Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजिल्लामा चल्ला उत्पादनमा पहिलो पोल्ट्री व्यवसाय

जिल्लामा चल्ला उत्पादनमा पहिलो पोल्ट्री व्यवसाय


काठमाडौँ । नेपालमा सर्वप्रथम पहिलो राष्ट्रिय पोल्ट्री दिवस विसं २०७० पुस १७ गते अर्थात् अंग्रेजी वर्षको पहिलो दिन जनवरी १ मा पहिलो पटक मनाइएको थियो । यसवर्ष पनि १०औं पोल्ट्री दिवस सप्ताहव्यापीरूपमा मनाइँदै छ । नेपालको ७७ जिल्लाहरूमध्ये काभ्रेपलाञ्चोक जिल्लामा वार्षिक चार लाख ८० हजार कुखुरा उत्पादन हुन्छ । सोही कुखुराहरूबाट २८ हजार मेट्रिक टन मासु र सात करोड ७० लाख गोटा अण्डा उत्पादन भएको छ । यसरी विसं २०४० सालमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, नाला हुँदै नेपालकै दोस्रो जिल्लाका रूपमा परिचित पोल्ट्री व्यवसाय यतिखेर जोखिममा परेको छ । यसरी विसं २०४० सालबाट सुरु भएको काभ्रेपलाञ्चोक जिल्लाको पोल्ट्री व्यवसायमा करिब १२ अर्ब लगानी भएको छ । जुन पोल्ट्री व्यवसाय लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसक्दा व्यवसायीहरू जोखिममा परेको सरोकारवालाहरूले गुनासो गरेका छन् । यो ३९ वर्ष पुरानो पोल्ट्री व्यवसायका संस्थापक एवं नेपालमा पहिलो पटक चल्ला उत्पादन सुरु गरेको थियो ।

पछिल्लो तथ्यांकअनुसार तीन लाख चल्ला दैनिक उत्पादन हुनेगरेको सम्बन्धित क्षेत्रले जानकारी दिएको छ । यसरी काभ्रेपलाञ्चोक जिल्ला कुखुराको मासु उत्पादनमा दोस्रो, अण्डा उत्पादनमा तेस्रो र चल्ला उत्पादनमा दोस्रो जिल्लाका रूपमा स्थापित भएको छ । यस जिल्लाको सरकारी कागजातमा दर्ता भएका १३ वटा ह्याचरी, तीन सय ५० वटा ब्रोइलर फार्म, दुईवटा ग्रान्ड प्यारेन्ट उत्पादन गर्ने फार्म र ११ वटा दाना उद्योग सञ्चालनमा छन् । जसमा १७ हजारभन्दा धेरै रोजगारीमा संलग्न भएका छन् । यसमा करिब १२ अर्ब लगानी गरिएको छ । त्यसबेला नेपालमा चल्ला उत्पादन सुरु नभएको भए अहिलेसम्म भारतको भर पर्नु पर्दथ्यो । यो नेपाल संस्थाले २०१३ बाट नेपालमा पहिलो पटक व्यवसायी चल्ला उत्पादन सुरु गरेको थियो । मूलतः नेपालमा आर्थिक समृद्धिका लागि पोल्ट्री व्यवसायीहरूले ४ प्रतिशत योगदान पु¥याएका छन् ।

विश्वमा एक सय १२औँ स्थानमा कुखुराको मासु उत्पादन गर्ने देशका रूपमा नेपाललाई चिनिन्छ भने अण्डा उत्पादनमा ९१औँ स्थानमा पर्छ । यस व्यवसायमा ६० अर्बभन्दा धेरै लगानी भएको यो व्यवसाय समय समयमा विभिन्न कारण संकटमा पर्दै आएको छ । यसरी विश्वको तथ्यांकलाई अध्ययन गर्ने हो भने कुखुराको मासु उत्पादनमा सन् २०१७, २०१८, २०१९, २०२०, २०२१, २०२२ मा क्रमशः ९ दशमलव ३६, ९ दशमलव २६, ९ दशमलव ७३, ९ दशमलव ९२, १० दशमलव शून्य ५, १० दशमलव शून्य नौ करोड टन उत्पादन भइरहेको छ । फलतः संसारभरिको पोल्टि व्यवसाय अवलोकन गर्ने हो भने कुखुराको मासु उत्पादन बढेसँगै खपत पनि बढ्दो रूपमा भइरहेको छ । त्यस्तै गरी हाम्रो देशको कुरा गर्ने हो भने ब्रोइलर कुखुराको मासु उत्पादन बढ्दो रूपमा रहेको छ । यसको साथसाथै विगतका वर्षहरूमा तीन लाख ५७ हजार टन मासु उत्पादन भएकोमा सन् २०२० मा पाँच लाख ५२ हजार टन मासु उत्पादन भएको सम्बन्धित क्षेत्रको तथ्यांकले देखाएको छ । अतः देशमा करिब सात लाख केजी कुखुराको मासु दैनिक उत्पादन हुँदै आएकोमा यसको लगभग आधा भाग काठमाडौं उपत्यकामा नै खपत हुनेगरेको अनुमान गरिएको छ । यसर्थ सन् १९८० मा राष्ट्रको कुल मासु खपतको पाँच प्रतिशत हिस्सा ओगटेको पोल्ट्री क्षेत्रले सन् २०२० मा आएर ४६ प्रतिशत कुखुरा, ३३ प्रतिशत राँगाभैँसी, बाख्रा १७ प्रतिशत र बंगुर चार प्रतिशत रहेको छ । यसरी यी सबै प्रकारका मासु उत्पादनलाई हिसावकिताव गर्ने हो भने मासु खपत १८ किलो प्रतिव्यक्ति प्रतिवर्ष रहेको अनुमान गरिएको छ ।

राष्ट्रमा करिब तीन सय ४० ह्याचरीहरू रहेका छन् भने सयभन्दा बढी दाना उद्योगले दाना उत्पादन गर्दै आइरहेका छन् । यसरी मासु खपत बढेसँगै दानाका लागि कच्चापदार्थ जस्तैः मकै, भटमास र अन्य सामग्रीहरूको पनि आयात बढेको र पछिल्लो वर्षमा करिब दुई हजार तीन सय करोडबराबरको यिनै सामग्रीको आयात भएको पाइन्छ । फलतः सन् २०२१ को तथ्यांकअनुसार देशमा एक अर्ब ६१ करोड अण्डा वार्षिक उत्पादन भइरहेको छ भने ६१ वटा अण्डा प्रतिव्यक्तिले खपत गरिरहेका छन् । विश्वको तथ्यांकअनुसार वार्षिक एक सय ६१ वटा अण्डा प्रतिव्यक्तिको रूपमा खपत भएको पाइएको छ । मासुको जस्तै वार्षिक रूपमा विश्वमै अण्डा उत्पादनको संख्या बढ्दै छ भने अर्कोतिर खपत पनि बढ्दो रूपमा पाइएको छ । जुन पन्छीजन्यबाट उत्पादित प्रोटिनको उप्कृष्ट स्रोत अण्डा वातावरण दिगो रूपमा रहने एक मात्र पोषणमा पर्दछ । यसले हरेक परिवारमा सस्तो प्रोटिन र अन्य पोषण तत्वहरू पु-याउन मद्दत गर्दछ जसले मानिसको स्वास्थ्यमा अनुकूल प्रभाव पार्दछ ।

यसरी प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशले राष्ट्रको कुल उत्पादनको मासुमा २२ र र अण्डामा ६० प्रतिशत योगदान पु¥याइरहेको तथ्यांक छ । यसमा पनि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विसं २०७८ को नयाँ तथ्यांकअनुसार कुखुरा सात करोड ३४ लाख १८ हजार ७७ ओटा, हाँस चार लाख २७ हजार दुई सय २६ ओटा, फुल पार्ने कुखुरा एक करोड १३ लाख ७४ हजार ११ र फुल पार्ने हाँस दुई लाख २० हजार पाँच सय ३२ रहेको तथ्यांक छ ।

समग्रमा भन्नुपर्दा हाम्रो देशमा मुख्य गरी हाल पोल्ट्रीसम्बन्धी पन्छीपालन नीति २०६८, दाना पदार्थ ऐन २०३३, दाना पदार्थ नियमावली २०४१, र बर्ड फ्लु रोग नियन्त्रण आदेश २०६४ र नियमावली ०७८ जारी भएर लागू भइरहेको छ । यसलाई अर्कोतिर हेर्ने हो भने पोल्ट्री क्षेत्रमा मात्रै सुधार गर्ने हो भने सरकारले यससम्बन्धी अल्झिएका कानुन ऐन नीति कार्यविधिहरू सहज बनाउनुपर्ने देखिन्छ । जस्तो कि नेपालमै उत्पादन भएका मासु अण्डाले बजार नपाउनु र भारतबाट मासु तथा अण्डा आयात गर्ने गरिरहेको यो कस्तो वर्तमान परिपाटी हो ? यसर्थ यस व्यवसायलाई उदार बनाउन स्थानीय सरकारदेखि जिल्ला प्रदेश र संघले पनि छुट्टै खाले एकीकृत कार्ययोजना तय गर्नु पनि आवश्यक छ । यसर्थ पोल्ट्री क्षेत्रको सुधारका लागि बाधा भएका नीति ऐनहरूलाई फुकाउँदै लैजानु पर्ने आजको आवश्यकता देखिएको छ । यद्यपी, जसमा ठूला लगानी र साना लगानीका व्यवसायहरूलाई तोकिने मापदण्डका बारेमा समेत बहस हुनु आवश्यक छ ।

देशको ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रहरूमा मासु खपत बढ्दोरूपमा छ भने कुखुरा उत्पादनलाई प्रत्यक्ष रूपमा असर गर्ने पालन पद्धतिमा जनचेतनाको अभाव तथा बजारमा खुला सिमानाका कारण भारतीय कुखुराको गैरकानुनी आयातले यो व्यवसाय बेलाबेलामा जोखिममा रहेको पाइन्छ । यसमा खासगरीकन अझै व्यवसाय गरिरहेका युवाहरूलाई बेलाबेला अनर्गल दुःख दिएर रोग फैलिएको हौवा फिजाएर अर्बाैँ घाटा पु-याइरहेको परिप्रेक्षमा सम्बन्धित निकायले बेलैमा चासो राखी त्यसतर्फ पनि सतर्कता अपनाउनु आवश्यक छ । यसमा पनि विशेष गरी स्वदेशमा उत्पादन र स्वदेशमै खपत गर्ने नीति लिए मात्रै पनि अर्बाैँ रकम विदेशिनबाट जोगिँदै युवा पलायन रोक्न यसले महत्वपूर्ण भूमिका खेल्नेछ । जबकी प्रत्येक दिन दुई हजारभन्दा बढी युवाहरू खाडी देश लगायत विश्वका अन्य देशहरूमा रोजगारीको लागि जाने काम जारी नै रहेको छ । यसका लागि आवश्यक पर्ने नयाँ कानुन कार्यविधि र स्थानीय सरकारसँगको समेत सहभागितामा त्रिपक्षीय सम्झौता गरिए अहिले भइरहेका व्यावसायिक किसान तथा व्यवसायीमा नैराश्यता र युवा पलायन रोक्न सक्नेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x