चिनियाँ पर्यटक आगमनको अपेक्षा
काठमाडौं । कोभिड महामारीविरुद्ध शून्य नीति अपनाइरहेको छिमेकी मुलुक चीनले उक्त नीति अन्त्य गर्ने घोषणा गरेको छ । सावधानीका अन्य विकल्पसहित कोभिडविरुद्ध लड्ने उद्घोषसँगै लामै समयपछि शून्य नीतिको अन्त्य भएको छ । शून्य नीतिको अन्त्यसँगै यात्रा प्रतिबन्धहरू खुकुलो भएका र स्थल नाकाहरू पनि खुला हुनथालेको स्थिति छ । गत जनवरी ८ तारिखदेखि चीन सरकारले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण गर्न खुला गरेको छ । यसबाट, अंग्रेजी नयाँ वर्ष २०२३ को आगमनसँगै नेपालमा चिनियाँ पर्यटकहरूको आगमन वृद्धि हुने र लामो समयदेखि सुस्ताएको पर्यटन क्षेत्र पुनरुत्थानका लागि सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
नेपालमा चिनियाँ पर्यटकहरूको भ्रमणको इतिहास धेरै लामो भएको छैन । सन् २००० मा नेपाल र चीनबीचमा नेपालमा चिनियाँ पर्यटकलाई भ्रमण खुला गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तत्पश्चात् चीन सरकारले सन् २००१ मा नेपाललाई पर्यटकीय गन्तव्य सूचीमा समावेश गरेको र सन् २००२ देखि चिनियाँ पर्यटकहरूले औपचारिकरूपमा नेपाल भ्रमण गर्न थालेको इतिहास छ । सन् २००९ मा ३२ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २०१२ मा यो संख्या दोब्बर बढीले वृद्धि भई ७१ हजार पुगेको तथ्याङ्क रहेको छ । तत्पश्चात् नेपालमा चिनियाँ पर्यटकहरूको आगमन संख्या निरन्तररूपमा वृद्धि हुँदै कोभिड महामारी सुरु हुनुभन्दा अघि सन् २०१९ मा इतिहासकै सबैभन्दा बढी ११ लाख ९७ हजार पर्यटकहरू आएका थिए । उक्त वर्ष नेपाल आएका पर्यटकहरूमध्ये भारतीयपछि चिनियाँ पर्यटकहरू सर्वाधिक संख्यामा भित्रिएको तथ्याङ्क छ । सो वर्ष करिब एक लाख ७० हजार चिनियाँ पर्यटकहरूले नेपालको भ्रमण गरेका थिए ।
कोभिड संक्रमणको प्रभाव तथा महामारीविरुद्ध चीनले अपनाएको तुलनात्मक रूपमा कठोर नीतिका कारण त्यसयताका वर्षहरू भने पर्यटन क्षेत्रका लागि निराशाजनक रहेका थिए । सन् २०२० मा केवल १९ हजार दुई सय ५७ जना चिनियाँ पर्यटकहरू नेपाल आएका थिए भने सन् २०२१ मा यो संख्या अझै घटेर छ हजार हाराहारीमा सीमित हुनपुगेको देखिन्छ । सन् २०२२ मा १० हजार हाराहारी चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गरेको देखिन्छ । यसरी हेर्दा कोभिड महामारीअघिको अवस्थामा उत्साहजनक ढंगले वर्षेनी निरन्तररूपमा बढिरहेको चिनियाँ पर्यटक आगमनको दर कोभिडपछिका वर्षहरूमा निराशाजनकरूपले ओरालो लागिरहेको अवस्था विद्यमान छ । यसको अर्थ कोभिड महामारी नै नेपालमा चिनियाँ पर्यटकहरूको आगमन घटाउने बाधकका रूपमा रहेको देखिन्छ ।
चीन सरकारको पछिल्लो निर्णयसँगै नेपालमा चिनियाँ पर्यटकहरूको आकर्षण बढाउन सक्ने हो भने यसले पर्यटकहरूको संख्यात्मक वृद्धि गरी पर्यटन क्षेत्रको पुनरुत्थानमा त सहयोग पुग्छ नै । सँगसँगै, गुणस्तरीय पर्यटकहरूको कोटीमा पर्ने चिनियाँ पर्यटकहरूको आगमनसँगै पर्यटन क्षेत्रमा गुणात्मक प्रभाव पर्नसक्ने अवस्था रहन्छ । संसारमा सबैभन्दा बढी खर्च गर्ने पर्यटकको सूचीमा चिनियाँ पर्दछन् । नेपाल राष्ट्र बैंकको केही समयअघिको एक तथ्याङ्कअनुसार अन्य मुलुकका पर्यटकहरूले नेपाल बसाइमा सरदर प्रतिदिन ४८ डलर खर्च गर्ने गरेकोमा चिनियाँ पर्यटकहरूले प्रतिदिन सरदर ८० डलर खर्च गर्ने गर्दछन् । चिनियाँहरू घुमफिरसँगै किनमेलमा समेत रुचि राख्ने भएकोले यसले स्वदेशी उत्पादनलाई टेवा पुग्दछ । अर्कोतर्फ पर्यटन व्यवसायीहरूले चिनियाँ पर्यटकहरूलाई अफसिजनका आकर्षक पाहुनाका रूपमा लिने गर्दछन् । पर्यटक आगमनका हिसाबले अफसिजनको समयमा ठूलै हुल बनाएर आउने चिनियाँ पर्यटकहरूले पर्यटन क्षेत्रलाई उत्साहित तुल्याउने अवस्था रहन्छ । चिनियाँ पर्यटकहरूको आगमन दरलाई वृद्धि गर्नसक्ने हो भने यसले नेपाल चीनबीचको बढ्दो व्यापारघाटालाई समेत कम गर्न सकिन्छ । यसरी चिनियाँ पर्यटकहरूको संख्यात्मक वृद्धिले मुलुकको पर्यटन क्षेत्र र अर्थतन्त्रमा गुणात्मक रूपमा पनि महत्व राख्दछ ।
नेपालमा चिनियाँ पर्यटकहरूलाई ठूलो संख्यामा भित्र्याउने सन्दर्भमा थुप्रै सुधारहरू आवश्यक छन् । चिनियाँ पर्यटकहरूले नेपालमा खर्च गर्ने स्थान र क्षेत्र अत्यन्त सीमित रहेका छन् । चिनियाँ पर्यटकहरू पदयात्रा पर्यटनमा भन्दा ठूलो समूहमा आएर एक क्षेत्रभित्रका विभिन्न गतिविधिहरूमा रमाउने प्रकृतिको रहेका देखिन्छन् । नेपालमा काठमाडौं उपत्यकापछि पोखरा र चितवन चिनियाँ पर्यटकहरूले सबैभन्दा बढी रुचाएका गन्तव्यका रूपमा रहेको भ्रमणसम्बन्धी तथ्याङ्कबाट प्रस्ट हुन सकिन्छ । काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रको भ्रमण र पोखरा क्षेत्रमा प्याराग्लाइडिङ, जिपलाइन, हट एयर बलुन, बन्जी जम्पिङ, बोटिङजस्ता गतिविधिहरूमा चिनियाँ पर्यटकहरू बढी रमाउने गर्दछन् । यस हिसाबले चीनका नागरिकहरूलाई नेपाल भ्रमणमा थप आकर्षित गर्न र उनीहरूले गर्ने खर्चमा अझै वृद्धि गर्नका लागि चिनियाँ पर्यटकहरूलाई लक्षित गरी पर्यटन क्षेत्रको ‘प्रडक्ट’ पनि विस्तार गर्न आवश्यक छ ।
नेपालको पर्यटन र पर्यटकीयस्थलहरूका बारेमा चीनमा उल्लेख्य रूपमा बजारीकरण हुनसकेको छैन । डेढ अर्ब हाराहारी जनसंख्या रहेको चीनमा ६५ प्रतिशतभन्दा बढी नागरिकहरू बौद्ध धर्मावलम्बीहरू रहेको सन्दर्भमा लुम्बिनीलगायत बौद्ध धर्मावलम्बीहरूका लागि नेपालका पर्यटकीय स्थलहरूका बारेमा चिनियाँ समुदाय तहसम्म पर्यटकीय प्रवर्द्धन गर्न जरुरी छ । नेपालमा चिनियाँ खाना र परिकार पस्कने स्तरीय होटल, रेस्टुरेन्टको संख्या पनि सीमित रहेको छ । चिनियाँ नागरिकहरू मूलतः आफ्नै मातृभाषामा मात्र अभ्यस्त रहने कारणले भाषागत समस्या पनि चीनमा नेपालको पर्यटन प्रवर्द्धनमा बाधक रहेको छ । नेपालमा चिनियाँ भाषाको शिक्षण सीमित र कमजोर रहेकोले सानो संख्यामा रहेका दोभाषे पर्यटक पथप्रदर्शकहरूले चिनियाँ पर्यटकहरूलाई सेवा दिइरहेका छन् । चिनियाँ पर्यटकहरूको आगमनदर वृद्धि गर्ने योजनासँगै यस्ता दोभाषेहरूको संख्यात्मक र गुणात्मक मात्रामा वृद्धि गरिन आवश्यक छ । यसका साथै चिनियाँ भाषामा नेपालसम्बन्धी प्रवर्द्धनात्मक श्रव्यदृश्य सामग्रीहरू तयार गरी चिनियाँ सञ्चारमाध्यममा नियमित प्रकाशन, प्रशारण गर्न र अन्य आवश्यक कूटनीतिक पहल गर्न पनि उत्तिकै आवश्यक छ ।
कृषि र जलविद्युत्सँगै पर्यटन पनि नेपालको आर्थिक विकासमा तुलनात्मक लाभको क्षेत्र र अर्थतन्त्रको दिगो स्रोतको रूपमा स्थापित हुनसक्ने क्षेत्र हो । पर्यटन प्रवर्द्धनकै कारण थाइल्याण्ड, जमैका, माल्दिभ्स, स्विट्जरल्याण्डजस्ता विश्वका धेरै राष्ट्रहरूले आर्थिक विकासमा फड्को मारेका छन् । नेपाल पनि क्षेत्रफलको हिसाबले सानो भए पनि विश्वभर पर्यटकलाई आकर्षण गर्ने मुख्य आधारका रूपमा रहेको प्राकृतिक र जैविक विविधताको दृष्टिले सम्पन्न राष्ट्रको रूपमा रहेको छ । नेपालजस्तो विकासशील मुलुकमा ठूला उद्योगधन्दाहरूको विकास गरेर औद्योगिक विकासमार्फत आर्थिक विकासमा फड्को मार्न पुँजी तथा बजारको समस्या रहन्छ र रहँदै आएको पनि छ । तर, पर्यटनजस्तो कम लगानीमा देशले तत्काल प्रतिफल प्राप्त गर्नसक्ने क्षेत्रमा राज्यको उचित ध्यान पुग्न जरुरी छ । पर्यटकहरूको संख्यात्मक र गुणात्मक विस्तारका लागि छिमेकी मुलुक चीनका पर्यटकहरूको आगमन मात्रै वृद्धि गर्ने हो भने पनि नेपालको पर्यटनले ठूलै फड्को मार्ने अवस्था रहन्छ ।
कोभिड महामारीविरुद्ध शून्य नीति अपनाइरहेको चीनले उक्त नीति अन्त्य गर्नु पर्यटन प्रवर्द्धनका हिसाबले नेपालका लागि निकै खुशीको विषय हो । यो अवस्थाबाट नेपालले लाभ उठाउन संख्यात्मक तथा गुणात्मकरूपमा चिनियाँ पर्यटकहरूको आगमनमा वृद्धि गर्ने दिशातर्फ लाग्नैपर्छ । चीन सरकारले कोभिडविरुद्ध लचकता अपनाएसँगै आक्रामकरूपले चिनियाँ पर्यटकहरूको आगमन वृद्धि गर्नतर्फ नेपाल सरकारलगायत सबै सरोकारवालाहरू केन्द्रित हुनसके यस दिशामा ठोस प्रगति हासिल हुनसक्ने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया