धर्म, पाप, स्वर्ग र नर्क
काठमाडौं । संसारमा अनेकौँ थरीका धर्म र धार्मिक मतहरू छन् । ती धर्ममा निहित आस्था, विश्वास र मान्यताहरू पनि आ–आफ्नै प्रकारका छन् । तर, सैद्धान्तिक भिन्नता वा मतमतान्तर जे–जस्तो भए पनि सबै धर्मको निचोड अथवा मूल उद्देश्य प्रायः एउटै रहेको पाइन्छ । त्यो हो मानव मात्रको कल्याण गरी उनीहरूलाई सत्कर्म वा सत्मार्गमा डोहो-याउनु । जुनसुकै धर्म चाहे त्यो हिन्दू्, बौद्ध्, हिब्रो, मुस्लिम अथवा इसाई नै किन नहोस् । सबै प्रकारका धर्महरूमा मनुष्य जीवनको उद्देश्य एवं कर्तव्यबारे नै स्पष्टरूपमा उल्लेख गरिएको पाइन्छ । तर धर्मलाई आ–आफ्नो स्वार्थअनुकूल व्याख्या गर्ने अथवा आफ्नो धर्म मात्र ठूलो ठान्ने एकप्रकारको अहम् प्रवृत्तिले गर्दा धर्मको नाममा बेलाबखत संसारमा ठूला–ठूला युद्धहरू भएका उदाहरण पनि छन् । जुन मानव समुदायको लागि अत्यन्त दुःखदायी कुरा हो ।
आध्यात्मिक गुरु श्री सत्य साइबाबाले पनि भन्नुभएको छ, ‘सबै धर्मप्रति सम्मान गर र सबै प्राणीमा ईश्वरीय तत्व छ भन्ने हेक्का राख । निःस्वार्थ भाव राखी मन, बचन र कर्मले निरन्तर मानवीय सेवामा लागिरहनु । योभन्दा ठूलो धर्म अरु कुनै छैन । तर अरुलाई अनाहकमा दुःख–कष्ट दिनु, अरुमाथि दुर्वचन बोल्नु र दुव्र्यबहार गर्नु अनि अरुको कुभलो चिताउनु योजस्तो ठूलो पाप पनि अरु कुनै छैन ।’ त्यसोे त हाम्रो मनुस्मृतिमा पनि धर्मको १० वटा लक्षणहरूबारे स्पष्टरूपमा उल्लेख गरिएको पाइन्छ । जस्तै(धृति, क्षमा, दमोस्तेयं शौचमिन्द्रियनिग्रहः धीर्विद्या सत्यमक्रोधो दशकम् धर्म लक्षणम् । अर्थात् धैर्य, विद्या, सहनशीलता, क्षमा, इन्द्रिय निग्रह, अस्तेय वा चोरी नगर्नु, क्रोध नगर्नु, पवित्र रहनु, मनलाई दमन गर्नु वा मनलाई वशमा राख्नु, अहस्तक्षेप वा अरुको काममा हस्तक्षेप नगर्नु । यी धर्मका १० आधारभूत लक्षणहरू हुन् ।
यसरी धर्म र पापको सन्दर्भमा कुरा गर्दा स्वर्ग र नर्कको प्रसङ्ग पनि जोडिएर आउने गरेको हामी पाउँछौँ । जस्तो कि हामी भन्ने गर्छौँ– धर्म ग-यो भने स्वर्गमा पुगिन्छ र पाप ग-यो भने नर्कमा पुगिन्छ । तर हामीलाई थाहा छैन स्वर्ग कस्तो हुन्छ अनि नर्क कस्तो हुन्छ । कहिलेकाहीँ हामी विभिन्न आध्यात्मिक चित्र र मठ–मन्दिरहरूमा देख्ने गर्छौँं मृत्युपछि धर्म गर्ने व्यक्ति देवलोकमा पुगेर आनन्दले देवताहरूको समीपमा बसिरहेको । तर पाप गर्ने व्यक्तिलाई चाहिँ ठूलठूलो जुँगा भएका यमराजको दूत भनिनेहरूले कराइको तेलमा हालेर भकभकी उमालिरहेको । यो देख्दा हामीलाई जिज्ञासा पनि लाग्छ के साँच्चै हाम्रो मृत्युपछि यस्तै हुने होला त ? अथवा हामीलाई पापकर्मबाट सजग गराउन गरिएको यो एउटा काल्पनिक चित्र मात्रै होला कि ? नमरी स्वर्ग देखिँदैन भनिन्छ । हामीलाई थाहा छैन मरेपछि स्वर्गमा पुगिन्छ कि नर्कमा पुगिन्छ । तर यदि हामीले मानवजीवनलाई यथार्थको धरातलबाट नियालेर हेर्ने हो भने स्वर्ग र नर्क भन्ने कुरा कुनै अन्य लोक वा परलोकमा होइन यही लोकमा छ ।
यसै सन्दर्भमा यहाँ एउटा छोटो कथा प्रसङ्ग उल्लेख गरौँ । एक पटक एउटा सिपाही घुम्दै फिर्दै एक जना महात्मा बस्ने आश्रममा पुगेछन् । महात्मा नियमितजसो आफ्ना भक्तजनहरूलाई आध्यात्मिक प्रवचन श्रवण गराएर उनीहरूको जिज्ञासा मेटाउने गर्दा रहेछन् । यो कुरा थाहा पाएपछि सिपाहीले पनि ती महात्मासँंग प्रश्न गरेछन्– ‘स्वामी, तपाईँ यहाँका प्रतिष्ठित आध्यात्मिक गुरु मानिनु हुन्छ । धेरै जिज्ञासुहरू दूरदराजबाट समेत आफ्नो धार्मिक आध्यात्मिक जिज्ञासा मेटाउन तपाईँकोमा आउने गरेका छन् । कृपा गरेर मलाई यो बताइदिनुहोस् कि संसारमा स्वर्ग र नर्क भन्ने कुरा हुन्छ कि हुँदैन ? यदि हुन्छ भने त्यो कस्तो हुन्छ र कहाँ हुन्छ ?’
सिपाहीको यो प्रश्न सुनेपछि महात्माले उनलाई प्रतिप्रश्न गर्नुभएछ– ‘मलाई यो प्रश्न गर्ने तिमीचाहिँ को हौ नि मित्र ? पहिला तिमी आफ्नो परिचय दिन्छौ कि ?’ त्यसपछि सिपाहीले बढो घमण्डका साथ महात्मालाई जवाफ दिएछ– ‘म त यही नजिकै सहरको प्रतिष्ठित राजनेताहरूको अंगरक्षक हुँ । ठूलठूला राजनेताहरूको सुरक्षा गर्नु नै मेरो प्रमुख कार्य हो ।’ सिपाहीको यो उत्तर सुनेपछि महात्माले भन्नुभएछ– ‘मित्र ! तिमी आफूलाई अंगरक्षक हुँ भन्छौ, ठूलठूला राजनेताहरूको सुरक्षा गर्छु पनि भन्छौ । तर मलाई त लाग्छ तिमी आफ्नै रक्षा गर्न पनि सक्षम देखिँदैनौ । फेरि तिमी अरुको रक्षा गर्छौ कसरी ?’ महात्माको यो अनपेक्षित जवाफ सुनेपछि सिपाही रिसले क्रुद्ध भएर गर्जिन थालेछ । पाखण्डी पण्डित, तैँले मेरो क्षमतामाथि प्रश्न ठड्याउने ? मेरो अपमान गर्ने ? अब म तँलाई बाँकी राख्दिनँ भन्दै कम्मरको म्यानबाट फुत्त तरबार निकालेर महात्मामाथि जाइलाग्न पुगेपछि महात्माले सिपाहीको आवेश शान्त पार्दै भन्नुभएछ– ‘तिमीले आफ्नो प्रश्नको आधा उत्तर त आफैँ दियौ नि, मित्र !’ कसरी ? भन्ने सिपाहीको प्रश्नको जवाफमा महात्माले भन्नुभएछ– ‘तिमीले जुन किसिमबाट आफ्नो मनभित्र रहेको क्रोध र अहम् प्रकट ग¥यौ नि हो, त्यही हो नर्क भनेको । किनकि जब तिमी आफ्नो क्रोध र अहम्लाई प्रकट गर्छौ, तब तिमीले मानवीय ज्ञान र विवेक गुमाउँछौ र त्यतिखेर तिम्रो मस्तिष्कले पनि सही र सन्तुलित काम गर्न सक्तैन । अनि यसबाट तिमीले जुन गलत परिणाम भोग्नु पर्छ, नि हो त्यही हो नर्क भनेको ।’
महात्माको यस्तो जवाफ सुनेपछि सिपाहीले पनि एकप्रकारको ग्लानि महसुस गर्दै भनेछ– ‘अवश्य पनि मैले एक्कासि यस्तो क्रुद्ध भएर आफ्नो अहम् देखाउनु हुँदैन थियो ।’ त्यसपछि महात्माले फेरि भन्नुभएछ– ‘अब तिमीले आफ्नो प्रश्नको बाँकी आधा जवाफ पनि दिएका छौ मित्र !’ सिपाहीको जिज्ञासा शान्त पार्दै महात्माले भन्नुभएछ– ‘तिमीले आफ्नो गल्ती महसुस गरेर जुन नम्रता देखायौ नि ! हो, त्यही हो स्वर्ग भनेको । किनकि जब मानिसले आफ्नो भुल वा गल्तीको महसुस गरेर नम्रता प्रकट गर्दछ, तब उसले सही मार्ग पहिल्याउँछ र सही मार्ग पहिल्याउनु अथवा सही गन्तव्यमा हिँड्नु भनेको स्वर्गको बाटोतर्फ लाग्नु होइन र मित्र ?’ महात्माको यस्तो जवाफ सुनेपछि एकप्रकारले सन्तोष व्यक्त गर्दै महात्मालाई प्रणाम गरेर त्यो सिपाही आफ्नो गन्तव्यतिर खुरुखुरु लागेछ ।
निश्चय पनि यो एउटा कथा प्रसङ्ग हो र यसबाट हामी के शिक्षा लिन सक्छौँ भने स्वर्ग र नर्क भन्ने कुरा हामीले खोजी गर्ने कुरा होइन । यो खोजी गर्दैमा भेटिने कुरा पनि होइन । यो त हामी आफैँले निर्माण गर्ने कुरा हो । यदि हामीले आफ्नो झुटो अहम् र क्रोधलाई त्यागेर मानवीय कर्तव्यको भावनाले सत्कर्म र सत्मार्गतर्फ लाग्यौँ भने स्वर्ग यहीँ छ । तर यदि क्रोध र घमण्डले उन्मत्त भई हामीले आफ्नो मानवीय कर्तव्य भुल्यौँ र गलत मार्गतर्फ अग्रसर भयौँ भने अवश्यमेव नर्क पनि यहीँ छ । त्यसैले सबै धर्मको मूल मर्म र उद्देश्य एउटै हो र सबै प्राणीमा ईश्वरीय तत्व निहित रहेको हुन्छ भन्ने सत्य साइबाबाको दिव्य उपदेशलाई मनन गरेर यदि हामीले आफ्नो जीवनलाई सत्कर्म र सत्मार्गतर्फ लगाउन सक्यौँ भने अवश्य पनि हामी आफ्नो मानव जीवनलाई सार्थक तुल्याउन सक्नेछौँ र सँगसँगै आफनो परिवार, समाज अनि सिंगो राष्ट्रलाई एउटा सकारात्मक दिशातर्फ लाग्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछौँ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया