Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमौसम जाडोको, व्यवस्थापन कुखुराको

मौसम जाडोको, व्यवस्थापन कुखुराको


काठमाडौं । नेपालको अघिकांश जनसंख्या ग्रामीण भेगमा बसोबास गर्दछ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसमुदायको मुख्य आय आर्जनको स्रोत कृषि तथा पशुपालनमा आधारित हुने गर्छ । कृषि भूमिको सीमिताका कारण पशुपालन नै कृषिको सहयोगी व्यवसाय मान्न सकिन्छ हामीसँग हाल भएको जमीन त बढ्न सक्तैन तर हाम्रो जनसंख्या तथा बेरोजगारी भने दिनहुँ बढ्दो छ । यस्तो विषम परिस्थितिमा कृषिबाहेक अन्य वैकल्पिक, अतिरिक्त पेसा व्यवसाय ग्रामीण परिवेषको लागि पशुपालन नै यस्तो व्यवसाय हुन सक्छ जसमा आज पनि असीम सम्भावना देख्न सकिन्छ ।

पशुपालनमा पनि कुखुरापालन एउटा लाभकारी ब्यवसाय हुनुका साथै कम लागतमा गर्न सकिने तथा कम समयमा फाइदा दिने एकमात्र व्यवसाय मानिन्छ । यो व्यवसाय सञ्चालन गर्न धेरै ठाउँको पनि आवश्यकता पर्दैन । मुलुकको अर्थव्यवस्थामा कुखुरापालनको महत्वपूर्ण स्थान छ । यसप्रति मानिसको रुचि आदिकालदेखि नै रहँदै आएको छ, यो व्यवसायबाट साना तथा माध्यम वर्गको किसानलाई पुँजी चाँडै तथा नियमित प्राप्त हुने गर्दछ । कुखुराबाट प्राप्त उत्पादन जस्तैः फुल मानिसको शरीरलाई सुमाच्य प्रोटिन उपलब्ध गराउने एउटा प्रमुख स्रोत मानिन्छ ।

कुखुराको सुली मिश्रित सोत्तर मलको रूपमा खेतबारीमा प्रयोग गर्न सकिन्छ । करिब ४०–५० वटा कुखुराबाट प्राप्त हुने सुली मिसिएको सोत्तर एक एकड खेतीबारीलाई पुग्ने हुन्छ । यसको मलमा नाइट्रोजन, फोस्फोरस तथा पोटासको मात्रा अत्यधिक मात्रामा हुने गर्दछ । यो मल हरियो तरकारीको लागि धेरै लाभकारी तथा उब्जनी बढाउने मानिन्छ ।

हाम्रो आफ्नो परिवेसमा विगत २०–२५ देखि यो व्यवसायको थालनी ग्रामीण तथा सहर उन्मुख क्षेत्रमा सानो तहमा सुरु भएर आजको स्थितिमा एउटा सुसंगठित उद्योगको रूपमा विशिष्ट ठाउँ बनाएको छ ।

यसका विभिन्न हाँगाहरू जस्तैः चल्ला उत्पादन, पालनपोषण गर्ने सन्तुलित आहार, उपकरण तथा रोग निदान नियन्त्रणको धेरै विकास भएको छ । आज भन्न सकिन्छ यो व्यवसाय तथा यसका उत्पादनमा मुलुक आत्मनिर्भर भएको अवस्था छ । यस व्यवसायबाट धेरै नाफा लिन सही वैज्ञानिक जानकारी व्यवसायीमा हुनु नितान्त जरुरी हुनु आउँछ । अब जाडोको मौसम आउँदै छ यसबेला कुखुराको लागि केही कुराहरूमा विशेष ध्यान पु-याउनुपर्ने हुन्छ । यदि ठूला कुखुराले गर्र्मीको मौसमभन्दा जाडो तुलनात्मकरूपमा सजिलै खप्न सक्छन् ।

ठूला कुखुराको हकमा तिनलाई गर्मीबाट सुरक्षित राख्न केही सर्तकता अपनाउनुपर्ने हुन्छ । तर यदि यो व्यवसायबाट धेरै फाइदा लिन चाहने हो भने साना चल्ला ल्याउनभन्दा पहिले तथा खोरमा चल्ला हालिसकेपछिको बेलामा निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

साना चल्लालाई चिसो लाग्नबाट बचाउन, गौस, बु्रडर, बाँसको टोकरीको बु्रडर, बोराको बु्रडर, ग्यास, कोइला, दाउराको टुकडा, हिटरको तयारी साना चल्ला आउनुभन्दा पहिले नै गरिनु पर्दछ । पुसको महिनामा अत्यधिक जाडो चिसो हुने गर्दछ त्यसैले यो बेला कुखुराको खोरमा तापमान ९५ डिग्री फरेनहाइट हुनु आवश्यक हुन्छ सुरुको हप्तामा ।

त्यसपछि दोस्रो हप्ताबाट चौथो हप्ताहसम्म ५–५ डिग्री तापमान घटाउँदै ८० डिग्री फरेनहाइट पु-याउन पर्दछ । यसबेला साना चल्लालाई चिसो लागेमा रुघा खोकीजन्य स्वास प्रस्वाससम्बन्धी रोगले सताउन सक्छ यसैले एकदेखि दश दिनसम्मका चल्लालाई टेट्रासाइकलीन १ लिटर पानीमा १ ग्रामको दरले साथै भाइमेरालजस्ता औषधि एक सय कुखुरालाई १०–२० एमएल प्रतिपाँच लिटर पानीमा दिनु पर्दछ साथै इलेकट्रोलाइट तथा इमुनोकेयर साथै झोल टक्सीन वाइन्डर एसीडीफायर दिनु बुद्धिमानी हुन्छ । यतिबेला स्वासप्रश्वासको समस्या देखिएमा टाइलोसीन दि हाल्नु बुद्धिमानी न होला । खासगरी जाडोको बेला चल्लाको खोरमा दुई घन्टा बिहानको घाम पस्ने व्यवस्था अनिवार्य गरिनु पर्दछ । यसैले कुखुराको खार घर बनाउँदा यसको लम्बाई पूर्व–पश्चिम पारी बनाउनु पर्छ ।

शीतकालीन मौसममा कुखुराको खोरको व्यवस्थापन : ठन्डीको दिनमा कुखुराको खोर लाई न्यानो राख्न पहिलेबाट नै चनाखो हुनु आवश्यक हुन आउँछ । किनकि जब तापक्रम १० डिग्री सेन्टीग्रेडभन्दा कम हुन्छ त्यतिबेला घरको झ्यालको सिसामा ओस पर्न थाल्दछ । यसबाट बच्न बु्रडिन्गको राम्रो व्यवस्थापन त गर्नै पर्छ । साथै कुखुराको छानोमा पराल छवाली जुटका बोरा, माटोले छोपेर राख्नुपर्ने हुन्छ । साथै खोर वरिपरिको खुला झ्याललाई मोटो बोराले छोपेर राख्ने गर्नुपर्छ जसले गर्दा कुखुरा खोरमा चिसो सिरेटो हावा पस्न नपाओस् ।

रातिको बेला झ्यालको जालीलाई लगभग २ फिट तल्लो भाग पर्दा छोप्न पर्छ यसको लागि खाली दानाको बोरा प्रयोग गर्न सकिन्छ यसले गर्दा खोरभित्रको तापमान बाहिरको भन्दा बढी हुने गर्दछ । साथै कुखुरा खोरमा कुखुराको संख्या आवश्यकअनुसार होस घटीबढीचाहिँ नहोस् ।

जाडोको बेला हिटर तथा काठको चुलो आवश्यकताअनुसार खोरमा राख्नु पर्दछ । काठ वा कोइला भुसको चुलो प्रयोग गरिने हो भने यसको धुवाँ निखारनु पर्दछ साथै यसले कुखुरालाई डढाउन नपाओस् । यसप्रकारका दिइएको थोरै न्यानोले कुखुरा आरामले मात्र बस्दैनन् यसले कुखुरा खोरको भित्री वातावरण सुख्खा पनि बनाउन मद्दत गर्दछ ।

शीतकालीन मौसममा कुखुरा खोरको सरसफाइ : जाडोको मौसम सुरु हुनुअगावै कुखुराको खोरको पुरानो सोत्तर दानाका बोरा, पुराना दाना आहार, तथा पुराना बिग्रिएका पर्दा खोरबाट निकालेर डढाइदिनु पर्दछ । कुखुरा खोरवरिपरि वर्षाको जमेको भए निकास गराई सुख्खा बनाएर त्यस्तो ठाउँमा वील्चिङ्ग पाउडर वा धुलो चुन छर्कन उचित हुन्छ । कुखुराको खोरवरिपरि उम्रेको, घास, झारपात, झाडी बुट्यान उखेली नष्ट गर्नु पर्दछ । दाना भण्डारराा गर्ने गोदाम कोठा राम्रोसँग सफा गरी कपरसल्फेट मिसाएको चुन पानीले भुइँतल पर्खाल तथा छानाको तल्लो भाग पोत्नुपर्ने हुन्छ ।

शीतकालीन मौसममा दानापानी व्यवस्था : जाडोको मौसममा दानाको खपत बढ्ने गर्दछ । यदि दानाको खपत यो बेला बढ्ने भने यसको अर्थ यो बुझ्नुपर्छ कि कुनै रोगबाट कुखुरा ग्रस्त छन् । जाडोको बेला कुखुराको दानाको भाडामा दाना सधैँ नै हुनु पर्दछ । यस मौसममा पानी चिसो हुनेहुँदा कुखुराले पानी कम खाने गर्दछन् त्यसैले पानी सधैँ ताजा दिने गर्नु पर्दछ । साथै पानीमा गुल्कोजयुक्त इलेकट्रोलाइट तथा भिटामिन सी साथै स्ट्रेस रोकजस्ता औषधि दिनु उपयुक्त हुन्छ । यसप्रकारले जाडोको बेला माथि भनिएअनुसार पूर्व व्यवस्थापन गरिने हो भने कुखुरापालकले जाडोबाट कुखुराको उत्पादन क्षमतामा तथा स्वास्थ्यमा पु-याउने असर बेलैमा नियन्त्रणमा मात्र राख्ने छैनन्, बरु कुखुरापालनबाट अपेक्षा गरिएअनुसार आम्दानी पनि लिन सक्नेछन् । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x