गरिबी निवारणमा कृषि पर्यटन
काठमाडौं । प्रत्येक वर्ष अक्टोबर १७ मा अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ मनाइयो । यसको पृष्ठभूमिलाई हेर्दा गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने चलन १७ अक्टोबर १९८७ बाट प्रारम्भ भएको पाइन्छ । उच्च गरिबी, हिंसा र भोकमारीको सिकार भएको विश्वमा गरिबी निवारण गर्ने उद्देश्यका साथ यो दिवस मनाउँदै आएको पाइन्छ । सन् २०२२ को गरिबी निवारण दिवस ‘सबैजना सँगै मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई ससम्मान बाँच्ने वातावरण सिर्जना गर्ने’ भन्ने नारामा केन्द्रित छ । विश्व बैंकको प्रतिवेदनमा पछिल्लो दुई वर्षमा करिब नौ करोड देखि १२ करोड मानिस गरिबीको चपेटामा परेका छन् । परमाणु शक्ति र हतियारमा अरबौँ डलर खर्च गर्नसक्ने देशहरूमा मानिस भोक, रोग, बासका समस्या सम्बोधन गर्न भने सकेका छैनन् । २१औँ शताब्दिको पहिलो अर्धदशकभित्र पनि संसारमा गरिबी निवारण गरी गाँस, बास र कपासको आधारभूत प्रत्याभूति दिन सकेको छैन । विश्व खाद्य कार्यक्रमअनुसार विश्वमा ८१ करोड १० लाख मानिसलाई पर्याप्त खाना छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार दुई अर्ब मानिसलाई सुरक्षित खानेपानी छैन । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमअनुसार एक अर्ब ३० करोड मानिस बहुआयामिक गरिबीमा रहेका छन् । गरिबी सबैको साझा समस्या भएको हुँदा संसारबाटै गरिबी अन्त्य नगरेसम्म मानवको सुखशान्ति र समृद्धि हुन सक्दैन । चरम गरिबी समाजबाट वञ्चित गर्ने संरचनागत भेदभाव, सामाजिक सुरक्षा प्रणालीमा रहेको कमजोरीले गरिबीको दुश्चक्रमा फसिरहेका मानिसलाई बाहिर ल्याउन कठिनाइ भएको छ । हत्याहिंसा, राजनीतिक विकृति, सुशासनको कमि, बेरोजगारीको कारण युवाशक्ति विदेश पलायन हुनु, जलवायु परिवर्तनका कारण भएको प्राकृतिक प्रकोप, वातावरण स्खलन, जैविक विविधता विनाश, पर्यावरणमा क्षति, मानिसको घर, बाली, जीवनयापनमा पु¥याएको क्षति, विभिन्न महामारीले सिर्जना गरेको विपत्ले गरिबीको दलदलमा फसी थप पीडा भएको सर्वविधितै छ ।
नेपालको सन्दर्भमा हालको अवस्था हेर्दा निरपेक्ष गरिबीमा रहेका जनसंख्या १८ दशमलव ७ प्रतिशत छ । बहुआयामिक गरिबीको संख्या १७ दशमलव ४ प्रतिशत रहेको अनुमान गरिएको छ । सहरी तथा ग्रामीण एवं विभिन्न भौगोलिक क्षेत्र र सामाजिक समूहबीचको आर्थिक तथा सामाजिक असमानता कहालिलाग्दो छ । नेपालको संविधानको भावनाअनुरूप सामाजिक न्याय सबै प्रकारका असमान एवं विभेदको अन्त्य, मानव अधिकारको संरक्षण, गरिबी निवारण, शान्ति र समृद्धि प्राप्तिको लागि सम्बन्धित निकाय सधैँ प्रतिबद्ध छ भनेको पाइन्छ ।
विगतमा गरिबी निवारण कार्यक्रम पनि सञ्चालन नभएको भने होइन । विभिन्न गैरसरकारी संस्थाले यसमा अरबौँ डलर खर्च नगरेको पनि होइन । नेपाल सरकारको पन्ध्रौँ आवधिक योजनामा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या २०८७ सम्म ४ दशमलव ९ प्रतिशत र विसं २१०० सम्ममा शून्यमा झार्ने लक्ष्य भने राखिएको छ । बहुआयामिक गरिबीमा रहेको जनसंख्या विसं २०८७ सम्ममा १० प्रतिशत र विसं २१०० सम्ममा ३ प्रतिशतमा झार्ने भन्ने प्रक्षेपण भने गरिएको छ । गरिबी निवारण नीति २०७६ ले समाजमा रहेको सबै प्रकारको विभेद अन्त्य गर्ने, दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा गरिबीको रेखामुनी रहेको जनसंख्या ५ प्रतिशतभन्दा तल ल्याउने लक्ष्य भने राखिएको छ ।
त्यस्तै गरिब परिवार पहिचान कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमहरू राखिएको छ । भूमिहीन दलित र भूमिहीन सुकुमबासीको समस्या समाधानको लागि राष्ट्रिय भूमि आयोगमार्फत विभिन्न कार्यक्रम गरिएको पाइन्छ तैपनि राजनीतिक विकृति र दलीय स्वार्थ आदिबाट सुशासनको कमी भई सो कार्य सफलीभूत हुन नसकेको आम गुनासो छ । बढ्दो बेरोजगारी समस्या र गरिबीको कारण देशको युवा जनसंख्या वर्षेनी विदेश पलायन हुन बाध्य भएका छन् जसको कारण केही रेमिट्यान्स भित्रिएर देशको अर्थतन्त्रमा सहयोग गरे पनि स्थायी राष्ट्रिय अर्थतन्त्रमा भने ठूलो नकारात्मक असर परेको छ । सो समस्यालाई समाधान गर्नको लागि देशभित्र कृषि पर्यटनमार्फत रोजगारी सिर्जना गरी गरिबी निवारण गर्न अति आवश्यक छ ।
विश्वमा सूचना र सञ्चारको जगतमा एक्काईसौँ शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा देशमा बढ्दै गएको बेरोजगारीको समस्या हल गर्नको लागि कृषि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ । यसै सिलसिलामा कोभिड–१९ को कारण पर्यटन उद्योग थला परेकोले केन्द्रीय सरकार, प्रदेश सरकार साथै स्थानीय सरकारले आफ्नो नीति कार्यक्रममा कृषि पर्यटन उद्योगलाई माथि उठाउने नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ ।
समृद्ध नेपाल सुखी नेपालीको रेखा कोर्न सुशासनको माध्यमबाट गरिबी निवारण हटाउन सहयोग गरी भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवन, कृषि उर्वरताका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै कृषि पर्यटनलाई नयाँ आयामका साथ मुख्य व्यवसायका रूपमा विकास गर्नु आजको आवश्यकता हो ।
हाम्रो देशमा तुलनात्मकरूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक कृषि पर्यटन उद्योगको विकासबाट यस हाम्रो देशको आर्थिक, सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले कृषि पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट हाम्रो देशको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन मदत पुग्नसक्छ ।
हाम्रो देश प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीयस्थल हुँदा छुट्टै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण हाम्रो देशमा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी नेपालमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार कृषि पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।
नेपालको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा देशमा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । हाम्रो देशका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू देशका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था अझै कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट नेपालीहरूले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले हाम्रो देशमा पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
हाम्रो देशको समग्र आम्दानीमा कृषि पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र स्थानीय तहको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । देश तथा विभिन्न स्थानीय तहहरूमा रहेका कृषि कार्यालय, कृषि ज्ञान केन्द्र, व्यावसायिक कृषक, होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय कृषि पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै कृषि भूमि, ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा गरिबी निवारणको लागि ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आजको आवश्यकता हो ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि हो । नयाँ पर्यटकीयस्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी कृषि पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । कृषि पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै देशका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । तबमात्र हरेक वर्ष अक्टोबर १७ मा मनाइने अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, सेप्टेम्बर २७ मा विश्वभर मनाइने विश्व पर्यटन दिवसले सार्थकता पाउनेछ । लेखक : गुणस्तर जीवन विषयमा विद्यावारिधि ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया