Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसेयरबजार व्यवस्थापनका चुनौतीहरू

सेयरबजार व्यवस्थापनका चुनौतीहरू


काठमाडौं । नेपालमा पछिल्लो समयमा अत्यधिक मात्रमा सेयरमा उतारचढाव आएको छ । खासगरी सेयरबजार ओरालो लाग्दा धेरै उत्साहित लगानीकर्ताहरूको मनोबल गिर्दै जाने, विस्तार त्रास फैलने र मनोबल उस्किन नसक्ने अवस्थामा पुग्ने गर्दछ । नेपालमा सेयरबजारको इतिहासको सन्दर्भमा चर्चा गर्दा सन् १९३७ मा नेपाल बैंक र विराटनगर जुटमिलबाट सर्वसाधारणले पहिलो पटक कम्पनीहरूका सेयर हालेका हुन् । अहिलेको समयसम्म आइपुग्दा अर्थात् ८५ वर्षको अवधिमा नेपालको सेयरबजारले ठूलो फड्को मारिसकेको र यतिबेला सेयर बजारलाई नै आफ्नो पेसा बनाउनेहरूको संख्या पनि हजारौँ पुगिसकेको छ । नेपाल स्टक एक्चेन्जको तथ्यांकअनुसार नेपालमा सेयर तथा धितोपत्र कारोबार गर्ने ब्रोकर संस्थाको संख्या ५० रहेको छ ।

सेयरबजारको विश्लेषण गर्नुभन्दा पहिला धितोपत्रको बारेमा बुझ्नुपर्ने हुन्छ । कुनै पनि कम्पनी अथवा सरकारले आफूलाई चाहिने रकम संकलन गर्दा लगानीकर्तालाई दिइने प्रमाणपत्र नै धितोपत्र हुने र यो विभिन्न नाममा बजारमा परिचित हुने गर्दछ । धितोपत्र ऐन २०६३ अनुसार संगठित संस्थाले जारी गरेको सेयर स्टक, बण्ड,, डिवेन्चर, सामूहिक लगानी योजना सम्बन्ध प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको ऋणपत्र, बचतपत्र वा बन्डलाई धितोपत्र भनी परिभाषित गरिएको छ । त्यसैको बजार नै धितोपत्र बजार हो भने यस्तो बजार प्राथमिक बजार र दोस्रो बजार गरी दुई किसिमको हुने गर्दछ जहाँ प्रथामिक बजारमा कम्पनी अर्थात् सरकारले प्रथम पटक जारी गरेको धितोपत्र किनबेच हुन्छ भने दोस्रो बजारमा प्राथमिक बजारमा भिातेपत्र खरिद गरिसकेपछि त्यसलाई पुनः बिक्री गरिने बजार हो । दोस्रो बजार धितोपत्र खरिदबिक्री लगानीकर्ताहरूको बीच मात्र सम्भव हुन्छ जसको कारण यस्तो धितोपत्र किनबेचमा कम्पनीसँग कुनै सम्बन्ध हुँदैन । त्यसैगरी, कम्पनीले संकलन गर्ने पुँजीलाई साना साना इकाइमा टुक्रयाउने तथा उक्त इकाइलाई साधारण सेयर भनी परिभाषित गरेको पाइन्छ । कम्पनीको नाफा बढ्दै गएमा बोनस स्वरूप नगद वा बोनस सेयर प्रदान गर्ने गरिन्छ ।

नेपालमा सेयरबजारको विकासको क्रमलाई हेर्ने हे भने विसं १९९३ मा विराटनगर जुटमिल र नेपाल बैंक लिमिटेडले सेयर जारी गरेपछि सेयरको सुरूवात भएको थियो भने विसं २०२१ मा कम्पनी ऐन जारी भयो र सोही वर्ष नै सरकारी ऋणपत्र जारी भएको थियो । विसं २०३३ साल असार २२ गते धितोपत्र खरिद–बिक्री केन्द्रको स्थापना भयो भने विसं २०५० सालमा धितोपत्र कारोबार ऐन लागू भयो, विसं २०५० साल जेठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भयो भने सोही वर्ष धितोपत्र खरिदबिक्री केन्द्र नेपाल स्टक एक्सचेन्जमा परिणत भयो भने सोही वर्षको पुस २९ गतेबाट ब्रोकरको माध्यमबाट औपचारिकरूपमा सेयरको कारोबार सुरू गरियो ।

विसं २०५० माघ ३० बाट नेप्से परिसूचक गणनाको सुरूवात भयो भने विसं २०६३ मंसिर २९ बाट सरकारी ऋणपत्रको कारोबार सुरू भयो । असोज १० मा सेयर कारोबारमा सर्किट ब्रेकर लगाउन सुरू भएको र विसं २०६४ भदौ ७ बाट कम्प्युटरबाट कारोबार सुरू भयो भने २०६४ असोज ६ बाट पूरै बजारमा सर्किट लगाउन सुरू भयो, विसं २०६४ असोजबाटै वाइड एरिया नेटवर्कमार्फत कारोबार सुरु भयो भने सोही वर्षको मंसिर १२ बाट सेयर कारोबार इन्टरनेटबाट प्रत्यक्ष दिन सुरू गरियो भने पुस ८ बाट दुई घन्टाबाट तीन घन्टा सेयर कारोबार सुरू गरियो । विसं २०६५ जेठ १३ बाट ओभर द काउन्टर मार्केट सुरू भएकोमा भदौ ८ देखि नेप्सेफ्लोट परिसूचक गणना सुरू भयो । विसं २०६७ फागुन १२ बाट उपत्यकाबाहिरबाट सेयर किनबेच सुरू भएको थियो ।

सेयर तथा धितोपत्र कारोबारको सन्दर्भमा नेपाल स्टक एकसेचेन्जअन्तर्गत नेपालमा आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज प्रालि, जेएफ सेक्युरिटिज प्रालि, अग्रवाल सेक्युरिटिज प्रालि, दिभ्या सेक्युरिटिज एन्ड स्टक हाउस प्रालि, नाशा सेक्युरिटिज कम्पनी लिमिटेड, आर्यतारा इन्भेसमेन्ट एन्ड सेक्युरिटिज, श्रीहरि सक्युरिटिज प्रालि, भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालि, सेवा सेक्युरिटिज प्रालि, इन्भेसमेन्ट म्यानेजमेन्ट नेपाल प्रालि, सुन्धारा सेक्युरिटिज लिमिटेड, अक्सफोर्ड सेक्युरिटिज प्रालि, क्रिष्टल कञ्चनजङ्गा सेक्युरिटिज प्रालि, मार्केट सेक्युरिटिज एन्ड एक्सचेञ्ज प्राली, अनलाइन सेक्युरिटिज प्रालि, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड, नीभ सेक्युरिटिज प्रालि, कालिका सेक्युरिटिज प्रालि, इम्पेरियल सेक्युरिटिज कम्पनी प्रालि, डाइनामिक मनि म्यानेजर्स सेक्युरिटिज प्रालि, साउथ एसियन बुल्स प्रालि, सानी सेक्यूरिटिक कम्पनी लिमिटेल, लिञ्च स्टक मार्केट प्रालि, क्रेटिभ सेक्युरिटिज प्रालि, ओपल सेक्युरिटिज इन्भेसमेन्ट प्रालि, सुमेरू सेक्युरिटिज प्रालि, दिपशिखा धितोपत्र कारोबार कम्पनी प्रालि, सुर्वणलक्ष्मी सेक्युरिटिज प्रालि, सेक्केर्वड सेक्युरिटिज प्रालि, कोहिनुर इन्भेसमेन्ट एन्ड सेक्युरिटिज प्रालि, भिजन, सेक्युरिटिज प्रालि, दक्षिणकाली इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि, प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड, अरूण सेक्युरिटिज प्रालि, त्रिशुल सेक्युरिटिज एन्ड इन्भेसमेन्ट प्रालि, श्रीकृष्ण सेक्युरिटिज प्रालि, एसियन सेक्युरिटिज प्रालि, स्वयता सेक्युरिटिज प्रालि, सिप्रबी सेक्युयरिटिज प्रालि, मिडास स्टक बोकिङ कम्पनी प्रालि, सिप्ला सेक्युरिटिज प्रालि, नेपाल इन्भेसमेन्ट एन्ड सेक्युरिटिज ट्रेनिङ प्रालि, सगरमाथा सेक्युरिटिज प्रालि, एबीसी सेक्युरिटिज प्रालि, प्रिमो सेक्युरिटिज प्रालि, नेपाल स्टक हाउस प्रालि, थरिभ ब्रोकेज हाउस प्रालि, मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कम्पनी प्रालि, प्राग्ज्ञन सेक्युरिटिज प्रालि र कुमारी सेक्युरिटिज प्रालि गरी ५० ब्रोकरहरूले सेयरसम्बन्धी कारोबार गर्ने अनुमति पाएका छन् । त्यसैगरी स्टक डिलरमा भने नेपाल स्टक डिलर रहेको छ ।

त्यसैगरी, नेपाल स्टक एक्सचेञ्जका अनुसार एक सय ८३ संस्था सूचीकृत गरिकृत गरिएका सक्रिय सेक्युरिटिजहरूमा परेका छन् । त्यसैगरी प्रवद्र्धनात्मक (प्रमोटर)सेयर कारोबार हुने संस्था दुई सय ६६ रहेको देखाएको छ भने सूचीकृत कम्पनीलाई ए, बी, जी र जेड गरी चार वर्गमा विभाजन गरेको जसमा ए वर्गमा ७८ वटा, बी मा आठवटा, जी मा ६७ वटा र जेडमा दुई सय १३ वटा कम्पनीलाई सूचीकृत गरिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७९/२०८० को मौद्रिक नीतिअनुसार २०७८ असार मसान्तमा २८ सय ८३ दशमलव ४१ रहेको नेप्से सूचकांक २०७९ असार मसान्तमा दुई हजार नौ दशमलव ४६ रहेको जनाएको छ । त्यसैगरी २०७९ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ सय ६९ अर्ब ३४ करोड रहेको छ । २०७८ असार मसान्तमा बजार पुँजीकरण चार हजार १० अर्ब ९६ करोड रहेको थियो । मौद्रिक नीतिअनुसार आर्थिक वर्ष २०७८/२०७९ को ११ महिनामा नेपाल धितोपत्र बोर्डले ११ अर्ब २८ करोडबराबरको डिबेन्चर, छ अर्ब ९० करोडबराबरको म्युचुअल फन्ड, छ अर्ब ५१ करोडबराबरको साधारण सेयर र तीन अर्ब ४६ करोडबराबरको हकप्रद सेयर गरी कुल २८ अर्ब १५ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति प्रदान गरेको छ । त्यसैगरी, मौद्रिक नीतिको ९९ र १०० नम्बर बुँदामा उल्लेख गरिएअनुसार सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिनसक्ने गरी अधिकतम १२ करोड कायम गरिने व्यवस्था छ त्यसैगरी, सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने भनिएको छ । उक्त बुँदाअनुसार सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिमभार २५ लाखसम्मको कर्जाको हकमा एक सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिमभार एक सय ५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको जनाइएको छ ।

एकातिर पुँजीबजारलाई अर्थतन्त्रको ऐना मानिन्छ, जसले गर्दा यदि पुँजीबजार फैलियो भने समग्र विकासको दृष्टिकोणले सकरात्मक परिवर्तन आउनसक्ने विश्वास गरिन्छ  । नेपालको सेयर बजार व्यवस्थापन हुनै नसकेको त होइन तर अन्तर्राष्ट्रियस्तरमा जति मात्रामा सेयर बजार व्यवस्थित भई एउटा मान्यता तथा प्रणालीमा चलेका छन् त्यसको तुलनामा नेपालको सेयर बजार अव्यवस्थित नै छ । सेयर खरिदबिक्रीमा हाल सर्वसाधारण मानिसहरूको आकर्षण बढ्दै गएको छ । ठूला व्यवसायसहित ठूला लगानीकर्ताको बृहत् लगानीले केही हदसम्म अर्थतन्त्रमा सुधार आउने समेत अपेक्षा गरिएको छ । नेपालको सेयर बजार व्यवस्थापनको सन्दर्भमा धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेप्सेलगायतका संस्थाले प्रयास गरिरहे पनि प्रभावकारी बन्न सकेको छैन । गैरआवासीय नेपालीको लगानी र अनलाइन कारोबारलाई व्यवस्थित गराउनु आजको आवश्यकता हो ।

खासगरी उत्पामदनमूलक क्षेत्रमा सेयर कारोबार उल्लेख्यरूपमा विस्तार गर्दै, त्यसले रोजगारी र आर्थिक विकासको चाहन पूरा गर्न सकेमा र सेयर बजारमा वर्चश्व कायम गरेका बैंक तथा वित्तीय संस्थाहरू, बीमा कम्पनीहरू, हाइड्रोपावर कम्पनीहरूबाहेकको सहभागिता समेत बढाउन सकेमा सेयरबजार व्यवस्थित बन्न जाने थियो । यसको अर्थ उत्पादनमूलक संघसंस्थालाई सेयर बजारमा ल्याउने र पुँजीबजारमा समेत उत्पादनमूलक संघसंस्थालाई सँगसँगै लैजानुपर्ने आवश्यक छ । बिचैलिया र चलाख लगानीकर्ताहरूको पकडमा रहेको सेयरबजारमा अहिले पनि नयाँ लगानीकर्ता आउन डराउने गरेका छन् । पुँजीबजार सम्बन्धमा राजनीतिज्ञहरूबाट व्यक्त गरिने अभिव्यक्तिले समेत पुँजीबजारमा निराशता आउने गरेको छ । पुँजीबजार समग्र अर्थतन्त्रलाई चलायमान गराउने महत्वपूर्ण इन्जिन भएकोले यसलाई व्यवस्थित गर्नु आर्थिक विकासको लागि पनि अपरिहार्य छ र यस विषयमा राज्यले गम्भीर भएर सोच्ने समय आएको छ ।

नेपालको पन्ध्रौँ पञ्चवर्षीय योजना (२०७६ देखि २०८१) अनुसार पुँजीबजार व्यवस्थापनको लागि स्वच्छ प्रतिस्पर्धा, फराकिलो धितोपत्र तथा वस्तु विनिमय बजारमार्फत राष्ट्रिय पुँजी निर्माण गर्ने सोच, सबल गतिशील र विश्वसनीय धितोपत्र तथा वस्तु विनिमय बजारको विकासमार्फत लगानी, आकर्षित गर्ने लक्ष्य र धितोपत्र तथा वस्तुविनिमय बजारलाई पहुँचयोग्य, विश्वसनीय र स्वच्छ बनाउने उद्देश्य राखिएको छ । उक्त लक्ष्य र उद्देश्य पूरा गर्नको लागि धितोपत्र तथा वस्तु विनिमय बजारलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वसनीय बनाउनुका साथै, यसको क्षेत्र तथा दायरा अभिवृद्धि गर्ने, कानुनी संरचनागत र संस्थागत सुधार गरी, धितोपत्र तथा वस्तु विनिमय, बजार सञ्चालन तथा विनिमय प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाउने, धितोपत्र बजारमा साना र स्वदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाउने रणनीति अवलम्बन गरिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो आउन थालेको छ ।

नेपालमा बैंक तथा वित्तीय संस्थाहरूका मात्र अधिकांश सर्वसाधारणले सेयर कारोबार गरिरहेको स्थितिले नेपालमा अझै लगानीसम्बन्धी जोखिम उठाउने परिपाटीको विकास भएको छैन भन्ने कुराको सङ्केत गर्दछ तर वित्तीय संस्थाहरूमा हुने सुरक्षित लगानीले मात्रै समृद्धिको आधार तय गर्न सक्दैन र उत्पादनशील क्षेत्रमा लगानीविना उत्पादन बढाउन पनि सकिँदैन  । पुँजीबजारको अहिलेको प्रवृत्तिले धनी झन्झन् धनी हुँदै गएको छ भने गरिब झन्झन् गरिब बन्दै गएको छ । यसले के देखाउँछ भने नेपालमा अब उत्पादनमूलक क्षेत्रमा सेयर कारोबार जरूरी छ, जसले रोजगारी र आर्थिक विकासमा टेवा पुग्नेछ ।

उत्पादनमूलक संस्थाहरू किन नेप्सेमा आइरहेका छैनन् भन्ने विषयको अनुसन्धान पनि अहिलेको जल्दोबल्दो विषय हो । नेपालमा भएका स्वदेशी उद्योगहरूको उत्पादन घट्दै जानु, उद्योगहरू बन्द हुँदै जानु पुँजीबजार तथा सेयरबजारको लागि चुनौतीको विषय हो । नेपाली उत्पादनलाई बढाउन सकेको खण्डमा मात्र उत्पादनशील क्षेत्रमा लगानी बढ्ने र यसले सेयरबजारको संरचनामा परिवर्तन ल्याउन सक्नेछ । त्यति मात्र होइन, राजनीतिक स्थिरता, सुरक्षित लगानीको वातावरण, पुँजीबजारको उपयुक्त वातावरण, दीर्घकालीन सोच र प्रभावकारी योजनाबाट मात्र सेयर बजार व्यवस्थित बन्न सक्छ । आर्थिक चेतना, सेयर बजार, उद्यमशीलता विकास, कलकारखाना तथा उद्योगहरूको विकास, लगानीमैत्री सञ्चारमाध्यमको समग्र प्रयासबाट मात्र सेयरबजारले फड्को मार्न सक्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x