Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगढिलो रोपाइँ र घट्दो उत्पादन

ढिलो रोपाइँ र घट्दो उत्पादन


काठमाडौं । राष्ट्रको कुल क्षेत्रफल एक करोड ४७ लाख १८ हजार एक सय हेक्टरमध्ये कृषियोग्य २६ लाख ४१ हजार हेक्टर अर्थात् १७ दशमलव ९४ प्रतिशत भूमि रहेको छ । त्यसमध्ये सिँचाइयोग्य जमिन १७ लाख ६६ हजार हेक्टरमा अर्थात् ६६ दशमव ८७ प्रतिशत मात्र सीमित रहेको छ । देशको मुख्य बाली धान रोपाइँको कुरा गर्ने हो भने गत भदौ २१ गतेसम्ममा राष्ट्रभर धान रोपाइँ सकिएको छ । यो वर्ष देशभर कुल रोपाइँ योग्य जमिनको क्षेत्रफल १३ लाख ७१ हजार सात सय छ हेक्टरबाट बढेर १५ लाख चार हजार चार सय ८६ हेक्टर पुगेको थियो । हाम्रो देशमा अझै पनि खेतीयोग्य जमिनको एक तिहाइ क्षेत्रमा मात्रै वर्षैभरि सिँचाइ पुग्ने गरेको सम्बन्धित क्षेत्रको तथ्यांकले देखाएको छ । यी सिँचाइको तथ्यांकलाई अवलोकन गर्ने हो भने झण्डै पाँच लाख हेक्टरमा मात्रै हिउँद, वर्षा र चैते सिजनमा सिँचाइ पुग्ने देखिन्छ । यसबाहेक अरु स्थानमा भने खोलामा पानी भए सिँचाइ पु-याउन सकिने, नभए खेती गर्न नै समस्या हुने गरेको सरकारी तथ्यांकले नै पुष्टि गर्छ ।

मुलुकमा धानको रोपाइँ गर्ने मुख्य महिना भनेको असार र साउन हो । यी दुई महिनामा देशभरि नै रोपाइँ कार्य सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यसमा पनि साउनको मध्यसम्ममा रोपाइँ कार्य सुसम्पन्न गरेको खण्डमा अझै धानको उत्पादनमा वृद्धि हुने कुरा समेत विज्ञहरूले भन्दै आएका छन् । फलतः विश्वमा ब्राजिलपछि जलस्रोतको दोस्रो स्थान राख्ने कृषिप्रधान देशमा कृषकहरूले वर्षेनी पानी तथा मलको अभावमा रोपाइँ गर्न पाउँदैनन् । यस पटक पनि यस्तै अवस्था भएको छ । तर, विडम्बना के भने सिँचाइ तथा मलको अभावका कारण धेरै खेत बाँझै रहने कुनै नौलो कुरा होइन । देशको अन्नभण्डारको रूपमा चिनिने तराईको पनि हालत पनि आकाशेपानीलाई कृषकहरूले कुर्नुपर्ने स्थिति खट्किएको छ । यसर्थ धानलाई आवश्यक मात्रामा पानी नपरेर समयमा रोपाइँ हुन सक्दैन ।

हाम्रो देशमा यस साल सातादिनअघि नै मनसुन भित्रिए पनि धान रोपाइँ हुन सकिरहेको थिएन । खासगरीकन तराई क्षेत्रमा धानखेती धेरै हुने स्थानमा वर्षाको अभावले गर्दा धानको रोपाइँ हुन सकिरहेको थिएन । यसरी आकाशेपानीको भरमा रोपाइँ गरिने अधिकांश क्षेत्रमा गत वर्षभन्दा रोपाइँ योग्य क्षेत्रफल बढे पनि समयमै वर्षा नहुँदा थपिएको रोपाइँ हुने क्षेत्रको धान रोपाइँ प्रभावित हुन पुगेको मन्त्रालयको भनाइ छ । देशको वर्षा स्थितिलाई अवलोकन गर्ने हो भने जुन १३ तारिखदेखि मनसुन भित्रिने सरदर मिति भएकोमा जुन ५ मा नै मनसुन भित्रिए पनि धानको रोपाइँ हुन केही ढिला भएको थियो । यस वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिए पनि धानबालीका लागि मनसुन अनुमान गरिएअनुरूप सुखद् नरहेको कृषि विज्ञहरूको विश्लेषण छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार गत वर्ष साउन दोस्रो सातासम्म रोपाइँ सक्ने कृषकहरू यस वर्ष भने भदौ तेस्रो सातासम्म पनि रोपाइँ गर्दै छन् । ढिलो रोपाइँ हुँदा उत्पादन ह्रास हुनसक्ने विज्ञको भनाइ छ । विगत वर्षहरूलाई पनि अवलोकन गर्ने हो भने पनि पाँचदेखि १० प्रतिशत धानको उत्पादनमा ह्रास आएको थियो । नेपाल सरकारको जलस्रोत तथा सिँचाइ विभागको भनाइ के छ भने वर्षायाममा करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ पु-याउने जानकारी एकातिर छ भने अर्कोतिर यस वर्षको वर्षायाममा १५ लाख ३१ हजार ६९ हेक्टर जमिनमा सिँचाइ पु-याइएको विभागका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिएका थिए । यसरी देशको प्रदेशगतस्तरमा हेर्ने हो भने यो साल मधेश प्रदेश, बागमती र सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ भएको क्षेत्रफलमा वृद्धि देखिए पनि प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा भने गत वर्षभन्दा रोपाइँ र क्षेत्रफल घटेको मन्त्रालयको विवरणमा उल्लेख छ । यसको साथसाथै प्रदेश १ मा यो वर्ष गत वर्षभन्दा पाँच हजार हेक्टर कम क्षेत्रफलमा धान रापाइँ भएको छ । यो वर्ष प्रदेश १ मा तीन लाख ३१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष प्रदेश एकमा तीन लाख ३६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । त्यसरी नै मधेश प्रदेशमा भने यो वर्ष १५ हजार हेक्टर थप क्षेत्रफलमा रोपाइँ भएको छ । अतः धान उत्पादनको पकेट क्षेत्र मानिने उक्त प्रदेशमा गत वर्ष तीन लाख ५३ हजार नौ सय दुई हेक्टरमा धान रोपाइँ भएको थियो ।

यो वर्ष मधेश प्रदेशमा तीन लाख ७८ हजार तीन सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस्तै बागमती प्रदेशमा थप चार हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ बढेको छ । यो बागमती प्रदेशमा गत वर्ष एक लाख १३ हजार हेक्टरमा धान रोपाइँ भएकामा यो वर्ष भने बढेर एक लाख १७ हजार दुई सय ६९ हेक्टरमा रोपाइँ भएको छ । यसै सिलसिलामा हेर्ने हो भने सुदूरपश्चिम प्रदेशमा पनि यो वर्ष रोपाइँ भएको क्षेत्रफलमा उल्लेख्य वृद्धि छ । उक्त प्रदेशभर यो वर्ष गत वर्षभन्दा १५ हजार हेक्टर बढी क्षेत्रफलमा यो वर्ष रोपाइँ भएको छ । यसरी सुदूरपश्चिम प्रदेशभर यो वर्ष एक लाख ७८ हजार एक सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष सोही प्रदेशमा एक लाख ६३ हजार ९७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । त्यसरी नै कर्णाली प्रदेशमा गत वर्षभन्दा ५ सय हेक्टरले धान रोपाइ हुने क्षेत्र थपिएको छ । त्यसरी नै गण्डकी र लुम्बिनी प्रदेशमा भने गत वर्षभन्दा रोपाइँ भएको क्षेत्रफलमा गिरावट आएको छ । गत वर्षभन्दा गण्डकी प्रदेशमा तीन हजार र लुम्बिनीमा ८ हजार हेक्टरले रोपाइँ भएको क्षेत्र घटेको छ ।

समग्रमा भन्नुपर्दा मूलतः कोभिड १९ का कारण रोजगारी गुमेपछि अधिकांश बाँझो रहेका खेतीमा रोपाइँ गर्न थालिएको सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । यसर्थ मन्त्रालयको भनाइअनुसार यस वर्ष देशभर रोपाइँ योग्य खेतको क्षेत्रफल करिब एक लाख ३२ हजार सात सय ८० हेक्टर बढेको अनुमान रहेको छ । मुलुकलाई कृषिप्रधान देशमात्रै भनिँदैन, विश्वमा ब्राजिलपछिको दोस्रो स्थानमा रहेको पानीको धनी राष्ट्र भनेर पनि चिनाइन्छ । तर, विडम्बना यहाँका कृषकले पानी अभावमा समयमा नै रोपाइँ गर्न पाउँदैनन् । उनीहरूले आकासे पानीको भरमा दुई तिहाइ जमिनमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । यसर्थ रोपाइँ भइहाले पुनः सिँचाइ गर्न पानी पाइँदैन । यसको साथसाथै खडेरीको मारमा किसान वर्षेनी पिरोलिन्छन् । यसको अलावा सिँचाइ आयोजना निर्माण सुरु हुन्छन् । तर, समयमा सकिँदैन । सबै समस्या ज्युँका त्युँ हुँदा पनि सरकार कृषकप्रति उत्तरदायी बनेको देखिँदैन । यस वर्षको मौसमको पूर्वानुमान गर्ने जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा कम वर्षा मधेश प्रदेशमा भएको देखिएको बताउँदै आएको छ । त्यस्तै गरी सन् २०२२ को जुन १ देखि अगष्ट ९ तारिखसम्म उक्त प्रदेशमा पाँच सय १५ मिलिमिटर पानी परेको छ । यसलाई हेर्ने हो भने एकातिर वर्षा अभाव देखिएको छ भने अर्कोतिर हेर्ने हो भने धेरै कृषकले समयमा मल र खेताला अभावले रोपाइँ गर्न नसकिएको बुझिएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x