अस्थिर सरकार र खुम्चिएको अर्थतन्त्र
काठमाडौं । विकासको लागि अस्थिर सरकार र खुम्चिएको अर्थतन्त्र निकै समस्याजन्य हुन्छन् । तर, नेपालमा भने यी दुवै देखा परेका छन् । यही मंसिर ४ गते प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको अवस्था छ । अहिले नतिजा अन्तिम चरणमा पुगेको छ । अब केही सिटको मात्र आउन बाँकी छ । एक दुई दिनभित्र त्यो पनि आउन सक्ने देखिन्छ । अहिलेको नतिजाले नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो दर्जामा दर्जिने भएका छन् । अरु केही दलहरु पनि क्रमिकरुपमा पछ्याइरहेका छन् । निर्वाचनको नतिजालाई आकलन गर्दा सातवटा दलहरु राष्ट्रिय दलको मान्यता पाउने अवस्थामा रहेका छन् ।
अबको राजनीतिक दिशा पनि त्यति सहज देखिँदैन र भविष्यको बाटो कठिन नै हुने अनुमान गर्न सकिन्छ । अहिलेको पाचदलीय गठबन्धनलाई नै निरन्तरता दिने भनी गठबन्धनकै नेताहरुले भनी आएका छन् र यो अझै १५/२० वर्षसम्म जाने उनीहरुको भनाइरहेको छ । तर, यो भनाइमा त्यति सत्यता देखिँदैन र सम्भव पनि हुने छैन । पाँचदलीय गठबन्धनमा पाँच प्रकारका सिद्धान्त तथा विचार रहेका छन् । सिद्धान्त, विचार नमिल्ने दलहरु कसरी शासकीय व्यवस्थामा सरिक भएर अघि बढ्न सक्लान् ? शंका गर्ने ठाउँ रहेको छ ।
दर्शन, सिद्धान्त र विचारले राजनीति अघि बढ्ने हो । गठबन्धन र तालमेलले मात्र राजनीति अघि बढ्न सक्दैन । अहिले शासन र नेतृत्वको लागि एकजुट भए पनि नेतृत्व कसले गर्ने विषयमा ठूलै कसरत हुनेछ । निर्वाचनको नतिजा आउन नपाउँदै नेपाली कांग्रेस र नेकपा एमालेले केही सत्ताबाहिरका दलहरुलाई सरकारमा आउन प्रस्ताव गरिसकेका छन् । ठूलो दलको हैसियतले नेपाली कांग्रेसको सरकार बनाउने हैसियत भए पनि नेकपा माओवादी केन्द्रको पनि रुचि आएको छ । दल ठूलो–सानोभन्दा पनि जनताले कसको एजेन्डा लिएका छन् भन्ने मुख्य विषय हो भनेर प्रधानमन्त्रीको लागि भूमिका बनाएको देखिन्छ । अर्कोतर्फ सरकार बाहिर रहेको नेकपा एमाले पनि गठबन्धन फुटाएर भए पनि सत्तामा पुग्ने कुरा सार्वजनिक गरिसकेको छ ।
यसअघि जसरी खिचडी सरकार थियो अब हुने भनेको पनि त्यस्तै हुनेछ भन्ने कुरामा कुनै आशंका गर्नु पर्दैन । मिलीजुली सरकार बनाउन पनि त्यति सहज देखिँदैन । एक त दलहरुभित्र मन्त्री बन्ने धेरैको आकांक्षा हुनेछ भने अर्कोतिर विकासे तथा शक्ति केन्द्रित मन्त्रालयको लागि अर्को रस्साकस्सीको खेल प्रारम्भ हुनेछ । निश्चय नै यी विषयहरु छिनोफानो लगाउन पनि लामै समय लाग्नेछ । यसप्रकारको अनुभव विगतमा पनि भएकै हो । तर, यहाँ के बुझ्न आवश्यक छ भने यो गठबन्धन सरकार विगतदेखि नै चलिआएकोले अब पनि चल्नेछ भन्ने पनि अनुमान गर्न सकिन्छ । मुख्य कुरो भनेको गठबन्धनभित्र स्वार्थ मिल्नु प-यो । जहिलेसम्म बाँडीचुँडीको स्वार्थ मिल्ने हुन्छ तबसम्म सरकार जानेछ । अहिलेका पाँचवटा मुख र थपिने अरु मुखहरुको लुछाचुँडीले गर्दा लामो गन्तव्य हुन सक्नेमा विश्वास गर्न सकिँदैन ।
अहिलेको राजनीतिक परिदृश्य देश विकासको लागि उपयुक्त देखिँदैन । त्यसकारणले गर्दा राजनीतिले निर्दिष्ट मार्ग अबलम्बन गर्नसक्ने अवस्था छैन । यस्तो जटिल राजनीतिक अवस्था एकातिर छ भने अर्थतन्त्र खस्कँदै गएको छ । सत्तामा बस्नेहरुले देशको अर्थतन्त्रमा सुधार हुँदै गएको छ भन्दै आएका छन् भने प्रतिपक्षमा हुनेहरुले देशको अर्थतन्त्र श्रीलंकाजस्तो हुँदैछ भनिरहेका पनि छन् । जसले जे भने पनि देशको अर्थतन्त्र जटिल मोडमा पुगेको छ ।
भूकम्पले पारेको क्षतिको पूर्ति व्यवस्थापन हुँदै गर्दा कोभिड १९ को महामारी देखाप-यो । यसले त देशलाई अस्तव्यस्त नै पारिदियो । राज्यको साधनस्रोत यसैमा खर्चनु प-यो । उद्योगधन्दा कलकारखाना सबै बन्द भए । मानिसको आवतजावत पनि बन्द भयो । देशको आर्थिक अवस्था चौपट हुन पुग्यो । सबै क्षेत्र बन्दाबन्दी भए । बाध्य भएर जनता घरभित्रै बस्नुपर्ने अवस्था आयो । अनि देशभरि नै उत्पादन बन्द हुन पुगे ।
बल्लबल्ल कोभिडमा केही सुधार आएको थियो यसै अवधिमा रुस युक्रेनबीच युद्ध सुरु भयो र अहिले पनि चलिरहेकै छ । यो युद्धले विश्व अर्थबजारमा नै मन्दी ल्याएको छ । अत्यधिक मूल्यवृद्धिले गर्दा दैनिकी चलाउन पनि कठिन बन्दै गएको छ । खास गरेर इन्धनमा बढेको मूल्यले सबै वस्तुको मूल्य आकाशिँदै गएको छ ।
देशको अर्थतन्त्रको कुरा गर्दा मुख्यरुपमा उत्पादन, निर्यात, विदेशी मुद्रा, सञ्चिति, आर्थिक वृद्धि, कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आयजस्ता अवयवहरु सकारात्मक भएको अवस्थामा अर्थतन्त्र सकारात्मक भएको हुन्छ । वर्तमान अवस्थामा यी सबै सूचकहरु खस्कँदै गएको अवस्था भएको हुँदा अर्थतन्त्रमा सुधारको आवश्यक देखिएको छ ।
अहिले कोभिड, मूल्यवृद्धि, ब्याजदर वृद्धिजस्ता कारणहरुले गर्दा औद्योगिक उत्पादन हुन सकेको छैन । उत्पादनले आन्तरिक उपभोग नै पूरा गर्न नसकेको हुँदा निर्यात गर्ने त कुरै भएन । सामान्य उपभोग्य वस्तुदेखि लिएर औद्योगिक सामान तथा कच्चापदार्थ समेत विदेशबाट नै आयात गर्नु परिरहेको छ । हाल सरकारले विलासिताका वस्तु, सवारीसाधन र केही उपभोग्य वस्तुको आयातमा नियन्त्रण गरेर विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउने प्रयास गरे पनि खासै उपलब्धि हासिल भएको देखिँदैन । आयातलाई नियन्त्रण गर्दा राजस्व प्राप्तिमा कमी हुनगएको छ । किनभने हाम्रो राजस्व मूलतः भन्सारमा निर्भर रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको तरलतामा सुधार आउन सकेको छैन । नगद प्रवाह हुन नसक्दा न त बैंकमा पैसा देखिएको छ न त बजारमा नै देखिएको छ । बजारमा गएको पैसा कहाँ लुक्यो त भन्ने प्रश्न पनि आर्ई नै रहेको छ । तरलताको अभाव हुन नदिन नेपाल राष्ट्र बैंकले बैंकहरुलाई केही रकम उपलब्ध गराए पनि खासै सुधार हुन सकेन र बैंकहरुमा तरलताको अभाव रहेकै छ ।
बैंकहरुले तरलतालाई ध्यान दिएर निक्षेपमा ब्याज वृद्धि गरेर अहिले केही सुधार भएको अवस्था छ । बचत निक्षेपमा १२/१३ प्रतिशत ब्याज उपलब्ध गराएर निक्षेपलाई आकर्षण गराएका छन् भने कर्जामा १७/१८ प्रतिशत ब्याज लगाएको अवस्था छ । केही समय अघिमात्र चर्को ब्याज भयो भनेर उद्योगी व्यवसायीहरुले आन्दोलन गरेको अवस्था पनि थियो । ८ प्रतिशतमा लिइँदै आएको कर्जा १८ प्रतिशत तिर्न नसक्ने भन्ने उनीहरुको माग रहेको छ । चर्को ब्याजको कारणले गर्दा कतिपय उद्योग तथा कलकारखानाहरु बन्द हुने अवस्थामा पुगेका छन् । सञ्चालनमा भएकाहरु पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । धेरै उद्योगहरुले त आफ्ना कामदारहरुलाई बिदाइ पनि गरेका छन् । यसले गर्दा बेरोजगारी बढ्दै गएको छ । रोजगारीको लागि ठूलो संख्याको ऊर्जाशील युवाहरु विदेश पलायन भइरहेका छन् । उनीहरुले पठाएको विप्रेषणले देशको अर्थतन्त्र धानिएको छ । यसरी प्राप्त भएको रकम पनि राम्रोसँग उपयोगमा ल्याउन सकिएको छैन र सबैजसो रकम घरजग्गा तथा उपभोगमा नै खर्च भएको देखिन्छ । उत्पादनशील क्षेत्रमा लगानी हुन नसकेको कारणले गर्दा विदेशमा पसिना बगाएर कमाएको पैसा अनावश्यक र फजुल काममा खर्च हुन गएको छ । राष्ट्रिय अर्थतन्त्रको विकासमा यसलाई गम्भीररुपमा लिनु पर्दछ ।
अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा अन्य क्षेत्रमा पनि प्रतिकूल प्रभाव परेको हुन्छ । त्यसकारणले गर्दा विकास तथा निर्माणकार्यहरुले गति लिन सकिरहेका छैनन् । कतिपय आयोजनाहरु लागतजन्य र समयजन्य भएका छन् । लागत र समय बढ्दै जाँदा ऋणको ब्याजभार बढ्दै गएको छ । हाम्रोजस्तो अल्पविकसित देशको लागि योभन्दा खतराको कुरो अरु हुँदैन । यसमा राजनीतिक नेतृत्वको ध्यान जान सकिरहेको छैन ।
हालै सम्पन्न भएको आवधिक निर्वाचनमा लुकेर बसेको पैसा बजारमा आउँछ र अर्थतन्त्र चलायमान हुन्छ भन्ने अनुमान रहेको थियो । तर, यो अनुमानले पनि त्यति काम गरेको देखिँदैन । किनभने अहिले पनि बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव भई नै रहेको छ ।
वर्तमान अवस्थालाई आकलन गर्दा नेपालको राजनीतिक तथा अर्थतन्त्र दुवै सन्तोषजनक देखिँदैनन् । अहिले विभिन्न दलहरु सरकार कसले निर्माण गर्ने भन्नेमा नै केन्द्रित भएका छन् र कसरी सत्तामा पुग्ने र राज्यको दोहन गर्नेमा नै उनीहरुको ध्यान गएको देखिन्छ । गठबन्धनभित्रकै राष्ट्रिय जनमोर्चाले त अब सांसदहरुको खरिदबिक्री हुनसक्छ भन्ने कुरा सार्वजनिकरुपमा नै भनेका छन् । यसले के सङ्केत गर्दछ भने अबको नयाँ राजनीतिक परिदृश्य पनि पुरानै सरकारजस्तो हुनेछ । किनकि राजनीतिक परिदृश्यमा केही परिवर्तन नआउने र नेतृत्व तथा पात्रहरुमा पनि खासै परिवर्तन हुन नसकेको अवस्थामा राजनीतिले के नयाँ कुरा ल्याउन सक्ला र ?
अर्को कुरा अर्थतन्त्रमा सुधार हुन नसकेको कुरालाई कसैले पनि अस्वीकार गर्न सक्दैन । अर्थतन्त्रका सबै अवयवहरु खस्कँदै गएका छन् । जनताको जीवनस्तर तल झर्दै गएको छ । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता मानवीय आवश्यकतामा जनताको पहुँच पुग्न सकेको छैन । पर्यटन व्यवसायबाट केही मात्रामा आम्दानी भए पनि सन्तोषजनक भने देखिँदैन । समग्रमा भन्नुपर्दा अब बन्ने सरकारको बहुमत नपुग्ने र साँठगाँठ हुने निश्चित नै छ । कमजोर धरातल र वैशाखी टेकेर बन्ने सरकार जुनसुकै बेला ढल्न सक्ने हुन्छ । अतः नेपाली जनताले सुख पाउनेभन्दा अझै दुःख पाउने कुरामा भने सहजै अनुमान गर्न सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया