राजनीति र प्रशासनको अन्तरसम्बन्ध
१. विषय प्रवेश देशको विकाशका लागि राजनीति र प्रशासनको बीचमा सुमधुर सम्बन्ध कायम हुनु अत्यन्त जरुरी हुन्छ । राजनीतिले समग्र नेतृत्व लिएको हुन्छ भने प्रशासनले कार्यान्वयनको जिम्मा लिएको हुन्छ । राजनीतिको उद्देश्य, लक्ष्य, नीति, कार्यक्रम आदि जतिसुकै राम्रो भए पनि कार्यान्वयन राम्रो भएन भने उपलब्धि हासिल हुन सक्दैन । देशको विकास गर्ने लक्ष्य हासिल गर्न नीति, योजना, कार्यक्रम आदि बनाउनु मात्र पर्याप्त हुँदैन । देशको विकाशमा संलग्न हुने प्रशासनिक नेतृत्व र अन्य जनशक्तिको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ भन्ने कुरामा विचार पु-याउनुपर्ने हुन्छ ।
यस सन्दर्भमा माथि चर्चा गरिएको यो विषयको यो पक्ष बुझ्न– राजनीतिक नेतृत्वमा बस्ने व्यक्ति र प्रशासन यन्त्रमा रहने व्यक्तिको छनोट र भर्ना प्रक्रिया कसरी हुन्छ भन्ने जानकारी राख्नु उपयुक्त हुन्छ । त्यसैले यस विषयमा पनि यहाँ चर्चा गर्ने प्रयास गरेको छु ।
२. छनोट र भर्ना प्रक्रिया :
राजनीतिक नेतृत्वको छनोट र भर्नाका समयमा हुने निर्वाचनको माध्यमबाट जनताको मतमार्फत निधो गरिन्छ । यसरी निधो गरिदाँ इच्छुक, योग्य उम्मेदवारहरुमध्ये जनताको बढी मत प्राप्त गर्ने व्यक्ति छनोट भई राजनीतिक नेतृत्वमा पुग्छ । प्रशासनिक नेतृत्वमा पुग्ने व्यक्तिको छनोट र भर्ना कुनै स्वतन्त्र निकायजस्तै निजामति सेवा आयोग वा लोक सेवा आयोगजस्ता नियामक निकायबाट योग्यता प्रणालीको आधारमा गरिन्छ । यसरी छनोट भएपछि योग्यता र अनुभवका आधारमा पदोन्नति हुँदै प्रशासनयन्त्रको उच्चतहमा पुगी प्रशासनिक नेतृत्व गर्दछ ।
३. पदावधि
राजनीकि नेतृत्वमा आउने व्यक्ति प्रशासनिक नेतृत्वमा आउने व्यक्तिभन्दा सामान्यतया छोटो अवधिको लागि नेतृत्वमा आउँछ । उदाहरणका लागि सामान्यतया चार वर्ष, पाँच वर्ष वा सात वर्षका लागि निर्वाचित हुने गर्दछ । निर्धारित गरिएको पदावधि समाप्त भएपछि अवकाश प्राप्त गर्दछ । तर अवकाशमा गएको व्यक्ति पुनः निर्वाचित भई नेतृत्वमा आउन पनि सक्छ ।
प्रशासनको नेतृत्व गर्ने व्यक्ति जीवनमरणको अवधिको लागि भर्ना हुन्छ । सामान्यतया २० वर्ष वा यस्तै अवधि पूरा गरेपछि अवकाश लिन पाउँछ । तोकिएको उमेर हद पूरा गरेपछि पनि अवकाश लिनुपर्ने हुन्छ । सेवाका सर्त सम्बन्धमा कानुनी प्रावधानहरु नै बनेका हुन्छन् । यसरी निवृत्त भएको व्यक्ति पुनः प्रशासनयन्त्रको नेतृत्वमा आउन असम्भवजस्तै हुन्छ ।
४. नियन्त्रण र सन्तुलन
प्रशासनिक नेतृत्वमा पुग्ने व्यक्तिले ऐन, नियमका आधारमा जनतालाई सेवा प्रदान गर्ने र आवश्यकताअनुसार निर्देशन, नियन्त्रण गर्ने गर्दछ । त्यसैगरी राजनीतिक नेतृत्व गर्ने व्यक्तिले ऐन, नियमका आधारमा प्रशासनिक नेतृत्व गर्ने व्यक्तिलाई निर्देशन र नियन्त्रण गर्दछ । निर्वाचनको माध्यमबाट जनताले राजनीतिक नेतृत्व गर्ने व्यक्तिलाई निर्देशन एवं नियन्त्रण गर्दछन् । यसरी राजनीतिज्ञ प्रशासक र जनताका विचमा एकले अर्कोलाई निर्देशन एवं नियन्त्रण गरेर सन्तुलन कायम गरेको हुन्छ ।
५. संगठनमा संलग्नता
राजनीतिक व्यक्ति आफ्नो राजनीतिक पार्टीमा संलग्न रहेर विभिन्न विषयहरुमा धारणा बनाएका हुन्छन् । प्रशासनमा रहने व्यक्तिहरु पनि आफ्नो हक हितको संरक्षण एवं संवद्र्धन गर्न– पेसागत संगठनलाई माध्यम बनाई कार्य गरेका हुन्छन् । यस्ता पेशागत संगठनको उपस्थितिको कारणले गर्दा राजनीतिक व्यक्तित्वमाथि निर्णय गर्ने बेलामा दबाब पर्न सक्छ । सिद्धान्ततः प्रशासनिक नेतृत्वमा रहने व्यक्ति पेसागत संगठनमा रहन मिल्दैन । तर तल्लो तहको जनशक्ति यस्ता संगठनमा संलग्न भई काम गर्ने हुँदा यसको प्रभाव समुच्चा प्रशासनयन्त्रमा पनि पर्दछ ।
६. नीति निर्माण
समग्र देश सञ्चालन वा देशको निकाश निर्माणको लागि राजनीतिक नेतृत्वले नीति निर्माण गर्ने कार्य गर्छ । प्रशासनिक नेतृत्वमा रहने जनशक्तिले– तथ्य, तथ्याङ्क, नजिर र विचार आदि प्रदान गरेर राजनीतिक नेतृत्वलाई सहयोग पु-याउन सक्छ । राजनीतिक नेतृत्वलाई यस्तो सहयोग पु-याउनु प्रशासनिक नेतृत्वमा रहने व्यक्तिको कर्तव्यमध्येको एउटा मुख्य काम नै मानिन्छ ।
७. एकले हुँदैन न भन्ने, अर्कोले कहिल्यै हुन्छ नभन्ने
राजनीतिक नेतृत्वमा रहने व्यक्तिले कामविशेषले सम्पर्कमा आउने व्यक्तिलाई कुनै पनि विषयमा हुँदैन भनेर कहिल्यै नभन्ने र प्रशासनिक नेतृत्वमा रहने व्यक्तिले कुनै पनि विषयमा मुखले हुन्छ भनेर कहिल्यै नभन्ने प्रवृत्ति हुन्छ । देशको प्रशासन सञ्चालनमा टिम मिलेको अवस्थामा राजनीतिक र प्रशासनिक नेतृत्वको यस्तो प्रवृत्तिले एक–अर्काको परिपूरक बनेर काम गरेको हुन्छ । यस्तो प्रवृत्तिले काम गर्ने वातावरण सजिलो बनाउन मद्दत पुग्दछ ।
८. यी दुईबीचको भिन्नता
देशको विकाश गर्ने र जनताको कल्याणको काम गर्ने उद्देश्य एवं लक्ष्य एउटै भए पनि भर्नाको प्रक्रिया, भिन्न प्रकृतिको संगठनमा संलग्नता, अनुशासन पद्धति र कार्यप्रणाली आदिले गर्दा राजनीतिज्ञ र प्रशासनमा रहने व्यक्ति अलग–अलग आयाममा क्रियाशील हुन्छन् । त्यसकारण अन्तिम उद्देश्य र लक्ष्य एउटै भए पनि कार्य प्रकृति अलग–अलग हुँदा यी दुवै जनशक्ति अलग हुन भन्नेमा कुनै द्विविधा रहँदैन ।
९. मिलेर काम गर्दा राम्रो
राजनीतिक र प्रशासनिक नेतृत्व दुवै मिलेर समन्वयात्मकरुपले काम गर्दा देशको राम्रो उन्नति र प्रगति हुन सक्छ । झगडा गरेर समन्वय नगरी मत मतान्तर गरेमा देशको प्रगति र उन्नतिमा बाधा पर्छ । त्यसकारण यी दुई नेतृत्वबीचमा समन्वय कामय गरी अधि बढ्नु अति नै आवश्यक हुन्छ । (लेखक नेपाल सरकारका पूर्वसचिव हुन् ।)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया