डेंगुको संक्रमण तीव्र, कसरी जोगिने ?
काठमाडौं । विश्वव्यापी रूपमा डेंगु रोग दोस्रो विश्वयुद्धको समयदेखि समस्या हुँदै आएको हो । संसारभरि हेर्ने हो भने हरेक साल यो रोगका कारणले गर्दा पाँच करोडभन्दा बढी मानिस बिरामी पर्ने गरेको सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । यसरोगबाट झण्डै १० देखि २० हजार मानिसको मृत्यु समेत हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
यसलाई ऐतिहासिक पृष्ठभूमिमा अवलोकन गर्ने हो भने डेंगुको महामारीका बारेमा सन् १७७५ मा लिखित तथ्य भेटिएको थियो । देशको कुरा गर्ने हो भने सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो । त्यसयता डेंगुको संक्रमण देखिँदै आएको थियो । यसरी सरुवा रोग विशेषज्ञहरूको भनाइअनुसार सन् २००६, २०१०, २०१२, २०१७ र २०१९ मा डेंगु रोग महामारीको रूपमा बढेको थियो । त्यसपछि अहिले नै डेंगुका बिरामी बढेको भनाइ पाइन्छ । यसरी बीचका वर्षहरूमा डेंगुका रोगहरू फाटफ्ट रूपमा मात्र भेटिएको थियो । यो रोग खासगरीकन तराई–मधेशमा बढी देखिने डेंगु रोग सन् २०१८ पछि भने पोखरा, काठमाडौंजस्ता पहाडी सहरहरूमा पनि देखा पर्न थाल्यो ।
यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टेका कारणले सर्ने गरेको तथ्य बीसौँ शताब्दीमै पत्ता लागेको थियो । यद्यपि, लामखुट्टेलाई निर्मूल पार्न असम्भवजस्तै भएकाले सिधै भाइरसलाई नियन्त्रण गर्न औषधिहरूका बारेमा पनि अध्ययन भइरहेको छ । फलतः डेंगु एक प्रकारको ज्वरो हो र लामखुट्टेको टोकाइबाट एकअर्कामा सर्ने सङ्क्रामक रोग हो । फलतः डेंगुुको भाइरसबाट सङ्क्रमित भएको एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले यो रोग सार्छ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । मूलतः वर्षाको पानी टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी गमला, पानीका ट्यांकी आदिमा रहँदा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ । जसलेगर्दा डेंगी ज्वरो मोसमी ज्वरो जस्तै हो ।
यसले डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्दछ । यसर्थ एडिस लामखुट्टेले सफा जमेको थोरै पानीमा पनि फुल पार्दछ । खासगरी कन पानी जम्ने टिनका डब्बाहरू, प्लाष्टिकका बोतल, प्लास्टिकका खोल, टायर, सीसी अण्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिलगायतमा जुनसुकै पानी जम्ने भाँडो तथा स्थानहरू जस्तैः छाना, कौसी, बरन्डा आदिमा फूल पार्छ र यो लामखुट्टेको वृद्धि विकास हुन्छ ।
डेंगुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । यसमा खासगरीकन बिरामीमा देखिने लक्षणहरूमा उच्च ज्वरो आउने, बेस्सरी टाउका दुख्ने, शरीरमा बिबिरा आउने, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, रिँगटा लाग्ने, वाकवाकी वान्ता हुने, बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, बेहोस हुने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका जटिल अवस्थाका लक्षण हुन् ।
अतः डेंगु ज्वरो सन्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् । यसमा गम्भीर प्रकृतिको डेंगुका सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण देखा पर्छन् । यस डेंगु ज्वरोविरुद्ध कुनै खोप नहुनु र रोगको खासै उपचार भने हालसम्म आइसकेको छैन । यो रोग बिस्तारै आफै निको हुन्छ । यसमा ज्वरो उच्च हुने भएकोले यसलाई कम गर्न पारासिटामोल खाने तर ब्रुफिन, एस्प्रिनजस्ता दुखाइ कम गर्ने औषधि नखान सम्बन्धित क्षेत्रका विज्ञहरूले औँल्याएका छन् । यो रोग लागेपछि पानी तथा झोलिलो, पोषिलो खानेकुराहरू भने प्रशस्त मात्रामा खाने गर्नुपर्दछ । यसमा आरामको पनि अति आवश्यक पर्छ । यस रोगमा जटिल समस्या देखिएमा तत्काल नजिकैको स्वास्थ्य केन्द्रहरू लैजानु पर्छ ।
यस रोगमा खासगरीकन बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवतीहरूलाई विशेष ध्यान दिनुपर्छ । यो रोगबाट बच्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ । यसको लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय हो । यो लामखुट्टेको नियन्त्रण गर्न निम्न कुराहरूमा ध्यान दिन जरुरी छ । यसमा पूरा शरीर ढाकिने गरी कपडा लाउने, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्रीको प्रयोग गर्ने, लामखुट्टेको टोकाइबाट बच्न सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, धुप बाल्ने, घर वरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु-याउने र झयाल/ढोकामा जाली लगाई बन्द राख्ने आदि गर्नुपर्छ ।
समग्रमा भन्नुपर्दा डेंगु रोग देशको ७७ जिल्लाहरूमध्ये ७६ जिल्लाहरूमा फैलिएको सम्बन्धित निकायको भनाइ रहेको छ । यी जिल्लाहरूमा ३१ हजारभन्दा बढी मानिसहरूलाई डेंगु रोग लागि सकेको छ । यो रोग सबैभन्दा बढी बागमती प्रदेशमा २३ हजार पाँच सय ८९ र लुम्बिनीमा तीन हजार नौ सय ८७ जनामा देखिएको छ । त्यसरी नै प्रदेश १ मा आठ सय १५, मधेश प्रदेशमा छ सय पाँच, गण्डकी प्रदेशमाम सात सय ५३, कर्णाली प्रदेशमा दुई सय ८९ र सुदूरपश्चिम प्रदेशमा आठ सय २१ जनामा डेंगु देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो रोग खासगरीकन भाद्र र असोज महिनामा बढी देखिने खालको मौसमी रोग पनि हो । तर यति धेरै व्यापक भएको थिएन । यो पटक व्यापकै देखिन थालेको छ । यसमा डेंगुका कारण उपत्यकाका प्रायजसो सबै ठूला अस्पताल बिरामीले भरिन थालेका छन् ।
यही क्रममा डेंगुका बिरामी बढ्दै जाँदा अस्पतालहरूमा उपचारका लागि शय्या पाउन समस्या पर्नसक्ने आशंका समेत बढ्दो छ । यो अवस्था निश्चितरूपमा भयावह हुन सक्ने हुँदा सम्बद्ध निकाय समयमै सचेत भई निराकरणका उपाय खोज्नुपर्ने हुन्छ । यी महिनाहरूमा विशेष गरी सबै जनसाधारणहरूले विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले सबैलाई सचेत रहन आह्वान पनि गरेको छ । यसको साथै एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरस सङ्क्रमण हो । यो भाइरस चार प्रकारका हुन्छन् । जसमा डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ हुन् । यसको साथसाथै एडिस लामखुट्टे कालो रङ्गको हुन्छ । जसमा सेतो थोप्ला पनि देखिन्छ ।
यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । यसरी औलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले भने थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । यस रोगको नियन्त्रणको लागि अपनाउनुपर्ने उपायहरू यस प्रकारका छन् । यसमा आ–आफ्नो घरवरिपरिलगायत सार्वजनिक स्थलहरूमा पानी जम्न नदिई सफा राख्ने, पानी जमिहालेको खण्डमा हप्तामा तीन पटक जमेको पानी फाल्नुपर्छ । दैनिक प्रयोजनको लागि राखेको पानी लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
यसरी कुलरमा रहेको पानी हप्तामा दुई पटक सफा गर्नुपर्छ । गमला वा गमला राखेको प्लेटमा जमेको पानी हप्तामा दुई पटक फालेर प्लेट सफा राख्ने, त्यस्तै भाँडाकुँडामा पानी जम्न नदिन घोप्टायाएर राख्ने, घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने, काम नलाग्ने भाँडाकुँडा, सीसी, बोतल, प्लास्टिकका सामग्री, टायर आदिको पानी जम्न नमिल्ने गरी बिसर्जन गर्ने काम पनि गर्नु जरुरी भइसकेको छ । यसलाई युद्धस्तरमा जनचेतना टोल–टोलमा प्रचारप्रसार गर्नुको साथसाथै स्थानीयस्तरका सरकारले पनि यसलाई चनाखो भई बेलैमा रोग नियन्त्रण गर्ने खालको रणनीति अपनाउनु अति जरुरी भएको छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया