Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगग्रामीण पर्यटनमा विविधीकरण

ग्रामीण पर्यटनमा विविधीकरण


काठमाडौं । नेपालमा ग्रामीण पर्यटन प्रवर्द्धनको दृष्टिले सन्तोषजनक नभए पनि सम्भावना भने प्रशस्त रहेको छ । खासगरी ग्रामीण क्षेत्रमा छरिएर रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गरेर कम लगानीमै पनि पर्यटक भित्र्याउन सकिन्छ । ग्रामीण पर्यटनको प्रवर्द्धनबाट धेरै फाइदा लिन सकिन्छ । पर्यटनको प्रवर्द्धन उचित किसिमले हुने हो भने नेपालमा गरिबी उत्थानमा यसले ठूलै भूमिका खेल्ने निश्चित छ । यसले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन मदत गर्दछ ।

नेपालमा पर्यटन विकासको थालनी भएको धेरै वर्षपछि मात्रै व्यवस्थितरूपमा ग्रामीण पर्यटनको अवधारणा आएको पाइन्छ । नागरिक स्तरबाट होमस्टेको अभ्यास सुरु भएको केही वर्षपछि मात्रै कानुनीरूपमा होमस्टेलाई व्यवस्थितरूपमा सञ्चालन गर्न २०६७ सालमा होमस्टे सञ्चालन कार्यविधि ल्याइएको थियो । २०५४ सालमा विधिगतरूपमा सिरुबारीमा पहिलो पटक होमस्टे स्थापना भएको थियो । उद्यपि सरकारले सरकारले पर्यटन योजना सन् १९७१ मा पनि ल्याएको थियो तर यो बाह्य पर्यटकहरू बारेमा कसरी गतिविधि गर्ने भन्ने बारेमा नै केन्द्रित थियो ।

नेपालको पर्यटन नीति २०६५ मा नेपालमा सहरकेन्द्रित भएको पर्यटनलाई गाउँतर्फ उन्मुख गराउन आवश्यक छ भन्ने कुरा उल्लेख गरी उक्त कार्यविधि ल्याइएको हो । ग्रामीण पर्यटनलाई जोड दिन सरकारले राष्ट्रिय रणनीति योजना बनाउन सन् २०११ बाट सुरु गरेर सन् २०१६ मा कार्यान्वयनमा ल्याएको थियो । त्यसपछि यो रणनीतिअन्तर्गत २०१६ देखि २०२५ सम्म १० वर्षे योजनाहरू रहेका छन् । पर्यटनसम्बन्धी रणनीतिक योजना (२०१६–२०२५) ले खालि पर्यटनसित सम्बन्धी परम्परागत पक्षप्रति नै जोड दिइएको छ । ग्रामीण पर्यटनको विकासका लागि कुनै ठोस योजना बनाइएको छैन ।

नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि ग्रामीण पर्यटनको प्रवर्द्धन गर्नु अनिवार्य छ । नेपाल आइसकेका पर्यटकलाई ग्रामीण क्षेत्रमा पनि लैजान उनीहरूको लागि केही न केही आकर्षित वस्तु हुनुपर्दछ । त्यसको लागि गाउँमा भएका स्रोत साधनहरू र उत्पादित वस्तुलाई नै प्रयोग गरेर पर्यटनहरूलाई आकर्षण गर्न सकिन्छ । यसो हुन सक्यो भने नेपालमा धेरैभन्दा धेरै पर्यटकलाई ल्याउन सकिन्छ । नेपालीहरूसँग भएको अतिथि देवोः भव भन्ने भाव नै पर्यटक आकर्षण गर्ने कारक तत्व हो । पर्यटकहरूले होटलमा खाने खानाभन्दा होमस्टेमा उपलब्ध हुने खानामा फरक स्वाद र बढी आत्मीयता पाउने भएको कारण होटलको अलावा होमस्टे नै रुचाउने गरेको पनि पाइन्छ । साथै होटलको तुलनामा होमस्टे सञ्चालन कार्य सहज र कम खर्चिलो पनि छ ।

नेपाल प्राकृतिक, सांस्कृतिक दृष्टिकोणले अन्त्यन्त सुन्दर र विविधता भएकाले ग्रामीण पर्यटनको प्रवर्द्धन गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न यसमा विविधिकरण गर्नु जरुरी छ । यहाँको मौलिक संस्कृति र परम्परागत स्वाद ग्रामीण भेगमा अझै पनि पाइन्छ । नेपालमा खोलानाला, वनजङ्गल, वन्यजन्तु र नेपालीले आफैँले तयार गरेका मठमन्दिर, भेषभूषा रीतिरिवाज खानपान नै पर्यटन आकर्षण गर्ने चिज हुन् । प्राकृतिक सौन्दर्य त्यस क्षेत्रमा रहेको जनजातिको सांस्कृतिक सम्पदाहरूले पर्यटकलाई आकर्षित गर्दछ ।

ग्रामीण पर्यटन प्रवर्द्धनमा होमस्टेले निकै प्रभावकारी भूमीका निर्वाह गर्न सक्छ र गर्दै आएको पनि छ । पछिल्ला केही वर्षयता होमस्टे नेपाली ग्रामीण पर्यटनको बलियो आधारस्तम्भ बनेको छ । तथ्यांकअनुसार अहिलेसम्म ५० भन्दा बढी जिल्लामा होमस्टे सुरु भइसकेको छ । पर्यटन प्रवर्द्धनको निम्ति होमस्टे सञ्चालन गर्ने क्रममा पनि केही सेवाहरू थप गर्नुपर्ने र केही सेवाहरूमा विविधीकरण गर्नुपर्ने आवश्यकता पनि छ । अहिलेसम्म जुन किसिमले सेवा दिँदै आएका छौँ, त्यसमा केही परिवर्तन गर्दै विविधीकरण गर्न सकेको खण्डमा त्यसले पर्यटकमा नयाँ सन्देश प्रवाह गर्न सक्छ । यसअन्तर्गत खानाको स्वाद अर्थात् परिकार तथा स्थानलगायत रहन सक्छन् । साथै खानाको परिकारको हिसाबले हेर्दा पनि नेपाल निकै धनी छ । नेपालको मेचीदेखि महाकालीसम्म ठाउँको विविधीकरण हुँदै जाने क्रममा ती क्षेत्रका खानाहरूमा समेत विविधीकरण छ । विभिन्न जातजातिका आफ्नै अलग–अलग परिकारहरू छन् ।

ग्रामीण भेगमा जनतालाई पर्यटनका माध्यमबाट पनि पैसा कमाउन सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ भने अर्कोतर्फ लुकेर बसेका गन्तव्यको विकास र प्रवर्द्धन उत्तिकै मात्रामा भइरहेको छ । ग्रामीण भेगसम्म पर्यटक लैजान नसक्नुको एक कारण कमजोर पूर्वाधार पनि हो । यसमा सुधार हुनु आवश्यक छ । नेपाल आउने विदेशी पर्यटकलाई नेपाली कला, संस्कृति र रहनसहनसँग परिचित बनाउन प्रचलित रीतिरिवाजको प्रवद्र्धन, आतिथ्य, मैत्री र सद्भावनासँग परिचित गराउन नेपाली शैलीका आवासगृह, चमेनागृह र अन्य आवश्यक पूर्वाधार तयार गर्नुपर्छ । नेपालमा मगर, थारू, गुरुङजस्ता मौलिकतामा धनी जातजातिले होमस्टे चलाएका छन् । उनीहरूको मौलिक पोसाक, स्वादिष्ट खाना र परम्परागत नृत्य तथा संगीतले पर्यटक आकर्षित गर्ने क्षमता राख्छ ।

ग्रामीण पर्यटनलाई गरिबी निवारणसँग आबद्ध गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनलाई पर्यटन प्रबर्द्धनसँग आबद्ध गरी पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायसम्म पु-याउने, समुदायमा स्थापित आदिवासी जनजातिको परम्परागत ज्ञानमा आधारित सम्पदाहरूको संरक्षण गरी पर्यटन विकास एवं प्रवर्द्धनमा आबद्ध गराउने, स्थानीय समुदायहरूद्वारा उत्पादित मौलिक र परम्परागत हस्तकला तथा अन्य उपहार सामग्रीको बिक्रीवितरणको लागि बजार व्यवस्थापनको उचित प्रबन्धजस्ता कार्यनीतिहरू बनाएर राष्ट्रिय पर्यटन नीतिले ग्रामीण पर्यटनलाई ग्रामीण क्षेत्रमा स्वरोजगार र आम्दानीका अवसरहरू प्रदान गर्ने सोच राखेको छ ।

गाउँका परम्परागत व्यवहार, त्यहाको मौलिक संस्कृति, खेतीपाती वा दैनिक व्यवहारको अवलोकन, गाउँको सेरोफेरोको भ्रमण अनि गाउँमै उत्पादन गरिएका सामग्रीहरू खाँदै गाउँकै घरमा बस्ने अनि गाउँमै उत्पादन भएका कोशेलीहरू बोकेर जाने गतिविधिहरू ग्रामीण पर्यटनभित्र पर्छन् । ग्रामीण पर्यटनको अभिन्न पक्ष रहेको होमस्टेमा पनि केही विकृतिहरू देखिन थालेका छन् । होमस्टेको नाममा राज्यबाट छुट र सुविधा लिने अनि गाउँमा रिसोर्ट शैलीमा बढी मूल्य लिएर व्यवसाय गर्ने प्रवृत्ति बढ्न थालेको छ । यस्ता गतिविधिले होमस्टेको वास्तविक स्वाद दिँदैन । ग्रामीण भेगमा हुने पर्यटकीय गतिविधिमा असर पुग्ने गरी भित्रिएका विकृति भने हटाउनुपर्छ ।

ग्रामीण पर्यटन धार्मिक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरू गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले बिकासबाट पछाडि परेको ग्रामीण क्षेत्रको विकास हुन्छ । ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिनसक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरू अहिले सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउँछन् । एक सर्वेक्षणअनुसार अहिले झण्डै ८० प्रतिशत पर्यटक सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा जान चाहन्छन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरूले ग्रामीण वातावरण रुचाउन थालेका छन् । ग्रामीण पर्यटकहरूले पनि खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन् ।

मुलुक सङ्घीयतामा गइसकेको सन्दर्भमा स्थानीय सरकारले ग्रामीण पर्यटनको महत्व बुझ्न सकेको देखिँदैन । कोरोना कहरले थला परेको नेपालको पर्यटन क्षेत्र सजिलैसँग अझै उठ्न सक्ने छैन । अझ परम्परागत किसिमको सहरी सम्पदा तथा संरक्षण क्षेत्रमा आधारित पर्यटनले गति लिनको लागि अझै समय लाग्ने देखिन्छ । विषम अवस्थामा पनि पर्यटनलाई पहिलेकै लयमा फर्काउन सकिने भनेको जोगाउन सक्ने सम्भावना भएका सीमित क्षेत्रहरू छन्, तीमध्ये ग्रामीण पर्यटन सबैभन्दा भरपर्दो क्षेत्र देखिएको छ । तसर्थ, सरकार, निजी व्यवसायी र आम जनताले पनि ग्रामीण पर्यटनको भावना र सिद्धान्तबमोजिम आवश्यक पूर्वाधार निर्माण, मौलिकताको संरक्षण र अतिथि देवो भवः को मर्मलाई कार्यान्वयन गर्न ध्यान दिनुपर्दछ । पर्यटकीय गन्तव्यको विविधीकरण गर्न सकिएमा मात्रै विदेशी पर्यटकलाई लामो समय टिकाउन सकिन्छ र मुलुकको आर्थिक विकासमा उच्च योगदान पुग्ने देखिन्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x