Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबाथरोगविरुद्ध सहकार्य

बाथरोगविरुद्ध सहकार्य


काठमाडौं । हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विभिन्न कार्यक्रमहरू आयोजना गरी ‘विश्व बाथरोग दिवस’ मनाउने गरिन्छ । यो दिवस मनाउनुको प्रमुख उद्देश्य समाजमा बाथरोग तथा बाथजन्य स्वास्थ्य समस्याहरूको अवस्थिति, यसको कारण, यसले पार्नसक्ने प्रत्यक्ष अप्रत्यक्ष प्रभाव, सम्भाव्य रोकथामका उपाय, वैज्ञानिक उपचार विधि एवं उचित व्यवस्थापनको लागि आ–आफ्नो तहबाट गर्न सकिने उपायहरूबारे विश्वव्यापी जनचेतना फैलाउनु हो ।

हाम्रोजस्तो विकासोन्मुख मुलुकमा मात्र नभएर विकसित मुलुकहरूमा समेत बाथरोगसम्बन्धी जनचेतना कम भएको पाइएको छ । अझ, हाम्रो समाजमा त यससम्बन्धी विभिन्न मिथ्या धारणाहरू विद्यमान छन् । धेरैजसो व्यक्तिहरूले ‘बाथसम्बन्धी रोग बुढ्यौलीसँगै आउने रोग हो’ भन्ठान्छन् भने कसैले यसलाई ‘निको नहुने रोग’को रूपमा लिएको पाइन्छ । बाथसम्बन्धी रोग लागेको शंका भएका व्यक्तिहरूले समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श लिई समयमै औषधि उपचार गरेमा बाथरोगलाई नियन्त्रणमा राखी सामान्य जीवनयापन गर्न सकिन्छ’ भन्ने कुरा अधिकांश व्यक्तिहरूलाई थाहा नै छैन । त्यसैले बाथरोगको रोकथाम, निदान, परामर्श र उपचारको लागि परिवार, समुदाय समाज र सरकारको सरोकारको साथसाथै पीडित व्यक्ति आफैँ पनि अझ बढी प्रोत्साहित र जिम्मेवार हुनुपर्दछ ।

सामान्य भाषामा बाथरोग (आरथ्राइटिस) भन्नाले शरीरका जोर्नी र यस वरपरका संरचनाहरू दुख्ने, सुन्निने र अररो भई राम्ररी चलमल गर्न नसक्ने अवस्था बुझिन्छ । हाम्रो समाजमा जोर्नी र जीउ दुख्ने समस्याको एक प्रमुख कारण बाथरोग र बाथजन्य स्वास्थ्य समस्याहरू हुन् । मानव शरीरमा हुनसक्ने एक सयभन्दा बढी किसिमका बाथरोगहरूमध्ये गठिया (-युमटोइड आरथ्राइटिस); जोर्नी खिइने बाथ (ओस्टियो–आरथ्राइटिस), गाउट (युरिक एसिडको बाथ), ढाडको बाथ (स्पोंडिलो–आरथ्राइटिस); बाल्यावस्थामा हुने बाथ (जुभेनाइल आरथ्राइटिस), लुपस (सिस्टेमिक लुपस इरिदम्यटोसस); मांसपेशीहरू दुख्ने समस्या (-युमटिज्म) तथा मुटुको बाथज्वरो प्रमुख हुन् । रोगको किसिम र प्रकृति हेरी बाथरोगको निदान, उपचार व्यवस्थापन र जटिलता पनि फरक–फरक हुने गर्दछन् ।

‘बाथरोग किन र कसरी हुन्छ’ भन्ने कुरा पूर्णरूपमा यकिन नभइसके पनि विभिन्न अध्ययनअनुसार वंशाणुगत र वातावरणीय कारणले यो रोग लाग्नमा भूमिका खेलेको हुन्छ । वंशाणुगत कारणले एउटै परिवारका एकभन्दा बढी सदस्यहरूलाई यो रोग हुन सक्छ । त्यस्तै अन्य विभिन्न कारणहरू जस्तैः धुमपान, मद्यपान, अस्वस्थकर खानपान, मोटोपन र शारीरिक व्यायामको कमीले रोग उब्जाउने तथा भएको रोगलाई बढाउन सक्ने कुरा विभिन्न अध्ययनहरूले देखाएका छन् । विभिन्न किसिमका संक्रमणले पनि बाथसम्बन्धी रोग निम्त्याउन सक्ने तथा भइराखेको बाथरोगको असरलाई बढाउन सक्ने भएकोले यसतर्फ पनि समयमै ध्यान दिनु जरुरी छ ।

Open photo

बाथरोग जुनसुकै उमेर, लिङ्ग, पेसा र वर्गका मानिसलाई हुनसक्ने भए पनि समग्रमा महिलामा यसको प्रभाव बढी देखिन्छ । विभिन्न तथ्यांकअनुसार संयुक्त राज्य अमेरिकामा शारीरिक दुर्बलताको सबभन्दा प्रमुख कारण नै बाथरोग भएको थाहा हुनआएको छ । नेपालमा बाथरोगसम्बन्धी यकिन आँकडा नभए पनि अन्य देशको आँकडालाई आधार मान्दा कुल जनसंख्याको करिब १० प्रतिशत जतिलाई कुनै न कुनै किसिमको बाथरोग भएको छ भन्न सकिन्छ । त्यसैले हाम्रो मुलुकका लाखौँ जनताहरू बाथरोग एवं बाथजन्य स्वास्थ्य समस्या र यसबाट सिर्जित जटिलताहरूको परिणामस्वरूप कुँजिएर बस्न र निष्क्रिय एवं पीडादायी जीवन व्यतित गर्न बाध्य भएको कुरा सहजै अनुमान गर्न सकिन्छ ।

विभिन्न अध्ययनअनुसार बाथका दुई तिहाइभन्दा बढी बिरामी ६० वर्षभन्दा कम उमेरका भएको देखिएको छ, जुन समूहलाई समाजमा अत्यन्त उत्पादनशील तथा ऊर्जाशील उमेर समूह मानिन्छ । अरु दीर्घरोगले जस्तै बाथरोगले पनि बिरामीलाई शारीरिकरूपमा मात्रै नभई मानसिकरूपमा पनि कमजोर तुल्याउँछ, जसले गर्दा व्यक्ति तथा परिवारकै कार्यक्षमता र उत्पादनशीलतामा ह्रास आउँछ । परिवारको हेरविचार र रेखदेख गर्नुपर्ने बेलामा बिरामी आफैँ परनिर्भर बन्नुपर्ने अवस्था सिर्जना हुन्छ । वर्षौँदेखिको रोगको असर, लगातारको दुखाइ, लामो अवधिसम्म औषधि सेवन गर्नुपर्ने बाध्यता एवं निरन्तर थपिने आर्थिक भारले बाथरोगका बिरामीलाई समय समयमा ऊर्जाहिन, थकित र वैरागी बनाउँन सक्छ । त्यसमाथि ‘ग्यारेन्टीका साथ रोग निको पारिदिने’ नाममा खोलिएका फुटपाथे पसल, लेबलबिनाका औषधिहरूको बिगबिगी र मनपरी उपचारले हानिकारक असर पु-याई कष्टमाथि कष्ट थपिदिन्छ ।

यस्ता शारीरिक र मानसिक असरबाट परै रहन बाथरोगका बिरामीहरूले एक–आपसमा आफ्नो रोगसम्बन्धी ज्ञान, अनुभव र सहयोग आदानप्रदान गर्ने, आफन्त तथा साथीभाइसँग आफ्नो समस्याबारे छलफल गरी आफूलाई हलुंगो बनाउन प्रयत्न गर्ने, अरुलाई ढाडस दिनुका साथै नियमितरूपमा शारीरिक व्यायाम र कसरत गर्ने गर्नुपर्दछ । यी सबैका लागि आफ्नो रोग र भविष्यप्रति सकारात्मक सोचको आवश्यकता पर्दछ । एक्लैले भन्दा समूहमा सँगसँगै काम गरेर यी सबै कार्यमा सफलता प्राप्त गर्न सहज हुन्छ ।

नेपालमा बाथरोगसम्बन्धी सेवाको सुरुवात प्रभावकारी ढंगले हुन सकेको छैन । यसको एक प्रमुख कारण देशमा बाथरोगसम्बन्धी विशेषज्ञ जनशक्तिको टड्कारो अभाव नै हो । त्यसमाथि बाथरोगको क्षेत्रमा राज्यको पहुँच नपुगेको तथा बाथरोगीको समस्याप्रति सरकारको ध्यानाकर्षण हुन नसकेको कुरा जग जाहेर नै छ । त्यसैले देशभित्रै लाखौँको संख्यामा रहेका बाथका बिरामीहरूको समयमै सही उपचार पाउनुपर्ने नैसर्गिक अधिकारलाई ख्याल गर्दै राज्यले जिम्मेवारीपूर्वक दायित्वबोध गरेर दक्ष जनशक्ति उत्पादन एवं सरल र सहजरूपमा सेवाको सुरुवात एवं सेवा विस्तारमा तत्कालै पहलकदमी लिनु अत्यन्तै जरुरी भइसकेको छ ।

विश्वका धेरै देशमा बाथरोगका बिरामीहरूबीच एक–आपसमा सहयोग आदानप्रदान गर्न, रोगसम्बन्धी ज्ञान र अनुभव साटासाट गर्न, रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा बाथरोगका बिरामीहरूको आवाज सामूहिक र संगठितरूपले अघि बढाउन बाथरोगसम्बन्धी विभिन्न संगठन–समाजहरू खुलेका छन् । नेपालमा पनि केही वर्षअघि मात्रै बाथका बिरामीहरू, बिरामीका आफन्तजन, शुभचिन्तक, तथा यस क्षेत्रमा काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीको पहलमा ‘नेपाल बाथरोगमैत्री समाज’को स्थापना भई क्रियाशील रहेको छ ।

आशा गरौँ, यसले बाथका बिरामीको आवाजको पक्षमा सामूहिक र संगठितरूपले अझ बढी पैरवी गर्नेछ । रोगबारे व्यापक जनचेतना अभिवृद्धिका साथसाथै बाथका बिरामीहरूको पीडा, औषधि उपचारबारे विभिन्न अड्चन र समस्या, सरकारी एवं गैरसरकारी सहयोग तथा बाथरोगसम्बन्धी सरल र सहज सेवा विस्तारबारे निरन्तर आवाज बुलन्द गर्नेछ । (लेखक पाटन अस्पताल तथा आरोग्य स्वास्थ्य सदन, नेपाल बाथरोग उपचार केन्द्र, ललितपुरसँग सम्बद्ध वरिष्ठ बाथरोग विशेषज्ञ हुनुहुन्छ ।) 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x