अर्थतन्त्र सबलीकरणमा पर्यटनको महत्व
काठमाडौं । विश्वमा सूचना र सञ्चारको जगतमा एक्काईसौँ शताब्दीमा देखिएको द्रुत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाई, दिदिबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडी बढाउनु अपरिहार्य छ । यसै सिलसिलामा कोभिड–१९ को कारण पर्यटन उद्योग थला परेकोले केन्द्रीय सरकार, प्रदेश सरकार साथै स्थानीय सरकारले आफ्नो नीति कार्यक्रममा पर्यटन उद्योगलाई माथि उठाउने नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ ।
समृद्ध नेपाल सुखी नेपालीको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोशाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूमिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु आजको आवश्यकता हो ।
हाम्रो देशमा तुलनात्मकरूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट देशको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट हाम्रो देशको नागरिकको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।
हाम्रो देश भगवान गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रूपमा मात्र विश्वमा परिचित नभई पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रको रूपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको सङ्गमस्थल रहेको क्षेत्र हिन्दु तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्रामस्थलको रूपमा रहेको छ । हाम्रो देश विभिन्न जनजाति र समुदायहरूका बीच सदियौँदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मिहिनेती समुदायको साझा फूलबारी हो ।
हाम्रो देश प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रचारप्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवंं पर्यटकीय स्थल हुँदाहुँदै पनि आवश्यक भौतिक संसाधनको व्यवस्थापनको कमीले सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण हाम्रो देशमा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी नेपालमा मानिसको आगमन वृद्धि गराउन सकिन्छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहना र आवश्यकतालाई ध्यानमा राखी पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु समयको माग हो ।
नेपालको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा देशमा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षणस्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । हाम्रो देशका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू देशका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था अझै कमी छ । भरपर्दाे र व्यवस्थित हवाई यातायातको कमी, पर्यटकीयस्थल कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट नेपालीहरूले खासरूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले हाम्रो देशमा पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
हाम्रो देशको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र स्थानीय तहको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । देश तथा विभिन्न स्थानीय तहहरूमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आजको आवश्यकता हो । त्यस्तै पर्यटकीय क्षेत्रमा भौतिक तथा मानव संशाधनको आवश्यकताअनुसार व्यवस्थापन गर्नु पनि अति आवश्यक छ ।
हाम्रो देशमा पर्यटन प्रवर्द्धनका सम्भावनाहरू अद्धितिय पर्यटकीय क्षेत्रहरू हुनु, पर्यटकीय क्षेत्रमा पूर्वाधारको व्यवस्थापन तथा विकास बढ्दै जानु, छिमेकी मूलुक चीन तथा भारतबाट ठूलो संख्यामा पर्यटक आउन सक्नु, पर्यटन क्षेत्रमा निजी लगानीमा वृद्धि हुँदै जानु, देशमा शान्ति सुरक्षाको अवस्थामा सुधार हुँदै जानु, स्थानीय निकायमा पर्यटकीय प्रवर्द्धनमा चासो बढ्दै जानु, गैरआवसीय नेपालीको सक्रियता, अन्य मुलुकहरूसँग हवाई सेवामा वृद्धि, देशमा अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको निर्माणमा वृद्धि हुँदै जानु, सामाजिक सांस्कृतिक सम्पदाको प्रचुरता, साहसिक पर्यटनको क्षेत्रहरू बढ्दै जानु आदि रहेका छन् । त्यस्तै पर्यटन क्षेत्रका समस्याहरूमा भूकम्पबाट क्षतिग्रस्त सम्पदाको समयमै पुनः निर्माणसम्पन्न हुन नसक्नु, बेलाबखत हुने हवाई तथा सडक दुर्घटनाबाट अन्तर्राष्ट्रिय जगतमा नकारात्मक प्रभाव पर्नु र नियमित सुरक्षित र भरपर्दाे यातायात सेवा प्रवाह हुनु नसक्नु, प्राचिन सम्पदाको अतिक्रमण, पर्यटकीय सूचनाको उचित व्यवस्थापन नहुनु, पूर्वाधार विकासमा लगानीमा वृद्धि कम हुनु, देशभित्र यत्रतत्र छरिएर रहेका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन सम्भाव्यता अध्ययनको कमी, देशका युवा जनशक्ति विदेश पलायन हुनु आदि रहेका छन् ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि हो । अतः माथि उल्लेख भएअनुरूपका पर्यटकीय सम्भावना र समस्याहरूलाई ध्यानमा राखी नयाँ पर्यटकीयस्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै नेपालीको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । (लेखक मनकामना अध्ययन अनुसन्धान केन्द्रको प्रमुख हुनुहुन्छ ।)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया