सधैँ दबिएको अर्थतन्त्र
काठमाडौं । नेपालमा गत आर्थिक वर्षमा विगत छ वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि हुनपुग्यो । महँगी सरकार तथा नेपाल राष्ट्र बैंकको काबुभन्दा बाहिर गएका कारणले बढेको हो । भर्खरै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको विवरणअनुसार असारमा मूल्यवृद्धि ८ दशमलव ०८ प्रतिशत पुगेको छ भने वार्षिक औसत मूल्यवृद्धि ६ दशमलव ३२ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७२/०७३ मा वार्षिक औसत मूल्यवृद्धि ९ दशमलव ९३ प्रतिशत रहेकोमा त्यसपछिका आर्थिक वर्षमा घट्दै गएको थियो ।
पछिल्लो समय विश्वव्यापीरूपमा भएको इन्धन तथा खाद्यवस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको असहजता तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले गत आर्थिक वर्षका पछिल्ला महिनाहरूमा मुद्रास्फीतिमा चाप बढ्न पुगेको राष्ट्र बैंकले बताइरहेको छ । बैंकले समय समयमा मुलुकको आर्थिक अवस्थाको विषयमा तथ्यहरू पनि सार्वजनिक गर्दै आइरहेको छ ।
सरकारले गत आर्थिक वर्षमा मूल्यवृद्धि ७ प्रतिशतभित्रै कायम गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्ष २०७८/०७९ को सुरुका महिनाहरूमा मुद्रास्फीति न्यून रहेका कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने ६ दशमलव ३२ प्रतिशतमा सीमित भएको छ । सरकारको लक्ष्यभन्दा कम मूल्यवृद्धि भए पनि वार्षिक औषत मूल्यवृद्धि भने छ वर्षयताकै उच्च हो । गत आर्थिक वर्षको मूल्यवृद्धिको चापका कारण केन्द्रीय बैंकले चालू आर्थिक वर्ष पनि दोहोरो अंकमा मूल्यवृद्धि पुग्ने अनुमान गरेको छ । तर, लक्ष्य भने चालू आर्थिक वर्षमा पनि सात प्रतिशत प्रक्षेपण गरेको छ ।
विसं २०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ०८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो असार मसान्तमा मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेकोमा २०७९ असारसम्म ८ दशमलव ०८ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६ दशमलव १३ प्रतिशत, ९ दशमलव ९२ प्रतिशत, ९ दशमलव ८४ प्रतिशत र ८ दशमलव ५७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा, फर्निसिङ तथा घरायसी उपकरणहरू र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५ दशमलव ८२ प्रतिशत, ८ दशमलव ७८ प्रतिशत, ७ दशमलव ०९ प्रतिशत र ६ दशमलव ६८ प्रतिशत रहेको छ ।
विगत वर्षको पछिल्ला महिनाहरूमा महँगी बढे पनि विदेशी मुद्रा सञ्चितिमा भने केही सुधार आएको छ । आर्थिक वर्षको अन्तिम एक महिनामा ३९ अर्ब रुपैयाँले विदेशी मुद्रा सञ्चिति बढेको छ । जेठसम्म ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेकोमा असारमा विदेशी मुद्रा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रूपैयाँ पुगेको हो । तर, विदेशी मुद्रा सञ्चिति अघिल्लो वर्षभन्दा घटेको छ ।
राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी मुद्रा सञ्चितिमा १३ दशमलव १ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८ दशमलव ९ प्रतिशतले कमी आई नौ अर्ब ५४ करोड कायम भएको पनि केन्द्रीय बैंकले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ८ महिनाको वस्तु आयात र ६ दशमलव ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले बताएको छ । यसका साथै गत आर्थिक वर्षमा रेमिट्यान्स आय ४ दशमलव ८ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आव २०७८/०७९ मा रेमिट्यान्स ४ दशमलव ८ प्रतिशतले वृद्धि भई १० खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अघिल्लो आवमा रेमिट्यान्स आय ९ दशमलव ८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति लिने नेपालीकहरूको संख्या अधिक वृद्धि भई तीन लाख ५४ हजार छ सय ६० पुगेका कारण रेमिट्यान्स आय बढेको आकलन गरिएको छ ।
यसका अलवा गत आर्थिक वर्षमा खुद ट्रान्सफर ४ दशमलव ३ प्रतिशतले वृद्धि भई ११ खर्ब १७ अर्ब ८८ करोड पुगेको छ । तर, गत अर्थिक वर्षमा दुई खर्ब ५५ अर्ब शोधानान्तर घाटा हुन पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । बैंकका अनुसार असार मसान्तसम्म दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको हो । अघिल्लो वर्ष असार मसान्तमा एक अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो । हालसाल चालू खाता घाटा तीन खर्ब ३३ अर्ब ६७ करोडबाट छ खर्ब २३ अर्ब ३३ करोड घाटामा पुगेको छ ।
यिनै विविध कारणले गत आर्थिक वर्षमा बाह्य क्षेत्र ठूलो संकटमा गएको थियो । तर, चालू आर्थिक वर्षमा पनि अर्थतन्त्रमा सुधारको संकेत देखिएको छैन । बजेटभन्दा ठूलो व्यापारघाटाका कारण अर्थतन्त्र आफ्नो लयमा फर्कन समय लाग्ने अर्थविद्हरू बताउँछन् । विगत वर्षको आयात–निर्यातको असमान दूरी थप लम्बिदै गएको छ । यस आर्थिक वर्षभित्र कुल १९ खर्ब २० अर्ब रुपैयाँबराबरको विदेशी वस्तु तथा सेवाको आयात हुँदै गर्दा जम्मा दुई अर्ब तीन करोड रुपैयाँको निर्यात भएको राष्ट्र बैंकको तथ्यांकले देखाइरहेको छ ।
मुलुकको अर्थतन्त्रमा वर्षैपिच्छे चाप परिरहँदा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने योजना आउन सकेन । केही वर्षअघिको भूकम्प र वर्तमानको महामारीले अर्थतन्त्रलाई शिथिल बनाइरहँदा त्यसलाई तङ्ग्राउने नीतिको कमी रह्यो । आर्थिक सूचकहरू प्राय सबै ओरालोतिरै छन् । फेरि तत्काल अगाडि आइरहेको आवधिक निर्वाचनले आर्थिक चाप थप थप्ने देखिन्छ । यसको निराकरण सरकारको वस्तुपरक योजना, पीडितलाई राहत र स्वउत्पादनमा निर्भर छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया