक तथा वित्तीय संस्थाहरूका शाखा, उपशाखाहरूको कार्यक्रम सुरुवात त गरे तर ग्रामीण समाजभित्र वित्तीय संघसंस्थाहरूको काम कर्तव्य र अधिकारका क्षेत्रहरूको बारेका बुझाउने काम भएन । अधिकांश गाउँ समाजहरू अझै पनि प्रत्यक्ष बैंक तथा वित्तीय संस्थाहरूमा जोडिन सकेका छैनन् । बैंक तथा वित्तीय संघसंस्था के हुन्, कुन उद्देश्यका निम्ति सञ्चालित छन्, के–कस्ता कार्यक्रमहरू सञ्चालन गर्छन् भन्ने विषयमा अनभिज्ञ छन् । साधारण कुराहरू बैंकखाता, निक्षेप, ब्याज, कर्जा, डिम्याट, सि–आस्वा प्रणाली, डिजिटल बैंकिङ, मुद्रास्फीति, संकुचन, ब्याजदरमा आधारदर र प्रिमियमदरजस्ता विषयहरूमा ज्ञानमा कमी रहेको पाइन्छ ।

नेपालको परिवेशमा २० प्रतिशत पनि नेपालीहरूले वित्तीय साक्षरताको बारेमा ज्ञान प्राप्त गरेका छैनन् । २०७९÷८० सालको बजेटमा सीमान्तकृत तथा दलित उत्थान कोष स्थापना गर्ने र बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको लागि छुट्याएको रकमको न्यूनतम ५० प्रतिशत सो कोषमा जम्मा गर्नुपर्ने व्यवस्था पनि बजेटमा गरेको छ जुन कुरा हामी साक्षरता अभावका कारण हुन सक्छ । जब हामी वित्तीय हिसाबमा साक्षर हुँदैनौँ भने हामी धन कमाएर धनी बन्न पनि सक्दैनौँ । वित्तीय साक्षरतालाई बुझेको व्याक्तिले पैसालाई कसरी परिचालन गर्ने र धन कमाउने भन्नेमा पोख्त हुन्छ । त्यस कारण पनि एक घर एक व्याक्तिलाई सचेतना कार्यक्रम सञ्चालन गर्दै वित्तीय साक्षरताको दायरामा वृद्धि गर्नुपर्ने देखिन्छ । संघीयताको अभ्यासमा रहँदा आज नेपालमा पनि धेरै मात्रामा बैंक तथा वित्तीय संस्थाको स्थापना भएका छन् । प्रभावकारी सचेतनाको अभावमा बैंकमा खाता खोलाउन समेत समस्या देखिछ । हरेक व्यक्तिहरूमा पहिलो चरण खाताको प्रकार र महत्व बुझाउँदै व्यक्तिलाई बैंक तथा वित्तीय संस्थामा आबद्ध हुने कार्यक्रमहरू सञ्चालन गराउने र पैसाको महत्व बुझाउन सके मात्र पनि वित्तीय साक्षरतामा वुद्धि हुन्थ्यो । वित्तीय साक्षरतामा आम्दानीसँगै खर्च व्यवस्थापनको सचेतना कार्यक्रमहरू ल्याउनुपर्दछ ।

वित्तीय साक्षरताको माध्यमबाट विशेषगरी कार्जा लगानीको बारेमा पनि सचेतना गाराउन आवाश्यक छ किनभने बैंकको निक्षेप कस्तो क्षेत्रमा प्रयोग हुन्छ भन्ने बारेमा पनि सचेतना गराउनु पनि वित्तीय साक्षरता मानिन्छ । निक्षेपहरूलाई कर्जामा परिणत गर्दै उद्यमीहरूको विकास गर्न सक्ने हो र प्रत्येक उद्यमीहरूलाई कर्जाको बारेमा जानकारी गराउन पनि आवाश्यक छ । किनभने फरक–फरक कर्जाको ब्याजदर पनि फरक हुने हँुदा पनि वित्तीय साक्षरता आवाश्यकता देखिन्छ । कर्जाबारेमा सबैलाई थाहा नहुन पनि सक्छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको जानकारी गराउँदै उद्योगधन्दाहरूमा गरिएको लगानीबाट प्राप्त भएको मुनाफाबाट क्रण तिर्दै आफू सम्पन्न हुने कुरामा पनि सचेतना गराउनु पर्दछ ।

वित्तीय साक्षरता हुनु भनेको अर्थतन्त्रसम्बन्धी जानकारी हुनु पनि हो । जहाँ पैसालाई परिचालन गर्न सिक्नु, सिकाउनु पैसाबाट धेरै पैसा आर्जन गर्ने सक्ने क्षमताको विकास गर्नु पनि वित्तीय साक्षरता हो । नेपाल राष्ट्र बैंकले हरेक समुदाय, वर्ग र व्याक्तिलाई लक्षित गर्दै वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनीहरू वर्गीकरण गर्दै विकास तथा विस्तार गरेको छ । यी सबै वित्तीय संस्थाहरूले हरेक नागरिकलाई वित्तीय गतिविधिहरूमा समावेश गर्दै आधारभूत कुराको ज्ञान दिएर बैंकिङ पहुँचमा आबद्ध गराउन सक्नु पनि वित्तीय साक्षरता हो ।

वित्तीय साक्षरताअन्तर्गत बीमाक्षेत्रलाई पनि लिन सकिन्छ । किनभने बीमाको क्षेत्रभित्र प्रवेश गर्न पनि विभिन्न कुराहरूको अध्ययन विश्लेषण गर्न आवाश्यक छ । बीमा किन गर्ने ? यसका फाइदा के–के हुन् भन्ने विषयको ज्ञान हुन पनि वित्तीय साक्षरता आवश्यक पर्छ । बीमाको क्षेत्रमा अनिवार्य बचत गर्न बानीको विकास गराउन, ऋणभारबाट मुक्त हुन, कुनै पनि घटना वा दुर्घटनमा पर्नसक्ने क्षतिबाट सुरक्षा पाउन, भविष्यमा आउनसक्ने सम्भावित आर्थिक दुर्घटनाबाट जोगिनका निम्ति, भविष्यका लागि बचतको ग्यारेन्टीजस्ता फाइदाहरूका लागि पनि वित्तीय साक्षरता आवाश्यता रहेको छ । जबसम्म कमाएको पैसाको उचित उपयोगमा मानिसहरू सचेत हुँदैनन् तबसम्म स्थायी आर्थिक उन्नति हुन सक्दैन । ग्रामीण क्षेत्रमा विपन्न वर्ग जो ऋण लिएर कृषि, पशुमा लगानी गरेका हुन्छन्, तिनीहरूमा हरेक लगानीको बीमा हुन आवाश्यक छ । बीमाले क्षति भइहालेमा क्षतिबापत क्षतिपूर्ति पाउने अवस्थाको सिर्जना हुनु भनेको पनि वित्तीय साक्षरता हुनु हो । त्यस कारण आर्थिक तथा वित्तीय सुधारका लागि आर्थिक तथा वित्तीय निर्णय लिन सक्ने बनाउनका लागि वित्तीय साक्षरता महत्वपूर्ण हुन्छ ।

अन्ततः सफल व्यवसायी, कृषक, उद्यमीहरूलगायत सर्वसाधारण सबैमा वित्तीय साक्षरता हुन आवश्यक छ । देशको अर्थतन्त्रलाई सबल बनाउन आम सबैको भूमिका सर्वपक्षीय रहेको हुँदा तल्लो वर्गदेखि माथिल्लो निकायका व्यक्तित्वहरूसँग सबैमा वित्तीय साक्षरताको ज्ञानमा अभिवृद्धि गर्ने सकियो भने आर्थिकरूपमा समृद्धि हासिल गर्ने सकिन्थ्यो । हरेक राष्ट्र समृद्धिउन्मुख, सुखी नेपाल खुसी नेपालीको अभियान सफल पार्ने हो भने वित्तीय साक्षरता आधारभूत आवश्यकता रहेको पाइन्छ । टोल–टोल बस्ती–बस्तीमा वित्तीय कार्यक्रमहरू नियमित सञ्चालनमा रहे पनि वित्तीय नियकाहरू आफ्नो कार्य जिम्मेवारी र कार्य सम्पादनमा मात्र सीमित रहेको हुँदा वित्तीय साक्षरताको अभाव रहेको देखिन्छ । वित्तीय कम्पनी निक्षेप र कर्जामा मात्र बढी मात्रामा केन्द्रित देखिएको हुँदा आम समुदायमा निक्षेप र कर्जाका बारेमा पर्याप्त ज्ञान नहुँदा आज खराब कर्जामा वृद्धि भएको पाइन्छ । तसर्थ हरेक वित्तीय कार्यक्रमहरू सफलरूपमा सम्पादन गर्नको निम्ति ग्रामीणस्तरदेखि नै वित्तीय साक्षरताको आवश्यकता देखिन्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x