नेपालमा सुनको कथा : माग कम तस्करी धेरै
काठमाडौं । सुन एक बहुमूल्य धातु भएकाले यसको महत्व संसारभरि नै छ । सुन अर्थात् संसारमा जहाँ पनि र जो–कोहीलाई पनि आकर्षित गर्ने वस्तु । संसारभर राम्रो, सर्वोत्कृष्ट, सुन्दर वा सम्भावनापूर्ण भनेर बुझाउन सुनौलो, स्वर्णिम, गोल्डेन आदि अनेक खाले विम्ब प्रयोग गरिन्छ जसले प्रत्यक्ष अप्रत्यक्षरूपमा सुनको बयान गर्छ । स्वर्णिम युग, सुनौलो दिन, सुनौला अक्षर आदि ।
सुनको बारेमा थाहा नपाउने मान्छे संसारमा सायद नहोला, किनभने आजभन्दा ४० हजार वर्ष पहिलेदेखि यसको प्रयोग विभिन्न रूपमा हुँदै आएको देखिन्छ । यो एउटा धातु हो तर अन्य धातुहरू जस्तैः खानीहरूमा सजिलै प्राप्त गर्न सकिँदैन, यो अरु धातु जस्तैः चाँदी, तामाङसँग पनि मिसिएर रहेको हुन्छ र यसको उत्खनन गर्न धेरै समय र पैसा लाग्छ । यो आफैँमा हल्का रातो र पहेँलो देखिने हुँदा मानव सभ्यताको विकाससँगै यसको प्रयोग आफ्नो सम्पन्नता प्रदर्शन गर्न भएको देखिन्छ । खोजी गरिएको इतिहासलाई हेर्ने हो भने नाइल नदीमा विकास भएको इजिप्टको सभ्यतामा भएको मानिन्छ । त्यतिबेलादेखि अहिलेसम्म एउटा महत्वपूर्ण धातुको रूपमा संसारभर यसको उपयोग भइरहेको छ ।
हेर्दैमा आकर्षक धातु सुनको सांस्कृतिक महत्व पनि ठूलो छ । हिन्दु संस्कारमा सुन बेगर बिहेबारीलगायतका सांस्कृतिक कार्य अघि बढाउन असम्भवप्रायः छ । बिहेबारीमा सुनको स्थान गैर–हिन्दु समाजमा समेत उस्तै छ । नारी सौन्दर्य प्रसाधनको रूपमा सुन प्रयोग हुने दक्षिण एसिया, दक्षिण–पूर्वी तथा पूर्वी एसियामा यो पहेँलो धातुको खपत धेरै हुन्छ । बढ्दो उपभोग संस्कृति र बजारको दबदबाले सुनको खपत अझ धेरै बढाएको छ । सुनप्रतिको अति आशक्तिले यसको दुरूपयोग र महत्व एकैसाथ बढिरहेको छ । नेपालमा कति सुन होला ? ऐतिहासिक कालदेखि सुनको प्रयोग हुँदै आए पनि सञ्चित सुनको मात्रा अनुमान गर्न नसकिने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्षको कथन छ । नेपाल राष्ट्र ब्यांकका अनुसार पछिल्लो दुई दशकमा नेपालले दुई खर्ब ९५ अर्बबराबरको करिब एक टन सुन औपचारिक माध्यमबाट आयात गरेको छ ।
सुन तस्करी हाम्रा लागि नयाँ र नौलो विषय होइन । नेपालमा यो निकै अघिदेखि हुँदै आएकै हो । पञ्चायती शासनकालमा सत्तासीनहरूकै संरक्षण र संलग्नतामा सुन तस्करी हुनेगरेको थियो भने बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् पनि थुप्रै नेता र सरकारी अधिकारीहरू सुन तस्करीमा मुछिएका र थुप्रै ‘सुन काण्ड’हरू चर्चामा आएका हुन् । तर त्यस्ता विषयमा सोधखोज, अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने काम भएन बरु प्रायः सबैले उन्मुक्ति पाए । यसैले सुन तस्करीमार्फत कमाउने प्रवृत्ति बढ्दै गयो र यसमा गिरोहहरू नै संलग्न हुन थाले । नेपालमा सुन तस्करीको पछिल्लो तथ्यांकले नेपालको समग्र सुरक्षा अवस्थालाई पनि केही प्रस्ट्याउन मद्दत गर्दछ ।
वास्तवमा नेपालमा यति धेरै सुन किन भित्रन्छ भन्ने प्रश्न नै नौलो हुनुपर्ने ? किनकि नेपाली समाजमा सुनप्रति केही आकर्षण रहेको भए पनि यो हदको तस्करी अस्वाभाविक छ । यसले प्रस्टरूपमा नेपाल सुन कारोबारीका लागि ट्रान्जिटका रूपमा विकसित भइरहेको बुझ्न सकिन्छ । सुन तस्करीमा एकै समूहले क्विन्टल बढी सुन तस्करी गरेको समाचारले नेपालमा सुन तस्करीको स्थिति प्रस्ट पार्दछ । नेपालमा त्रिभुवन विमानस्थलमार्फत र चिनियाँ नाका हुँदै वार्षिक ९० देखि ९५ टनसम्म सुन तस्करी हुन सक्ने आकलन गरिएको छ ।
नेपालमा विवाह सिजनमा दैनिक ४० देखि ४५ किलो सुन खपत हुने गरेकोमा औपचारिक माध्यमबाट केवल २० किलो मात्र आएको हुन्छ । बाँकी सुनको बजार तस्करीले नै धानेको मानिन्छ । खुला रूपमा भइरहेको यो अपराधको खास अपराधी कहिल्यै फेला परेका छैन । नेपालका लागि जुन तहको सुन पक्राउ गरिएको छ । त्यो आवश्यकताभन्दा अत्यधिक बढी मानिन्छ । नेपाली समाज सुनप्रति त्यति लालायित नै छैन । सुन तस्करीका लागि नेपालका सबैजसो सीमा नाका सक्रिय बनाइएको देखिन्छ । नेपालमा सुन तस्करीको चर्चा समय समयमा मात्रै चल्दै आउँछ । हामीकहाँ व्यापक हल्ला र समस्या भएपछि मात्र यस्ता विषय खबर बन्छन् ।
संसारभर व्यापार विनिमयका रूपमा सर्वमान्य रूपमा स्वीकार गरिएको पहिलो वस्तु सुन नै हो । अमेरिकाको न्यूयोर्कस्थित फेडरल रिजर्भ ब्यांकका अनुसार, शताब्दीयौँदेखि इतिहासमा सुनको गहिरो प्रभाव रहिआएको छ । दुनियाँभर नै धनको सर्वमान्य प्रतीकका रूपमा यसलाई स्वीकार गरिएको छ । जब मानिसहरू राजनीतिक अस्थिरता, युद्ध वा मुद्रास्फीतिबारे चिन्तित हुन्छन्, आप्mनो बचत सुनमा लगाउँछन् । करिब छ हजार वर्षअघि उत्खनन र संग्रह गर्न थालिएको सुनको पहिलो सिक्का इसापूर्व ५५० मा निकालिएको थियो । सुनसम्बन्धी इतिहासकार टिमोथी ग्रिनका अनुसार, लिडिया (हाल टर्कीको एउटा प्रान्त)का राजा क्रोएससले त्यो सिक्का बनाएका थिए, जुन तत्कालै भूमध्य सागर क्षेत्रमा व्यापारिक भुक्तानीको सर्वस्वीकार्य साधन बन्न पुग्यो । त्यही बेलादेखि सुनलाई सबैतिर मान्य धनका रूपमा स्वीकार्न थालियो ।
आफूले कमाएको सम्पत्ति सुनको रूपमा राख्ने, सञ्चय गर्ने क्रम अहिले विश्वभर बढेको पाइन्छ । यसको मूल कारण सुन सबभन्दा सुरक्षित मानिनु हो । खँदिलो धातु सुनलाई सञ्चय गरी राख्न सबभन्दा सजिलो छ । नगदले जस्तो यसले धेरै ठाउँ पनि ओगट्दैन । नेपाल राष्ट्र बैंकका एक अधिकारीका अनुसार कारोबारका लागि तत्काल नगदमा बदल्न र सञ्चय गरेर क्यापिटल गेन गर्न सकिने हुँदा जो–कोहीले सुन किनेर राख्न खोज्छन् । यही कारण गरिबमा समेत सुन राख्ने इच्छा तीव्र हुन्छ । तीव्र इच्छाले अपराध पैदा हुनेगर्छ । पछिल्लो समय सुन तस्करी संगठित अपराधकै रूपमा फैलिँदै छ । त्यसलाई बढाउने काम गरेको छ, भारतीय बजारमा बढ्दो सुनको मागले । भारतको तुलनामा नेपाल सुनका लागि निकै सानो बजार हो ।
भारतमा सुनको धार्मिक–सांस्कृतिक महत्व, मध्यम वर्गको धन सञ्चय गर्ने रुचि र कालोधन लुकाउने उपायका रूपमा अचाक्ली बढेको सुनको मागले नेपाललाई सुन तस्करीको थलो बनाउँदै छ । भनिन्छ, संसारमा सबैभन्दा बढी सुनका गहना भारतीय महिलाले लगाउँछन् । सबै भारतीय महिलाको सुन मिलाउँदा त्यो विश्वमा भएको कुल सुनको ११ प्रतिशत हुन्छ । अर्थशास्त्री र व्यापारीहरूका अनुसार नेपाल र भारतको ‘ट्याक्स डिफरेन्सियल’ र ‘सेक्युरिटी लुपहोल’मा भर पर्ने कुरा हो, नेपाल भएर भारतमा हुने सुन तस्करी र त्यसको परिमाण ।
कुनै बेला सिन्धुपाल्चोकको तातोपानी नाकालाई चीनबाट सुन तस्करी गर्ने नामूद नाका मानिन्थ्यो । १२ वैशाख २०७२ को भूकम्पपछि सो नाका लामो समय बन्द रहेकाले सुन तस्करहरूले केरुङ–रसुवागढी नाका प्रयोग गरिरहेका छन् । प्रहरी अधिकारीहरू नै रसुवागढी नाकाबाट दैनिक ५०–६० केजीसम्म तस्करीको सुन भित्रिइरहेको बताउँछन् । यो नाकाबाट सामान भित्र्याउने कन्टेनर व्यवसायी र सुन तस्करबीच बलियो साँठगाँठ रहेको उनीहरूको भनाइ छ । सीमा नाकामा हुने फितलो जाँच र कमजोर अनुगमन प्रणालीका कारण पटक–पटक विभिन्न परिमाणमा अवैध सुन बरामद हुने गरेको अधिकारीहरू बताउँछन् । खासगरी दुई ठूला मुलुकसँगको सिमानामा तस्करी नियन्त्रणका लागि चाहिने उपकरण, विज्ञ जनशक्ति र सूचना लिन गर्नुपर्ने लगानीको अभाव सुन तस्करीको मुख्य कारण भएको उनीहरूको भनाइ छ । अधिकारीहरूका अनुसार प्रहरी अनुसन्धानले नेपालबाट हुने अधिकांश सुन तस्करीमा भारतीयको लगानी रहने र सीमित मात्रामा नेपाली पनि संलग्न रहेको देखाउँछ ।
भ्रष्टाचार र अवैध व्यापारबाट आर्जित धन सञ्चय गर्ने औजार पनि बनेको छ, सुन । वित्तीय प्रणालीमा आउने पैसाको स्रोत खुलाउनुपर्ने हुँदा धेरैले त्यसलाई सुन र घरजग्गामा लगाउँछन् । ‘गैरकानुनी तरिकाबाट कमाएको सम्पत्ति सञ्चय गर्न पनि सुनको प्रयोग हुन्छ’, एक अर्थशास्त्री भन्छन्, ‘सुनको खपत बढ्नुको एउटा कारण यो पनि हो ।’ यसबाट अनौपचारिक अर्थतन्त्र विस्तारमै सघाउ पुगिरहेको ठान्ने उनले नेपालीले खाडीमा कमाएको पैसा सुन तस्करीमा प्रयोग हुँदा अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बताउँछन् ।
राष्ट्र बैंकका अनुसार, विदेशबाट फर्कनेहरूले काँचो सुन ल्याउन थालेपछि रेमिट्यान्सको आकार मात्र घट्ने छैन, भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चिति समेत खल्बलिनेछ ।
सुन तस्करी नियन्त्रणमा सन्तुलन मिलाउन सरकार असफल बने त्यसले देशमा अनौपचारिक अर्थतन्त्रको दायरा फराकिलो पार्दै लान्छ । सुन तस्करीका हजारौँ खबर नेपालमा भोलिको दिनमा पनि आउनेछन् । सम्पत्ति शुद्धीकरणबारे अहिलेको सरकारले जे–जस्ता कामकारवाही अगाडि बढाउन खोजिरहेको छ त्यसले अझ धेरै सुन तस्करी र बिक्रीवितरण हुनेछ र यसले अपराध पनि बढाउनेछ । सरकारले यो विषयबारे गम्भीर विचार विमर्श गरिहाल्नु जरुरी छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया