Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबढ्दो लागुऔषध दुव्यर्सनको समस्या

बढ्दो लागुऔषध दुव्यर्सनको समस्या


काठमाडौं । विश्वव्यापीरूपमा लागुऔषध दुव्यर्सनको समस्या बढ्दोरूपमा भएको देखिन्छ । यस समस्यालाई निराकरणको लागि नेपाललगायत अरु देशहरूले आ–आफ्नो क्षमताबमोजिम सहयोग गर्नुपर्ने हुन्छ । यसमा खासगरीकन विकासशील देशहरू बढी पीडित भए पनि विकसित देशहरू पनि यसमो मारमा परेको देखिन्छ । यसै कुरालाई ध्यान दिएर प्रत्येक वर्षको जुन २६ तारिखमा अन्तर्राष्ट्रिय दुव्यर्सनविरुद्धको दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको सन् १९८७ मा भएको साधारणसभाले जुन २६ लाई दुर्व्यसनविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यसमा विकसित देशहरूभन्दा विकासोन्मुख देशहरूमा बढी मात्रामा यस्ता दुर्व्यसनीहरू पाइन्छ । यो किन हुनगएको भन्दा विज्ञहरूको भनाइअनुसार ती देशहरूमा कानुन फितलोलगायत सरकारी अनुगमनको कमी, रोजगारीको अभाव, अशिक्षा, गरिबी र यसबारेको जनचेताको कमी आदिजस्ता मुख्य कारणहरू रहेको पाइन्छ ।

हाम्रो देशको कुरा गर्ने हो भने पनि संसारका अन्य देशहरूझै दुर्व्यसन गैरकानुनी हो तर संसारका अन्य देशहरूझै नेपालमा पनि दिनानुदिन दुव्यर्सनको समस्या बढ्दो छ । आखिर कहाँ छ त ? यो लहरोको पहरो ? किन थामिँदैन यसको आपूर्ति ? मुलुककै विभिन्न भागमा गाँजालगायत यस्ता लागुपदार्थ खेतीमा सरकारले कुनै किसिमको कडा कानुन बनाएर लागू गर्न सकेको पाइँदैन । हाम्रो छिमेकी देशहरूलगायत अन्य मुलुकबाट आयात गरिएका लागुऔषध, हरेक दिन गल्ली–गल्लीमा बेचिन्छन् र सरकारको मौनता र गतिहीनता घृणायोग्य छ । यसर्थ लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार प्रत्येक वर्ष ११ प्रतिशतका दरले देशभर लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि भएको देखाएको छ ।

अहिले देशभर कडा किसिमको लागुऔषध सेवन गर्ने प्रयोगकर्ताको संख्या एक लाख ४१ हजार आठ सय ३४ जना रहेको छ । सम्बन्धित क्षेत्रको भनाइअनुसार दुई लाख प्रयोगकर्ता दुर्व्यसनीबाट निस्कनै नसक्ने गरी फसेको जानकारी पाइन्छ । यसरी लागुऔषध प्रयोग गर्नेहरूमा १५ देखि २५ उमेरसमूहका युवापुस्ता बढी छन् । सुई प्रयोगकर्ताको संख्या ५२ हजारको हाराहारीमा छन् । पछिल्लो समयको ट्रेन्ड हेर्दा पुरुषभन्दा महिला लागुऔषध प्रयोगकर्ताको संख्या थपिँदै गएको छ । कुल लागुऔषध प्रयोगकर्तामध्ये १० प्रतिशत महिला रहेको तथ्यांकले देखाउँछ । देशमा गाँजा, अफिम र फर्मास्युटिकल ड्रग प्रयोग गर्नेको संख्या बढी रहेको छ ।

अवैधरूपमा सञ्चालन भएका औषधि पसलहरूमा समेत अहिले सजिलै लागुऔषध पाउने भएकाले पनि प्रयोगकर्ताहरू बढ्दै गएका छन् । यसर्थ सम्बन्धित निकायको भनाइअनुसार पछिल्लो समय सबैभन्दा बढी र सजिलै पैसा कमाउन सक्ने थलो लागुऔषधको कारोबार बन्दै गएको छ । मूलतः विसं २०३३ सालमा लागू भएको ऐन अहिलेसम्म परिमार्जित नहुँदा कामकारबाहीमा समेत समस्या रहेको छ । सुर्तीजन्य पदार्थ, मदिरा हुँदै लागुऔषधमा पर्नेगरेको देखिएको छ । यसमा पनि घरपरिवार र विद्यालयका शिक्षकहरूले गरेको धुम्रपान र मध्यपानको कारणले पनि युवापुस्ता अम्मली बन्ने गरेको गृह मन्त्रालयका तथ्यांकमा उल्लेख गरिएको पाइन्छ । त्यसैगरी ६० जना सरकारी विद्यालयका शिक्षकहरूमा गरिएको सर्वेक्षणमा ५० शिक्षकले मदिरा सेवन गर्ने गरेको र आधाभन्दा बढीले सुर्तीजन्य पदार्थ खाने गरेको पाइएको सोही मन्त्रालयले जनाएको छ ।

यसर्थ यी विभिन्न तथ्यांकका आधारमा घरपरिवार र विद्यालयका शिक्षकबाट नै सुधारको कदम नचालिए देशमा दुर्व्यसनीको संख्या कम नहुने जिकिर गरेका छन् । फलतः लागुऔषधबाट छुटाउनका लागि देशभर एक सय ५० वटाभन्दा बढी पुनर्स्थापना केन्द्रहरू सञ्चालनमा छन् । तर, यस्ता केन्द्रमा उपचारको लागि १० प्रतिशत मात्र दुर्व्यसनी पुग्ने गरेको सम्बन्धित क्षेत्रले बताउँदै आएको छ । सो निकायको भनाइअनुसार नेपालमा चारदेखि पाँच लाख मानिसले लागुऔषध सेवन गर्नेगरेको दाबी गर्छन् । यसर्थ पछिल्लो समय प्रेमीबाट १० प्रतिशत युवती औषधि सेवन गर्नेगरेको उनले बताए । यसको साथै विद्यालयस्तरमा नै लागुऔषधसम्बन्धी विषय समेटिए प्रयोगकर्ताको संख्या कम गर्न सकिने बताइन्छ । तर, लागुऔषध प्रयोगकर्तामा ६० प्रतिशत चिकित्सक र ५० प्रतिशत इन्जिनियर समेत रहेको सम्बन्धित क्षेत्रको भनाइ पाइन्छ ।

अन्त्यमा भन्नुपर्दा देशमा थुप्रै सुधार केन्द्रहरू खुले पनि दुव्यर्सनीहरूको संख्या भने दिनपरदिन झनै बढ्दो रूपमा रहेको देखिन्छ । यसर्थ सम्पन्न परिवारको मानिसहरू मात्र नभई अन्य धेरै परिवारका, बाबुआमाका सपना बोकेका, समाजका होनहार आशालाग्दा मान्छेहरू यस्तै लागुऔषधको दुर्व्यसनका फसेका छन् । यसमा हेर्ने हो भने साथीसंगत, समय, चाह, फेसन, बिछोड, सम्पन्नता, गरिबी र बाटो बिराएको जस्ता धेरै परिभाषाले दुर्व्यसनलाई व्याख्या गर्न खोजिए पनि दुर्व्यसनविरुद्ध समाज, राष्ट्र अनि विश्व अझै प्रभावकारीरूपमा एकरूप हुनसकेका छैनन् । जसले गर्दा मानिसलाई पहिले नशा नै जीवनजस्तो लागेको थियो रे, तर सुस्तरी जीवनको खोजीमा नशामा डुब्दै जाँदा अब जीवन बिलाएर उनीहरूको पोल्टोमा नशामात्र बाँकी छ । यसरी लागुऔषध दुर्व्यर्सनको वृत्त र चरित्रहरू त हाम्रो समाजमा हामीले देख्दै आएको छौँ नि विभिन्न स्वरूपका छन् ।

अतः पवित्र धार्मिकस्थल पशुपति क्षेत्र काठमाडौंमा नशाजन्य पदार्थ सुँघेर बेहोसीमा बसेका साना कलिला भाइबहिनीहरूदेखि तारेहोटलमा नशाजन्य लागुऔषधमा पुँजीपतीसम्म, एक चिलिम गाँजा माग्दै हिँडेको देखि ओखती पसलमा सामान्य रोगका ओखतीहरू धेरै सख्याँमा खरिद गरी सेवन गरेर सुत्नेसम्म दुर्व्यसनका स्वरूप अनेक छन् । यसको प्रयोगमा कोही डर भगाउन त कोही सिर्जनात्मकता बढाउन सेवन गर्नेगरेको बयान दिन्छन् तर यथार्थ त के हो भने दुर्व्यसनीले दुर्व्यसनसँगै जीवन पनि खाइरहेका हुन्छन्, छोटो अवधिमै सकिने गरी । यसरी दुर्व्यसनलाई बिरामीको रूपमा व्याख्या गरिएको पाइन्छ, यस्तो बिरामी जहाँ दुर्व्यसनीको दिमागका न्यूरनेनहरू कुनै रसायन या लागुऔषधको प्रयोगसँगै चल्दछन् । यी लागुऔषधको प्रयोगले दुर्व्यसनीको सोच, निर्णय, सम्बन्ध र मानसिकतामा गहिरो प्रभाव पारेको हुन्छ । यस्ता लागुऔषधहरूको उपलब्धताका लागि दुर्व्यसनीहरू जे–जस्तै अपराध या कुराहरू गर्न पनि पछि पर्दैनन् ।

अतः जंककी हुने चक्करमा धेरै नेपाली छोराछोरीहरू दुर्व्यसन हुन पुगेका छन् । यो संसारकै चित्रलाई हेर्ने हो भने पनि लागुऔषधको कारोबारीहरूको कार्य संस्थागत हुँदै गएर हामी सबै उनीहरूको व्यापारवृत्तको जोखिममा छौँ । जंकी भन्ने शब्द हामीमाझ धेरै चर्चित छ, यसको शाब्दिक अर्थ भने लागुऔषधको दुर्व्यसन गर्ने लापरबाह व्यक्ति भन्ने बुझिन्छ है । यसरी छ वर्षको अन्तरालमा १७ हजारभन्दा बढी लागुऔषध कारोबारमा संलग्नहरू पक्राउमा परेका छन् । यसमा प्रयोगकर्ता बढेसँगै लागुऔषध कारोबारमा संलग्नहरू पक्राउ परिरहेका छन् । तर, यसरी पक्राउ पर्नेहरूमा मुख्य नाइकेभन्दा पनि भरियाहरू बढी रहेको प्रहरी बताउँछ ।

अतः प्रहरीले लागुऔषध कारोबारीको जरैसम्म पुग्ने बताए पनि अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय गिरोह भने पक्राउ पर्न सकेका छैन । यसमा सन् २०११ देखि २०१७ को तथ्यांक हेर्ने हो भने पनि कुल १७ हजार चार सय ८४ लागुऔषध ओसारपसारमा संलग्नहरू पक्राउ परेका छन् । त्यस्तै गरी सन् २०१६ मा सबैभन्दा बढी तीन हजार छ सय ९६ जना कारोबारी पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा एक सय १३ जना भारतीय छन् भने २६ जना अन्य देशका रहेका छन् ।

त्यसैगरी सन् २०१७ को मार्चसम्म सात सय ६७ जना पक्राउ परिसकेका छन् । सन् २०११ मा दुई हजार एक सय ७४, २०१२ मा दुई हजार छ सय, २०१३ मा दुई हजार छ सय ७३, २०१४ मा दुई हजार नौ सय १८ र २०१५ मा दुई हजार छ सय ५६ लागुऔषध ओसारपसारमा संलग्न र प्रयोगकर्ता पक्राउ परिसकेका छन् । यसरी कुनै पनि देशहरूले दुर्व्यसनसम्बन्धी जटिल समस्यालाई समाधान गर्नको लागि कडाभन्दा कडा ऐन, कानूनको तर्जुमा गरी युद्धस्तरमा बेलैमा सचेत भई सम्बन्धित क्षेत्रले दरिलो पाइला चाल्नुपर्ने कुरामा कसैको पनि दुईमत नहोला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x