विकास, रूपान्तरण र अग्रगमनसँग जोडिएको अर्थतन्त्र
काठमाडौं । विकास आफैँमा दीर्घकालीन सकारात्मक परिवर्तन हो, जसको सैद्धान्तिक पक्ष विभिन्न आयामहरू, समकालीन मुद्दाहरू खासगरी गरिबी, बेरोजगारी, प्राकृतिक तथा मानवीय स्रोत एवं संसाधन, दिगो विकास, जलवायु परिवर्तन, सामाजिक सांस्कृतिक परिवर्तन, राजनीतिक तथा आर्थिक परिवर्तन र भौतिक पूर्वाधारहरूको विकाससँग जोडिएको हुन्छ जुन अर्थतन्त्रको आयाम पनि हो । सामान्य पक्षलाई हेर्ने हो भने कुनै वस्तु, व्यक्ति र अवस्थाको आकार, चरित्र, विशेषता र अवस्थामा आउने परिवर्तनलाई विकासको रूपमा लिने गरिन्छ जुन सतही परिभाषा हो, तथापि यस्तो पक्ष रूपान्तरण र अग्रगमनसँग पनि जोडिएको हुन्छ । यहाँ त्यति बुझाइले मात्र विकासको अर्थ पूरा हुँदैन किनभने योसँगै विविध पक्षहरू, ग्रामीण विकास, सहरी विकास, जनसहभागितामूलक विकास, प्रादेशिक विकास, स्थानीय विकास, एकीकृत विकास, जलवायु परिवर्तन, आर्थिक वृद्धि तथा विकास, राजनीतिक रूपान्तरण र विश्वव्यापीकरणसहित उदारीकरण, निजीकरण र दूरगामी दृष्टिकोणजस्ता विषयहरूलाई पनि समेटिएको हुन्छ ।
रूपान्तरण र अग्रगमनको एक महत्वपूर्ण अङ्ग र समग्र परिस्थितिको प्रतिनिधित्व अर्थात् कुनै पनि विषयमा आउने तात्कालिक परिवर्तनले सम्भवतः विकासको परिभाषालाई पूर्ण गर्न सक्दैन तर तुरून्तै देखापर्ने परिवर्तन एवं वृद्धिलाई विकासको एउटा सानो अंश भने मान्न सकिन्छ । वृद्धि र विकासकै कारणले अर्थतन्त्रमा सुधार आउने गर्दछ । समग्र अर्थतन्त्र सुधार भएको खण्डमा गरिबी, बेरोजगारीजस्ता विषयको सम्बोधन हुन सक्छ र नागरिकहरूको जीवनशैलीमा सकारात्मक असर पर्ने र देश विकासमा टेवा पुग्ने गर्दछ ।
एकातिर विकास र समृद्धि परिपुरक हुन् तर फरक कुरा हुन् जहाँ साधारण बुझाइ के हो भने मानव समाजमा सबै खाले परिवर्तन, सन्तुष्टि र अभिव्यक्त हुने उच्चतम सन्तुष्टिलाई वा उन्नत सामाजिक रूपलाई समृद्धिको रूपमा लिन सकिए पनि यसले विकासको प्रतिनिधित्व भने गर्दैन । अर्कोतिर, भौतिक संरचनामा आउने परिवर्तनलाई विकासको रूपमा दाँज्ने काम नै गलत हो र सबै क्षेत्रको उचित परिवर्तन र सुधार मात्रै नभएर समाजका लागि वस्तुवादी र व्यावहारिक उत्पादन प्रणालीको प्रभावकारी रूपान्तरणले नै विकासलाई इङ्कित गर्ने गर्दछ ।
पछिल्लो समयमा हचुवाको भारमा, अवस्तुवादी र अव्यावहारिक किसिमले विकास र समृद्धिको बहस गर्न थालिएको अवस्थामा बुझ्ने, नबुझने, जिम्मेवार, गैरजिम्मेवार सबैले विकासलाई गलत अर्थ लगाउन थालेका छन् । विकास भौतिक संरचनाको निर्माण मात्र होइन् र यो खासविशेष पक्षसँग जोडिएको रूपान्तरणको पक्ष पनि हो । भौतिक पूर्वाधार निर्माण विकासको सानो अंश मात्रै हो भने राजनीतिक, आर्थिक, प्राविधिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, धार्मिक चिन्तन र चेतनागत रूपान्तरणको समग्र पक्ष विकास हो र दीर्घकालीन अग्रगामी परिवर्तन पनि हो । यसले के देखाउँछ भने सबै पक्षको सर्वाङ्गीणर समानुपातिक रूपान्तरण र दीर्घकालीन सुधार नै विकासको साँचो रूप हो ।
वस्तुगत धरातलको आवश्यकतालाई आत्मसात् गर्दै अग्रगमनको दिशमा देखापर्ने दीर्घकालीन सुधार नै विकासको सामान्य रूप भएको र यसले समृद्धि र रूपान्तरणलाई समेत सम्बोधन गर्दै सबै वर्ग, जाति, लिङ्गको उत्थान र रूपान्तरण एवं सुधारको लागि विभिन्न प्रयासहरू र आर्थिक पक्षको सुधारसँग जोडेर हेर्न थालिए पनि यसको अवधारणा मानव सभ्यताको विकासको क्रमसँगै कुनै न कुनै रूपमा देखा परेको थियो । आठारौँ शताब्दी खासगरी सन् १७७६ देखिको अमेरिकी स्वतन्त्रता आन्दोलन, बिटिस औपनिवेशको चरम पुँजीवादी रूप र अर्थशास्त्री आडम स्मिथले लेखेको पुस्तक द वेल्थ अफ नेसन (सन् १७७६) को प्रभावजस्ता विषयले विकासलाई आर्थिक पक्षसँग जोडेको मात्र होइन खुला अर्थतन्त्रीय अवधारणाले पनि आर्थिक समुन्नतीलाई विकासको मूल आधार बनायो । अर्कोतिर कार्ल मार्क्सले वर्गसंघर्षको प्रतिफलर श्रमिक वर्गको हक हित र उन्नतिको स्वरूपलाई विकासको रूपमा परिभाषित गरे ।
पुनर्जागरणको युगसँगै विकासको अवधारणा बाहिर आएको हो भन्ने विषयमा दुईमत छैन तर मानवीय सूचकमा आउने परिवर्तन, अर्थतन्त्रका परिसूचकमा आउने परिवर्तन, समकालीन मुद्दाहरूलाई गरिने सम्बोधन केवल आर्थिक विकास र वृद्धिसँग मात्र जोडिएको छैन । एकातिर प्रथम विश्वयुद्धले तहननहस पारेको विश्व त्यसपछिको विश्वव्यापी आर्थिक मन्दी, अमेरिकाको चलाखिपूर्ण पुँजीवादको विस्तार र दोस्रो विश्वयुद्धसँगै जन्मिएका संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषलगायतका अन्तर्राष्ट्रिय संगठनहरूको स्थापना तथा गठन र प्रभावसँगै विकासको नयाँ अवधारणाको सुरूवात भयो । शीतयुद्धको अन्त्यसम्म आइपुग्दा, मानव विकास, आर्थिक विकास, ग्रामीण र सहरी विकास, रूपान्तरण र अग्रगमनले निश्चित स्वरूप लिएको देखिन्छ । जीवनस्तरमा सुधार, मानवीय आवश्यकताको परिपूर्ति, दीर्घकालीन लक्ष्यहरूको सम्बोधन, समकालीन मुद्दाहरूको सम्बोधन, पूर्वाधारहरूको विकास, स्रोत साधनको सन्तुलित वितरण, व्यापार सन्तुलन तथा उत्पादनमा वृद्धि, राजनीतिक चेतना र आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, पर्यावरणीय एवं सांस्कृतिक रूपान्तरणले नै विकासको अवधारणालाई निश्चित ढाँचा प्रदान गरेको छ ।
अन्तर्राष्ट्रियरूपमा हेर्ने हो भने सहस्राब्दी विकास लक्ष्यले तोकेका लक्ष्यहरू र निर्धारण गरिएका क्षेत्रहरू र दिगो विकासले तोकेका लक्ष्य र निर्धारण गरेका क्षेत्रहरूको दीर्घकालीन परिवर्तन नै विकासको रूप हो जुन रूपान्तरण र अग्रगमनको खाका पनि हो । क्षेत्रीय सन्दर्भलाई हेर्दा अन्तर्राष्ट्रिय संगठनहरूले उठान गरेका विषयहरू, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनले प्राथमिकतामा राखेका विषयहरू, सुशासनमा आउने परिवर्तन पनि रूपान्तरण नै हो ।
नेपालको सन्दर्भमा भन्ने हो भने शिक्षा क्षेत्रमा आएको आमूल परिवर्तन, सामाजिक संस्कृतिक क्षेत्रमा आएको परिवर्तन, आर्थिक सुधार, राजनीतिक चेतना तथा प्रणालीमा आएको परिवर्तन, आधुनिकताको प्रभाव, भौतिक पूर्वाधारमा आएको सुधार, सञ्चार, प्रविधि तथा प्रणालीमा आएको परिवर्तन नै रूपान्तरण हो जसले समग्र विकासको मार्ग चित्रण गर्न सहयोग प-याएको छ । विभिन्न परम्परागत कुसंस्कार तथा प्रथाहरूको अन्त्य, पुँजीवादको विस्तार औद्योगिक क्षेत्रको विस्तार, औसत आयु तथा जीवनस्तरमा आएको सुधार र समग्र जीवनशैलीमा आएको सुधारले अग्रगमनको एउटा मार्ग पनि देखाएको छ । राज्यको संरचना, राजनीतिक दलको प्रभाव, संघीयताको सबल पक्ष, राजनीतिमा युवाहरूको सहभागिता, जनताको जागरूकता र चासो, आर्थिक योजना तथा दीर्घकालीन योजनाहरूको तर्जुमा, महिलाको सहभागिता, समावेशिता र सरकारप्रतिको खबरदारी रूपान्तरणका विशेषता तथा सङ्केतहरू हुन् ।
परिवर्तन र परिवर्तनपछिको रूपान्तरण र विकासको कारणले नै अग्रगमनको पथ निर्माण हुने हो । संविधान तथा ऐन कानुनमा भएको सुधार, सामाजिक व्यवस्थामा आएको परिवर्तन, स्थानीय तहका भएको सुधार, सुशासनका लागि भएका पहलहरू, राजनीतिक चेतना र स्वतन्त्रता, बैंक तथा वित्तीय संस्थाको विस्तार, मानव सूचकमा आएको सुधारले मात्रै अग्रगमनलाई निर्धारण गर्न सक्दैन, यसमा विशेष पहल जरूरी हुन्छ ।
स्थानीय तहदेखि नै व्यवस्थापनमा आएको विचलन, समाजमा देखापर्ने द्वन्द्व, आर्थिक क्षेत्रका विभिन्न आयामहरू कृषि, उद्योग, व्यापार पर्यटन, गरिबी तथा रोजगारीमा आएको सुस्तता, राजनीतिक अस्थिरता र लुछाचुँडीको कारण योजना, आयोजना र परियोजनाहरूमा आउने अवरोध, पूर्वाधारको पर्याप्त विकास नहुन, राजनीतिक दलहरूबीच, ध्रुवीकरण बढ्दै जानु, आधुरा योजनाका कामहरू समयमा पूरा गर्न नसक्नु र सामाजिक अपराधहरू बढ्दै जानेजस्ता कारणहरूले प्रभावकारी रूपान्तरण हुन नसकेपछि विकासको मार्गमा अस्थिरता सिर्जना भई अग्रगमन समेत चुनौतीको भुमरीमा परेको छ । सूक्ष्म तहदेखि र परिवारका हरेक सदस्यहरू, समुदायका हरेक सदस्यहरू र समाजको सबै आयामहरू जस्तैः आर्थिक, राजनीतिक, सामाजिक, संस्कृतिक, धार्मिक, नैतिक, मनोवैज्ञानिक, वातावरणीय, शैक्षिक भौतिक तथा मानवीय पक्षहरूको सुधार र रूपान्तरण हुनु आवश्यक छ । नागरिकहरूको उच्चतम सहभागिता, आर्थिक समानता, पारदर्शीता, जवाफदेहिता, सहअस्तित्व, समावेशीता, अवसरको समान पहुँच, स्रोतसाधनको उच्चतम प्रयोग, आन्तरिक लोकतन्त्रको विकास र सामाजिक न्यायजस्ता पक्षहरूका सुधार गर्दै कानुनी राज्यको स्थापना भएमा, कानुनी शासनको आधारमा देश सञ्चालन भएमा, पछाडि परेका आदिवासी, जनजाति तथा समुदायलाई नीति निर्माणको तहमा उच्चतम सहभागिताको साथ पु-याउन सकेमा मात्र रूपान्तरणले सार्थकता पाउने र समाज तथा देश अग्रगमनको मार्गमा अगाडि बढ्न सहयोग पुग्नेछ । विगतमा घटेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय घटनाहरूबाट पाठ सिकेर आगामी दिनमा लोकतन्त्र र संघीयतालाई संस्थागत गर्दै, शुसासन, पारदर्शिता र जवाफदेहिताका साथ अगाडि बढ्न सकेमा मात्र देशमा रूपान्तरणसहितको विकास र अग्रगमनले निश्चित स्वरूप निर्धारण गर्नेछ ।
