आर्थिक समृद्धिका लागि मेला–महोत्सव
काठमाडौं । ‘देशभर मेला महोत्सवको रौनक’, ‘भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव सुरु’, ‘काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने’, ‘राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा दश करोडको कारोबार’, ‘टीकापुर महोत्सवमा एक करोडको कारोबार’ ‘गढिमाईमा फागु बैरिया महोत्सव हुने’, ‘रामपुर महोत्सव तथा व्यापार मेला सुरु’ । यिनीहरू विगत केही समययता विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरूमा प्रकाशित समाचारका शीर्षकहरू हुन् । यतिबेला देशका विभिन्न स्थानमा मेला, महोत्सव र प्रदर्शनीहरूको सिलसिला चलिरहेको छ । विशेषगरी दशैँतिहार आसपासदेखि वैशाखसम्म यस्ता महोत्सव, औद्योगिक मेला, व्यापार मेला र प्रर्दशनीहरू हुने गरेका छन् ।
विश्वव्यापी प्रभावका साथ चरणबद्धरूपमा देखापरेको कोरोना भाइरस महामारीका कारण सिर्जित असहज अवस्थाका कारण बितेका दुई, तीन वर्षयता देशका विभिन्न स्थानहरूमा नियमितरूपमा हुनेगरेका मेला महोत्सवहरू हुनसकेका थिएनन् । मेला महोत्सव सञ्चालन गर्ने उत्साहलाई कोभिड महामारीले तुषारापात गरेको थियो । तर, यसवर्ष महामारीको लहर र प्रभाव कम भएसँगै रोकिएका मेला, महोत्सवहरू पुनः सुचारु हुनथालेका छन् । वर्षेनी लाखौँ मानिसहरू संलग्न हुने र ठूलै आकारको आर्थिक कारोबार हुने यस्ता मेला, महोत्सव र प्रदर्शनीहरूले स्थानीय अर्थतन्त्रलाई गतिशील तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याइरहेका छन् ।
स्थानीयस्तरमा उद्योगी, व्यावसायीहरूका संघ, संगठन, प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्थाहरू, नागरिक समाजका संगठनहरू, विभिन्न सामाजिक संघसंस्थाहरू तथा स्थानीय समुदायको आयोजनामा यस्ता महोत्सवहरू हुने गर्दछन् । कतिपय मेला महोत्सवहरूलाई नेपाल सरकारका विषयगत मन्त्रालयहरू र नेपाल पर्यटन बोर्डले समेत प्रवर्द्धन गर्दै आएको छ । मूलतः देशभित्र हुने यस्ता मेला महोत्सवहरूमा गैरसरकारी क्षेत्रकै अग्रणी भूमिका रहँदै आएको पाइन्छ । व्यापार व्यवसायको प्रवर्द्धन, वस्तु र सेवाको बजारीकरण एवं स्थान विशेषका मौलिक संस्कृतिको जगेर्ना र संवर्द्धन गर्ने मूल उद्देश्यले आयोजना गरिने यस्ता मेला महोत्सवहरूले विभिन्न आयामबाट मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने गर्दछन् ।
मेला महोत्सवहरूले आर्थिक अवसरको व्यापक सृजना गर्दछन् । स्थानीयस्तरमा पर्यटकीय तथा आर्थिक गतिविधिहरू चलायमान बनाउने अवसरका रूपमा मेला, महोत्सवको भूमिका रहन्छ । स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीले महत्व पाउने भएकोले बजार नपाएका स्थानीय मौलिक उत्पादन र परिकारहरूले बजार पाउने अवस्था रहन्छ । कृषि र पशुजन्य स्थानीय उत्पादनका अतिरिक्त ठूला औद्योगिक उत्पादनलगायतका उत्पादक र उपभोक्ताहरूको आमनेसामने हुने थलोका रूपमा मेला, महोत्सव रहेका हुन्छन् । जसबाट उत्पादकहरूले आफ्ना उत्पादनको प्रवर्द्धन, उपभोक्ता सर्वेक्षण र बजारीकरणमार्फत बजार संरचनाको आधार निर्माण गर्ने अवसर प्राप्त गर्दछन् । कच्चापदार्थदेखि उत्पादित अन्तिम वस्तुसम्मको बजार यस्ता मेला महोत्सवहरूमा रहेको हुन्छ ।
ठूला औद्योगिक घराना र स्थानीय समुदायको जमघटमार्फत राष्ट्रिय र स्थानीय अर्थतन्त्रको ‘फ्युजन’ हुने अवसरका रूपमा यस्ता मेला महोत्सव रहेका हुन्छन् । त्यसैगरी मेलाका अवलोकनकर्ता वा उपभोक्ताहरू यस्ता अवसरमा दिइने विभिन्न छुट र अफरहरूबाट लाभान्वित हुनुका साथै वस्तु र सेवाको छनोटको अवसर प्राप्त गर्दछन् । उत्पादकहरू एवं उद्योगी व्यवसायीहरूसँग सिधै अन्तरक्रिया गर्ने र पृष्ठपोषण दिने मौका समेत आम उपभोक्ताहरूलाई यस्तै अवसरहरूमा जुट्दछ । समय समयमा हुने यस्ता अवसरहरूमा कृषक, उद्योगी, व्यवसायी र उपभोक्ताहरूको उत्साह, सक्रियता र जागरुकताले उद्यमशीलताको विकास गर्नमा समेत टेवा पुग्दछ । मेला, महोत्सव र प्रदर्शनीहरू पर्यटन प्रवर्द्धनको सशक्त माध्यम पनि हुन् । यस्ता गतिविधिहरूले केही हदसम्म विदेशी पर्यटकहरूलाई समेत आकर्षित गर्ने र मूलतः आन्तरिक पर्यटनलाई प्रत्यक्षरूपमा बढोत्तरी गरिरहेको पाइन्छ । मेला महोत्सवको अवलोकन गर्न एवं वस्तु र सेवाको खरिदबिक्री गर्न टाढा–टाढाबाट मानिसहरूको घुइँचो मेलास्थलमा लाग्ने गर्दछ । यसबाट मेलाका आयोजकहरू एवं बाह्य र स्थानीय व्यवसायीहरू प्रत्यक्षरूपमा लाभान्वित हुन्छन् नै, साथै पर्यटन प्रवर्द्धनका कारण अप्रत्यक्षरूपमा विभिन्न लाभहरूको सृजना समेत हुने गर्दछ ।
मेला, महोत्सवहरूमा छोटो समयका लागि भए पनि स्थानीय मजदुरहरूलगायत व्यापारिक स्टलहरूमा रहने कामदारहरूलाई राम्रो रोजगारीको अवसर सृजना हुने गर्दछ । दिर्घकालमा मेला महोत्सवमार्फत स्थानीय र राष्ट्रिय उत्पादनहरूको अभिवृद्धि भई रोजगारीका व्यापक अवसरहरूको सृजना हुने परिस्थिति निर्माणमा रहने भूमिका त छँदै छ । मेला, महोत्सवहरूमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमको महत्व पनि निकै उच्च रहने गर्दछ । मेला, महोत्सवले स्थानीयदेखि राष्ट्रियस्तरसम्मका कलाकारहरूलाई व्यस्त बनाउने गर्दछ । यसवर्ष पनि कलाकारहरूलाई मेलामहोत्सवमा पुग्न भ्याइनभ्याइ भएको समाचारहरू सार्वजनिक भएका छन् । यसबाट संस्कृतिको जगेर्ना हुनुका साथै कलाकारहरूले काम पाउने, मेला महोत्सव आयोजकहरूको आम्दानी वृद्धि हुने एवं दर्शक, स्रोताहरूले मनोरञ्जनको अवसर प्राप्त गर्दछन् ।
स्थानीयस्तरमा हुने मेला र प्रर्दशनीहरूले स्थानीय कृषि एवं पशुजन्य उपज, घरेलु तथा हस्तकलाका सामानलगायत स्थानीय उत्पादनहरूलाई समेत प्रवर्द्धन र प्रोत्साहन पुग्दछ । मेला महोत्सव र प्रदर्शनीकै लागि कृषकहरूमा आफ्ना उत्पादनलाई उत्कृष्ट तुल्याउन लामो समयदेखि मिहिनेत र परिश्रम गर्ने प्रतिस्पर्धा नै चलेको देख्न सकिन्छ । यसैगरी, क्षेत्रीय र राष्ट्रियस्तरमा हुने औद्योगिक मेलालगायतले राष्ट्रिय औद्योगिक उत्पादनहरूको बजारीकरण र प्रवर्द्धन गर्ने सशक्त माध्यमका रूपमा भूमिका खेल्दछन् । देशमा औद्योगिक विकासको गतिलाई अगाडि बढाउने दिशामा यस्ता अवसरहरू कोशेढुंगाका रूपमा रहेका हुन्छन् । पछिल्लो समयमा नेपालमा आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय व्यापार मेला तथा महोत्सव पनि हुनेगरेका छन् । यस्ता महोत्सवमा विदेशी उत्पादनहरू र उद्यमीको सहभागिता रहने गर्दछ । विदेशमा विकास भएका नवीन प्रविधिहरूका बारेमा ज्ञान लिने र प्रविधि हस्तान्तरणका लागि पनि मेला, महोत्सवहरूको भूमिका रहन्छ । यही अवसरमा हुनेगरेका ‘बिजनेस टु बिजनेस’(बिटुबी) बैठकहरूले स्वदेशमा उत्पादित वस्तु र सेवाका बारेमा विदेशी सहभागीहरूलाई जानकारी पुग्ने अवस्था सिर्जना हुनेगरेको पाइन्छ ।
स्थानीयस्तरमा मेला महोत्सवहरूको आयोजना भएकै कारण ती स्थानहरूमा भौतिक एवं सामाजिक विकासको ढोका खुलेको र मुहार फेरिएका विभिन्न उदाहरणहरू छन् । कतिपय मेला महोत्सवहरूमा जनप्रतिनिधिहरूलगायत विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको समेत उपस्थिति रहने र स्थानीयस्तरमा विद्यमान समस्या र कठिनाइहरूलाई नजिकबाट बुझ्ने एवं समाधानका लागि आवश्यक पहल गर्ने अवसर समेत यस्ता मेला महोत्सवहरूले जुटाउने गर्दछन् । साथै, मेलाबाट आर्जन भएको आम्दानीको निश्चित हिस्सा त्यही क्षेत्रमा स्कुल, कलेज र स्वास्थ्य संस्थाहरू निर्माण गर्ने, बाटोघाटो, कुलो, पैनी आदि निर्माण गर्नेजस्ता सामाजिक र भौतिक विकासका क्षेत्रहरूमा लगानी गर्नेगरेका समाचारहरू पनि सञ्चार माध्यमहरूमा आउनेगरेका छन् । यसबाट मेला, महोत्सव र प्रदर्शनीहरूका कारण देशको चौतर्फी विकास लागि समेत केही हदसम्म टेवा पुगिरहेको छ ।
मेला, महोत्सव र प्रदर्शनीहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान र मजबुत तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पु¥याउनुका साथै अन्य विभिन्न आयामहरूबाट देश विकासमा योगदान गरिरहेका छन् । अतः सरकारी तवरबाटै निजी, सहकारी एवं सामुदायिक क्षेत्रहरूसँग समेत साझेदारी गर्दे यस्ता अवसरहरूको प्रवर्द्धन गर्न, निरन्तरता दिन र सन्तुलितरूपमा मेला महोत्सवहरूको आयोजना गरी प्रोत्साहन गर्न अपरिहार्य छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया