आर्थिक समृद्धि : विज्ञान र प्रविधि
काठमाडौं । नेपाल विकासको बाटोमा ज्यादै पछाडि धकेलिएको मुलुक हो । सन् ६० को दशकसम्म नेपालकै हाराहारीमा रहेका मुलुकहरू आज आर्थिक विकास र जनताको जीवनस्तरमा सुधार ल्याउन निकै हदसम्म सफल भइसकेका छन् । नेपाल भने उही कछुवा गतिमै अगाडि बढिरहेको छ । उदाहरणका लागि दक्षिण कोरियाकै कुरा गरौँ । भौगोलिक दृष्टिकोणले पनि तुलनात्मक रूपमा हाम्रोभन्दा सानो यो मुलुक सन् ६० को दशकसम्म विकासको मार्गमा हामीभन्दा पनि पछाडि थियो । तर मुलुकको आवश्यकताअनुरूप विज्ञान र प्रविधिको विकासमा यथेष्ट ध्यान दिएकै कारण विकास र समृद्धिका दृष्टिले आज दक्षिण कोरिया विश्वबजारमै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ । श्रम रोजगार प्रदायकको दृष्टिले त यो मुलुक अहिले नेपाललगायत कतिपय एसियाली मुलुकहरूका लागि एक आकर्षक गन्तव्यस्थल नै बन्न पुगेको छ । सन् २००८ बाट नेपाली कामदारहरूले श्रम स्वीकृति प्राप्त गरेको यस मुलुकमा झण्डै डेढ दशकको अवधिमा ६० हजार भन्दा बढी नेपालीहरूले रोजगारीको अवसर प्राप्त गरिसकेका छन् ।
त्यसैले यदि नेपाललाई साँच्चिकै विकासको मार्गमा अघि बढाउने हो र जनताको जीवनस्तरमा महत्वपूर्ण परिवर्तन ल्याउने हो भने कृषि, स्वास्थ्य, उद्योग, शिक्षा, यातायात, सञ्चार आदिजस्ता क्षेत्रहरूको प्रवर्द्धन र विकासमा यथेष्ठ ध्यान पु-याउनु जरुरी छ । यसका लागि हामीले कुरा र भाषणमा भन्दा कर्म र पौरखमा बढी ध्यान दिने हो कि ? वैज्ञानिक सोच र चिन्तनलाई हामीले फराकिलो बनाउनुपर्ने हो कि ? हो, यो कार्य तबमात्र सम्भव हुन्छ जब राज्यले विज्ञान प्रविधिको विकासलाई राष्ट्रिय विकासको अपरिहार्य औजारको रूपमा ग्रहण गर्दछ ।
हुन त नेपालमा विज्ञान प्रविधिको अवस्थाबारे कुरा गर्दा केही अनुसन्धान र विकाससम्बन्धी कार्यहरू निजीस्तरका पेशागत संघ–संस्थाहरूद्वारा पनि सम्पन्न नभएका होइनन् । तर यातायात, सञ्चार, स्वास्थ्य, ऊर्जा, प्रविधि र वातावरणजस्ता क्षेत्रहरू जसले सार्वजनिक हित र कल्याणसँग प्रत्यक्ष सरोकार राख्दछ, यी क्षेत्रहरूमा निजीस्तरका संघसंस्थाहरूको सहभागिता रहने भए पनि सरकारको भूमिका नियामक र निर्देशात्मक हुनुपर्ने विज्ञहरूको धारणा रहेको पाइन्छ । धेरैजसो विकासोन्मुख मुलुकहरूमा राष्ट्रिय वैज्ञानिक क्षेमताको विकास गर्नु अनि प्रविधि हस्तान्तरण र विकासका लागि संस्थागत संरचनाहरूको स्थापना गर्नु सरकारको प्रमुख दायित्व रहन्छ । तर नेपालले भने अझै पनि यस्ता विकाससम्बन्धी गतिविधिहरूको नियमन, सञ्चालन र समन्वयका लागि कुनै भरपर्दो संयन्त्रको विकास गर्न सकेको देखिँदैन । त्यसमाथि वैज्ञानिक समुदाय पनि यस सम्बन्धमा खासै सचेत रहेको पाइँदैन ।
अब अलिकति प्रविधिको कुरा गरौँ । कुनै पनि मुलुकमा विकासको आधारभूत उद्देश्यहरू परिपूर्तिका लागि उपयुक्त प्रविधिको छनोट अपरिहार्य हुन्छ । तथापि कुनै आधिकारिक र भरपर्दो निकायको अभावका कारण नेपालमा उपयुक्त प्रविधिको यथोचित छनोट र मूल्यांकन हुन सकिरहेको छैन । जसको फलस्वरूप नेपालमा सामाजिक र आर्थिक विकासमा वैज्ञानिक ज्ञान र अनुभवको उपयोगिताका लागि गरिने कुनै पनि प्रयासहरूमा अनेकन् बाधा र व्यवधानहरू आउने गर्दछन् । यीमध्ये कतिपय यस्ता व्यवधानहरू सामाजिक–आर्थिक र राजनीतिक प्रकृतिका पनि हुने गर्दछन् । त्यसमा पनि विज्ञान प्रविधिको क्षमता र सम्भावनासम्बन्धी ज्ञानका बारेमा हाम्रा राजनीतिक नेताहरू कमै चासो राख्दछन् । अझ भन्ने हो भने उनीहरू विज्ञान प्रविधिको उपयोगले मानव जीवनमा कति असर पार्छ अथवा जीवनस्तरमा कति सुधार ल्याउन सक्छ भन्नेबारेमा खासै अभिरुचि नै राख्दैनन् भन्दा पनि हुन्छ । जब कि जनताको न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्न होस् अथवा रोजगारीको अवसरमा वृद्धि ल्याउने कुरामा होस् स्वदेशी साधनस्रोत बढीभन्दा बढी प्रयोग हुने खालका प्रविधिको अनुसन्धान र विकासतर्फ ध्यान दिनु अति नै आवश्यक हुन्छ ।
अर्कोतर्फ नेपालको ग्रामीण इलाकाहरूमा अझै पनि जनसंख्याको ठूलो हिस्सा शिक्षाको अवसरबाट वञ्चित छ र परम्परागत रुढीवादी विचारधाराबाट ग्रसित छ । निश्चितरूपमा यस किसिमको रुढीवादी विचारधाराले सामाजिक रूपान्तरणको प्रक्रियामा अवरोध पु-याउने गर्दछ । यस हिसाबले विज्ञान प्रविधिको उचित प्रयोगद्वारा यस किसिमको रुढीवादी विचारधाराको अवरोधलाई निराकरण गर्दै आर्थिक–सामाजिक विकासको प्रक्रियालाई तीव्ररूपमा अघि बढाउन अति नै आवश्यक देखिन्छ । त्यसको लागि हामीले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, दलित, अपाङ्ग एवं पिछडिएका जनताको आधारभूत आवश्यकतातर्फ बढी ध्यान दिनुपर्ने हुन्छ । वास्तवमा यसले हामीलाई स्थानीय सीप र प्रविधिको प्रवर्द्धन र विकासको अनुसरण गर्न पनि उत्प्रेरित गर्दछ । त्यतिमात्र नभई यसले मुलुकलाई परम्परागत कलाकौशल र सीपको प्रवर्द्धन गर्न र यसलाई आधुनिक देश, काल, परिस्थितिसुहाउँदो प्रविधिमा रूपान्तरण गर्न पनि मद्दत पु¥याउँछ । प्रविधिकै कुरा गर्दा मुलुकलाई आवश्यक पर्ने प्रविधि स्थानीय श्रम तथा सामग्री प्रयोग हुने तथा अर्थिक दृष्टिकोणले लाभदायक, सर्वसाधारणले प्रयोगमा ल्याउन सक्ने, देशको भौगोलिक अवस्था (सामाजिक, सांस्कृतिक, आर्थिक आदि) अनुरूप सजिलैसँग अपनाउन सकिने आदि आवश्यकतालाई ध्यानमा राखी भित्र्याउनुपर्ने देखिन्छ ।
समग्रमा भन्नुपर्दा हाम्रो विज्ञान प्रविधिसम्बन्धी नीति र कार्यक्रमहरू देशको समग्र नीति र योजनासँग आबद्ध रहनु पर्दछ । यसको लागि राष्ट्रको आर्थिक विकास र योजना निर्माणमा वैज्ञानिक र प्राविधिज्ञहरूको पनि सक्रिय सहभागिता रहनुपर्ने कुरामा दुईमत रहन्न । त्यसैले यसको लागि मुलुकमा विज्ञान तथा प्रविधिसम्बन्धी नीति निर्माण तर्जुमा, समन्वय तथा संस्थागत विकासका लागि स्थापित नेपाल सरकारको विज्ञान तथा प्रविधि मन्त्रालय (हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय) र नास्टजस्ता वैज्ञानिक निकायले विशेष ध्यान पु-याउनु पर्ने हो कि ? लेखक नास्टका सेवा निवृत्त वरिष्ठ अधिकृत छन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया