Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगरेमिट्यान्सले जगाएको आशा

रेमिट्यान्सले जगाएको आशा


काठमाडौं । नेपाली अर्थतन्त्रको पछिल्लो अवस्था अत्यन्तै चिन्ताजनक स्थितिमा रहेको छ । अघिल्ला आर्थिक वर्षहरूको तुलनामा अर्थतन्त्रका अधिकांश सूचकहरू खस्किएको अवस्थामा रहेका छन् । निरन्तरको बढ्दो शोधनान्तर घाटा, फराकिलो बन्दै गइरहेको व्यापारघाटा, उच्चदरले घटिरहेको विदेशी मुद्रा सञ्चिपतलगायतका कारण समकालीन अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सुरुवातबाटै अर्थतन्त्रमा देखिएको तरलता अभावको अझै सहज समाधान हुनसकेको छैन । कर्जाको ब्याजदरमा निरन्तर वृद्धि भइरहेको छ भने रुस–युक्रेन युद्धलगायतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा भएको अत्यधिक मूल्यवृद्धिको मार नेपाली बजारमा समेत परिरहेको छ ।

कोभिड–१९ महामारीबाट सिर्जित संकट एवं महामारीको मारबाट पिल्सिएका उद्योगी, व्यावसायी र बैंक तथा वित्तीय संस्थाका ऋणीहरू अझै तंग्रिन सकेका छैनन् । हालको स्थिति तुलनात्मकरूपमा सामान्य रहे पनि महामारीको मारबाट पिल्सिएका व्यावसायीहरूको अवस्था पूर्णरूपमा सुधारोन्मुख बन्नसकेको छैन । एकपछि अर्को चुनौतीहरूले मुलुकी अर्थतन्त्रलाई थिलथिलो बनाइरहेको निराशाजनक स्थितिमा नेपाली अर्थतन्त्रको टेकोका रूपमा रहेको रेमिट्यान्स आयको स्थिति भने पूर्वानुमान गरिएभन्दा सन्तोषजनक अवस्थामा रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा केही दिनअघि प्रकाशित आर्थिक वर्ष २०७८÷७९ को वार्षिक तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८÷७९ मा विप्रेषण आप्रवाह ४ दशमलव ८ प्रतिशतले वृद्धि भई १० खर्ब सात अर्ब ३१ करोड पुगेको छ । सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिई संस्थागत तथा व्यक्तिगतरूपमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई तीन लाख ५४ हजार छ सय ६० जना पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या ६२ दशमलव ८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समेत एक सय ९८ प्रतिशतभन्दा बढीले वृद्धि भएको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या ४६ दशमलव ८ प्रतिशतले घटेको थियो ।

अढाई वर्षभन्दा लामो अवधिदेखिको कोभिड महामारी एवं चुनौतीपूर्ण अवस्थामा रहेको समग्र विश्व अर्थतन्त्रको पछिल्लो सन्दर्भमा नेपालमा भित्रिएको रेमिट्यान्सको यो हिस्सा आफैँमा सन्तोषजनक रहेको छ । यसअघि, विश्व बैंक र अक्सफोर्ड विश्वविद्यालयले संयुक्तरूपमा गरेको अध्ययन प्रतिवेदनले गएको वर्ष सन् २०२० देखि नै नेपाल भित्रने रेमिट्यान्स आयमा गिरावट आउनसक्ने अनुमान गरेको थिए । यसैगरी, एसियाली विकास बैंक, केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकले समेत पछिल्ला वर्षमा नेपाल भित्रने रेमिट्यान्समा गिरावट हुनसक्ने प्रक्षेपण सार्वजनिक गरेका थिए । कोभिड महामारीको प्रभाव समेतका कारण नेपालमा भित्रने रेमिट्यान्स आयमा भारी गिरावट हुनसक्ने यसखालका पूर्वानुमानलाई नेपाल राष्ट्र बैंकद्वारा केही दिनअघि प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनको तथ्यांकले गलत साबित गरिदिएको छ ।

रेमिट्यान्सको अंक विगत वर्षहरूमा जस्तो तीव्र गतिमा उकालो नलागेको भए पनि मध्यम गतिमा उकालो नै लागिरहेको देखिन्छ । पछिल्लो समयसम्म आइपुग्दा रोजगारीका लागि विदेशिने नेपालीहरूको संख्यामा देखिएको गिरावटमा पनि उल्लेख्य सुधार आएको छ । तत्कालीन समयमा विश्वव्यापी रूपमा देखिएको महामारीका कारण धेरै रोजगारदाताले रोजगारी कटौती गर्ने, कामदारहरूको तलब, ज्याला घट्नेलगायतका कारण रेमिट्यान्स आयमा ठूलै गिरावट आउने अनुमान गरिएको थियो । चीनबाट कोरोना भाइरसको महामारी सुरु भएको केही समयमा नै विश्व तेल बजारमा ठूलै गिरावट आउनसक्ने र यसबाट नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्यका रूपमा रहेका खाडी मुलुकहरू आर्थिक मन्दीमा फस्नसक्ने भएकोले नेपालमा रेमिट्यान्स आप्रवाहमा स्वतः कमी आउनसक्ने प्रक्षेपण गरिएका थिए । तथापि, पछिल्लो तथ्यांकले रेमिट्यान्स आयमा अनुमान गरिएअनुसारको भारी गिरावट नआएको तथ्यलाई उजागर गर्नुका साथै भविष्यमा समेत अपेक्षित गिरावट हुन नसक्नेतर्फ बलियो संकेत समेत गरेको छ ।

कोभिड महामारीको मारबाट राम्रोसँग तंग्रिन नपाउँदै रुस–युक्रेन युद्धलगायतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा देखिएको असन्तुलनका बीचमा पनि रेमिट्यान्स आयमा भारी गिरावट नआउनुमा केही बलिया कारणहरू जिम्मेवार रहेका देखिन्छन् । महामारी उत्कर्षमा पुगेको समयमा पनि खाडी मुलुकलगायत अन्य श्रम गन्तव्य मुलुकहरूमा आर्थिक गतिविधि ठप्प हुने अनुमान पुरापुर सही साबित हुन सकेन । ती मुलुकहरूमा कोरोना कहरकै बीचमा पनि उत्पादनमूलक उद्योगहरू सञ्चालनमा रहेसँगै श्रमिकहरूले निरन्तर काम पाइरहने स्थिति देखियो ।

महामारीका कारण चीनमा आर्थिक वृद्धिदरमा संकुचन आउने आकलनविपरीत चीनको आर्थिक वृद्धिदर सकारात्मक देखिएसँगै तेलको मागमा कमी नआउनुका साथै तेल उत्पादक देशहरूमा श्रमिकको माग समेत यथावत रहन पुग्यो । यसबाट नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुकहरूका रूपमा रहेका खाडी देशहरूमा कामदार कटौती कम हुनपुगेको देखिन्छ । यसका साथै, कोभिड महामारी देखा परेसँगै विदेशमा रहेका नेपालीहरू जुन संख्यामा नेपाल फर्किन्छन् भन्ने अनुमान थियो, त्यति धेरै संख्यामा फर्केनन् वा फर्कन पाएनन् । श्रमिकहरू जसोतसो गन्तव्य मुलुकमा नै अडिन चाहेका र विदेशमा बसिसकेपछि कामविहीन भएर बस्न नसक्ने भएकाले काममा संलग्न रहेका कारण रेमिट्यान्स आयमा गिरावट हुन पाएन ।

अहिलेकै तथ्यांकमा पनि ठूलो संख्यामा नेपाली श्रमिकहरू विदेशमा रहेका छन् । यसैगरी, रोजगारीका लागि विदेशिएका अधिकांश नेपाली कामदारहरू सुरक्षा गार्ड, सरसफाइ, आपूर्ति, खेतीपातीजस्ता अत्यावश्यक क्षेत्रहरूमा कार्यरत रहेका पाइन्छन् । यसबाट महामारीको उच्चतम अवस्थामा पनि यी सेवाहरूको अपरिहार्यता रहेका कारण पनि नेपाली श्रमिकहरूको रोजगारी सुरक्षित भइरहेको पाइन्छ । रेमिट्यान्स आयको ग्राफ ओरालो नलाग्नुमा यस क्षेत्रका कतिपय जानकारहरूले विदेशमा थुपारिएको कालो धन रेमिट्यान्सका रूपमा सेतो धन बनेर स्वदेश भित्रिएको हुनसक्ने आकलन पनि सार्वजनिक गरिरहेका छन् । तथापि, यसको ठोस प्रमाण भने सार्वजनिक भएको छैन ।

यसबाहेक, महामारीको असहज अवस्थाका कारण रोजगारी नै गुमाएर घर फर्किएका कामदारहरूले आफूले सञ्चित गरेको सम्पूर्ण रकम स्वदेशमा लिएर फर्किनु, स्वदेशमा रहेका परिवारहरूलाई कोरोना कहरले निम्त्याएको असहजता, स्वदेशी बजार भएको अत्यधिक मूल्यवृद्धिलगायतका कारण विदेशमा रहेका कामदारहरूले परिवारमा सकेसम्म बढी रकम पठाउनु, हालको विषम परिस्थितिमा हुण्डी, तस्करीजस्ता अवैधानिक माध्यमबाट रेमिट्यान्स आयको कारोबार गर्न असहज भई बैंकिङ माध्यमबाट मात्रै रेमिट्यान्स रकम भित्रिनुजस्ता कारणहरू पनि विप्रेषण आप्रवाहमा कमी आउन नदिने कारकहरू हुन् ।

पछिल्लो समयसम्म आइपुग्दा विश्वव्यापीरूपमा कोभिडविरुद्धको भ्याक्सिनको प्रयोग व्यापकरूपमा गरिएको तथा पछिल्लो लहरहरूमा भाइरसको प्रभाव समेत कमजोर देखिन थालेको छ । कोरोना भाइरसको रफ्तार समेत विगतका तुलनामा निकै कम भइरहेको देखिन्छ । यसबाट, स्वदेशका अतिरिक्त प्रमुख गन्तव्य मुलुकहरूका अर्थतन्त्र समेत निकै चलायमान भइसकेका छन् । गन्तव्य मुलुकहरूमा महामारीको कठिन चरण पार गरेर बिस्तारै तंग्रिनुका साथै आर्थिक गतिविधिहरू सुरुवात भइसकेका छन् । नेपालबाट रोजगारीका लागि विदेशिने सिलसिला समेत व्यापकरूपमा बढोत्तरी भइरहेको छ । यी तथ्यहरूले नेपालको रेमिट्यान्स आयको आयतनमा धेरै प्रभाव पर्न नसक्ने आशाको सञ्चार गरिरहेका छन् ।

महामारीको सुरुवातसँगै रेमिट्यान्स आयमा भारी गिरावट आउनसक्ने प्रक्षेपण महामारीको अढाई वर्षभन्दा बढी अवधिलाई फर्केर हेर्दा गलत साबित हुनु नेपालजस्तो अर्थतन्त्र भएको मुलुकका लागि निकै खुशीको विषय हो । देशको कुल गार्हस्थ्य उत्पादनमा एक चौथाई हिस्सा ओगटिरहेको र नेपाली अर्थतन्त्रको प्राणवायु एवं टेकोका रूपमा रहेको रेमिट्यान्स आयमा महामारीजन्य अवस्था र विश्व अर्थतन्त्रमा देखिएका अन्य संकटले समेत धेरै प्रभाव नपार्नु मुलुकी अर्थतन्त्रको पुनरुत्थानका दृष्टिले समेत सकारात्मक रहेको छ । यो स्थितिमा तत्कालै विकल्प नदेखिएको वैदेशिक रोजगारी र त्यसबाट सिर्जित रेमिट्यान्स आयमा गिरावट आउन नदिने तथा हालको परिस्थितिमा प्राप्त आयको उत्पादनशील उपयोग गर्नेतर्फ सबै सरोकारवालाहरू एकजुट हुनसकेमा भविष्यको बाटो थप सहज बन्नसक्ने देखिन्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x