ज्येष्ठ नागरिक र राज्यको दायित्व
काठमाडौं । मानिसको जन्मसँगै उमेर बढ्दै जानु अनि शैशव अवस्थाबाट बाल्यकाल, युवा हुँदै बुढाबुढी हुनु समयचक्रको अनिवार्य एवं नियमित प्रक्रिया मानिन्छ । सामान्यतया जन्मदेखि १६ वर्षको उमेरसम्म बाल्यकाल, १७ देखि ४० वर्षसम्म युवा, ४० देखि ६० वर्षसम्म प्रौढावस्था र ६० कटेपछि वृद्धावस्था भनेर मानिसको जीवन अवधिलाई विभाजन गर्ने गरिएको पाइन्छ । सोहीअनुरूप नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले पनि ६० वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिकका रूपमा परिभाषित गरेको छ ।
यही कुरालाई हृदयंगम गरी देशमा पहिलो पटक विसं २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धभत्ता दिने निकै महत्वपूर्ण निर्णय गरेको थियो । त्यतिखेरको सरकारको यस निर्णयलाई निरन्तरता दिँदै त्यसपछि विभिन्न समय र परिस्थितमा बनेका सरकारले पनि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आवश्यक बजेट विनियोजन गरी वृद्धभत्ता प्रदान गर्दै आइरहेको छ । जसअनुसार मासिक एक सय रुपैयाँबाट सुरु भएको त्यतिखेरको वृद्धभत्ता क्रमिकरूपमा वृद्धि हुँदै अहिले मासिक चार हजार रुपैयाँ पु-याइएको छ । दलित र कर्णालीबासीको हकमा यस्तो भत्ता ६० वर्ष उमेर पुगेपछि नै प्रदान गरिन्छ भने अन्य वर्ग र समूहको लागि भने ७० वर्ष कायम गरिएको छ ।
हुन त हाम्रो समाजमा वृद्ध हुनु भनेको रोगी हुनु हो भन्ने बुझाइ छ । रोगी भइसकेपछि स्वास्थ्यको क्षेत्रमा धेरै खर्च हुन्छ र जीवनको उत्तरार्ध निकै नै कष्टकर हुन पुग्दछ । तर यथार्थमा बुढो हुनु भनेको रोगी नै हुनु भन्ने हुँदैन । यो त वृद्ध अवस्थामा हुने शारीरिक अक्षमता र खराब स्वास्थ्यको कारणले पनि हुन्छ । त्यसैले मानिसहरूलाई कुनै किसिमले स्वस्थरूपमा नै बुढो हुने अवस्था सिर्जना गर्न सकिएमा स्वास्थ्य क्षेत्रमा हुने खर्चलाई पनि तीव्ररूपमा कटौती गरी अन्य सामाजिक–आर्थिक विकासका कार्यहरूमा लगाउन सकिन्छ । यसका साथै शारीरिक मानसिकरूपमा स्वस्थ्य ज्येष्ठ नागरिकहरू कुनै न कुनै रूपमा सामाजिक आर्थिक गतिविधिहरूमा पनि संलग्न र क्रियाशील रहन सक्ने हुँदा उनीहरू परिवार, समाज र राज्यको लागि पनि बोझ हुँदैनन् । बरु उनीहरूले जीवनको उत्तरार्धमा पनि परिवार, समाज र राष्ट्रको लागि महत्वपूर्ण योगदान पु¥याउन सक्तछन् ।
यस क्रममा विश्व स्वास्थ्य संगठनले पनि सक्रिय उमेरिनु अर्थात् सक्रिय बुढ्यौलीको अवधारणा अघि सारेको छ । जसअनुसार वृद्धवृद्धाहरूले आफ्नो खानपीनमा सुधार गर्ने, योग–ध्यान–प्राणायाममा मन लगाउने, आर्थिकरूपमा सक्षम र सुरक्षित रहने अनि आफ्नो ज्ञान र अनुभवलाई समाजको हितमा उपयोग गरी आफूलाई सम्मानित ज्येष्ठ नागरिकको रूपमा स्थापित गर्नेतर्फ लाग्नु पर्दछ । वृद्धवृद्धाहरूले जति सकिन्छ प्रकृति र परमात्माको समीप रहने चेष्टा गर्नु पर्दछ । किनकि जति हामी प्रकृतिको समीप रहन्छौं त्यति नै स्वस्थ र निरोगी रहन सक्तछौं र जति हामी परमात्मा चिन्तन गर्दछौं त्यति नै जीवनलाई सुख, शान्ति र आनन्द प्राप्तितर्फ उन्मुख गराउन सक्तछौं ।
ज्येष्ठ नागरिक ऐन, २०६३ अनुसार आमा बाबुको पालन, पोषण र हेरचाहको पूरा दायित्व सन्तानले लिनुपर्ने व्यवस्था गरिएको छ । तर पनि कतिपय आमाबाबुहरू आफ्नै सन्तानबाट अपहेलित र उपेक्षित अवस्थामा बाँच्न विवश छन् । त्यसैले छोराछोरीले यदि वृद्ध बाबुआमाप्रति सेवा भावले आफ्नो कर्तव्य निर्वाह गर्दछन् भने आमाबाबुको पैत्रिक सम्पत्तिप्रति उनीहरू स्वतः भागिदार हुन्छन् र उनीहरूलाई त्यो अधिकार पनि रहन्छ । तर यदि धेरै दुःख कष्ट सहेर हुर्काउने–बढाउने वृद्ध आमाबाबुलाई नै हेला गर्ने, अपमानित गर्ने, केवल जैविक नाताको कानुनी आड लिएर आमाबाबुसँग अधिकारको रूपमा पैत्रिक सम्पत्ति हडप्ने र त्यही सम्पत्तिमाथि रजाइँ गरेर वृद्ध आमाबाबुलाई हेला गर्ने, अपमानित गर्ने अनि घरबाट निस्कनेसम्मको अवस्था सिर्जना गरी वृद्धाश्रममा पु-याउन बाध्ये तुल्याउने सन्तानलाई नै प्रोत्साहन गर्ने किसिमको अहिलेको अंशवण्डासम्बन्धी महलमा भने संशोधन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
यसको लागि बाबुआमाले इच्छाएअनुरूप आफूप्रति कर्तव्य निर्वाह गरेको खण्डमा मात्र त्यस्तो सम्पत्तिमध्ये केही वा पूरै अंशको रूपमा दिने स्पष्ट व्यवस्था त्यस किसिमको संशोधित ऐनमा हुनु आवश्यक र जरुरी देखिन्छ । यसका साथै ज्येष्ठ नागरिक ऐन, २०६३ मा व्यवस्था गरिएअनुरूप उनीहरूको हक, हित र सुविधासम्बन्धी अन्य कुराहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्दछ भने नेपालको संविधान, २०७२ को मौलिक हकअन्तर्गत भाग ३ धारा ४१ मा ‘ज्येष्ठ नागरिकहरूलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भन्ने व्यवस्था भएअनुरूप उनीहरूको सामाजिक सुरक्षा र संरक्षणका लागि पनि राज्यको तर्फबाट विभिन्न नीति तथा कार्यक्रमहरू ल्याउनु आवश्यक देखिन्छ ।
यसरी वृद्धवृद्धाहरूको हक, हित र सुरक्षाको कुरा गरिरहँदा कहिलेकाहीँ समस्या कहाँनेर आउने गर्दछ भने वृद्धवृद्धाहरू आफ्नो परम्परागत मूल्य मान्यताहरूप्रति टसको मस नहुने अनि युवापुस्ताचाहिँ प्रिवर्तित समय र परिवेशअनुसार चल्नुपर्छ भन्दै पुराना मूल्य मान्यताहरूप्रति ठ्याम्मै चासो नदेखाउने । यसले गर्दा वृद्धवृद्धा र युवापुस्ताबीच खाडल उत्पन्न हुने र यही खाडल कहिलेकाहीँ घरपरिवारमा द्वन्द्व र कलहको रूपमा पनि रूपान्तरित हुने गर्दछ । त्यसैले दुवै पुस्ताले आ–आफ्नो मूल्य–मान्यताप्रति अहम वा अडिग देखाउनुभन्दा वृद्धवृद्धाहरूले केवल पुराना कुराहरूलाई मात्र नकोट्याएर परिवर्तित सन्दर्भलाई पनि आत्मसात गर्ने अनि युवा पुस्ताले पनि पुराना कतिपय मूल्य–मान्यताहरू पनि व्यावहारिक र जीवनोपयोगी हुन्छन् भन्ने हृदयंगम गरेर तिनको अनुसरण गर्दै जाने हो भने हाम्रो घरपरिवार र समाज मात्र होइन सिंगो राष्ट्र नै अनुशासित र मर्यादित ढंगबाट अगाडि बढ्न सक्तछ ।
आजका युवाहरू नै भोलिका ज्येष्ठ नागरिक हुन् र हिजोका सक्षम युवाहरू नै आजका ज्येष्ठ नागरिक बनेका छन् । यो प्राकृतिक नियम र प्रक्रिया हो । तर यो प्राकृतिक नियमलाई उपेक्षा गर्दा अथवा भोलिको दिन आफू पनि बुढो हुन्छु भन्ने कुरामा सन्तानले बेलैमा विचार नपु-याउँदा बाबुआमाको उत्तरार्ध जीवन अत्यन्त दुःखद र पीडादायी बन्न पुग्दछ । वास्तवमा ज्येष्ठ नागरिक भनेका समाजका अग्रज र परम्परागत मूल्य मान्यताका संवाहक हुन् । उनीहरू परिवार, समाज र राष्ट्रकै लागि अनुभवी, अगुवा र पथप्रदर्शक हुन् । उनीहरूको अनुभव, ज्ञान र सीपले नै समाजलाई सही मार्गमा डोहो-याइरहेको हुन्छ । उनीहरूको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी उनीहरूप्रति श्रद्धा र सद्भावको वृद्धि गर्नु नयाँ पुस्ताको मात्र नभई सिंगो राज्यको प्रमुख दायित्व र कर्तव्य हुन आउँछ । त्यसैले नयाँ पुस्तालाई यसको महत्व र उपायदेयता बुझाउन स्कुल कलेजको पाठ्यपुस्तकहरूमा पनि यस्ता विषय वस्तुलाई समेटिनु पर्दछ ।
तसर्थ समष्टिगत रूपमा हामी के भन्न सक्छौँ भने वृद्धवृद्धाहरूलाई शारीरिक, मानसिक, सामाजिक, आर्थिक आदिरूपमा सहज र सुखसँग जीवनयापन गर्नसक्ने वातावरणको सिर्जना गरिदिनु व्यक्ति, परिवार, समाज अनि राज्यको पनि प्रमुख दायित्व र कर्तव्य हो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया