Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगतिहारमा फूलको बढ्दो माग

तिहारमा फूलको बढ्दो माग


काठमाडौं । फूलखेतीमा हाम्रो देशको कुरा गर्दा पहिलोपटक विसं २०७२ मा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपाल व्यावसायिक पुष्पखेती सर्वेक्षण २०७२/७३ ले ३६ जिल्लामा पाँच सय ६१ व्यवसायीले पुष्पखेती सञ्चालन गरेको उल्लेख थियो । त्यसको सात वर्षमा जम्मा दुई सय ३९ व्यवसायीहरू वृद्धि भई हाल आएर झण्डै आठ सय पुगेको फ्यानले जनाएको छ । त्यसैगरी मुलुकमा सात वर्ष पहिले एक सय ४३ हेक्टरमा खेती भएको पुष्पखेती हाल एक सय ५७ हेक्टरमा विस्तार भएको सम्बन्धित क्षेत्रले जनाएको छ । यसमा पहिले ३८ हजारले रोजगार पाएकोमा सात वर्षपछि ४३ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । यसमा छ अर्बको लगानी रहेको पुष्प व्यवसाय देशका ४३ जिल्लामा फैलिएको छ । यद्यपि पछिल्लो समय सातवटै प्रदेशमा यसको व्यावसायिक उत्पादन सुरू भएकाले गतवर्षको तुलनामा उत्पादन करिब १० प्रतिशतसम्म बढ्न सक्ने संकेत देखिएको छ । यसमा मुख्य गरी काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, झापा, इलाम, धनकुटा, कैलाली, बाँके, कास्कीलगायत जिल्लाहरूमा सयपत्री फूलको खेती हुनेगर्छ । त्यसैगरी मखमली फूलको व्यावसायिक खेती काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी, बडिखेल, धादिङ, पाल्पा, कैलाली र इलाममा हुनेगरेको छ ।

देशमा कम्तीमा पाँच सय ५० प्रजातिका फूलको व्यावसायिक खेती हुनेगरेको छ । तिहारका लागि चाहिने फूल तथा मालामा देश आत्मनिर्भर उन्मुख भएको छ । तथापि, सरकारले पाँच वर्षदेखि सयपत्री फूल आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि आयात रोक्न सकेको छैन । फूलमालाका लागि मात्र वार्षिक २० करोडभन्दा बढी रूपैयाँ बाहिरिने गरेको छ । फलतः स्वदेशी उत्पादनले बजार माग पूरा गर्न नसकेपछि यस वर्ष फूलका लागि ठूलो रकम बाहिरिएको हो । स्वदेशी उत्पादनले माग पूरा गर्न नसक्ने भएकै कारण गत वर्षको तिहारका लागि व्यवसायीले भारतबाट आयात एक करोड बढी मूल्यबराबरको माला आयात गरेका थिए । तर, यस साल भने कोरोनाका घट्दै गएको कारण तथा स्वदेशमै आवश्यक पर्ने फूल उत्पादन भएकोले यस साल भने आयात तीन लाख माला भारतबाट आयात गर्ने तयार रहेको सम्बन्धित निकायले जनाएको छ । यसर्थ संघारमा आएको तिहारका लागि देशभर २३ लाख ४५ हजार गोटा माला फूलमालाको कारोबार हुने अनुमान गरेको छ । यस मालाको सरदर १३ करोड १० लाख रुपैयाँबराबर पर्ने अनुमान गरिएको छ । यस वर्षको अनुमानित कारोबार रकम गतवर्षको भन्दा एक करोड ५४ लाख रूपैयाँले बढी हो । गतवर्ष ११ करोड ५६ लाख रूपैयाँको १९ लाख ३५ हजार गोटा फूलमालाको कारोबार भएको बताइएको छ । यस वर्ष बिक्री हुने कुल मालामध्ये २० लाख सयपत्री फूलका हुनेछन् । त्यसमध्ये १७ लाख मालाको माग आन्तरिक उत्पादनले धान्नेछ ।

यसरी गत वर्ष १५ लाख सयपत्री मालाको मागमा तीन लाख माला मात्र भारतबाट आयात गरेको थियो । मखमली छ लाख फूलको माला भने स्वदेशी उत्पादनले नै धानेको छ । तर, मखमली माला स्वदेशी माग धान्नुको साथसाथै विभिन्न देशहरूमा निर्यात पनि हुने गरेको छ । यो तिहारमा उपभोक्ताले सरल र सहजरूपमा फूल माला पाउने दाबी सम्बन्धित क्षेत्रले गरेको छ । किसानले सबै थरीका फूल लगाएका छन् । फूलको कमी हुँदैन । यसरी देशमा फूलको उत्पादन बढ्दै गएको कारणले गर्दा अब देशमा नै सरल दरमा फूल पाइने सम्बन्धित क्षेत्रका व्यवसायीहरूको भनाइ छ । फलतः फूलको उत्पादन भएअनुसार मूल्यमा फरक परेता पनि उपभोक्ताले धेरै मूल्य तिर्नु नपर्ने सम्बन्धित निकायको भनाइ छ । तसर्थ यसको मूल्य निर्धारण माग र आपूर्तिमा भर पर्ने हो । यसर्थ समयअनुकूल फूलको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा भर पर्ने हुन्छ । मुलुकको तिहार तथा छठलाई समेत लक्षित गरी फूल उत्पादक तथा व्यवसायीको छाता संगठन फ्लोरिकल्चर एसोसिएसनले उपभोक्ताको मागअनुसार वर्षेनी थप प्रजातिका फूलको व्यावसायिक उत्पादन गरिँदै आएको जनाएको छ ।

फूल प्रकृतिको वरदान हो । प्रकृतिले दिएको सर्वोकृष्ट उपहार हो फूल । फूल पवित्रताको प्रतीक पनि हो । भगवान्को पूजामा होस् वा प्रेम र स्नेहको अभिव्यक्तिमा वा शुभेच्छा र सद्भाव प्रदर्शन गर्न नै किन नहोस् जहाँकहीँ फूल प्रयोग हुन्छ । तसर्थ स्वदेशमै फूलको व्यावसायिक खेती हुन थालेपछि फूलको आयातमा बिस्तारै प्रतिस्थापन हुन थालेको छ । यहाँका कृषकले फूलको खेती सुरु गरेका कारण विगतमा भन्दा झण्डै ८५ प्रतिशत फूलको आयात कम भएको छ । यसरी पछिल्ला वर्षहरूमा फूलको माग बढेको छ । जसको कारणले गर्दा माग र आपूर्तिमा सन्तुलन मिलेको छैन । यसमा फूलको माग बढेपछि उत्पादन नबढेकाले चाहेजति फूल बिक्री गर्न समस्या पर्नेगरेको फूल व्यावसायीहरू बताउँछन् । यसको साथसाथै एसोसिएसनका अनुसार गत वर्षको तिहारमा १८ लाख १५ हजार सयपत्री फूलको माला खपत भएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सयपत्री फूलको मागमा वृद्धि हुने अनुुमान सम्बन्धित क्षेत्रले गरेको छ । यस वर्षको तिहारमा पाँच दिन करिब २० लाख सयपत्री, चार लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने अनुमान पनि गरिएको छ । यसमा सयपत्री फूलको बजार मागको आपूर्तिका लागि ग्रामीण क्षेत्रमा शतप्रतिशत आन्तरिक उत्पादनले माग धान्ने गरेको र मुख्य सहर केन्द्रित क्षेत्रहरूमा ८५ प्रतिशत आन्तरिक उत्पादन र १५ प्रतिशत आयात गर्नुुपर्ने अवस्था रहेको फ्यानले जनाएको छ ।

अतः मुलुकबाट तिहारमा एक लाख मखमलीका माला भने निर्यात हुनेगरेको एसोसिएसनले जनाएको छ । यसमा पनि तीन लाख २५ हजार माला मखमली र २० हजार माला गोदावरी फूलका हुनेछन् । जसमा सयपत्री मालाको औसत थोकमूल्य प्रतिगोटा ५५ रूपैयाँ, मखमली मालाको ३५ देखि ४० रूपैयाँ र गोदावरी मालाको तीन सय ५० देखि ४ सय रूपैयाँसम्म तोकिएको छ ।

नेपाल सरकारले व्यावसायिकरूपबाट कृषकहरूलाई आकर्षित गर्ने उदेश्यले पुष्पको खेती विस्तार गरेमा अर्बौँ रुपैयाँको फूल विदेशी बजारमा निर्यात गर्न सकिने व्यवसायीहरूको भनाइ रहेको छ । यसर्थ विश्व बजारमा नेपाली पुष्पको माग दिनप्रतिदिन बढ्दोरूपमा एकातिर छ भने अर्कोतिर सरकारले निजी क्षेत्रलाई सुम्पिएको सामुदायिक वन र व्यक्तिका खेर गइरहेका भूमि एवं प्रत्येक घर–घरमा कौसीमा पनि पुष्पको खेती गरी विदेशी मुद्राको दरिलो आधार बनाउन सकिन्छ । फूल व्यवसायको व्यावसायिक प्रवद्र्धनका लागि निरन्तररूपमा फूल प्रदर्शनी व्यापार मेलाहरूको आयोजना गर्दैै आइरहेको छ । व्यवसाय प्रबर्द्धनका लागि फूल प्रदर्शनी तथा व्यापार मेला एक प्रभावकारी माध्यमको रूपमा रहेको छ । नेपाली पुष्पलाई विश्व बजार बढाउनु अति आवश्यक भएको छ । मुलुकमा नयाँ–नयाँ पुष्पको विकास गर्न स्वदेशी प्रविधिको आजसम्म विकास हुन सकेको छैन ।

समग्रमा भन्नुपर्दा नेपालमा विसं २०११ बाट सामान्यस्तरमा सुरु भएको फूल व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै काठमाडौं उपत्यकाबाहेक पोखरा, नारायणघाट, हेटौंडालगायतका सहरमा समेत फैलँदै गएको सम्बन्धित क्षेत्रले बताएको छ । मूलतः फ्लोरिकल्चर एसोसिएसन नेपालले स्थापनाकालदेखि नै आइपरेका विभिन्न चुनौती तथा समस्याहरूलाई चिर्दै सम्भावनालाई खोज्दै फूल व्यवसायको समग्र विकास, विस्तार तथा प्रवद्र्धन गर्न लागिपरेको एसोसिएसनका अध्यक्षले उल्लेख गरे । नेपाली पुष्पको बजार अमेरिका र जापानमा समेत लोकप्रिय र माग क्रमशः वृद्धि हुँदै गएको छ । यो खेती निरन्तररूपमा बढ्दै गए पनि फूलखेतीको स्थान महत्वपूर्ण रहेको छ । यो व्यवसाय आत्मनिर्भर नजिक पुग्न लागेको सम्बन्धित क्षेत्रको बुझाइ रहेको पाइन्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x