कोरोनाले विश्व अर्थतन्त्र सकसमा
नन्दलाल खरेल
वैज्ञानिकहरूले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट जनस्वास्थ्यमा मानव क्षतिमा मात्र होइन विश्व अर्थतन्त्रको विस्तारमा समेत ब्रेक लगाउने अर्थात् कमजोर बनाउने देखिएको छ । गत डिसेम्बरमा चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या यो लेख तयार पार्दासम्म अर्थात् शनिबारसम्म एक लाख दुई हजार दुई सय २४ पुगेको छ । विश्वका करिब आधा देश अर्थात् ९७ देशमा यसको संक्रमण फैलिएको छ । कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार चार सय ९५ पुगेको छ । जसमध्ये चीनमा मात्रै तीन हजार ७० को मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार शनिबारसम्ममा चीनको संक्रमित संख्या ८० हजार छ सय ५१ पुगेको छ । त्यस्तै ५५ हजार चार सय चार जना निको भएका छन् भने पाँच हजार चार सय ८९ जना गम्भीर अवस्थामा बिरामी छन् ।
कोरोना भाइरसको कारण वस्तु निर्यातको जगमा आक्रमकरूपमा फैलिएको चिनियाँ अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ । यो महामारीको समाधान नभए विश्वभर सवारीसाधन उत्पादन बन्द हुन सक्छ । विश्वका धेरै देशहरू तथा कम्पनीहरूले पछिल्लो केही दशक यता वस्तु उत्पादनमा लागत घटाउन चिनियाँ वस्तु उपभोग गर्ने र चीनमै उद्योग राखेर वस्तु उत्पादन गर्ने क्रमले व्यापकता पाएको छ । यसले विश्वका धेरै देश तथा कम्पनीहरूलाई असर पर्ने निश्चित देखिएको छ ।
सवारीसाधन निर्माणमा चीनबाट कच्चा पदार्थ आपूर्तिको विकल्प उत्पादकहरूसँग छैन । ९० प्रतिशतभन्दा बढी पार्टस प्राप्त गर्न नसकेपछि जापानको कार निर्माता कम्पनी निसानले जापानको फ्याक्ट्री अल्पकालका लागि बन्द गरेको छ । त्यस्तै गरेर दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाइले समेत चिनियाँ पार्टस अभावमा गत एक महिनादेखि फ्याक्ट्री बन्द गरेको छ । विश्वका धेरैजसो कार निर्माता कम्पनीमा यस्तै समस्याका कारण उत्पादन प्रभावित भएको छ । धेरैजसो कर्मचारीहरूलाई समेत बिदा गरिएको पाइएको छ । जसले गर्दा धेरै मानिसहरू बेरोजगारी बन्नुपर्ने स्थिति देखा परेको छ ।
विश्वमा अर्थतन्त्रमा दोस्रो हिस्सा चीनले बोकेको छ । आज चीन विश्वमा आपूर्ति प्रणालीको अग्रभागमा छ । चीनबाट वस्तु आपूर्ति ठप्प भएपछि विश्वबजारमा गार्मेनट्स, औषधिदेखि ग्याजेटसम्मको पार्टस आपूर्ति श्रृंखला प्रभावित भएको छ । झण्डै एक अर्ब ४० करोड जनसंख्या भएको चीनको आर्थिक उदयसँग विश्वका धेरै भ्रमण गर्नेमा पनि चिनियाँ नै छन् । सन् २०१८ मा १६ करोड चिनियाँले बाह्य मुलुक भ्रमण गरेका थिए भने २०१९ मा त्यो संख्या दुई करोडले बढेर १८ करोड पुगेको थियो । पर्यटकमा केन्द्रित विश्वका धेरै देशले चिनियाँ पर्यटक तान्ने ध्याउन्नमा लागेका देखिन्थे । तर, नोवेला कोरोना भाइरसको महामारी बढेसँगै चिनियाँ पर्यटकको संख्या उल्लेख्य कमी आएको छ ।
कोरोना भाइरसको कारण गाडी उत्पादनमा मात्रै होइन विश्वव्यापी विमानसेवा कम्पनीलाई यो वर्ष २९ अर्ब डलरको घाटा हुनेभएको छ । यसमध्ये चिनियाँ विमान कम्पनीलाई सबैभन्दा बढी घाटा हुने देखिएको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)का अनुसार कोरोना भाइरसका कारण फैलिएको संक्रमणले यो वर्ष एसीयाली विमान कम्पनीको मागमा १३ प्रतिशतले कमी आउन सक्छ । आईएटीएका अनुसार यो संकटका कारण विश्वव्यापी हवाई सवारी यो वर्ष चार दशमलव सात प्रतिशतसम्म कम हुन सक्छ ।
१० खर्बबराबरको दोस्रो ठूलो कम्पनी माइक्रोसफ्ट कम्पनीमा पनि कोरोना भाइरसको कारणले आम्दानी प्रभावित हुने देखिएको छ । कम्पनीले गरेको आम्दानीसम्बन्धी पूर्वानुमान यो त्रैमासमा पुरा हुन नसक्ने देखिएको हो । कम्पनीले तेस्रो त्रैमासिकमा बाँकी अन्य विमानको आम्दानीमा कुनै प्रभाव नपर्ने विश्वास दिलाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा विन्डोजिको माग बलियो भए पनि आपूर्ति श्रृंखला अपेक्षा गरेको अनुसार सुस्त रहेको छ । सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले तेस्रो त्रैमासिकमा आम्दानी १० दशमलव ७५ अर्ब अमेरिकी डलरदेखि ११ दशमलव १५ अर्ब अमेरिकी डलर जनाएको थियो । विन्डोज र सरफेस कम्युटरमा अपेक्षा गरेभन्दा बढी नकारात्मक प्रभाव परेको पाइएको विज्ञप्तिमा जनाएको छ ।
एसियाली महादेशमा समृद्ध, समावेसी उत्थानशील र दिगो विकासलाई प्राथमितकता दिँदै आएको बहुराष्ट्रिय दातृ निकाय एसियाली विकास बैंक (एडीवी)ले कोमिड–१९ अर्थात् कोरोना भाइरसको प्रकोपले विकाशील एसियाली अर्थतन्त्रलाई उल्लेख्यरूपमा प्रभावित पार्ने बताएको छ । आन्तरिक मागमा कमी, पर्यटन, व्यावसायिक ट्राभल, व्यापार तथा उत्पादन, आपूर्ति प्रणालीमा अवरोध र स्वास्थ्यमा प्रभावले विश्व अर्थतन्त्रमा तीन खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने आँकलन गरिएको छ । यस्तो क्षति विश्व अर्थतन्त्रको आकारको शून्य दशमलव चार प्रतिशत हो । जनवरीयता विश्वव्यापी क्षति एक सय ५६ अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । यो विश्व अर्थतन्त्रको शून्य दशमलव दुई प्रतिशत हो ।
चीनले मात्रै एक सय तीन अर्ब अमेरिकी डलर अर्थात् चीनको अर्थतन्त्रको शून्य दशमलव आठ प्रतिशतको क्षति बेहोरेको अनुमान गरिएको छ । बाँकी एसियाली मुलुकमा २२ अर्ब अमेरिकी डलरको क्षति पुगेको अनुमान गरिएको छ । एसियाली विकास बंैकका प्रमुख अर्थशास्त्री यासुयुकी सावदाले नोभेल कोरोना भाइरसको प्रकोपले विश्व अर्थतन्त्रमा पुग्ने क्षति अझै अनिश्चित रहेको बताए । धेरै क्षेत्रमा एकसाथ असर पारेकाले यकिन क्षतिको विवरण अझै स्पष्टरूपमा आउन सकेको छैन । एडीबीले सम्बन्धित देशका सरकार मानवीय र आर्थिक क्षति न्यूनीकरणका लागि निर्णायक कदमका लागि तयार रहनुपर्ने बताएको छ ।
विश्वभर कोरोना भाइरसको कारणले कच्चा तेल र सेयरबजारमा समेत प्रभाव निरन्तर पारिएको छ । कच्चा तेलको मूल्यमा निरन्तर कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ दोहोरो अंकले अर्थात् १० दशमलव एक प्रतिशतले घटेको छ । प्रमुख तेल उत्पादक राष्ट्रहरूले उत्पादन कटौती प्रस्तावमा सहमति जुटाउन नसकेपछि शुक्रबार तेलको भाउ घटेको हो । विद्यमान तेल कटौतीलाई निरन्तरा दिनेबारे पनि सहमति हुन नसकेपछि भने तेल बजार थप दबाबमा आएको विश्लेषण गरिएको छ ।
कोरोना भाइरसको प्रकोपका कारण यातायात, म्यनुफ्याक्चरिङ र विश्वको आपूर्ति शृंखला सुस्ताएसँगै अहिले विश्वमा तेलको माग घटेको छ । फलतः हालैका दिनमा कच्चा तेलको भाउ पनि ओरालो लागेको छ । त्यति मात्र होइन विश्वका ठूला सेयर बजारमा निरन्तर गिरावट आएको छ । अमेरिकी सेयर बजारमा खस्किनुका साथै विश्वभरका अन्य सेयर बजारमा पनि उल्लेख्य प्रभाव परेको छ । तर, विश्वभरका ठूला लगानीकर्ताहरूले अन्य क्षेत्रहरू सुरक्षित नदेखेपछि सबैले सुनमा लगानी गरेको कारण यो क्षेत्र भने अहिलेसम्मकै उच्च मूल्य वृद्धि भएको छ । जबकी सुनमा लगानी गर्नु भनेको अनुत्पादक क्षेत्रमा लगानी बढाउनु हो । यो विश्व अर्थतन्त्रको लागि घातक हो ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्व अर्थतन्त्रको वृद्धिदर शून्य दशमलव प्रतिशत बिन्दुले खुम्चिने अन्तर्राष्ट्रिय मुद्राकोषले (आईएमएफ)ले जनाइसकेको छ । आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले कोरोना भाइरकै कारण विश्व अर्थतन्त्रको वृद्धिदर दुई दशमलव नौ प्रतिशतबाट दुई दशमलव चार प्रतिशतमा खुम्चिने बताइसकेकी छिन् ।
कोरोना भाइरसको प्रभाव खराब हुँदा नेपालको कुल गार्हस्थ्यय उत्पादनको शून्य दशमलव १३ प्रतिशत अर्थात् तीन करोड ३० लाख अमेरिकी डलर क्षति हुने विश्लेषण एडीबीले गरेको हो । नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित हुने छ । पर्यटन क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनको एक दशमलव ७५ प्रतिशत क्षति हुने आँकलन गरिएको छ । कोरोनाको प्रभाव मध्यमस्तरमा मात्रै भयो भने कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव शून्य आठ प्रतिशत क्षति हुने अनुमान पनि एडीबीको छ ।
प्रकोप अनियन्त्रित भयो भने अर्थतन्त्रमा ठूलो क्षति पुग्ने विश्लेषण छ । यो सम्भावना मात्रै भएकाले एसियाली मुलुकहरूलाई सचेत बनाउन मात्रै यस्तो आँकलन गरेको एडीबीको भनाइ छ । त्यस्तो अवस्थामा भने कुल गार्हस्थ्य उत्पादनको एक दशमलव ११ प्रतिशत अर्थात् ३७ अर्ब रूपैयाँ क्षति हुने आँकलन पनि एडिबीले गरेको छ । पर्यटन, ट्रान्सपोर्ट र कृषि तथा खनिज क्षेत्र बढी प्रभावित हुने उसको आकलन छ । त्यस्तो अवस्थामा होटेल, रेस्टुरेन्ट क्षेत्रमा जीडीपीको दुई दशमलव ५४ प्रतिशत, ट्रान्सपोर्ट क्षेत्र एक दशमलव ३३ प्रतिशत, कृषि तथा खनिज क्षेत्रमा एक दशमलव २२ प्रतिशत कमी हुने अनुमान एडीबीको छ ।
अन्त्यमा कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रभाव बढ्दो छ । आज चीनमा यो भाइरसले ठूलो समस्या पारेको छ । भोली चीनजस्तै समस्यामा अमेरिका पनि पर्न सक्छ । तसर्थ चीन र अमेरिकाले तत्काल केही वर्षअघिदेखिको व्यापार युद्धलाई सधैँको लागि रोकी यस महामारीको कसरी सामाधान गर्न सकिन्छ भनेर स्वास्थ्य छलफल गर्नु आवश्यक छ । आज चीनका धेरै कम्पनीहरू अमेरिकामा र अमेरिकाका धेरै कम्पनीहरू चीनमा छन् । तसर्थ बेलैमा यी दुवै देशका स्वास्थ्य विज्ञहरू तथा वैज्ञानिकहरूले यो सक्रमणको औषधि छिटो पत्ता लगाई यो भाइरसको निर्मुल गर्नु पर्दछ । आवश्यक परे अन्य देशहरूको पनि सहयोग लिनुपर्दछ । यी दुवै देशहरू अरु देशका लागि उदाहरण बन्न सक्नुपर्छ । तब मात्र विश्व अर्थतन्त्रका सबल बनेर जानेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया