नेपालमा बैंकिङ : दुर्दशा कि सुधार ?
काठमाडौं । कुनै पनि मुद्रा वा शाखको कारोबार गर्ने संस्था बैंक भए पनि बैंकले निक्षेप संकलन तथा स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, विदेशी विनिमयको कारोबार गर्ने, जमानत जारी गर्ने, मुद्रा स्थानान्तरण गर्नेजस्ता कार्यहरूले पछिल्लो समयमा लोकप्रिय बन्दै गएको छ । बैंकको सुरुवात सन् ११५७ मा भेनिसको बैंक स्थापना भएपछि भएको थियो भने सन् १४०१ म स्पेनको वार्सिलोनामा, सन् १६०९ मा हल्याण्डमा र सन् १६१९ मा जर्मनीमा क्रमशः बैंकहरू स्थापना हुँदै गए पछिल्लो सबै देशमा बैंकिङ प्रणालीको विकास भयो जसबाट नेपाल पनि अछुतो रहन सकेन । त्यसपछि, विसं १९९४ मा नेपाल बैंकको स्थापना भएसँगै नेपालमा बैंकिङ प्रणालीको विकास भएको पाइन्छ ।
विसं २०१३ मा नेपाल राष्ट्र बैंकको स्थापना भयो भने विसं २०२२ मा राष्ट्रिय वाणिज्य बैंक र विसं २०२४ मा कृषि विकास बैंकको स्थापना भए पनि देशमा बैंकिङ विकासक्रम बढ्दै गएको पाइन्छ । राज्यले उदारीकरण र निजीकरणको नीति लिएपछि र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ कार्यान्वयनमा आएपछि नेपाल बैंकको विकासले तीव्रता पाउन थाल्यो । नेपालमा निजी क्षेत्रले सञ्चालनमा ल्याएको पहिलो बैंक हिमालयन बैंक भए पछिल्लो समयमा निजी क्षेत्रबाट सञ्चालनमा आएका बैंकहरूको संख्या दर्जनौँ पुगेको छ ।
नेपालको बैंकिङ प्रणालीमा निक्षेप स्वीकार गर्ने संस्थाहरूको बढ्दो उपस्थिति सोअनुरूप कारोबारमा विविधता वृद्धि र जटिलताको परिप्रेक्ष्यमा सुपरीवेक्षणको महत्व बढ्न गएको छ । यसै तथ्यलाई हृदयंगम गरी नेपाल सरकार आफ्ना नीति तथा कार्यक्रमहरूमा बैंक तथा वित्तीय संस्थाहरूको कारोबार मूल्यांकन गर्न सुपरीवेक्षण पद्धतिलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्य राखेको पाइन्छ । बैंकिङ क्षेत्रको ठूलो अंश ओगटेको सरकारी स्वामित्वका दुई पुराना वाणिज्य बैंकमा उच्च खराब कर्जा लगानीका समस्या देखिएको सन्दर्भमा वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत ती संस्थालाई सञ्चालन गर्न विशेष व्यवस्था गरिएको पाइन्छ ।
नेपाली बैंकिङ प्रणालीका धेरै चुनौतीहरू रहेका छन् । कर्जा सूचनाविना कर्जा प्रवाह गर्नु, कर्जा वर्गीकरण र जोखिम कोषको व्यवस्थापन अनियमितता गलत तथ्यांक र सूचना प्रवाह, वास्तविकताको विपरीत वित्तीय स्थिति राम्रो भएको देखाउने प्रवृत्ति विनाधितो वा व्यक्ति जमानीमा ठूलो रकम कर्जा प्रवाह गर्न, अनुपयुक्त वा अपर्याप्त धितोको संरक्षणमा कर्जा प्रवाह गर्नु, परियोजनाको सूक्ष्म अध्ययन नगरी वा विनापरियोजना कर्जा प्रवाह गर्नु, कर्जा नतिर्ने ऋणीलाई थप कर्जा दिनु आदिजस्ता समस्याहरू विद्यमान भएको हुँदा वाणिज्य बैंकहरूलाई राम्रोसँग व्यवस्थापन गर्नु निकै कठिनाई परेको हुँदा यी सबै समस्याहरूलाई समयमा नै निराकरण गर्नु अति आवश्यक देखिन आएको छ । चल्ती खातामा बैंकले ब्याजदर प्रदान गर्दैन जुन खातामा बढी आम्दानी गर्ने मानिसहरू ठूल्ठूला उद्योगी तथा व्यापारी र संघसंस्थाहरूले रकम जम्मा गर्दछन् । तर दैनिक कारोबार गर्ने व्यक्ति वा व्यापारीहरूलाई चल्ती खाता उपयुक्त मानिन्छ ।
बचत खातामा ब्याजदर कम हुन्छ जुन खातामा साना–साना आय भएका मानिसहरू थोरै थोरै बचत गर्दछन् । यसबाट थोरै थोरै आम्दानी भएका व्यक्तिहरूले जम्मा गरी लगानीका लागि धेरै ठूलो रकम जम्मा हुन्छ । यस खातामा जुनसुकै समयमा पनि कम रकम जम्मा गर्न पाउने हुँदा यस्ता वर्गका व्यक्तिलाई वचत गर्ने बानीको विकास हुन्छ । कुनै निश्चित समय अवधिको लागि रकम जम्मा गरिने खातालाई मुद्दती खाता भनिन्छ । यस्तो खातामा पूर्वसहमतिअनुसार जति समयसम्मको लागि जम्मा गरिएको हो, त्यो समयभन्दा अगाडि रकम झिक्न पाइँदैन । बचत खाताको तुलनामा मुद्दती खातामा ब्याजदर बढी हुने गर्दछ भने वाणिज्य बैंकले ग्राहकहरूलाई ऋण प्रदान गर्दछ । बैंकले आफूसँग निक्षेपको रूपमा जम्मा हुनआएको रकमबाट ऋण प्रदान गर्दछ । यसरी ऋण प्रदान गर्दा आफूले निक्षेपकर्तालाई दिने ब्याजदरभन्दा ऋण लिने व्यक्तिसँग बढी ब्याजदर लिन्छ । बैंकले ऋण लगानी गर्दा बैंकको सिद्धान्तका आधारमा अल्पकालीन मध्यकालीन तथा दीर्घकालीन ऋण दिने गर्दछ । वाणिजय बैंकले कुनै पनि किसिमका ऋणपत्र, सेयर व्यापारीको धितो वा वस्तु धितोको आधारमा आफ्ना ग्राहकहरूलाई नगद ऋण प्रदान गर्दछ । यसरी लिएको ऋणको बदलामा ऋणीले बैंकलाई तोकिएको ब्याजदर भुक्तानी गर्नुपर्दछ ।
वाणिज्य बैंकहरूले सर्वसाधारण तथा व्यापारीहरूको नगद रकम एक ठाउँबाट अर्काे ठाउँमा सुरक्षित किसिमले पठाउने कार्यहरू गर्दछन् जसबाट रूपैयाँ पैसा चोरी हुने डर हुँदैन । वाणिज्य बैंकहरूको यस्तो कार्यले विदेशबाट रकम झिकाउन र यहाँबाट विदेश पठाउन सजिलो भएको छ । वाणिज्य बैंकहरूले विभिन्न किसिमका बहुमूल्य वस्तुहरू जस्तैः सुन, चाँदी तथा कागजातहरूका लागि संरक्षण प्रदान गर्दछ । यसले गर्दा सर्वसाधारण वर्गहरूले यस्ता वस्तु बैंकमा राखेर निश्चिन्त हुन सक्दछन् । वाणिज्य बैंकहरूले विभिन्न किसिमका विदेशी मुद्राहरूको सटही गर्नुका साथै नेपाली मुद्रालाई पनि विभिन्न मुद्राका रूपमा आवश्यकताअनुकूल सटही गर्ने कार्य गर्दछ । यसले आफ्नो देशमा पुराना वा झुत्रा नोटहरू सटही गरेर ग्राहकहरूलाई सुविधा प्रदान गर्ने गर्दछ तर वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकका शाखाहरू स्थापना नभएका ठाउँहरूमा नेपाल राष्ट्र बैंकले गर्नुपर्ने कार्यहरू पनि गर्दछन् । यसका लागि नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने हुन्छ । यस्ता कार्यहरूमा विशेष गरी राजस्व संकलन गर्ने कार्यहरू पर्दछ । बैैंकले आफ्ना ग्राहकहरूको रकमलाई चेक, ड्राफ्ट, बैंक तथा आदिको माध्यमद्वारा एक स्थानबाट अर्काे स्थानमा कमाएको पैसालाई आफू बसेको ठाउँ वा घरको नजिकै बैंकले आफ्नो परिवारलाई सजिजैसँग पठाउने गरेको छ ।
वाणिज्य बैंकहरूले अभिकर्ता सम्बन्धित कार्य गर्नुका साथै प्रतिमूर्तिहरू बिक्री गर्ने र व्यापारलाई प्रोत्साहन गर्ने विदेशी विनिमयको कारोबार गर्ने प्रतीतपत्र जारी गर्ने संरक्षण पत्रहरूका साथै कार्य सम्पादकको मामिलाजस्ता कार्यहरू गराउने गर्ने भएकोले नेपालको आर्थिक विकासमा वाणिज्य बैंकको महत्व बढेको पाइन्छ । वाणिज्य बैंक तथा वित्तीय संस्थाले बचतको परिचालन गर्ने र परिचालित रकमहरू उत्पादित कार्यमा लगानी गर्ने भएको हुँदा मुलुक आर्थिक विकासको गतिमा अगाडि बढ्न सकेको अर्थ व्यवस्थामा लगानीको दरमा वृद्धि गरी पुँजी निर्माणको दरलाई अत्यधिक मद्दत पुगेको नेपाल अधिराज्यका विभिन्न स्थानहरूमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना शाखा प्रशाखाहरूको विकास र विस्तार गरी सर्वसाधारण जनताहरूलाई बैंकिङ तथा वित्तीय कारोबार गर्ने प्रवृत्तिको विस्तार भएको छ ।
अर्थ व्यवस्थालाई मौद्रिकीकरण गर्नको लागि शाखपत्र र अन्य ऋण पत्रहरूको प्रचलनलाई विस्तार गरी आर्थिक क्रियाकलापको सञ्चालनमा सरलता ल्याउन वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूको योगदान अधिक रहन गएको छ । वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाहरू नाफा कमाउने उद्देश्यले अभिप्रेरित भएको हुँदा यिनीहरूले आफ्नो शाखा प्रशाखामार्फत जनताहरूले पुँजीलाई विभिन्न रूपमा ग्रहण गरी आएको बचत पुँजीलाई परिचालन गराउन सहयोग पु-याएका छन् । नेपालमा पुँजी बजार र मुद्रा बजारको विकास भई नसकेको मौद्रिकीकरण गर्न कृषि, उद्योग, व्यापार, सामाजिक सेवा तथा अन्य सूत्रहरूको विकास गर्नमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरू महत्वपूर्ण भूमिका रहेका छन् । वाणिज्य बैंकहरूको प्रमुख कार्य देशमा बचतलाई बढावा दिनु हो, किनभने यसले जनताबाट जम्मा प्राप्त गरेर त्यसलाई बचत गर्नको लागि प्रोत्साहित गर्दछ । अर्थ व्यवस्थामा विनियोग अथवा लगानको काम पनि मुख्य बैंकहरूबाट दिएको ऋणहरूको सहायताले गाएको हुन्छ । यसको अतिरिक्त व्यावसायिक बैंक उद्योगपतिहरू, व्यावसायी र सर्वसाधारणका लागि अनेकौँ उपयोगितासम्बन्धी कार्य गर्दछ तर यसको कार्यान्वयन पक्ष पनि केलाउनु जरूरी छ ।
वाणिज्य बैंक नाफा आर्जन गर्ने संस्था हो । यसले आफूसँग भएको पुँजीभन्दा जनतामा छरिएर रहेको पुँजी बढी प्रयोग गर्दछ । प्रत्येक वाणिज्य बैंकहरूले आफ्नो बैंकिङ् कारोबार अध्ययन गर्दा वा ऋणको रूपमा पुँजी लगानी गर्दा निम्न लिखित नीतिहरूलाई अनुशरण गरेका पाइन्छ –ऋण लगानी गर्नुभन्दा अगाडि नै जमानतको लागि विश्वासिलो अधार बनाउनु, निक्षेप खातामा तिर्नुपर्ने ब्याजदरभन्दा आफूले ग्राहकबाट लिनुपर्ने ब्याजदर अघि कायम गर्नु, आफ्ना ग्राहकले माग गरेको बेलामा ग्राहकलाई दिनुपर्ने नीतिअनुरूप तरलताको रूपमा पुँजी सञ्चय गर्नु, नेपाल राष्ट्र बैंक वा सरकारको निर्देशनमा आर्थिक विकासको लागि बढी लाम हुने क्षेत्रमा तोकिएको समयमा असुल हुन गई लगानी गर्नु आदिजस्ता पक्षहरूले केही हदसम्म भए पनि बैंकहरूलाई व्यवस्थित गरेको पाइन्छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग, देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७९/८० को छ महिनाको तथ्यांकमा आधारित) तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० को छ महिनामा वाणिज्य बैंकहरूको १८ सय ४३ अर्ब आठ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक)को एक सय ८२ अर्ब चार करोड गरी कुल २०२५ अर्ब १२ करोडको अन्तरबैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको १६ सय २६ अर्ब चार करोड र अन्य वित्तीय संस्थाहरूको दुई सय १३ अर्ब ५० करोड गरी कुल १८ सय ३९ अर्ब ५४ करोडको अन्तरबैंक कारोबार भएको थियो । कुल सात सय ५३ स्थानीय तहमध्ये २०७९ पुससम्म सात सय ५२ तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका छन् । २०७८ पुससम्म सात सय ५० स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका थिए । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०७९ पुस मसान्तमा एक सय २१ रहेको छ । यसमध्ये २२ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या २०७९ असार मसान्तमा ११ हजार पाँच सय २८ रहेकोमा २०७९ पुस मसान्तमा ११ हजार पाँच सय ८८ पुगेको छ ।
सरकारी तथ्यांकअनुसार, विसं २०७९ पुस मसान्तसम्म वाणिज्य बैंकहरूको कुल संख्या २२, विकास बैंको संख्या १७, वित्त कम्पनीहरूको संख्या १७, लघुवित्त वितीय संस्थाहरूको संख्या ६४ र पूर्वाधार विकास बैंकको संङख्या एक गरी जम्मा एक सय २१ वटा बैंक तथा वित्तीय संस्थाहरू रहेका छन् । तर विसं २०७९ पुस मसान्तसम्म वाणिज्य बैंकहरूको शाखा संख्या पाँच हजार २९, विकास बैंकहरूको शाखा संख्या एक हजार एक सय २८, वित्त कम्पनीहरूको शाखा संख्या दुई सय ८०, लघुवित्त वितीय संस्थाहरूको शाखा संख्या पाँच हजार एक सय ५१ रहेको छ भने देशभर बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ११ हजार पाँच सय ८८ रहेको छ तर यो नै नेपालको पर्याप्त भने होइन ।
समग्रमा, नेपालको बैंकिङ प्रणालीलाई सुधार र दुर्दशा दुवै पक्षबाट हेर्न सकिन्छ । पहिलो पक्ष, विसं १९९४ मा एउटा बैंकबाट सुरुवात भएको नेपालको बैंकिङ प्रणली करिब साढे आठ दशकको अवधिमा एक सय २१ पुग्नु नेपाली बैंकिङ क्षेत्रमा आएको विकास र रूपान्तरण हो भने अर्कोतिर बैंकिङ प्रणालीमा आएको चुनौती र असुरक्षाले बैंकलाई बिस्तारै दुर्दशातिर धकेलिरहेको छ । एकातिर बैंकिङ पहुँचमा आएकाहरूमध्ये करिब ५ प्रतिशत सबल आर्थिक अवस्था भएकाहरूले मात्र बैंकहरूबाट ऋण पाइरेहका छन् भने ९५ प्रतिशतले ऋण पाउन सकेका छैनन् । समयमा कारोबारमा चुस्तता नआउनु, रकमको सुरक्षामा जोखिम बढ्दै जानेजस्ता समस्याहरू जटिल बन्न थालेका छन् । देशको राजधानी केन्द्रित आर्थिक क्रियाकलापहरू गाउँस्तरसम्म फैलदै जानु सुधारको पक्ष हो तर सेवा सुविधामा देखापर्ने झण्झटिलो प्रक्रिया तथा समयमा आफूले जम्मा गरेको रकम झिक्न नसकिने अवस्थाले बैंकिङ क्षेत्र जटिल बन्दै गएको देखाउँछ । एकातिर ऋण सुविधामा सबैमा समान पहुँच छैन भने कृषि, ऋण, शैक्षिक ऋण नाममात्रको ऋण भएको पाइएको छ । पछिल्लो समयमा एटीएमबाट पैसा चोरीका घटनाहरू बढ्दै गएका छन् भने प्रविधि बुझेकहरूले यसलाई प्रविधिको कमजोरीको रूपमा लिन थालेका छन् । अन्त्यमा एकातिर प्रविधिले बैंकिङ प्रणालीलाई सरल र सहज बनाउँदै गएको छ भने प्रविधिका साना–साना त्रुटिहरूलाई हतियार बनाएर संसारभर वर्षेनी आपराधिक समूहहरूले बैंकमाथि आक्रमण गरेका छन् । त्यसलाई रोक्नु जरुरी छ । प्रविधिको प्रयोग उपयुक्त रूपमा गर्न सकेमा मात्र बैंकिङ क्षेत्रको सुधार हुने अन्यथा बैंकिङ क्षेत्र धाराशायी हुने निश्चित छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #4, #Page 4
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया