Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनजिकिएका चाडपर्व र नेपालको अर्थतन्त्र

नजिकिएका चाडपर्व र नेपालको अर्थतन्त्र


काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरूको प्रमुख चाडका रूपमा रहेका दशैँ, तिहार छठ पर्वलगायतका चाडहरू नजिकिएका छन् । दश दिनसम्म मनाइने राष्ट्रिय पर्वका रूपमा रहेको दशैँ सम्मुखमै आइसकेको छ । यी ठूला चाडपर्वहरूले धार्मिक, सांस्कृतिक र सामाजिकरूपमा निकै महत्व राख्दछन् । सँगसँगै, नेपालको सन्दर्भमा यी चाडहरूले अर्थतन्त्रलाई बहुआयामिक रूपमा चलायमान र गतिशील तुल्याउने मात्र नभई नकारात्मक रूपमा पनि उत्तिकै प्रभाव जमाउने प्रमुख पर्वका रूपमा समेत देखिनथालेका छन् ।

आर्थिक दृष्ट्रिकोणबाट हेर्दा दशैँ, तिहारलगायतका पर्वहरू खुशियालीको पर्व मात्र नभई सुस्ताएको बजारलाई चलायमान बनाउने पर्व पनि हुन् । सँगसँगै जस्तो आउने यी चाडहरूका समयमा औपचारिकरूपमा नै ठूलो मात्राको रकम एकैपटक अर्थतन्त्रमा प्रवाह हुने गर्दछ । नेपालको कुल गार्हस्थ उत्पादनको करिब ४० प्रतिशत खर्च असोज र कात्तिक महिनामा हुनेगरेको तथ्याङ्क छ । यी महिनाहरूमा दशैँ, तिहारलगायतका ठूला चाडहरू पर्ने गर्दछन् । दशैँ को समयमा सरकारी, निजी र अनौपचारिक क्षेत्रमा रोजगाररत सबैले दशैँ खर्च एवं बोनस पाउने भएकोले यसबाट पनि अरबौँ रुपैयाँ अतिरिक्त आम्दानीका रूपमा बजारमा भित्रिने गर्दछ ।

सरकारी कर्मचारीहरूका लागि मात्रै दशैँअघि चाडपर्व खर्चको भुक्तानीका रूपमा १५ अर्ब हाराहारी रकम खर्च हुने तथ्यांक छ । यसबाहेक निजी क्षेत्रबाट पनि योभन्दा निकै ठूलो हिस्सा कर्मचारीहरूको दशैँ खर्चका रूपमा बजारमा पुग्ने गर्दछ । सामान्य अवस्थामा देशको कुल जनसंख्याको एकतिहाइभन्दा बढी हिस्सा दशैँ तिहारका समयमा मुलुकको एक भागबाट अर्को भागमा आवतजावत गर्ने भएकोले सिंगै मुलुक हरेक हिसाबले चलायमान भइरहेको हुन्छ । अर्कोतर्फ, आवतजावतका क्रममा यातायातका क्षेत्रमा मात्रै सात अर्बभन्दा बढीको कारोबार हुने यसक्षेत्रका व्यवसायीहरूको अनुमान छ । चाडपर्व मनाउन र आफन्तजनहरूसँग भेटघाटका लागि खासगरी सहरवासीहरू ग्रामीण भू–भागतिर जाने भएकोले सहरको आम्दानी गाउँमा पुग्ने माध्यम र अर्थतन्त्रका लाभहरू सीमान्त वर्गसम्म पुग्ने अवसरका रूपमा समेत यी चाडहरू रहेका छन् ।

दशैँको समयमा आम नागरिकहरूलाई नयाँ नोटको मोह पनि उत्तिकै रहने गर्दछ । नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैँ तिहारमा अर्बौ रुपैयाँबराबरका नयाँ नोटहरू बजारमा पठाउने गरेको छ । यसवर्ष पनि नेपाल राष्ट्र बैंकले आगामी भाद्र २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाएको समाचार सार्वजनिक भइसकेको छ । दशैँ, तिहारको समयमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने विप्रेषणको रकम पनि ह्वात्तै बढ्ने गर्दछ । विगत वर्षहरूको तथ्यांक हेर्दा औपचारिक माध्यमबाट वार्षिकरूपमा भित्रने विप्रेषण रकमको ठूलो हिस्सा यही सिजनमा देशमा भित्रनेगरेको अवस्था छ । यसरी हेर्दा दशैँको आसपासमा अर्थतन्त्रमा ठूलो मात्रामा नगद चलायमान हुने र खर्चको मात्रा पनि उत्तिकै बढ्ने गरेको अवस्था छ । दशैँ, तिहारको तीन सातामा नेपालीहरूले कुल उपभोगको झण्डै २५ प्रतिशत खर्च गर्ने अनौपचारिक तथ्यांक रहेको छ । यति धेरै उपभोग खर्च चाडपर्वमा नै हुनु भनेको अर्थतन्त्रमा विरलै हुने घटनाका रूपमा लिने गरिन्छ ।

चाडपर्वको आरम्भसँगै धेरै चलायमान हुने अर्को मुख्य क्षेत्र व्यापार पनि हो । दशैँ, तिहारको शुभारम्भ हुनुभन्दा निकै दिनअघि देखि नै साना पसलदेखि ठूला डिपार्टमेन्टल स्टोर र सपिङ मलहरू छुट, आकर्षक उपहारलगायतका सुविधा एवं सहुलियतसहितका विज्ञापनले झकिझकाउ भइरहेका हुन्छन् ।

पत्रपत्रिकाहरूलगायत आम सञ्चारमा माध्यमहरू व्यापारिक छुट र सहुलियतका आकर्षक विज्ञापनहरूले ढाकिने गर्दछन् । एक हिसाबले ठूला चाडपर्वको समय मानिसहरूका लागि खरिददारीको मौसमका रूपमा रहेको हुन्छ । व्यापारिक स्थलहरूमा देखिने भिडभाड र कोलाहलले पनि यसको पुष्टि गरिरहेको हुन्छ । योे समयमा नयाँ लत्ताकपडा, गरगहना, खानपानका लागि आवश्यक उपभोग्य सामग्रीहरूदेखि लिएर सवारीसाधन, भाँडाकुँडा, विद्युतीय सामानहरूजस्ता अनेकन वस्तुहरूको किनमेलमा मानिसहरू जुट्ने गर्दछन् । फलफूल, मरमसलादेखि लिएर थुप्रै घरायसी सामानहरूको कारोबार चाडबाडको समयमा चुलिने गर्दछ ।

पछिल्ला वर्षहरूमा विषेशगरी सहरी क्षेत्रहरूमा दशैँ, तिहारलाई नयाँ सामान जोड्ने पर्वका रूपमा समेत मनाउन थालिएको पाइन्छ । व्यापारीहरूको भनाइमा वर्षभरिको मुख्य कारोबार हुने सिजन भएकोले नुनदेखि सुनसम्म हुने व्यापारको ठूलो हिस्सा कारोबार दशैँ तिहारको समयमा नै हुने गर्दछ । यसबाट नेपालको व्यापारिक क्षेत्रमा ठूलो कारोबार हुने ‘पिक सिजन’का रूपमा दशैँ तिहार रहेका छन् ।

दशैँ तिहारजस्ता चाडपर्वले अर्थतन्त्रलाई व्यापकरूपमा चलायमान गराउने र थुप्रै सकारात्मक प्रभावहरू छोड्ने भए पनि यसका नकारात्मक पाटाहरू पनि उत्तिकै रहेका छन् । दशैँ, तिहारको समयमा ठूलो मात्रामा खर्च हुनेगरे पनि यसको अधिकांश हिस्सा उपभोगमा नै सकिने गर्दछ । एक हिसाबले दशैँ उपभोगको पर्वका रूपमा रहेको छ । खर्चको ठूलो मात्रा उत्पादनमूलक क्षेत्रमा नभई उपभोगमा खर्चिने स्थिति अर्थतन्त्रका लागि हितकर हुन सक्दैन ।

अर्कोतर्फ, पछिल्लो समयमा ‘राम्रो लगाउने र मीठो खाने पर्व’का लागि खरिद गरिने, लगाउने एवं खाने अधिकांश वस्तुहरू आयातित हुनथालेका छन् । दशैँमा गरिने खर्च र यससम्बद्ध धेरै क्रियाकलापहरूले आयातलाई प्रश्रय दिइरहेको देखिन्छ । राम्रो लगाउने नाममा लत्ताकपडामा ठूलो रकम खर्च हुने तर स्वदेशी उत्पादनले बजारलाई भर नगर्ने भएकोले यसमा गरिने अधिकांश खर्च विदेशिने गर्दछ । पछिल्ला वर्षहरूमा खानपानका सामग्रीहरू पनि विदेशी नै हुनथालेका छन् । विगतमा दशैँका लागि भनेर खसीबोका, हाँस, कुखुरा आदि पालिने र मासुका रूपमा उपयोग गरिने प्रचलन रहेको थियो ।

हालका दिनहरूमा कृषि पेसाप्रति विभिन्न कारणहरूबाट मानिसमा देखिएको विकर्षणका कारण देशभित्रको मासुजन्य उत्पादनले आन्तरिक बजारको मागको १५ प्रतिशत हिस्सामात्रै धानिरहेको तथ्यांक छ । यसको अर्थ, दशैँमा मासुका लागि खसी, बोका, च्यांग्रा, कुखुरालगायतका जनावरहरू मात्रै ८५ प्रतिशत आयातित रहने गर्दछन् । कृषिप्रधान भनिएको मुलुकमा धान, चामललगायतका दैनिक खाद्यवस्तुहरूदेखि लिएर जिरा, धनियाँ र लसुन, प्याजसमेत भारत एवं चीनबाट आयात गरी उपभोग गर्नुपर्ने र चाडबाड मान्नुपर्ने स्थितिमा हामी पुगिसकेका छौँ । विप्रेषण आयमार्फत यो सिजनमा देशमा भित्रिएको रकमको पनि अधिकांश हिस्सा उपभोगमा नै सकिने गर्दछ । दशैँ तिहारको समयमा ठूलो मात्रामा हुने उपभोग खर्चले हरेक कोणबाट आयातलाई बढावा दिइरहेको हुन्छ । यस किसिमको अवस्थाले दशैँ तिहारजस्ता पर्वहरू देशमा चुलिएको व्यापारघाटालाई अझै उचाइमा पु-याउने पर्वका रूपमा स्थापित भइरहेका छन् ।

चाडबाडको समयमा हरतरहले बजारमा मुद्राको आपूर्ति बढेसँगै अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार नै बजारमूल्य समेत बढ्ने गर्दछ । दशैँको आसपासमा एकैपटक ठूलो मात्रामा नगद प्रवाह भएसँगै उपभोक्ताहरूको क्रयशक्ति बढ्ने र यसबाट बजारको कारण सँगसँगै फेरिएको उपभोग प्रवृत्तिले समेत मूल्यवृद्धिमाथि चाप पर्ने गर्दछ । यसबाट गरिब एवं सीमान्तकृत नागरिकहरूलाई चाडपर्व मान्ने ध्याउन्न र देखासिकीका कारण अझै गरिबीतर्फ धकेलेका अनेकौँ दृष्टान्तहरू छन् । ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई’ भन्ने प्रचलित नेपाली उखानले समेत यसखालको अवस्थाको उजागर गरिरहेको छ । मुद्राको ठूलो मात्रा बजारमा एकै पटक भित्रने र मागमा व्यापक बढोत्तरी भई बजारमूल्य पनि ह्वात्तै बढ्ने अवस्था स्वस्थ अर्थतन्त्रको द्योतक होइन ।

यसकिसिमका नकारात्मक पाटाहरूलाई ठेगान लगाउन र दशैँ, तिहारजस्ता पर्वलाई मुलुकी अर्थतन्त्रको हितमा उपयोग गर्नका लागि विभिन्न सुधारहरू आवश्यक छन् । दशैँ, तिहारको समयमा ठूलो मात्रामा खर्च हुने र यसको अधिकांश हिस्सा उपभोग खर्चमा नै सीमित हुने स्थितिमा सकेसम्म न्यूनतम खर्चमा मितव्ययी हिसाबले चाडबाड मनाउने परम्परालाई स्थापित गरिनुपर्छ । दशैँमा हुने खर्चको केही अंशलाई मात्रै बचत गर्न र पुँजी निर्माणमा लगाउन सकिएमा यसबाट अर्थतन्त्रमा सोझै सकारात्मक प्रभाव पर्ने भएकोले यसतर्फ सबैलाई प्रेरित गरिन जरुरी छ । उपभोग खर्चको ठूलो हिस्सा आयातित सामानमा विदेशिने गरेको स्थितिलाई मध्यनजर गर्दै सम्भव भएसम्म स्वदेशी उत्पादनको उपभोग गर्नेतर्फ ध्यान पु-याइन आवश्यक छ । मुलुकभित्र कृषिजन्य उत्पादन एवं औधोगिक उत्पादनलाई वृद्धि एवं विस्तार गर्न सकिएमा स्वदेशी वस्तुहरूको उपभोगमा खर्च भई अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नसक्ने तथ्यलाई गम्भीरताका साथ लिन पनि ढिला भइसकेको छ । नेपालको सन्दर्भमा दशैँ, तिहारजस्ता ठूला चाडहरूमा हुने खर्चको आधा अंशमात्रै स्वदेशभित्र राख्नसक्ने वातावरणको सिर्जना गर्ने हो भने यसले नेपाली अर्थतन्त्रमा महसुस गर्न सकिने गरी सकारात्मक प्रभाव पर्ने निश्चित छ ।

दशैँ तिहारजस्ता परम्परागत चाडहरू हाम्रो संस्कृति र सभ्यतासँग जोडिएका रमाइला एवं राष्ट्रिय रूपमा परिचायक पर्वहरू हुन् । यस्ता पर्वहरू मनाइनु र संस्कृतिको जगेर्ना गरिनु निश्चय नै सकारात्मक कदम हो । तर, यसखालका पर्वहरू मनाइरहँदा यसभित्रका आर्थिक पक्षहरूलाई पनि मध्यनजर गरिन आवश्यक छ । यसै पनि हरतरहले धराशायी बनिरहेको मुलुकी अर्थतन्त्रलाई चाडपर्वको बोझिलो मारबाट जोगाउन सबैले सोच्नुपर्ने बेला आएको छ । संस्कृतिको जगेर्ना गर्दै दशैँ मनाउने क्रममा गरिने ठूलो खर्चका कारण अर्थतन्त्रमा देखिएका र देखिनसक्ने यावत् नकारात्मक प्रभावहरूबाट मुलुकी अर्थतन्त्रलाई मुक्त राख्दै यसका सकारात्मक पाटाहरूलाई पक्षपोषण गर्नसके दशैँलाई देशको आर्थिक हितमा समेत उपयोग गर्नसकिने अवस्था रहन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x