विपत् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका
काठमाडौं । नेपालको विशिष्ट भौगोलिक बनोट, भौगर्भिक गतिशीलता, प्राकृतिक एवं मानवीय क्रियाकलापबाट सिर्जित साथै जलवायु परिवर्तनबाट परेको प्रतिकूल प्रभावका कारणले विपत्को दृष्टिकोणले उच्च जोखिममा रहेको हावाहुरी, बाढी, पहिरो, महामारी, आगलागी, शीतलहर र हिमताल विस्फोट, हिमपहिरो तथा विनाशकारी भूकम्पको जोखिममा रहेको विभिन्न अध्ययन अनुसन्धान र घटनाले देखाएको छ । नेपालको सन्दर्भमा विपत्को समाचार दिनप्रतिदिन आउने गर्दछ । उदाहरणको रूपमा यही हप्ता परेको अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो तथा बाढीको असरले जनधनको अर्बौँ क्षति भएको कुरा सबैलाई थाहा नै छ ।
विगतमा विपत् जोखिम व्यवस्थापनको सवालमा पूर्वतयारी ता जोखिम न्यूनीकरण कार्यलाई विशेष महत्व नदिइँदा धनजनको ठूलो नोक्सान भएको छ । पछिल्लो ५० वर्षको अवधिमा नेपालमा ६० हजारभन्दा माथि व्यक्तिहरूले विपत्का कारण ज्यान गुमाएका छन् । त्यस्तै ८५ हजारभन्दा बढी घाइते र करिब ५० लाख प्रभावित बनेका छन् । त्यसैले विपत् जोखिम व्यवस्थापनलाई विकासका योजनासँग मूल प्रवाहीकरण गरी उत्पादनशील समुदाय, समाजको दायित्वभित्र पार्न आ–आफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक भएको छ । यसै सन्दर्भमा सन् १९८९ को राष्ट्रसंघको साधारणसभाले प्राकृतिक विपतिविरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिको लागि विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको सुरुवात गरेको पाइन्छ ।
विशेषगरी विपत्मा प्राकृतिक प्रकोप जस्तैः हिमपात, असिना, हिमपहिरो विष्फोटन, अतिवृष्टि, अनावृृष्टि, बाढिपहिरो तथा भू–स्खलन, डुबान, खडेरी, हुरीबतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी विस्फोटन, डढेलो आदि र गैरप्राकृतिक विपत्हरू जस्तैः माहामारी, अनिकाल, डढेलो, किट वा सूक्ष्म जीवाणु आतङ्क, पशु तथा चराचुरुङ्गीमा फ्लु, प्यान्डामिक फ्लु, सर्पदंश, जनावर आतङ्क, खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घटना, आगलागी, विशाक्त ग्यास, रसायन वा विकीरण चुहावट, ग्यास विस्फोटन, विशाक्त खाद्य सेवन, वातावरणीय प्रदूषण, वन विनाश वा भौतिक संरचनाको क्षति, प्रकोप उद्धारमा हुने दुर्घटनाजस्ता घटनाहरू पर्दछन् ।
नेपाल विश्वमा भूकम्पबाट ११औँ अति जोखिम तथा बाढी र पहिरोबाट ३०औँ अति जोखिम देशको रूपमा रहेको छ । यसै सिलसिलामा भौगोलिकरूपमा गतिशील पर्वत शृंखला अस्थिर र अति भिरालो जमिन तथा कमजोर भौगोलिक बनावटको कारण मनसुनको समयमा देशैभरि विभिन्न प्रकारका भौगर्भिक तथा जलवायुजन्य प्रकोपहरू हुने गर्दछ । करिब ८३ प्रतिशत नेपाल हिमाल तथा पहाडी भू–भाग र १७ प्रतिशत समतल तराईमा पर्दछ । पहाडी भाग पहिरो र भू–क्षयले जोखिममा छ त्यस्तै तराई र चुरे क्षेत्र बढी बाढी, खडेरी, आगलागी र महामारीको जोखिममा छन् । हिमाली क्षेत्रमा हिमपहिरो र हिमताल विष्फोटन बाढीको खतरा छ । पूरै नेपाली भू–भाग सक्रिय भूकम्प क्षेत्रमा पर्ने हुनाले पहाड र हिमाली क्षेत्रका बस्तीहरू उच्च भूकम्पीय जोखिममा छन् ।
विपत् निम्त्याउने मुख्य प्रकोपमा महामारी पनि पर्दछ । नेपालमा कोरोना, झाडापखला, कालाज्वर, ठेउला, हेपाटाइटिस, एनफ्लुएन्जा, टाइफाइड, दम, हैजा, यौनरोग, क्षयरोग, कुष्ठरोग आदिको संक्रमणका कारण हजारौँ मानिसहरूको मृत्यु हुने गर्दछ । त्यस्तै भूकम्प पनि एक प्रमुख प्रकोप हो । नेपाल भूकम्पको जोखिममा छ । त्यसै कारण नेपालमा इस्वी संवत् १२५५, १४१०, १५०५, १५५५, १८०३, १८३३, १८९७, १९०५, १९३४, १९५०, २००५, २०१५ मा ठूला भूकप्पहरू आएका थिए । वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टरस्केलको विनाशकारी भूकम्पको कारण नेपालले धेरै जनधनको क्षति बेहोर्नु प-यो । २०७२ साल वैशाख २९ गते सिन्धुपाल्चोक केन्दविन्दु भएको ७.३ रेक्टरस्केलको ठूलो पराकम्पले जनधनको थप क्षति बढायो ।
नेपालका ३१ जिल्लामा यी माथिको प्रभाव प-यो र १४ जिल्ला अतिप्रभावित भयो । उक्त भूकम्पको कारण आठ हजार नौ सय ७९ मानिसहरूको मृत्यु भयो । २२ हजार तीन सयभन्दा बढी मानिस घाइते भए भने चार लाख ९८ हजार आठ सय ५२ निजी घरहरू तथा दुई हजार छ सय ५६ सरकारी भवनहरू नष्ट भए । त्यस्तै दुई लाख ५६ हजार छ सय ९७ निजी घर तथा तीन हजार छ सय २२ सरकारी भवनहरू आंशिकरूपले क्षति भए । यसबाहेक विद्यालयका १९ हजारभन्दा बढी कक्षाकोठाहरू पूर्णरूपमा नष्ट भए र ११ हजारभन्दा बढी कक्षाकोठाहरू आंशिकरूपमा क्षति भएका थिए ।
नेपालमा विपत् निम्त्याउने प्रमुख कारण बाढी, पहिरो पनि एक हो । नेपालमा बाढी, पहिरोको प्रकोपबाट ठूलो क्षति हुने गर्दछ । मुसलधारे वर्षा, पहिरो र बाढीको कारण हजारौँ हेक्टर भू–भाग र थुपै्र सिँचाइ प्रणाली, राजमार्ग, पुल र अन्य पूर्वाधारहरू क्षतिग्रस्त भएको पाइन्छ । नेपालमा साना–ठूला गरी छ हजारभन्दा बढी नदीहरू छन् । नदीले कृषि सिँचाइ सुविधा र जीवन निर्वाहका लागि सहयोग पु-याउँछन् भने अर्कातिर नदीमा बाढी आउँदा बाढीले मुख्यतया तराई, पहाड र उपत्यकामा विनाशलिला नै मच्चाउँछन् । त्यस्तै मुख्य विपत्मा हिमपात तथा हिमपहिरो पनि पर्दछन् । यसले नेपालमा बेलाबखत ठूलो क्षति पु-याउने गर्दछ । जस्तैः विसं २०७१ आश्विन २८ गते नेपालको मनाङ र मुस्ताङ जिल्लास्थित अन्नपूर्ण र धौलागिरी क्षेत्रमा हिमपातसँगै श्रृंखलावद्ध हिमपहिरो गयो । जसका कारण ठूलो क्षति भयो । यो त एक प्रतिनिधि पात्र मात्र हो यस्ता विपत्का सयौँ घटनाहरू घट्ने गरेका छन् । त्यस्तै नेपालमा विपत्को प्रमुख कारणमध्ये खडेरी पनि एक हो । नेपालको तराई र पश्चिमका पहाडहरूमा वर्षेनी हुने खडेरीले कृषि, पर्यावरण र मानव पद्धतिमा ठूलो असर पु-याएको छ । हिमालपारी पर्ने जिल्लाहरू मनाङ र मुस्ताङमा वर्षभर नै अत्यन्त सुक्खा रहन्छ । मध्यपहाड र चुरेमा पानीको स्रोतहरू सुक्ने घटना बढिरहेको छ ।
नेपालमा विशेषगरी वर्षभर कृषियोग्य भूमिको ३८ प्रतिशत भूमिमा मात्र सिँचाइ सुविधा पुगेको र बाँकी वर्षाको पानीमा निर्भर रहने अवस्थामा लामो खडेरीले कृषि उत्पादनमा प्रतिकूल असर परी खाद्यसंकट निम्त्याएको पाइन्छ । त्यस्तै जलवायुजन्य भूगर्भीय प्रकोपको अतिरिक्त आगलागी, डढेलो, चट्याङ, असिनापानी, हावाहुरी, हिमताल विस्फोटन हुने, बाढी र वायु तथा जलप्रदूषणजस्ता प्रकोपबाट पनि नेपाल तुलानात्मकरूपले असुरक्षित भएको तपाईँहामीलाई थाहै छ ।
विपत्का समयमा प्रभावित तथा पीडित समुदायलाई उपलब्ध गराउन मानवीय सहयोगका विभिन्न क्षेत्रहरू रहेका हुन्छन् । पीडितहरूलाई जीवनयापनका आधारभूत आवश्यकताका पूर्ति गर्न, खाद्यान्न, आवास, खानेपानी, सरसफाइ तथा स्वास्थ्य प्रवद्र्धन, सुरक्षाजस्ता विषयमा विशेषज्ञता हासिल गरेका समूहहरूले आफ्नै क्षेत्रहरूका जिम्मेवारी लिँदा मानवीय सहयोगका कार्य व्यवस्थित हुन आवश्यक छ । विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाहरू, आसपासका गाउँपालिका, नगरपालिका र जिल्लामा कार्यरत अन्य संघसंस्थाहरूका उपस्थितिले विपत् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । एम्बुलेन्स, यातायातका साधनहरू, खानेपानी व्यवस्थापन, पर्याप्त मात्रामा स्वास्थ्यकर्मी, तालिम प्राप्त स्वयंसेवक, खाद्यान्न आदिजस्ता स्रोतहरूको पहिचान र सूचीकरण गरी ती वस्तु तथा सेवाहरूका सम्बन्धमा नगरपालिका/गाउँपालिकाभित्र आवश्यक क्षमता विश्लेषण गर्नु समग्र विपत् व्यवस्थापनका लागि आवश्यक पूर्वाधारहरू विकास गर्नुपर्दछ ।
स्थानीयस्तरमा विपत् व्यवस्थापनको कार्य सञ्चालनको नेतृत्वदायी जिम्मेवारी स्थानीयस्तरमा नगरपालिका/गाउँपालिकामा रहेका हुन्छन् । यसले गाउँ तथा नगरभित्र सम्पूर्ण विपत् प्रतिकार्य योजना सञ्चालन गर्दछ । विपत् व्यवस्थापन कार्यलाई सहज बनाउन नेपाल सरकारले केन्द्र र प्रदेश तहमा कार्य गर्नेगरी राहत सहयोग, क्षतिपूर्ति व्यवस्थापनलगायतका विषयमा दिग्दर्शनहरू जारी गरेको पाइन्छ । तैपनि आवश्यकताअनुसार प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रसका आ–आफ्नै दिग्दर्शन र कार्ययोजनाहरूअनुसार विपत् व्यवस्थापनमा खटिन्छन् तर तिनको संयोजन र उचित किसिमको समन्वय नभई प्रभावकारी कार्यान्वयनमा कठिनाइ भएको पाइन्छ ।
प्रकोपको समस्या समाधान गर्न स्थानीय निकायले आफ्नो क्षेत्रमा वन जंगलको संरक्षणमा विशेष ध्यान दिई व्यवस्थितरूपले नदीबाट उचित मात्रामा गिटी बालुवा निकाल्ने तथा कृषि//वन सम्बन्धमा संयुक्त परियोजना सञ्चालन गर्दै बढीसे बढी मात्रामा वृक्षरोपण तथा संरक्षणको कार्य गर्नुपर्दछ । खोला नाला नियन्त्रण गर्ने, उचित स्थानमा बस्ती बसाउने, विकास निर्माणका योजना वातावरणमैत्री बनाउनुपर्छ । विपत्को प्रभाव न्यून गर्न विपत्को लागि पूर्वतयारी गर्ने समुदायलाई प्रकोप वहन गर्न सक्षम बनाउने तथा हरेक वडामा विपत् व्यवस्थापन योजना बनाउन आवश्यक देखिन्छ । अत्यावश्यक सेवालाई चुस्त बनाउँदै विपत्को बारेमा शिक्षा दिने र लिने, क्षमता वृद्धि गर्ने, स्रोत साधन परिचालन गरी विपत् व्यवस्थापनका कार्य व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्दछ । स्थानीय निकायले प्रकोप आउनुअघिको अवस्था, भइरहेको अवस्था र त्यसपछिको पुनः स्थापनाको कार्यलाई व्यवस्थितरूपले सञ्चालन गर्नुपर्दछ ।
जलवायु परिवर्तनका कारण चरम जलवायु घटनाका क्षेत्रीय र सामयिक ढाँचाहरू परिवर्तन हुनसक्ने सम्भावना छ । हालैका वर्षहरूमा मनसुनी वर्षाको ढाँचा परिवर्तन भई मनसुन समाप्त हुन ढिलो हुँदा सक्रिय मनसुनको अवधि लम्बिन गएको संकेत पाइएको छ । उच्च तीव्रतर चरम वर्षाको क्षेत्रीय प्रवृत्ति वार्षिक वा मनसुनी वर्षाको प्रवृत्तिभन्दा धेरै फरक हुन्छ । तराई र चुरे क्षेत्र जहाँ अपेक्षाकृत वार्षिक वर्षा र पानी पर्ने दिन कम हुन्छ, उच्च तीव्रतर चरम वर्षाको चपेटामा नेपालका धेरै ठाउँ परेका छन् । विपत् प्रकोप र संकटउन्मुखको संयुक्त परिणाम हो । यसको मुख्य असर कम आए भएका र गरिब परिवारहरू सीमान्तकृत र बहिष्कृत समुदायहरू महिलाहरू, बालबालिका, वृद्ध, अशक्त र अपाङ्ग व्यक्तिहरू पर्दछन् । विपत् जोखिम सामाजिक आर्थिक र राजनीतिक ढाँचा र उनीहरूबीचको अन्तरसम्बन्धमा निर्भर गर्दछ । विपत्का आयामहरू गतिशील हुन्छन् । त्यसकारण यसका क्षति कम गराउनका लागि संघीय सरकारको सहयोगमा स्थानीय सरकारले सम्मुखता र संकटउन्मुखता घटाएर तथा उत्थानशीलताको पूर्वतयारी अभिवृद्धि गरेर विपत् जोखिम न्यूनीकरण गर्नु अति नै आवश्यक छ । तबमात्र हरेक वर्ष अक्टोवर १३ मा मनाइने विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसले सार्थकता पाउनेछ । लेखकः नेपालमा गुणस्तर जिवनमा विद्यावारिधी । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया