Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकृषि उपजसँग जोडिएको हाम्रो संस्कृति र क्रयशक्तिको विकास

कृषि उपजसँग जोडिएको हाम्रो संस्कृति र क्रयशक्तिको विकास


काठमाडौं । हाम्रो देशमा कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान रहेको साथै ६० दशमलव ४ प्रतिशत जनसंख्या आबद्ध भएको कृषि क्षेत्र आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रकै मूल आधारशीलता हो । उच्च समावेशी आर्थिक वृद्धिमा योगदान पु-याउने क्षेत्र भएकोले कृषि वैज्ञानिक ढंगले सुधार तथा रूपान्तरण गर्दै विगतका प्रयासलाई सघन बनाई उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नु अति आवश्यक छ । नेपालको संविधानले खाद्यसम्बन्धी अधिकरलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको सन्दर्भमा विभिन्न कारणले उत्पन्न हुनसक्ने खाद्य तथा पोषण सङ्कटको अवस्थालाई मध्यनजर गर्दै प्रमुख खाद्यान्न फलफूल, तरकारी र माछामासु उत्पादनमा आत्मानिर्भरताको लागि कृषिमा नीतिगत, संरचनागत र संस्थागत सुधारको अति आवश्यक छ । देशलाई खाद्य सम्प्रभु तुल्याएर स्वाधीन अर्थतन्त्रको विकास गर्न कृषि क्षेत्रमा उल्लेख्य मात्रामा लगानी बढाउन पनि त्यत्तिकै आवश्यक छ ।

नेपालको संविधानका अधिकार सूची, कृषि क्षेत्रको समग्र विकासको लागि मार्गचित्रणको रूपमा रहेको कृषि विकास रणनीति र दिगो विकास लक्ष्यलाई मार्गदर्शनको रूपमा लिएको पाइन्छ । रणनीतिले कृषि तथा पशुपन्छीजन्य उत्पादनको व्यावसायीकरण, यान्त्रीकरण र विविधीकरण गरी यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउन जोड दिएको छ । दिगो विकास लक्ष्यले लिएको भोकमारीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषण सुनिश्चित गर्ने, दिगो कृषिको प्रवर्द्धन गर्ने लक्ष्य हासिल गर्नेगरी यो क्षेत्रमा स्रोत र साधनको वैज्ञानिक परिचालन गर्नुपर्दछ । त्यस्तै कृषि क्षेत्रको औद्योगिकीकरणको माध्यमबाट थप रोजगारी सिर्जना गरी आय आर्जन, गरिबी निवारण तथा आयात व्यवस्थापनलाई समेत सम्बोधन गर्नुपर्दछ । संघ, प्रदेश र स्थानीय तहको लगानीलाई कृषि क्षेत्रको समग्र विकासमा प्रभावकारी रूपबाट परिचालन गर्नु आजको आवश्यकता हो ।

यसै सिलसिलामा कृषिउपज हाम्रो संस्कृतिको रूपमा जोडिएको छ । उदाहरणको रूपमा असार पन्ध्र दही चिउरा/सेलरोटी अचार, साउने संक्रान्ती लुतो फ्याँकेर हरियो मकै पोली प्रसादको रूपमा खाने, साउन पन्ध्र खिर खाने, जनै पूर्णिमा क्वाँटी खाने, दशैँमा दहीचिउरा, केरा खाने, तिहारमा सेलरोटी खाने, हरिबोधिनी एकादशीमा फलफूल, सोको भोलिपल्ट द्वादशीमा नयाँ अन्न न्वाहीको रूपमा दहीचामल खाने, पन्ध्र पुसमा लट्टे, पुस २९ मा कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले भक्का दिवसको रूपमा मनाउँछन् । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भक्का खाने चलन व्यापक बनेको छ । चामलको पिठोलाई पानीको वाफमा पकाएर तयार गरिने भक्कालाई चटनीसँग खाने गरिन्छ । मौलिक विशेषता र स्वास्थकर फाइदा दुवैलाई प्रवर्द्धन गर्न पुस २९ गते राष्ट्रिय भक्का दिवस मनाउने गरेको पाइन्छ ।

त्यस्तै माघे संक्रान्तीमा खिचडी, तरुल, चाकु, तिलको लड्डु र विभिन्न खाद्य परिकार आदि खाइन्छ । यो दिन बिहानै उठी नित्यकर्म सिध्याई विभिन्न पूजाआजा गरी तिल र चाकु मिसाएको परिकार तथा तरुल खानाले शरिरलाई जाडोमा न्यानो प्राप्ति हुन्छ । यस्ता पोषिला खानेकुराले चर्मरोग र जोर्नीको दुखाइबाट मुक्त भइन्छ । मधेसमा भने मैथली र थारु समुदायले माघे संक्रान्ती बडो सद्भावनाका साथ मनाउने गर्दछन् । थारु समुदायमा, आजको दिन लगभग नयाँ वर्षको रूपमा मनाउँछन् । नेवार समुदायमा ‘घिउ चाकु सँल्हु’ नामले माघे संक्रान्ति मनाइन्छ । काठमाडौं उपत्यका नजिकको पनौतीमा ऐतिहासिक मक्कर मेला लाग्छ । मगर जातिको माघे संक्रान्ति प्रमुख चाड हो । मगर समुदायमा यस दिन तारो हान्ने अत्यधिक प्रचलन छ । यसदिन मगर समुदायले धुमधामका साथ चेलिबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । मक्कर संक्रान्तिको दिन विभिन्न नदीनालामा स्नान गर्ने तीर्थालुको भिड रहन्छ । जस्तैः देवघाट, चतरा आदि । यी माथिका खाद्यान्न परिकार हाम्रो रीतिरिवाजसँग जोडिएका छन् । पहिले यी अवसरमा यी खाद्यान्नबाट बनाएका परिकार खाइन्थ्यो भने आजभोलि जुनबेला पनि पहुँचको आधारमा खान पाइन्छ ।

हाम्रो देश कृषिप्रदान देश हो र कृषिसँग खाना जोडिएको छ । कृषि उत्पादन वृद्धि गर्न अपरिहार्य स्रोत साधन र सामग्रीको न्यून उपलब्धता, आर्थिक भौगोलिक पूर्वाधार जस्तैः सिँचाइ, सडक, कृषि बजार, शीतभण्डार र गोदामघर सङ्कलन तथा बिजुलीको अपर्याप्तता मूल समस्याको रूपमा देखिएको पाइन्छ । कृषिजन्य उत्पादनमा आशातित उपलब्धि हासिल गर्न उन्नत, नश्ल तथा बीउको प्रतिस्थापन दर पनि अन्त्यन्त कम छ । यसको अतिरिक्त वैदेशिक रोजगारीमा युवाशक्ति, खाडी मुलुक जाने जग्गाको तीव्र खण्डीकरण पनि प्रमुख समस्याको रूपमा देखा परेको छ । साथै कृषिमा वैज्ञानिक जनशक्ति व्यवस्थापन कमजोर, कृषिको आधुनिकीकरण, पूर्वाधार, औद्योगिकीकरण कमजोर आदि प्रमुख समस्या हुन् ।

माथि भनेजस्तै मुख्य व्यावसायिक वातावरणको अपर्याप्तताको कारण कृषिका लागि आवश्यक पर्ने जनशक्तिको रूपमा रहेका युवा जनशक्ति अन्य क्षेत्र तथा वैदेशिक रोजगारमा संलग्न भई हाम्रा गाउँघरका कृषियोग्य जमिनमा उनिउँ फुली उत्पादकत्वमा ह्रास आएको छ । अर्काेतिर अव्यवस्थित सहरीकरण, जग्गाको खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवित्तिलाई निरुत्साहित गर्दै कृषि भूमिलाई उपयोगमा ल्याउनु तथा कृषि प्रसार सेवामा कृषकको पहुँच अभिवृद्धि गर्नु, सीमित स्रोत साधन, कृषि ऋण, बीमा, प्रविधि र ज्ञानको प्रयोगलाई तारतम्य व्यवस्था मिलाई कृषि उत्पादनमा वृद्धि गर्नु स्थानीय सरकारको प्रमुख भूमिका हो ।

भौगोलिक तथा जैविक विविधताजन्य सम्भाव्यता प्रभावकारी अध्ययन हुनु, पँुजी प्रेरणा, आत्माविश्वास र प्रविधिबारेको ज्ञानसहित वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषि व्यवसायमा आकर्षण गर्नु जैविक खेती र कृषि वनप्रति उद्यमी र सरोकारवालाको आकर्षण बढाउनु, उत्पादित वस्तुको देशभित्रै तथा बढी भएमा देशबाहिर व्यापारको पहुँच वृद्धि गर्नुपर्दछ । कृषि ऋण, बीमा, नवीन प्रविधि आदिको प्रभावकारी विकास गर्नु जलवायु परिवर्तनसँग जुध्न ज्ञान, सीप, प्रविधि र स्रोतको उचित व्यवस्थापन गर्नुपर्दछ । यसमा माथि भनेजस्तै संघ, प्रदेश सरकारको समन्वयमा स्थानीय सरकारकै अहम् भूमिका रहन्छ । त्यसपछि मात्र कृषि उपजसँग जोडिएको हाम्रो संस्कृतिद्वारा कृषिमा क्रयशक्ति वृद्धि हुन्छ । (लेखकः डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि ।)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x