Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमस्या बन्दै फुटपाथ पसलहरू

समस्या बन्दै फुटपाथ पसलहरू


नरेन्द्रमान श्रेष्ठ
पछिल्लो समयमा काठमाडौँ महानगर सौन्दर्यविहीन बन्दै गइरहेको छ । विगतमा स्वस्थ हराभरा खुला काठमाडौँ महानगर पछिल्लो समयमा अस्तव्यस्त हुँदै गइरहेका छन् । विश्वमा कलाकौशल सांस्कृतिक सम्पदाले भरिपूर्ण भनेर चिनाउने गरेको काठमाडौँ पछिल्लो समयमा फुटपाथ पसलको सहर भनेर चिनिन थालेको छ । काठमाडौँको टोल–टोलमा सम्पदाहरू छन् तर पछिल्लो समयमा ती सम्पदाक्षेत्रहरूमा फुटपाथ पसलहरूले अतिक्रकण गरिरहेका छन् । काठमाडौँ महानगरभित्र अस्तव्यस्त र अव्यवस्थितरूपमा सडक र फुटपाथ अतिक्रमण गरेर फुटपाथ पसलहरू राख्ने गरेका छन् । तर, महानगरपालिकाले फुटपाथ पसलहरू हटाउन भने सकेको छैन । काठमाडौँ महानगरले फुटपाथ पसल हटाउन पटक–पटक ताकेता गरे पनि हटाउन भने सकेको छैन ।

महानगर कडा भएर फुटपाथ पसलहरू हटाउने कोशिस नै गरेको छैन । काठमाडौँ उपत्यकामा हजारौँको संख्यामा फुटपाथ पसलहरू रहेको बताउँछन् सरोकारवालाहरू । महानगरको त्यस्तो स्थान जहाँ मानिसहरूको अत्यधिक भीड हुने बजारहरूमा फुटपाथ पसलहरू राख्ने गरेका छन् । उपत्यकाका विभिन्न भीडभाड हुने स्थानहरू सुन्धारा, नयाँबानेश्वर, रत्नपार्क, नयाँ सडक, मखन, भोताहिटी असन वंघपातन, लगनखेल, कोटेश्वर, चावहिल, गौशाला, विभिन्न बसपार्कहरू र आकाशे पुलहरूमा समेत फुटपाथ पसलहरू बढेको बढेकै देखिन्छ । विश्व सम्पदास्थल हनुमानढोका दरबार स्क्वायर आदि स्थानहरूमा समेत बिहानबेलुका फुटपाथ पसलहरू राखेर अवलोकनकर्ताहरूलाई असुविधा पारेका छन् भने ट्राफिक जामको समस्या पनि उत्तिकै पारेको देख्न सकिन्छ । फुटपाथे व्यापारले सम्पदास्थल नै कुरूप बनेका छन् ।

पछिलो समयमा उपत्यकामा फुटपाथ पसलहरू जटिल समस्याको रूपमा देखा परिरहेका छन् । उपत्यकामा दिनका दिन फुटपाथ पसलहरू बढेको देखिन्छ । देशमा नेताहरूको सम्पत्ति बढेजस्तै महँगी बढेजस्तै, भ्रष्ट्राचार अनिमियता बढेजस्तै, सांसद जनप्रतिनिधिहरूको तलबभत्ता बढेजस्तै, देशको ढुकुटी स्वाहा गर्ने प्रवृत्ति बढेजस्तै पसलहरू बढिरहेका छन् । फुटपाथ पसल व्यापारीहरू जहाँतहीँ पुगिसकेका छन् । महानगरका बजार, सडक, फुटपाथ र सम्पदास्थलहरूमा मात्र नभई पार्क, बसपार्क मानिसहरूको लागि बाटो काट्न बनाइएका आकाशे पुलहरूमा महानगरको सडकपेटी बजार मन्दिर गल्ली–गल्लीमा समेत पसल राख्न भ्याइसकेका छन्, फुटपाथे व्यापारीहरूले । तर, महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सकिरहेका छैनन् ।

समय–समयमा यसलाई व्यवस्थित गर्छु भनेर तम्सिन्छन् तर जहिले पनि टाँयटायँ फिस भनेजस्तै मात्र भइरहेका छन् । त्यसो त महानगरका पदाधिकारीहरू फुटपाथ पसलहरू व्यवस्थित गर्न चाहिरहेका छैनन् भनेर पनि कुराहरू आइरहेका छन् । कतिपय महानगरका प्रहरीहरू र फुटपाथ व्यापारीहरूको बीचमा तालमेलसमेत भएको पनि बताउँछन् सरोकारवालाहरू । यसकारणले पनि महानगरका प्रहरी र फुटपाथका व्यापारीहरूबीच चोरपुलिसको खेलजस्तै भइरहेको पनि छ । काठमाडौँ महानगरका प्रहरीहरूले फुटपाथ पसलहरू हटाउने गरे पनि ‘म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर भनेजस्तो मात्र भइरहेको देखिन्छ ।

पछिल्लो समयमा उपत्यकामा जनसंख्याको चाप बढ्दै छ । उपत्यका देशको राजधानी भएको कारणले देशका विभिन्न स्थानहरूबाट विभिन्न कारणले राजधानी प्रवेश गर्ने गरेका छन् । पछिल्लो समयमा त नेपालीहरू मात्र नभई विदेशीहरू पनि उपत्यकामा आएर फुटपाथ पसलहरू राखेर व्यापार गरिरहेका छन् । पछिल्लो समयमा त झन् विदेशी नागरिकहरूले समेत उपत्यकाको विभिन्न स्थानहरूमा फुटपाथमा पसल राखेर व्यापार गरिरहेका छन् तर राज्यले भने आँखा चिम्लिरहेको छ । देशका विभिन्न स्थानहरूबाट राजधानी छिर्नेहरूको लागि त फुटपाथ पसल रोजगारीको माध्यम बनिरहेको छ । फुटपाथमा पसल राख्दा कम पुँजी भए पुग्ने र भाडा पनि तिर्न नपर्ने, व्यापार पनि मनग्य हुनेजस्ता कारणले यस्ता पसलहरू बढिरहेको हो भन्दा फरक नपर्ला । तर, रोजगारीको लागि भनेर अरुलाई असुविधा र समस्या हुनेगरी जहाँ पायो त्यहीँ व्यापार गर्न त भएन नि ।

फुटपाथमा पसल राखेर व्यापार गर्नाले सरकारले पाउनुपर्ने राजस्वसमेत गुम्न पुगको छ । फुटपाथका व्यापारीहरूले न आयकर तिर्नपर्छ न भ्याट नै तिरेका छन्, न पसलको भाडा नै तिर्नुपर्छ, न घरबहाल कर नै तिर्नपर्छ, न प्यानमा नै दर्ता भएका छन् । फुटपाथ व्यापारको कारणले राज्यलाई पनि नोक्सान भइरहेको छ ।

फुटपाथ व्यापारीहरूले आफ्नो व्यापार भीडभाड हुने व्यस्त सडक र बजारका चोकहरूमा पसलहरू राखेर व्यापार गर्ने हुनाले पैदलयात्रीहरूलाई ठूलै समस्यामा पारेका हुन्छन् । मानिसहरू हिँड्ने फुटपाथमा पसल राखेर व्यापार गर्नाले बुटवाहरू गाडी गुड्ने सडकबाट हिँड्न बाध्य छन् । यसले ट्राफिक जाम हुने र दुर्घटना हुने गरेको छ भने कतिपय अवस्थामा बटुवाहरू र फुटपाथे व्यापारीहरूबीच भनाभनसमेत हुनेगरेका छन् । उपत्यकाका सडक फुटपाथहरूमा मात्र नभई आकासे पुलहरूमा समेत पसलहरू राखी यात्रीहरूलाई समस्यामा पार्ने गरिरहेका छन् । यसको कारण राजनीतिसँग पनि जोडिएको छ । पछिल्लो समयमा राजनीतिक दलहरूका राजनीतिक गतिविधि राजधानीकेन्द्रित भइरहेका कारणले पनि उपत्यकामा जनसंख्याको चाप बढिरहेको हो । कतिपय राजनीतिक कार्यकर्ताको रूपमा राजधानी छिरेकाहरूको लागि रोजगारिको सजिलो माध्यम भनेको फुटपाथ व्यापार नै हो भन्दा पनि फरक नपर्ला ।

उपत्यकाका सहर, बजार, सडक, चोक, फुटपाथ अतिक्रमण गरी आवतजावत गर्नेलाई असुविधा हुनेगरी सहर नै अस्तव्यस्त र कुरूप देखिने गरी जहीँतहीँ जथाभावि फुटपाथ पसल राखी व्यापार गर्नेलाई व्यवस्थित गर्र्ने पहिलो जिम्मेवारी भनेको महानगरपालिकाहरूको हो । यस अभियानमा स्थानीयवासीहरूले पनि आफूले सक्दो सहयोग गर्नुपर्ने देखिन्छ । तर, कतिपय स्थानीय संघसंस्थाहरूले क्लब टोल सुधार समितिहरूले नै फुटपाथ पसलेहरूसँग केही रकम लिई फुटपाथ सञ्चालन गर्न दिइरहेका छन् भनेर पनि चर्चाहरू चल्ने गरेका छन् । यसले पनि फुटपाथ पसलहरू हटाउन नसकेको कुरा बाहिर नआएका होइनन् । स्थानीय तह भनेको स्थानीय सरकार हो । स्थानीय सरकार भएर पनि काठमाडौँ महानगरले फुटपाथ पसलसमेत हटाउन नसक्नु यो विडम्बनाको कुरा हो । समयमा नै यसको सही व्यवस्थापन गर्न नसके यसले विकराल रूप लिन सक्ने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x