Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहिमश्रृंखलाको उत्पत्ति र विकास

हिमश्रृंखलाको उत्पत्ति र विकास


काठमाडौं । हिमालय विश्वकै सबैभन्दा अग्लो र एसियाको सबैभन्दा ठूलो हिमश्रृंखला हो । यसको लम्बाइ करिब दुई हजार चार सय किलोमिटर रहेको छ । यी हिमश्रृंखलाहरू उत्तरी पाकिस्तानदेखि लिएर भारत, तिब्बत, नेपाल हुँदै भुटानसम्म फैलिएको छ । यी हिमश्रृंखलाहरूमा रहेका ३० भन्दा बढी हिमालहरू सात हजार छ सय २० मिटर र सोभन्दा अग्ला रहेका छन् । यिनै हिमश्रृंखलाहरूमा नेपालस्थित विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि अवस्थित रहेको छ जसको उचाइ आठ हजार आठ सय ४८ मिटर रहेको छ ।

संस्कृतमा हिमालयको अर्थ ‘हिउँको घरै’ भन्ने बुझिन्छ । हुन पनि हिमालयमा पाँच हजार मिटरको उचाइदेखि वर्षभरि नै हिउँ पाइने गर्दछ । हिमालयमा विभिन्न प्रकारका दूर्लभ जीवजन्तु र वनस्पतिहरू पनि पाइन्छन् । उदाहरणको लागि कालोभालु हिमालयको फेदतिर पाइन्छ भने हिमालयको टुप्पो भागतिर अर्थात् करिब दुई हजार चार सय मिटरको उचाइमा लालीगुराँस र ओकका रुखहरू पाइन्छन् । तथापि केही वर्षयता आएर यी रुखहरू काठ र कृषि क्षेत्रको प्रयोजनका लागि भनी फँडानी गर्न थालिएको छ ।

पृथ्वीका विभिन्न भू–संरचनाहरू जस्तैः टापु, पहाड, हिमाल, मैदान, ताल आदिमध्ये हिमालय श्रृंखलालाई सबैभन्दा कान्छो पर्वत श्रृंखलाको रूपमा लिइन्छ । यसको उत्पत्ति करिब चार करोड वर्षअघि मात्रै भएको अनुमान वैज्ञानिकहरूले गरेका छन् । वैज्ञानिकहरूका अनुसार अग्ला र वरफले ढाकिएका हिमालको रूपमा चुलिनुभन्दा पहिले यी विशाल हिमश्रृंखलाहरू टेथिस सागरको पिँँधमा थिए । त्यसो त विश्वको सर्वोच्च शिखर सगरमाथाको हिउँभित्रका चट्टानहरूको बनोट र प्रकृति हेर्दा पनि करिब छ करोड वर्षपहिले निर्माण भएका समुद्री चट्टानहरूको बनोटसँग दुरुस्तै मेल खान्छ । यसबाट पनि हिमालय श्रृंखला आरम्भमा समुद्री पिँधकै रूपमा थिए भन्ने कुराको पुष्टि हुन्छ । वैज्ञानिकहरू भन्छन् टेथिस सागर पृथ्वीको उत्तर–पश्चिम खण्डमा रहेको फराकिलो पिँध भएको गहिरो सागर थियो । त्यसपछि करिब चार करोड वर्षपहिले पृथ्वीमा उत्पन्न भएको भीषण भू–हलचलका कारण एउटा छुट्टै महाद्वीपका रूपमा रहेको एसिया महादेशको विशाल भू–खण्ड दक्षिण दिशातिर बग्दै गयो ।

यसरी बग्ने क्रममा एसिया महादेशको भू–खण्डले टेथिस सागरको पिँधलाई माथि उठाइदियो । फलस्वरूप यसरी उठेका पर्वतहरू उत्तरी भागमा रहेका तिब्बती पर्वत श्रृंखला बन्न पुगे । सुरुको अवस्थामा ती पर्वतहरूको उचाइ समुद्री सतहबाट करिब चार हजार मिटर मात्र अग्लो थियो । त्यसपछि झण्डै डेढ करोड वर्षपहिले उत्पन्न भएको दोस्रो झट्काले ती पर्वत श्रृंखलाहरूलाई झण्डै छ हजार मिटर अग्लो बनाइदियो । तथापि त्यसपछि पनि पृथ्वीमा भीषण झट्काहरू आउने क्रम भने जारी नै रह्यो । भनिन्छ करिब ७० लाख वर्षपहिले उत्पन्न भएको विशाल भू–हलचलले हिमालय श्रृंखलालाई तेस्रो पटक झट्का दिएको थियो । जुन झट्काले तिब्बती श्रृंखलाहरूको उचाइ थप दुई हजार मिटर बढाएर आठ हजार मिटर अग्लो बनाइदियो । उत्तरी भू–भागमा यस्ता अग्ला हिमश्रृंखलाहरूको निर्माण भइसकेपछि टेथिस सागरको पानी पनि बिस्तारै दक्षिणतिर बग्न थाल्यो । तर टेथिस सागरको मध्य भागबाट उत्पन्न भएका अग्ला–अग्ला पहाडहरूका कारण दक्षिणतिर बग्दै गएको समुद्री पानी बीचैमा रोकिन पुग्यो । यसरी पानी रोकिएपछि विभिन्न तालहरूको निर्माण हुनपुगेको कुरा वैज्ञानिकहरू बताउँछन् ।

नेपालको उत्तर–पश्चिम भू–भागमा रहेका रारा, शे–फोक्सकुण्डो तथा तिलिचो तालहरू पनि यस्तै प्रक्रियाहरूबाट बनेको अनुमान वैज्ञानिकहरूले गरेका छन् । त्यसपछि हिमालय श्रृंखलावरिपरि गएको चौथो तथा अन्तिम झट्काले महाभारत श्रृंखलाको निर्माण हुन पुग्यो । यसरी निर्माण भएका पर्वतहरूले उत्तरबाट बग्दै दक्षिणतिर गएका नदीहरूलाई रोकिदिए । नदीको पानी यसरी रोकिएपछि पुनः ठूल–ठूला तालहरूको निर्माण भएको धारणा वैज्ञानिकहरूको रहेको छ । हामीलाई थाहा भएकै कुरा हो कि काठमाडौं उपत्यका पनि पहिले एउटा विशाल ताल थियो र यो तालको पानी करिब १५ लाख वर्ष पहिले मात्रै सुकेको अनुमान वैज्ञानिकहले गरेका छन् । वैज्ञानिकहरूका अनुसार महाभारत पर्वत श्रृंखलाले रोकेको पानी ती पर्वतहरूलाई छिचोलेर बग्न खोजेका थिए । त्यसै क्रममा महाभारत पर्वतका तीनवटा कमजोर भागहरूलाई फुटाएर पानी बगेर गयो । यसरी पर्वत फुटाएर बगेका नदीहरूलाई नै अहिले हामी नेपालका कोशी, गण्डकी र कर्णालीको नामले चिन्दछौँ ।

हिमालय पर्वत श्रृंखलाको उचाइ बढ्नुको मुख्य कारण एसिया महादेश तथा टेथिस सागरबीच भएको भीषण ठक्करबाट पृथ्वीमा विभिन्न समयमा उत्पन्न भएका ठूल–ठूला झट्काहरूलाई नै मानिएको छ । नयाँ पर्वतश्रृंखला उत्पन्न गराउन सक्ने तथा उत्पन्न भइसकेका पर्वतहरूको उचाइ थप बढाउन सक्ने क्षमता भएका भीषण झट्काहरू प्रत्येक तीनदेखि चार करोड वर्षको अन्तरालमा आइरहन्छन् । यसलाई एक नियमित प्रक्रिया मानिन्छ । त्यसो त अहिलेको समयमा पनि हिमालय श्रृंखलाको उचाइ बढ्ने क्रम पूर्णरूपमा रोकिएको छैन । तर विशाल झट्काहरू आउने गति अति सूक्ष्म रूपमा हुँदै गएका कारण अबका वर्षहरूमा हिम श्रृंखलाको उचाइ ह्वात्तै बढ्ने सम्भावना भने नरहेको धारणा विज्ञहरूको रहेको छ । तथापि हिमालय श्रृंखला एक अस्थिर क्षेत्र भएका कारण भविष्यमा पनि टेक्टोनिक हलचलबाट हिमालयमा ठूला–ठूला भू–कम्पका झट्काहरू गइरहने र सोहीअनुरूप हिमालयको उचाइ बढ्ने क्रमले भने बिस्तारै निरन्तरता पाइरहने भनाइ वैज्ञानिकहरूको । लेखक नास्टका सेवा निवृत्त वरिष्ठ प्रवर्द्धन अधिकृत हुन् । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x