Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआत्महत्या न्यूनीकरणमा शान्ति शिक्षाको महत्व

आत्महत्या न्यूनीकरणमा शान्ति शिक्षाको महत्व


काठमाडौं । मानव जब जन्मिन्छ, जन्मेको धेरै अवस्था पार गरेपछि जस्तै बालक, वयष्क वा वृद्ध नै किन नहोस्, तनाव, सीमा, तुलना, समय अनि हीनताबोध धेरै कुराहरुबीच जीवनले आशाको रेखा जोडेको हुन्छ । हामीले सबै कुरालाई सन्तुलनमा राखेर अगाडि बढ्न जरुरी हुन्छ । जीवन केवल उपभोगशील र उपलब्धताको धरोहर मात्र होइन, शून्यताबीच रहेको निरपेक्ष हरेक श्वासको माला गाँसेर बनाएको जीवनको महत्व बुझ्न आवश्यक छ । मानव हाँसोको मुस्कानको लागि भौतिक अवयवहरु चाहिन्छ । जस्तै : बैंकमा ब्यालेन्स । मानव जीवनको खुसी र सन्तुष्टि, भौतिक प्राप्ति र प्रतिस्पर्धामा मात्र देख्ने पुस्ताले मुस्कानसहितको हाँसो अनि हँसाउन नजानेको पक्कै हो । यसले मानवलाई तनावपूर्ण जीवनको थालनी गर्दछ । परिणामस्वरुप आत्महत्या, लागूपदार्थको दुव्र्यसन आदि भई मानसिक स्वास्थ्य नै बिग्रिन्छ । यस लेखमा आत्महत्याको न्यूनीकरणको लागि शान्ति शिक्षाको महत्वबारे चर्चा गर्ने प्रयास गरिन्छ ।

विश्व आत्महत्या दिवस हरेक वर्ष सेप्टेम्बर १० मा मनाइन्छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष आत्महत्याका कारण करिब १० लाखभन्दा बढी मानिसको मृत्यु हुने अनुमान गरेको छ । विश्वव्यापी आत्महत्यामध्ये करिब ७७ प्रतिशत न्यून र मध्य आय भएका देशहरुमा हुन्छ । आत्महत्याको व्यवहारले परिवार र समुदायलाई गहिरो प्रभाव पार्दछ । यसले गर्दा लाखौँ प्रभावित भई विश्वव्यापी चुनौती बनेको छ । यो दर घटाउन विश्वव्यापी महत्व र शान्ति शिक्षाको आवश्यक हुन्छ । विश्वमा हुने सय मृत्युमध्ये १ जना आत्महत्याको परिणाम हो । विशेष गरी माथि भनेजस्तै शान्ति शिक्षाको माध्यमबाट मानसिक तनाव हटाई आत्महत्या घटाउन सकिन्छ ।

२०२२ को आत्महत्यासम्बन्धी नारा ‘सकारात्मक कार्यहरुमार्फत आशालाई जगाउने’ भन्ने छ । नेपालको सन्दर्भमा देशभर गत १ वर्षमा ५९८३ आत्महत्या घटना भएका छन् । जसमा प्रदेश नं. १ मा १४८९, मधेशमा १०१५, बागमतीमा ९०१, उपत्यकामा ५२६, गण्डकीमा ६९७, लुम्बिनीमा १२९७, कर्णालीमा २९० र सुदूरपश्चिमाञ्चलमा ५७१ रहेका छन् ।

यो दिवसको अर्थ हो, जीवन अनमोल छ, धन सम्पत्तिमात्र तुलना गर्नु मूर्खता हो । कमाउने, जोगाउने दौडमा कतै हामी बाँच्नै त बिर्सेका छैनौँ ? अतः खुसी हुनु र सकारात्मक सोच राख्नु अत्यन्तै ठूलो कुरा हो । मुस्काउन र मुस्कान बाँड्न पछि नपरौँ । स्मरण रहोस् हरेक वर्ष करिब ३० करोडभन्दा मानिस संसारमा डिप्रेसनको शिकार भइरहेका छन् । सोको कारण आत्महत्याको दर बढिरहेको छ । अतः जीवनमा सदैव सकारात्मक सोच राखी स्वच्छ जीवनयापन गर्नु नै उपलब्धिमूलक हो । परिणाम त केवल उपज हो । मानसिक समस्या भएकाको विशेष रेखदेख, स्वास्थ्य र सामान्य जीवनको लागि पहल गर्नु हाम्रो दायित्व हो भन्नुमा कुनै अयुक्ति नहोला । यसले आत्महत्या न्यूनीकरणमा मद्दत गर्दछ ।

यसको लागि शान्ति र मुस्कानको अति आवश्यक छ । अशान्ति हटाउन सबभन्दा पहिले आफ्नो परिवार, समुदाय, समाज, संस्कृति, मानवअधिकार आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संघर्ष तथा द्वन्द्वले शान्ति कहिल्यै आउँदैन, अतः सदैव बन्धुत्वको भावनाको विकास गरी मुस्कानसहितको शान्ति शिक्षाको सञ्चार गर्नु आवश्यक छ । प्रत्येक देशमा सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासको सुनिश्चित गर्ने मार्गमा सबै समुदाय, वर्ग एवं धर्मको संयुक्तरुपले मुस्कानसहितको शान्ति संस्कृतिको विकास गर्न नितान्त आवश्यक छ । आज सम्पूर्ण विश्व नै विभिन्न बहानामा अशान्तिको छाल मडारिएको सन्दर्भमा सबैमा मुस्कानसहितको शान्तिमय संस्कृतिको विकास गर्नु नै आजको आवश्यकता हो । मुस्कान हाम्रो मनबाट निस्केको एउटा यस्तो भाव हो जसले हाम्रो वरिपरिको मानिसलाई खुसी तुल्याई आफूतिर आकर्षित गर्दछ । यो व्यावहारिक शान्ति शिक्षाबाट मात्र सम्भव छ । समाजमा मुस्कानको महत्व आफू हास्ने नभईकन अरुलाई पनि हसाउनुपर्दछ यसको लागि व्यावहारिक शान्ति शिक्षाको महत्व छ । केही वर्षयता विश्वभर फैलिरहेको कोरोनाजस्तो महामारीसँग जुध्न तथा न्यूनीकरण गर्न मुस्कानसहितको शान्ति शिक्षाले ठूलो भूमिका खेल्छ ।

Open photo

डिप्रेसन तथा मानसिक तनावबाट सृजना भएको आत्महत्या न्यूनीकरण गर्न शान्ति शिक्षा व्यक्तित्व तथा चरित्र निर्माणको लागि पाठ्यक्रम हुन आवश्यक छ । शान्ति स्थापना शिक्षा उत्पादनको लागि जिम्मेवार एवं संवेदनशील नागरिकको भूमिकामा जोड दिनु आवश्यक छ । शान्ति शिक्षाको कार्यक्रमको लागि विभिन्न पाँच स्तरको एकीकृत पाठ्यक्रम शान्ति शिक्षा दिन सक्ने क्षमतावान् शिक्षाको विकास गर्नु आजको आवश्यकता हो । यो निम्न प्रकारको हुन सक्छ : डिप्रेसन न्यूनीकरणको लागि शान्ति शिक्षाको सिद्धान्तबारे उचित पाठ्यक्रम बनाउनुपर्ने, सबै सैद्धान्तिक पाठ्यक्रम एवं शिक्षण पद्धतिको सम्बन्धित पाठ्यक्रममा नै शान्ति शिक्षाबारे एकीकृत तरिकाबाट ज्ञान दिने, शान्ति शिक्षा अध्यापन अभ्यास तथा अन्य विद्यालय अनुभव आदानप्रदानमा ध्यान दिने, सांस्कृतिक साहित्यिक तथा अन्य पाठ्य सहभागी कार्यक्रमको सहयोगको माध्यममा शान्ति शिक्षाको विशिष्ट गतिविधि आयोजना गर्ने, शिक्षक, शिक्षण संस्था तथा सबै समुदायमा शान्ति शिक्षाको सन्देश प्रसारित गर्नुपर्दछ ।

शान्ति शिक्षाको माध्यमबाट डिप्रेसन र आत्महत्या न्यूनीकरणको लागि सरकार, शिक्षाविद्, शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक पार्टी आदि लाग्नुपर्ने देखिन्छ । निजी विद्यालयहरुमा तिर्नुपर्ने शुल्कले आम अभिभावकहरु आर्थिक मारको चक्रव्यूहमा परे पनि सो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्छ भनी लालायित छन् भने सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति कम छ । सरकारको अर्बौँ बजेट लगानी भएको छ । अतः स्वच्छ प्रतिस्पर्धाबाट शिक्षाजस्तो गरिमामयको उचित व्यवस्थापन गरी आवश्यकता अनुसार व्यावहारिक तथ गुणस्तरीय शिक्षा प्रदान गर्नु समयको माग हो ।

हाम्रो शिक्षा क्षेत्रको मूल समस्यालाई हेर्ने हो भने क्षेत्र र परिधिबारे पूर्ण रुपमा स्पष्ट नहुनु हो । राजनीतिक दलको निहित स्वार्थको कारण सरकारको विभिन्न शैक्षिक योजनाले पनि शिक्षाको लागि अझै स्पष्ट मार्गचित्रण गर्न नसक्नु, नीतिनिर्माणको राष्ट्रप्रतिको ठूलो तिरस्कार नै हो । जसको परिणामस्वरुप नेपालमा शिक्षा अन्यौल अवस्था, शिक्षक, विद्यार्थी, अभिभावकबीच समन्वय नभई विद्यमान समस्याहरु देखापरेको, शिक्षा क्षेत्र राजनीतीकरण, शैक्षिक संस्थालाई सम्बन्धन दिने नीति स्पष्ट र प्रभावकारी नभएको, शैक्षिक तथा भौतिक पूर्वाधारको कमी, यसको परिणामस्वरुप अन्तर्राष्ट्रियजगतमा नै हाम्रो शैक्षिक उपाधिको विश्वसनीयतामा नै प्रश्न उठ्ने गरेको, उचित शैक्षिक पाठ्यक्रम लामो समयदेखि समयअनुसार देशको आवश्यकताअनुसार परिवर्तन नभएको, पाठ्यभार, पाठ्यअवधि, गुणस्तरीय मापदण्डको अभाव, विदेशी विश्वविद्यालयहरुसँगको सम्बन्धनमा सञ्चालित शैक्षिक नियन्त्रण र समन्वयको अभाव, निजीस्तरबाट खोलिएका शैक्षिक संस्थामा बढ्दो व्यापारीकरण भई शिक्षक, अभिभावक, विद्यार्थीलाई थप आन्दोलित बनाएको, उचित कार्यनीतिको अभाव, नातावाद, राजनीतिकरण, व्यक्तिगत स्वार्थ, असक्षम राजनीतिक नियुक्ति, अनुशासनको कमी, न्यून आर्थिक स्थिति, विज्ञलाई पाखा अनविज्ञलाई प्रशासन, पुरानै स्वार्थपूर्ण कार्य व्यावसायिक शिक्षाको अभाव, वास्तविक योजनाको अभाव, उचित पुरस्कार र दण्डको व्यवस्था नहुनु अक्षम व्यवस्थापन आदिबाट डिप्रेसन तथा आत्महत्याको दर बढेको छ ।

माथिको समस्या हल गर्न शिक्षा क्षेत्रमा आधारभूत शिक्षा र प्राविधिक वा व्यावसायिक शिक्षाबीच सरकारले स्पष्ट नीति ल्याउनुपर्ने, आधारभूत शिक्षा सबै नागरिकलाई प्रदान गर्नुपर्ने, गुणस्तरीय मूल्यांकन, समय सुहाउँदो पाठ्यक्रमको विकास हुनुपर्ने, शिक्षा क्षेत्रमा व्यापारीकरण रोकी, शिक्षक, विद्यार्थी र अभिभावकको मैत्रीपूर्ण वातावरण सृजना गर्नुपर्ने, सक्षम व्यवस्थापन, नातावाद, राजनीतिक प्रदूषण, भ्रष्टाचारलाई प्रश्रय नदिने, जनसहभागितामा जोड, व्यावहारिक शिक्षा, दीर्घकालीन शैक्षिक योजना, पूर्वाधारको विकास, आवश्यक उपकरण प्रयोग, वास्तविक देशअनुसारको शिक्षा, प्रशासनमा राजनैतिक हावी रोक्ने, हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छेलाई पदमा राख्ने आदि कार्य गरेमा हाम्रो शिक्षा गुणस्तर र व्यावहारिक, नेपाल र नेपालीको हितमा भई डिप्रेसनबाट आत्महत्या न्यूनीकरण हुनेछ । तबमात्र रहेक वर्ष सेप्टेम्बर १० मा मनाइने विश्व आत्महत्या रोकथाम दिवस, अक्टोबर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवसले सार्थकता पाउनेछ । (डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधिप्राप्त हुन् ।)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x