देशमा अहिले एक खालको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो भने हालै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन समेत सम्पन्न भई नेपाल कम्युनिस्ट पार्टी (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीैसहितका दलहरूको नयाँ समीकरण बनेपछि पुष्पकमल दाहालको नेतृत्वमा नेयाँ सरकार बन्ने भएको छ ।
धेरै दल मिलेर बन्ने सरकार खासै स्थिर हुँदैन तर सधैँ नकारात्मक बन्नु पनि हुँदैन । देशको अवस्था सुधार हुनको लागि उत्पादन चाहिन्छ । जब देश आत्मनिर्भर बन्छ तब देशमा रोजगारी सिर्जना हुन सक्दछ । जबसम्म देश आयातमा निर्भर रहन्छ तबसम्म देशमा परिवर्तन, रूपान्तरण र विकास सुस्त गतिमा रूपमा चलिरहन्छ । विकास आफैँमा मानवीय सन्तुष्टि पनि हो, जसमा मानिसहरूको सन्तुष्टिलाई विकाससँग तुलना गर्ने गरिन्छ । यस सन्दर्भमा विकासलाई अर्थसँग नजोडेर सन्तुष्टिलाई मात्र जोड दिने गरिए पनि त्यसले स्पष्ट परिभाषा भने दिन सक्दैन । विकासले सधैँ परिवर्तलाई इङ्गीत गर्ने मात्रै होइन, नागरिकको औसत आय, वयस्क साक्षरता, शिक्षामा पहुँच, औसत आयु, छनोटको स्वतन्त्रता समेतलाई समेट्ने भएकोले गर्दछ । त्यसैले बृहत् अर्थमा देशमा हुने परिवर्तन र रूपान्तरण नै विकासको रूप हो जुन आवश्यक पनि छ । सकरात्मक परिवर्तन र सुधार नै अग्रगमनको एक हिस्सा भएको कारण देश विकासमा वृद्धि, परिवर्तन, विकास र अग्रगमन एक समग्र संरचनाका अङ्गहरू हुन् जसलाई राजनीतिसँग मात्रै तुलना गरेर हेर्न मिल्दैन ।
नेपाल राष्ट्र बैंकद्धारा प्रकाशित आर्थिक वर्ष २०७९/२०८० को चार महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्त मूल्य सूचकांकमा आधरित मुद्रास्फीति ८ दशमलव ०८ प्रतिशत रहेको छ भने आयात १९ दशमलव १ प्रतिशतले, निर्यात ३३ दशमलव ३ प्रतिशतले र कुल व्यापारघाटा १५ दशमलव ९ प्रतिशतले घटेको छ । विप्रेवषण आप्रवाह नेपाली रूपैयाँमा २० दशमलव ४ प्रतिशतले र अमेरिकी डलरमा १० दशमलव ८ प्रतिशतले बढेको छ । शोधानान्तर स्थिति २० अर्ब तीन करोड रुपैयाँले बचतमा रहेको छ भने कुल विनिमय सञ्चिति १२ सय ४६ अर्ब २७ करोड र अमेरिकी डलरमा नौ खर्ब ६३ करोड रहेको देखिएको छ । संघीय सरकारको खर्च तीन सय ५१ अर्ब र राजस्व परिचालन दुई सय ६८ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।
तथ्यांकअनुसार विस्तृत मुद्राप्रदाय १ दशमलव शून्य प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६ दशमलव ४ प्रतिशतले बढेको छ । त्यसैगरी प्रतिवेदनलाई हेर्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन शून्य दशमलव ९ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १ दशमलव ५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८ दशमलव ६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५ दशमलव ४ प्रतिशत पुगेको छ । यसरी हेर्दा के देखिन्छ भने देशको आर्थिक अवस्था धेरै नाजुक छ यस्तो अवस्थामा देशका समग्र पक्षको रूपान्तरण र परिवर्तन साथै अग्रगमनमा फड्को मार्नु जरूरी देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया