Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमहेन्द्र–वीपी अर्थसंवाद – १

महेन्द्र–वीपी अर्थसंवाद – १


काठमाडौं । इसप नीति कथा (ईसापूर्व ग्रिसका हाम्रा चाणक्य भएजस्तै)मा ‘संगीत साइरन’को एउटा प्रसङ्ग आउँछ । रमाइलो गर्न समुद्रयात्रामा निस्केका एकहुल जमात अनकन्टार ठाउँबाट आएको एउटा मीठो धुनमा लठ्ठीएर उतैतिर डोरिन्छन् र कहिल्यै फर्किँदैनन् । समुद्रमै हराउँछन् । यस प्रसङ्गलाई पश्चिमा साहित्यकारहरूले ‘संगीत साइरन’को संज्ञा दिनेगरेका छन् ।

अहिलेको नेपाली अर्थतन्त्र पनि खासगरी ०४६ को बहुदल (भारत अभ्यासरत संसदीय प्रणालीको यन्त्रिक अनुशरण) यता बहुराष्ट्रिय कम्पनी (इस्ट इन्डिया सो ठाउँमा)को दलाली र कमिसनको धुन (संगित साइरन)मा लठ्ठीएर बिचौलिया, तस्कर, माफिया, कालाबजारीयाको समुद्रमा कता–कता हराएको छ अत्तोपत्तो छैन ।

विसं २०४५ सालसम्म हाम्रो अर्थतन्त्रमा ‘धान चामल निर्यात कम्पनी’का साइनबोर्डहरू देशैभरि छ्यापछ्याप्ती पाइन्थ्यो । अहिले पछिल्लो तथ्याङ्क एउटा आर्थिक वर्षमा ४० अर्बको त चामल मात्रै विदेशबाट आयात हुन्छ । पिठो, दाल, खाने तेल, दुध, घ्यू, माछा—मासु, फलफूल, तिउन तरकारी हुँदा हुँदा आलु, प्याज, लसुन, खुर्सानी, हरियो धनियाँ समेत ७० प्रतिशत बढी विदेशबाट आयात गरेर बिहान–बेलुकाको छाक धान्नु परिरहेको छ भनेपछि योभन्दा खतम अर्थतन्त्रको अरु कल्पना गर्न सकिन्न । यो भनेको हामी पूर्णरूपमा पर निर्भर अर्थतन्त्र (पराइको खटन)मा लतारिन र पिसिन कैदी बनाइएका छौँ ।

यो त कस्तो भयो भने तीन करोड जनसंख्यामा एक करोडजति बलिया पाखुरीलाई खाडी मुलुकमा रगत पसिना बगाउन धकेलिदिने । अनि रेमिट्यान्समाथि लुटतन्त्र मच्चाएर राजधानीमा खडाभएका चारतारे पाँचतारे शैलीका महलका छतमा हाम्रा आजका नेताहरू प्रचण्ड, देउवा, ओली, माधव नेपाल आदि इत्यादिले ‘उत्तानो परेर हात खुट्टा उफारिरहेका’ । प्रतिरोधी क्षमता विहिन जनतालाई हाकाहाकी लुटेर विद्या भण्डारी शैलीको महारानी झाँकी प्रदर्शन गर्ने । यस्तो आलिशान महलको छतमा उत्तानो परेर आकाशतिर हातखुट्टा उफार्दै प्रधानमन्त्री पद, प्रधानमन्त्री पद बर्बराएका गतिबाट देश उँभो लाग्ने ठान्नु उही कविलाई चेतना दास मानसिकतामा मात्र भइरहेको छ ।

आजको बजार नियन्त्रित (अमेरिकाको हतियार व्यापार) विश्व अर्थतन्त्रमा कमसेकम गाँस, बास, कपासमा अन्तरनिर्भर न भएका मुलुकले आत्मगौरव, स्वाभिमान, सार्वभौमिकता दाबी गर्न मिल्दैन । दाबी गर्न सक्दैन । दोस्रो तथ्य जापानबाट पाठ सिक्नुपर्ने जबसम्म कुनै मुलुक पूर्णरूपमा स्वाधीन र सार्वभौम हुँदैन आफूले चाहेको जस्तो आफूलाई चाहिएको जस्तो विकास उन्नति हासिल गर्नै सक्दैन ।

यो एकदम अकाट्य तथ्य हो । तसर्थ आर्थिक उन्नति र विकासको बाटोमा अगाडि बढ्दा हामी आफैँ देश कति सार्वभौमिक स्वाभिमानी छ भन्ने पहिले हेक्का पु¥याउने हुनुपर्छ ।

यसमा ०२७ साल यताका विसं २००९ सालदेखि ०२७ सालसम्म पूरै १९ वर्ष (दुई दशक) नेपालका १५ पहाडी जिल्ला १८ ठाउँमा ‘भारतीय सैनिक क्याम्प’ खडा भएर ‘चीनतिर बन्दुक तेस्र्याएर परेड खेलेका’ जस्ता सार्वभौमिकता स्वाभिमान मिचिएका धेरै उदाहरणहरू वर्णन अभिलेख छन् । कतिपय तथ्यहरू पठ्यक्रम बन्न न पाएका होलान् । समयले खोजेको नवजागरण प्रादुर्भावसँगै ती सबै पाठ्यक्रम बन्नेछन् भन्ने पंक्तिकार विश्वास राख्छ ।

पछिल्लो हुर्किँदै गएको नयाँ पुस्ताले सजिलैसँग बुझेर औँल्याउन सक्ने एउटा चर्चित उदाहरण यहाँ उल्लेख गर्न चाहन्छु । जुन उदाहरण समसामयिक प्राडा बौद्धिकहरूको पोल पनि छर्लङ्गै हुनेगरी खुल्नेछ ।

एमसीसी पास हुँदा अमेरिकी सेनाले परेड खेल्छ खेल्दैन भन्नेहरू ठूला–ठूला बौद्धिकहरू अनलाइन, चुट्न सामाजिक सञ्जालहरूमा घोक्रो सुकाईसुकाई गालीगलौजमा समेत उत्रिएका पाइए । एमसीसी पास पक्षधर मानिएका नेपाली कांग्रेसका महामन्त्रीले त ‘अमेरिकाबाट ५५ अर्ब पायौँ’, भारतबाट ६० अर्ब र चीनबाट ४० अर्ब मागौँ’ सम्म भाषण गर्न भ्याए । तर तथ्यमा तेस्रो विश्व नहुँदासम्म अमेरिकी सेनाले भारतीय सेनाले जस्तो नेपालमा परेड खेल्न सहज छैन र तेस्रो विश्वयुद्ध भएमा अमेरिकी सेनाले मात्र होइन चीन भारत रुस युद्धमा संलग्न सबै राष्ट्रका सेनाले परेड खेल्नेमा हामी कसैले रोक्न सक्नेवाला होइनौँ । यस्तो निरर्थक बहसमा बौद्धिक वर्ग पौठेजोरी खेलेका पाइनु दुर्भाग्यपूर्ण बौद्धिक या स्वार्थ दिवालियापन हो ।

जब कि एमसीसी प्रकरणमा बौद्धिक चासो र बहस हुनुपर्ने विषय नेपाल राष्ट्रको स्वाभिमान सार्वभौमिकतामाथि हदैसम्मको अपमान, अपहेलना गरिएको स्वाभिमान लत्याइएको सार्वभौमिकता कुल्चिएको एमसीसी परियोजनाको हस्ताक्षर प्रकरणमा दुर्भाग्यपूर्ण पाठ्यक्रम बनेको छ । अमेरिकाको एमसीसी परियोजनासँग नेपाल सरकारले हस्ताक्षर अ‍ेमेरिकाका तर्फबाट फातिमा (एमसीसी प्रमुख)को सहयोगी रहेका दोस्रो तहका हाकिमले हस्ताक्षर गरेका थिए भने नेपालका तर्फबाट क्याविनेट मन्त्री (अर्थ)ले हस्ताक्षर गरेका थिए । नेपाल राष्ट्रको स्वाभिमान सार्वभौमिकताका लागि योभन्दा निर्लज्ज अवगालपूर्ण ‘हस्ताक्षर प्रकरण अरु कल्पना गर्न सिकिन्न ।

आर्थिक विकास र मोडलको सन्दर्भमा सार्वभौमिकता र स्वाभिमानबेगर एक पाइला पनि अगाडि बढाउन भन्ने सन्दर्भमा पछिल्लो बुझ्न सजिलो उदाहरण ‘हस्ताक्षर प्रकरण यति पाठ्यक्रममा ल्याइएको हो । यस सन्दर्भमा हाम्रो विगत इतिहास जङ्गबहादुर र चन्द्रशमशेरको उदाहरण गतिलो पाठ्यक्रम छ । जङ्गबहादुरको बेलायत भ्रमण हुँदा (विसं १९०७) नेपाल राष्ट्रको स्वाभिमानको कदर हुनेगरी आदर सत्कार नभएको पाउँदा बन्दरगाहबाटै (त्यतिखेर हवाइजहाज थिएन) फर्किन लागेका थिए । पछि बेलायती महारानी एलिजावेथले थाहा पाएर बन्दरगाहदेखि नै रातो कार्पेट ओछ्याएर आदर सत्कार गरेपछि मात्र जङ्गबहादुरले तीन महिना मोजमस्तीमा बिताएका इतिहासमा वर्णन आउँछ । त्यस्तै चन्द्रशमशेरलाई बेलायती सम्राज्यवादले भारती राजा रजौटाहरूको एउटा मेलामा भारत बोलाइएको थियो । त्यहाँ पुग्दा तत्कालीन भारतका अंग्रेजको दासत्व स्वीकारेका राजारजौटाहरूकै लहरमा कुर्सी राखेको पाउँदा बस्दै नबसी खुरुक्क नेपाल फर्कन लागेका थिए । अंग्रेज प्रतिनिधि भायसराय उठेर के भयो र फर्किन लाग्नुभयो भनेर सोध्दा म एउटा सार्वभौम स्वाभिमानी राष्ट्रको प्रतिनिधि हुँ तिम्रा हरूवाचरुवा भएको राजा रजौटाको लहरमा आफ्नो आसन पाउँदा मेरो राष्ट्रको अपमान हुने ठानेर फर्किन लागेको जवाफ दिएका थिए र भायसरायले आफ्नै लहरमा छुट्टै कुर्सी राखेपछि मात्र रोकिएका थिए ।

आर्थिक मोडलमा काम गर्न जबसम्म मुलुक पूर्णरूपमा स्वाधीन र स्वाभिमान हुन्न तबसम्म विकास प्रगति हासिल गर्न सकिन्न भन्ने सन्दर्भमा यहाँ यति कुरा राख्नु आवश्यक भएको हो ।

अब आउँछु ‘महेन्द्र (विपी अर्थ संवाद’ बाट मैले उठाउन खोजेको प्रतिपाद्य विषयतर्फ । नेपालको आर्थिक उन्नति र संवर्द्धनतर्फ पाइला चाल्न खोज्दा धेरै टाढा जानुभन्दा राष्ट्रनायक श्री ५ महेन्द्र वीरविक्रम शाहदेव र जननायक विश्वेश्वर प्रसाद कोइरालाका बीच भएका आर्थिक संवाद र प्रयत्नमा केन्द्रित हुनु अपरिहार्य छ । यो इतिहास विसं २०१५ सालबाट प्रारम्भ भएको हो । महेन्द्र राजा र वीपी प्रधानमन्त्री भएपछि तीनवटा प्राथमिकतामा सहमति भएको थियो । पहिलो प्रथमिकता शिक्षा दोस्रो प्राथमिकता यातायात र तेस्रो प्राथमिकतामा आधुनिक शैलीको कृषि क्रान्ति ।

यो तीनवटा प्राथमिक विषयमा महेन्द्र र वीपीबीच भएका आर्थिक संवादले के–कस्तो परिणाम ल्याउँदै थियो र कसरी बहुराष्ट्रिय कम्पनीको ‘संगीत साइरन’ले माथि वर्णित खतम हालमा पुगियो भन्ने क्रमशः नवजागरण पठ्यक्रम निर्माण प्रयास गर्नेछु । (दर्जनौँ पुस्तकका लेखक सुवेदी अथक राजनीतिक योद्धा तथा वरिष्ठ पत्रकार हुनुहुन्छ ।)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया