Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहराएका पर्यटक र डुकुलन्ठ्याङ गाइडहरू !

हराएका पर्यटक र डुकुलन्ठ्याङ गाइडहरू !


काठमाडौं । पाठकहरूले पढ्दा, सुन्दा अचम्म लाग्ला नै । तर, लगभग साढे तीन महिनादेखि खुम्बुक्षेत्रमा दुई जना विदेशी पर्यटक हराइरहेका छन् । उनीहरू हुन् सिरनाथ चन्द्र मोहन भारतीय र यु ह्वान (भाषाका कारण उच्चारण फरक हुन सक्छ) । दक्षिण कोरियन पर्यटक । ती हराएका दुई पर्यटक अझै पनि भेटिने छाँटकाँट छैन । सम्भवतः भेटिने पनि छैन । किनभने, विगतमा पनि नेपालमा धेरै पर्यटकहरू हराएका छन्, उनीहरू हराएपछि हत्तपत्त भेटिने गरेको तथ्यांक छैन, काठमाडौं नजिकै र काठमाडौंवरपरको सहरबजार नजिक हराएका पर्यटकबाहेक ।

खासमा नेपालमा जति विदेशी पर्यटक बिदा मनाउने उद्देश्यले आउँछन्, उनीहरूमध्ये ठूलै संख्यामा नेपालका विभिन्न क्षेत्रमा पदयात्रा गर्न जान्छन् । तर, उनीहरू प्रायः पथप्रदर्शक र भरियाविनै नक्सा र किताबको भरमा पदयात्रामा जानेगरेका छन् । जसलाई पर्यटन, खासगरी पदयात्रा क्षेत्रको प्रचलित भाषामा ‘झोले’ भन्ने गरिन्छ । यस्ता खालका विदेशी पर्यटकहरू नक्सा र किताबको भरमा आफूखुशी ट्रेकिङ गर्न जाने मात्रै होइन, सकेसम्म खानेकुरो समेत (टिन–बट्टाको खानेकुरो) आफ्नै देशबाट ल्याउने गरेका छन् । विदेशी पर्यटकले खानेकुरो आफ्नै देशबाट ल्याउने कुरो गर्दा चकलेट, क्याटबरी, तयारी मासु, जेली, पाउरोटी, फलफूल आदि पर्छ । अनि पिउने पानीचाहिँ कुवा, पोखरी, नदी, खोला वा धारामा थापेर पानी शुद्ध पार्ने चक्की राखेर पिउँछन् । हुन त पिउने पानी भनी बेचिने जार वा बोतलको पानीभन्दा त त्यसरी कुवा, पोखरी, नदी, खोला वा धारामा थापेर पानी शुद्ध पार्ने चक्की राखेर पिउनु नै फाइदाजनक होला । त्यति मात्रै होइन, कुनैकुनै विदेशी पर्यटकले त होटल/लज र रेस्टुरेन्टमा तोकिएको मेनु (मूल्य)मा पनि सकेसम्म मूल्य घटाउन आग्रह गर्छन् । आग्रह गर्दा भएन भने दबाबसमेत दिन्छन् ।

यसरी नेपालमा घुम्न आएर हराएको विदेशी पर्यटकको इतिहास हेर्दा र भन्नुपर्दा २०३७ चैतमा गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा पुग्नुपर्ने हुन्छ । त्यसबेला गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार तत्कालीन पश्चिम जर्मनीका जोडी ओल्फगाग–हेनरिक सोहीसालको कात्तिकमा पोखरा–जोमसोम–साल्दाङ–छर्काभोट–दुनै–ढोरपाटन–पोखरा गएकोमा सात महिनासम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्दा छर्का गाउँमा मृत अवस्थामा भेटिएको थियो । उनीहरूलाई स्थानीय केही व्यक्तिहरूले पैसा र सरसामानको लोभमा हत्या गरेका थिए । तर, अचम्म के भने त्यो बेला सरकारले अन्यत्रझैँ माथिल्लो डोल्पामा पनि विदेशीहरूलाई भ्रमण गर्न बन्देज लगाइएको थियो अर्थात् प्रतिबन्धित थियो । जब कि ओल्फगाग त त्यसअघि पनि उक्त क्षेत्रको भ्रमणमा गएको भनी ती दुईको लास भेटिएपछि उक्त दैनिककै २०३८ वैशाख १८ गते प्रकाशित समाचारमा जनाइएको छ ।

यता २०६० मा पनि बेलायती पर्यटक एलेक्स रत्नासोथी जिरी हुँदै खुम्बु जाने क्रममा खरिखोलामा लुटिएपछि अरुण–भ्यालीतर्फ लागेका थिए, लामो समयसम्म उनी सम्पर्कमा नआएपछि उनकी दिदी एना बेलायतबाट नेपाल आई खोजी कार्यमा लागेकी थिइन् । तर उनी भेटिए–नभेटिएको बारेमा कतै समाचार छापिएन । तर, राजधानी काठमाडौंको मुटुमै रहेको रानीवनमा २०६२ मा फ्रेन्च र जर्मन महिलाद्वय सेलिन र ग्रुन्ची महिनौँसम्म हराए । पछि फ्रेन्च दूतावासले खोजी गर्दा सेलीको ब्रा र स्वेटर रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । ग्रुन्चीको खोजीको लागि पनि उनको केटा साथी र बहिनी जर्मनीबाट नेपाल आएका थिए । केहीपछि जर्मन महिलाको पनि उही हालतमा कंकाल मात्रै भेटिएको थियो । त्यसो त हराएकै पर्यटकको कुरा गर्दा २०६४ भदौमा पोखराको ड्याम साइडबाट एक जापानीज पर्यटक हराएपछि उनका बुबा जापानबाट आएर आफ्नो छोरोको सास वा लासको लागि एक लाख पुरस्कार दिने घोषणा गरेका थिए । तर, ती हराएका जापानीज पर्यटक भेटिए–नभेटिएको अत्तोपत्तो भएन ।

त्यसैले नेपाल घुम्न आउने विदेशी पर्यटक जतिसुकै थर्ड–क्लासका भए पनि, खर्च गर्न दाँतबाट पसिना काड्ने ‘मक्खीचुस’ नै भए पनि उनीहरूको व्यक्तिगत सुरक्षाको लागि पनि ‘एक पर्यटक, एक नेपाली’को नीति लागू गरिनु पर्छ भनी यो पंक्तिकारले अहिलेदेखि होइन, विगतामा प्रकाश राई ‘दीनदुखी’/प्रकाश कुलुङ ‘दीनदुखी’ निमहाङ कुलुङ किराँत, निनाम कुलुङ ‘मंगले’ आदिको नाममा लेख्दै आएदेखि नै उठाउँदै आएको हो । नेपालको भूगोल पनि यी झोले पर्यटकहरूका लागि अनुकूल नभएर प्रतिकूल नै छ । अलिकति खर्च बढ्दा उनीहरू सुरक्षित हुन्छन् भने उनीहरूले थोरै खर्च बढाउन किन कन्जुस्याइँ गर्ने ? फेरि पर्यटन क्षेत्रका खासगरी पदयात्रा गाइडहरू, दक्षय बेरोजगारले रोजगारी पाउने कुरो पनि त छ । हुन पनि भुटान र चीनले विनागाइड विदेशी पर्यटक हिँड्न नपाउने नीतिनियम सफलतापूर्वक लागू गरेका पनि छन् ।

खासमा धेरै पहिले नै ‘टिम्स’ लागू भएपछि नेपालमा विदेशी पर्यटक नहराउने आशा गरिएको थियो । तर, ‘टिम्स’ लागू भएपछि पनि पर्यटकहरू हराउन छाडेनन्, पर्यटक हराउने क्रममा कमी आए । उता सन् २०१२ को अक्टोबर सिजनमा अन्नपूर्ण क्षेत्रको तिलिचो हिमाल गएका इरानी पर्यटक डाक्टर वाहिद बाहेलो हराएर । सो सिजनमा उनको लास नभए पनि कपडा, जुत्ता अथवा कुनै पनि चिन्ह भेट्टाउने वा देख्नेले खबर गरेमा तीन हजार अमेरिकी डलर पुरस्कार दिने भन्दै उनका श्रीमती साजिदा हमार्दीले म्याग्दीभन्दा माथिको क्षेत्रमा जताततै आफ्नो श्रीमान्को फोटासहितको पर्चा बांँड्दै/टाँस्दै हिँडेकी थिइन् । तर, त्यसरी खोजीकार्यका लागि लागि परे पनि उनकी श्रीमती साजिदा हमार्दीले अन्तमा रित्तोहात नै पर्किनु प-यो ।

त्यसो त सन् २०१६ को नोभेम्बरमा लाङटाङ क्षेत्र घुम्न गएका दुई विदेशी एक कोरियन र एक डच (नेदरल्यान्डका) पर्यटक हराएका थिए । तर, उनीहरू पनि भेटिएको, नभेटिएको अत्तोपत्तो भएन । कारण उनीहरू हराएको समाचार आए पनि भेटिए, नभेटिएको समाचार आएन । उता सन् सन् २०१७ मा रुबी भ्याली (गणेश हिमाल क्षेत्र)मा आफूखुसी (गाइड वा भरिया नलगी) घुम्न गएका दुई जना ताइवानी जोडीमध्ये एक जना (महिला) बाटोमा चिप्लिएर खसेपछि सम्भवतः धेरै दिनको भोक र तिर्खाले मरे भने पुरुषलाई लगभग एक महिनापछि मर्नु न बाँच्नुको हालतमा उद्धार गरिएको थियो । त्यसो त ठमेलस्थित जोय ट्रेकका प्रबन्धक निर्देशक महेश बुढामगर भन्छन् –‘ट्रेकिङ क्षेत्रका दक्ष बेरोजगारी कम गर्ने हो भने नेपाल सरकारले ‘एक पर्यटक, एक नेपालीको नीति घोषितरूपमै लागू गर्नुपर्छ । साथै पर्यटकसँग दैनिकरूपमा कम्तीमा यतिदेखि यत्तिसम्म रकम लिन पाउने भनेर सरकारले दर–रेट पनि तोक्नुपर्छ । अनि जसले पायो, त्यसले ट्रेकिङ चलाउन नपाउने व्यवस्था पनि गर्नुपर्छ । साथै अर्को महत्वपूर्ण कुरो भनेको, ट्रेकिङ एजेन्सीलाई पनि क, ख, ग, घ, ङ, च…, वर्गमा वर्गीकरण गर्नुपर्छ । साथै ट्रेकिङ एजेन्सीले सरकारलाई वर्गीकरणअनुसार आय कर तिर्नुपर्ने व्यवस्था गर्नुपर्छ । अनि मात्रै नेपालमा पर्यटनको माध्यमबाट आर्थिक क्रान्ति हुन्छ भने सरकारको राजस्व वा भनौँ आय करमा पनि बढोत्तरी हुन्छ ।’

‘टिम्स’ लागू भएमा पदयात्रा क्षेत्रमा रोजगारी बढ्ने आशा पनि गरिएको थियो । यसबारेमा पुनः महेश बुढमागर भन्छन्– ‘टिम्स लागू हुनेबित्तिकै टे«किङ परमिटको लागि झोले पर्यटकहरू परमिट बनाउन ट्रेकिङ कम्पनीमा आउँछन् । र, उनीहरूलाई कन्भिन्स गराएर कम्तीमा एकजना गाइड/पोर्टर लिएर जाने सल्लाह दिन सकिन्छ । जसले गर्दा तालिम लिई दक्षता हासिल गरेर पनि डुकु–लन्ठ्याङ् भएर बस्नुपरेका गाइडहरूले काम पाउनेछन् भन्ने आशा थियो । तर, त्यसको ठीक उल्टो भयो । राजस्व बढ्ने र कम्पनीले सर्भिसचार्ज पाउने त छँदै छ ।’ तर, यसरी अनिवार्यरूपमा एक पर्यटक, एक नेपाली गर्दा मानव अधिकार हनन हुने कुरा नेपालमा कार्यरत आईएनजीओ/एनजीओले उठाउने गरेका छन् । त्यसो त ‘टीआरसी’ खारेज गराउन पनि उनीहरू न्वारानदेखिको बल लगाएर लागेका थिए । आईएनजीओ/एनजीओले बाहिर देखाउनलाई मानव अधिकारको कुरा गरे पनि भित्री उद्देश्य भने उनीहरूले आफूखुसी डलरदाताहरूलाई गाउँ–गाउँ घुमाउनु, पदयात्रा गराउनु हो ।

वास्तवमा अझसम्म नेपाल सरकारको पर्यटनसम्बन्धी स्पष्ट नीति नहुँदा (नीति नै नभएको भने होइन) नेपालमा बसेर आईएनजीओ/एनजिओ चलाएर बसेका विदेशी, विदेशी दूतावास, नियोग, दातृ निकाय आदिमा कार्यरत विदेशीहरू पहिलो पटक आफैँ घुम्न जाने र, दोस्रो पटकदेखि तिनै विदेशीहरूले आफ्नो देशका चिनेजानेका साथीभाई, नातगोता, छरछिमेकी र परिवारलाई नेपाल घुम्न बोलाएर आफैँ गाइड भएर घुमाएर सिजनमा प्रशस्त ट्रेकिङ चलाएर हिँडेका छन् । जसले गर्दा उनीहरूले सरकारलाई एक पैसा पनि कर नतिरी जताभावी ढंगले आफैँ टे«किङ गराएर पैसा कमाइरहेका छन् ।

पनि पछिल्लो पटक (१४ साउन) मा गोरखापत्र दैनिकमा आएको समाचारअनुसार सोलुखुम्बुको नाम्चेभन्दा माथि विदेशी पर्यटक एक्लै जान नपाउने भनी जिल्ला प्रहरी कार्यालयले कडाइ गरेको छ । तर, नेपाल सरकारले केन्द्रीय तहबाट गरेको कडाइ वा निर्देशन नभएकोले गर्दा विदेशी पर्यटकले सो निर्देशन मान्छन्, मान्नै पर्छ भन्ने छैन । त्यसैले आगामी सिजनदेखि लागू हुनेगरी नेपाल सरकारले ‘एक पर्यटक एक नेपाली’को नीति लागू गरेदेखि विदेशी पर्यटकलाई ढुककैसँग सुरिक्षत हुन्थे भने तालिम लिएर पनि डुकुलन्ठ्याङ भएर बस्नुपरेका नेपाली ट्रेकिङ गाइडहरूलाई (अथवा भरिया नै सही) रोजगारीको ग्यारेन्टी पनि हुन्थ्यो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x