Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसरकारको चाडपर्वलक्षित सुपथ मूल्य पसल

सरकारको चाडपर्वलक्षित सुपथ मूल्य पसल


काठमाडौं । सरकारले नेपालीको महान् चाड बडादशैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । अहिले सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल नयाँ भने होइन । प्रायः चाडपर्वको अवसरमा जनतालाई राहत मिलोस् भन्ने अभिप्रायले हरेक वर्षको चाडपर्वमा ल्याइएको पाइन्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौं उपत्यकासहित देशभर सुपथ पसल सञ्चालनमा ल्याएको हो । कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दशैँ, तिहार र छठलक्षित सहुलियत पसल सञ्चालन गरिएको छ ।

सुपथ मूल्य पसलले चाडपर्वका बेला हुनसक्ने महंगी र कालोबजारी नियन्त्रण गरी केही हदसम्म भए पनि जनतालाई सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन हुने गरेका छन् । चाडपर्वका बेला दैनिक उपभोग्य बजारमा धेरै किनबेच हुने भएकाले महंगी नियन्त्रण तथा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन बजार नियन्त्रण गर्नु सुपथ पसलको प्रमुख लक्ष्य हो । यसपटक जनतालाई राहत र सहुलियत प्रदान गर्न अघिल्लो वर्षभन्दा बढी मूल्य सुपथ गरिएको तथा साल्ट ट्रेडिङले दैनिक उपभोग्यवस्तु नुन, चिनीका अलावा खाद्यान्न पनि बिक्रीवितरण गर्ने गरेको छ ।

नेपाल दुग्ध विकास संस्थानले पनि केही सुपथ मूल्य पसल सञ्चालन गर्ने बताएको छ । सुपथ मूल्य पसलबाट टाढाका सेवाग्राहीहरूले अनलाइनमार्फत वस्तु खरिद गर्न सक्दछन् । कम्पनीको सेवालाई अझ प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै जनतालाई समयमै अधिकतम सेवा उपलब्ध गराउने विषयबाट यो निर्देशित हुने व्यवस्था गरिएको छ । कम्पनीको सेवालाई दूर्गमका जनताको पहुँचमा प-याउने र उनीहरूको सेवामा समर्पित गराउने खालका कार्यक्रमलाई यस सेवाले प्रशय दिएको छ । नेपालमा २० प्रतिशत धनीबाहेक बाँकी सबैको जीवस्तर कमजोर छ । न्यून आयस्तर, बढ्दो महंगी र मानी आएका चाडपर्वले उनीहरूलाई थप गरिबीतिरै धकेली रहेको छ । महंगीका कारण उपभोगमा भएको कटौतीलाई न्यूनीकरण गर्न सरकारको यो नीति सहायक बन्न सक्ने देखिएको छ ।

आजभोलि दुर्गम तथा हिमाली क्षेत्रका खाद्यवस्तुको संकलन र बजारीकरणमा ध्यान दिने हो भने आधारभूल आवश्यकताका वस्तुबाट टाढिनु पर्दैन । बजारको प्रभावकारी अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम राख्न सम्बन्धित मन्त्रालय सचेत रहेमा आम नागरिकले सुपथ मूल्यमा वस्तु तथा सेवा प्राप्त गर्न सक्नेछन् । यस प्रणालीलाई व्यवस्थित र निरन्तर बनाइराख्नका लागि जनशक्ति बढाएर अनुगमनलाई प्रभावकारी बनाउन सरकार सधैँ तत्पर रहन जरुरी छ ।

उद्योग मन्त्रालयले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनसँगै बजार अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने बताएको छ । उपभोक्ताले सहजरूपमा खाद्य उपभोग्य वस्तु खरिद गर्नसक्ने हेतुले अनलाइन बिक्रीको व्यवस्था गरिएको जानकारी मन्त्रालयले दिएको छ । अत्यावश्यक खाद्यवस्तु एकैथलोबाट सहुलियतरूपमा उपलब्ध गराउने उद्देश्यबाट यी पसल सञ्चालन गरिएका हुन् । यसको प्रभावकारिता बढेसँगै सुपथ पसल आवश्यकताअनुसार विस्तार गर्ने र वस्तुसेवा बिक्रीलाई सहज बनाई आमनागरिकलाई सुपथ मूल्यमा वस्तुसेवा उपलब्ध गराउने मन्त्रालयले बताइरहेको छ ।
कति स्थानमा कहिलेसम्म सञ्चालन हुन्छन् सुपथ मूल्य पसल ?
हाल काठमाडौंसहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकैपटक सञ्चालनमा ल्याइएको छ । काठमाडौंको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायकमा सुपथ पसल सञ्चालनमा आइसकेका छन् । आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिने भएको छ । प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहुलियत पसल सञ्चालनमा आउने जनाइएको छ । सुपथ पसलमा मासुजन्य वस्तुमा १० रूपैयाँ तथा खाद्यान्य सामग्री र तेलमा ७ रूपैयाँ छुटको व्यवस्था गरिएकोे छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसहितको सहभागितामा सञ्चालन हुने सुपथ पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घ्यु, खसी बोका र च्यांग्रालगायत बिक्रीमा हुनेछन् । सुपथ मूल्य पसलमा चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा सात रूपैयाँ छुट पाइनेछ । कर्णाली सिमी तथा गेडागुडीमा प्रतिकिलो १० रूपैयाँ, जिउँदो खसी, बोका र च्यांग्रामा प्रतिकिलो १० रूपैयाँ छुट पाइने कम्पनीले जनाएको छ । नुन किलोमा २ रूपैयाँ, घिउ किलोमा ६० रूपैयाँ र पनिर तथा चिजमा प्रतिकिलो २० रूपैयाँ छुट पाइनेछ ।

यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा एकाधिकार तोड्दै मूल्य नियन्त्रण गर्न खसीबोका र च्यांग्रा खरिद तथा बिक्री गरिने जनाएको छ । दशैँलक्षित कार्यक्रमअन्तर्गत यो वर्ष दार्चुलाबाट च्यांग्रा खरिद गरेर बजारमा बिक्री गरिनेछ । बजार मूल्यलाई सन्तुलन कायम गर्न खसी च्यांग्राको व्यवस्था गर्न लागिएको मन्त्रालयले बताएको छ । यो वर्ष चार सय च्यांग्रा ल्याउनेछ । निजी व्यापारीले पनि च्यांग्रा बिक्री गर्नेछन् । त्यस्तै खसीबोका दुई हजार खरिद बिक्री गरिनेछ । वीरगञ्ज र तुल्सीपुरबाट खसीबोका ल्याइनेछ ।

लगातारको कोरोना महामारीको बन्दाबन्दीमा पील्सिएका नागरिकलाई बजार मूल्यमा सौलियत दिनु सरकारको दायित्व हो । नेपालीको महान् चाडपर्व दशैँ र तिहारलाई लक्षित गरी खरिद मूल्यमा आएको कमिले सामान्य नागरिकको उपभोग बढाउँछ । बढ्दो उपभोगले उत्पादनलाई प्रेरित गर्छ । बढ्दो उत्पादन रोजगारी र आयका लागि पथ प्रदर्शक बन्दछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x