ज्येष्ठ नागरिकको उचित लालनपालन : आजको अवश्यकता
काठमाडौं । नेपालको कुल जनसंख्यामध्ये ज्येष्ठ नागरिकहरूको (६० वर्ष र माथि) कुल जनसंख्याको ८ दशमलव १ प्रतिशत अर्थात् करिब २१ लाख रहेको तथ्यांक छ भने यो समूहको जनसंख्या वृद्धिदर ३ दशमलव ३९ प्रतिशत रहेको पाइन्छ । यी संख्याका ज्येष्ठ नागरिकहहरूमध्ये ६०–६५ उमेरसमूह अझै पनि निरन्तर बौद्धिक एवं श्रममूलक कार्यमा संलग्न भएको देखिएको छ । तथापि विभिन्न उत्पादनमूलक कार्य संलग्नताका हकमा निजहरूको स्वास्थ्य स्थिति, आर्थिक अवस्था र कामको प्रकृति भने फरक–फरक रहेको छ । हाम्रो मुलुकमा नागरिकहरूको अपेक्षित आयु हाल ६६ दशमलव ५१ वर्ष रहेको पाइन्छ । तथापि हिमाल पहाडमा बसोबास गर्नेको अपेक्षित आयु बढी छ भने मधेशमा बसोबास गर्ने गरिब मुसहरलगायतका जातजातिको अपेक्षित आयु हिमाल तथा पहाडको भन्दा कम रहेको अनुसन्धानले देखाएको छ । यसरी मानिसको आयुलाई हावापानी, रहनसहन, गरिबी, उपलव्ध स्वास्थ्य सेवा आदिले असर पारेको हुन्छ ।
संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रत्याभूत गरेको छ । दिगो विकास लक्ष्यमा ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षालगायत सुरक्षित, समावेशी र पहुँचयोग्य हरित तथा सार्वजानिक खुल्ला ठाँउहरूमा पहुँच सर्वसुलभ गर्ने विषय समावेश भएको छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण, स्याहारसुसार र सुरक्षा गर्नको लागि वृद्धाश्रम र दिवा सेवा केन्द्रहरू सञ्चालन, यातायालमा विशेष सहुलियत, औषधोपचार, सामाजिक सुरक्षा भत्तालगायतका सेवा सुविधा प्रदान गरेको छ । सामाजिक सुरक्षा भत्ता लिने प्रभावकारी योजना समन्वय नभएर ज्येष्ठ नागरिकलाई ठूलो कष्टकर छ । ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित एवं सम्मानित बनाई सामाजिक न्याय कायम गर्नुपर्ने आवश्यकता रहेको छ ।
नेपालमा रहेका ज्येष्ठ नागरिकहरूलाई उपलब्ध स्वास्थ्य सेवा र रेखदेख स्याहारको स्थिति के छ भनी आकलन गर्ने हो भने क्षेत्र विशेष, आर्थिक अवस्था, सचेतना आदिले प्रत्यक्ष असर पारेको देखिन्छ । निश्चय नै वृद्धावस्थामा मानिसको शारीरिक अवस्था कमजोर हुन्छ, विभिन्न रोगले सताउँछ र बुढ्यौलीले पनि केही हदसम्म शिथिल तुल्याउँछ, यस्तो अवस्थामा रेखदेख र स्याहारको आवश्यकता पर्दछ । जीवनको यही अवस्थालाई सहज बनाउन स्वयं ज्येष्ठजनले आफूमा धैर्यता राखी आफ्नो शारीरिक अवस्थाअनुरूप पथपरहेजलाई मनन गर्नुपर्छ भने परिवारका सम्पूर्ण सदस्यबाट शारीरिक स्वास्थ्यलगायत यथोचित व्यवहार, रेखदेख, स्याहार समेतमा ध्यान दिनुपर्ने नितान्त आवश्यक छ ।
समयको फेरबदलको कारण देखाई आफूलाई जन्म दिई लालनपालन गर्ने आमा बाबुलाई आफ्नो परिवार तथा इष्टमित्रबाट बेवास्ता गरी केहीलाई खाना, लाउन, बस्न समेत नदिई घरैबाट निकालिएको अवस्था र राज्यले पनि ज्येष्ठ नागरिकलाई आवश्यक मात्रामा उचित किसिमको व्यवस्था मिलाउन साधन र स्रोतको अभावमा कठिनाई भएको छ । केही परिवारका सदस्यबाट आमाबाबुलाई हेला गर्ने, वृद्धाश्रम पु¥याउने, खान, लगाउन नदिने, औषधोपचारबाट टाढै राख्ने प्रवृत्तिले नेपाली समाजलाई मानवताशून्य बनाएको छ । सम्पत्ति भएका वा नभएका दुबैखाले ज्येष्ठ नागरिक ढल्कँदो उमेरमा केवल पीडाका पात्र बनेको पाइन्छ । सम्पत्ति हुने बाबुआमालाई करकाप गर्ने, छलछाम गर्ने, तर्साउने र जालझेल गरी स्वार्थसिद्ध गर्ने छोराछोरी एकातिर निन्दनीय छन् भने सम्पत्ति नभएका बाबुआमाप्रति रत्ति दयाभाव नराख्ने, दुर्व्यवहार गर्ने सन्तान घोर कलंकका पात्र बनेका छन् ।
मातृदेवो भवः, पितृदेवो भवः जस्ता आदर्श बोकेको समाज आमा, बाबुप्रति यतिबिघ्न निर्दयी हुनु निश्चय नै सामाजिक पतनको दृष्टान्त हो । केवल भौतिकवादी सोच र लालसाले गर्दा आजको समाज भावनारहित हुँदै गएको छ । समयमै बुद्धि नपु¥याउने हो भने मानव समाज झन्झन् कठोर, निष्ठुर हुँदै जाने सम्भावना छ । यही यथार्थलाई ध्यानमा राखेर हुनसक्छ, विकसित देशका अगुवा वर्गले ज्येष्ठ नागरिकको सम्मान र सुविधाका निम्ति मनग्ये क्रियाशीलता बढाएका छन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि संविधान तथा कानुनमा ज्येष्ठ नागरिकका हक, हितबारे प्रत्याभूति नरहेको होइन तर यसको उचित कार्यान्वयन हुन सकेको छैन् ।
ज्येष्ठ नागरिकलाई सेवा सुविधा र सामाजिक सुरक्षा सरकारको साधन र स्रोतको अभावमा पार्याप्त नहुनु, राष्ट्रले उपयोग र नयाँ पुस्तामा हस्तान्तरण गर्न नसकिनु, शारीरिक र मानसिकरूपमा असक्त, असहाय, एकल, बेवारिसे तथा पीडामा परेका ज्येष्ठ नागरिकको प्रभावकारी संरक्षण नहुनु, सन्तानले बाबुआमाप्रति पूरा गर्नुपर्ने दायित्व वहन र हेरचाहमा क्रमशः ह्रास हुँदै जानु, बुढ्यौलीको कारणले लाग्ने विभिन्न रोगहरूको निदान तथा उपचारको यथोचित व्यवस्था नहुनु र ज्येष्ठ नागरिकप्रतिको श्रद्धा र सम्मानमा ह्रास आउनु यस क्षेत्रका समस्या हुन् ।
ज्येष्ठ नागरिकिका विषयलाई समानरूपमा सम्बोधन र व्यवस्थापन गर्नु, ज्येष्ठ नागरिकको संख्यामा वृद्धि हुँदै जाँदा सोअनुसार सेवा सुविधा पर्याप्त व्यवस्था गर्नु, ज्येष्ठ नागरिकाको ज्ञान, सीप र अनुभवलाई समाज विकास र पूर्वाधार निर्माणमा उपयोग गर्नु, ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुव्र्यवहारको अन्त्य गर्नु, उनीहरूको आर्थिक तथा सामाजिक हक अधिकारको संरक्षण गर्नु र उनीहरूका लागि उपयुक्त एवं पर्याप्त दिवा सेवा केन्द्र, क्लब, औषधोपचारसहितको आरोग्य आश्रमको निर्माण तथा सञ्चालन उचित मात्रामा गर्न नसक्नु यस क्षेत्रको चुनौतीको रूपमा रहेका छन् । संविधानद्वारा ज्येष्ठ नागरिकको विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु, ज्येष्ठ नागरिकको व्यवस्थापन स्थानीय तहको अधिकार रहनु, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्ने वातावरण सिर्जना हुँदै जानु र ज्येष्ठ नागरिकको हक र अधिकारको रक्षा र प्रवर्द्धन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सरकारको प्रतिबद्धता रहे पनि विभिन्न कारणले गर्दा नेपालमा यथार्थरूपमा पालना गर्न सकिएको देखिँदैन ।
ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षाका क्रममा रेखदेख, स्याहार र स्वास्थ्य सेवा अत्यन्त संवेदनशील विषयहरू हुन् । स्याहार र स्वास्थ्यजस्ता विषय विकासशील मुलुकमा चुनौतीको रूपमा रहेको छ । हाम्रोजस्तो देश जहाँ पारिवारिक आर्थिक एवं शैक्षिक स्थिति, कमजोर स्वास्थ्य सेवाप्रति सजगताको कमी, उपलब्ध साधन एवं विज्ञताको कमी भएको सन्दर्भमा धेरै कठिनाइको सामना गर्नुपर्ने अवस्था छ । सामान्यतयाः शारीरिक दुर्बलताबाहेक वृद्धावस्थामा हुने बहिरोपन, आँखासम्बन्धी समस्या, दम, छातीसम्बन्धी समस्या मुख्य देखिएका छन् । यीबाहेक मधुमेह, अल्जाइमर, रक्तचाप, मुटुसम्बन्धी समस्या, क्षयरोग, डिप्रेसन, अपांगपनजस्ता समस्याले सामान्यतया वृद्धवृद्धाहरू सताइएका हुन्छन् । त्यसमा पनि कोभिड–१९ को माहामारीले ज्येष्ठ नागरिकलाई ठूलो समस्यामा पारेको छ ।
ज्येष्ठ नागरिकहरूका लागि परिवार, समुदाय र राज्यले निम्नलिखित कुरामा विशेष ध्यान दिनु पर्ने देखिन्छः
घर परिवारका सदस्यले यथोचित माया ममता, प्रेम र समय दिनु पर्ने, सरकारले समयमै वृद्धभत्ता निकासा गरी उचित र सहज तरिकाबाट वितरण गर्नुपर्ने, स्वास्थ्य सेवामा विशेष सहुलियत दिनुपर्ने, वृद्ध भत्तामा वृद्धि गरिनुपर्ने, बेसहारा र असक्त ज्येष्ठ नागरिकलाई विशेष भत्ता वा लालनपालनको व्यवस्था सरकारबाट हुनुपर्ने, यातायात, स्वास्थ्य सेवाजस्ता सुविधा निःशुल्क उपलव्ध गराउने व्यवस्था हुनुपर्ने, घर परिवारका सदस्यले खान, लाउन, स्वास्थ्योपचारमा ध्यान दिनुपर्ने, सरकारले उपलव्ध गराउने सुविधा विनाभेदभाव सहज र सरल तरिकाबाट प्राप्त गर्नसक्ने व्यवस्था हुनुपर्ने, सकेसम्म घरमै वृद्धभत्ता उपलव्ध गराउने व्यवस्था हुनुपर्ने, परिवारलाई वृद्ध, ज्येष्ठजनहरूको उचित रेखदेख, स्याहार, सामान्य स्वास्थ्य उपचारजन्य विषयमा अनुशिक्षण वा प्रशिक्षणको व्यवस्था, लोकप्रिय सञ्चार माध्यमबाट रेखदेख, स्याहार उपचारबारे जनचेतना कार्यक्रम, घरेलु एवं परम्परागत स्याहार र उपचार पद्धतिको उपयोग, अस्पताल, स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्याहार र उपचारबारे अनुशिक्षण, सुरक्षात्मक प्रबन्धका लागि घर–परिवारवरपरको भौतिक वातावरण, व्यवहार वृद्धमैत्री तुल्याउने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, वृद्धाश्रम, हेरचाह केन्द्र आदि संस्थामा कार्यरत जनशक्तिलाई परम्परागत एवं आधुनिक रेखदेख, स्याहार र चिकित्सा पद्धतिबारे प्रशिक्षित गर्ने, स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थाहरूलाई ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा, स्याहार, स्वास्थ्य सेवाका विषय समावेश गर्न प्रोत्साहित गर्ने, मानसिक स्वास्थ्य सबलताका लागि ध्यान, सत्संग आदिजस्ता आध्यात्मिक क्रियाकलापमा संलग्न गराउने, स्वास्थ्य स्थिति सबलताका लागि रुचि र क्षमताअनुसार सामान्य योग, अभ्यासका विधिहरू अपनाउने, निरन्तर शारीरिक सुसंगठनका लागि सक्रिय रहन रुचि र क्षमताअनुसारका कार्यहरूमा क्रियाशील रहने बानीको विकास गराउने, महिला ज्येष्ठ नागरिक एवं एकल महिलाहरूका लागि विशेष स्वास्थ्य सेवा एवं परामर्श सेवा सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्नको लागि नीति निर्माणमा सहभागिता र स्रोतमा पहुँच सुनिश्चित गर्नेजस्ता कुरामा विशेष ध्यान दिनु आजको आवश्यकता हो । तब मात्र हरेक वर्ष वैशाख १७ मा मनाएको आमाको मुख हेर्ने दिन तथा मातातिर्थ औँसी र भाद्र ११ मा मनाइने बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औँसीले साथर्कता पाउनेछ । (लेखकः नेपालमा गुणस्तरीय जीवन विषयमा विद्यावारिधि ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया