Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगके डाक्टरलाई देश फर्काएर गल्ती गरेकै हो त ?

के डाक्टरलाई देश फर्काएर गल्ती गरेकै हो त ?


काठमाडौं । आज बिहान दिनहुँको जस्तै मर्निङ वाक (एक्सरसाइज) पछि ब्रेकफास्ट खाँदै आफ्नो फेसबुकमा पोस्टमा के–कस्ता प्रतिक्रिया आए हेर्दै गर्दा मेरो आँखा अर्कै पोस्टमा अड्कियो । अलिकति पढ्न थालेँ छोड्न मन लागेन । पूरै पढेँ । फेरि दोहो-याएर पढेँ । पढेपछि म एकाएक भावुक बन्न पुगेँ । त्यो नाम चलेका वरिष्ठ डाक्टर प्रेम ज्ञवालीले लेखेका रहेछन् । जसले मलाई विचार गर्न र यो लेख्न बाध्य ग¥यो त्यो जस्ताको तस्तै तल राखेको छु…..

‘फर्किएर गल्ती गरेँ मैले ? आफ्नै भूमिमा केही गर्ने इच्छा थियो त्यसैले दीनदुःखीलाई सहयोग गर्ने मनाशय लिएर फर्केँ। विदेशीलाई गर्ने उपचार आफ्नै दाजुभाईलाई दिनुपर्छ भनी फर्किएँ । विभिन्न सपना र आकांक्षा लिएर फर्किए तर अहिले लाग्दछ मैले गल्ती गरेँ। न त मैले कुनै खुराफाती गर्न सिकेँ, न त मैले कसैको चाकरी गर्न सिकेँ, आफ्नै बलबुतामा सकेको गरेँ तर अहिले लाग्दछ मैले गल्ती गरेँ। राम्रा र निपूर्ण विदेशिँदै छन् अहिले न त तिनीहरूलाई रोक्न सक्छु मैले न त खालीखुट्टा वा चप्पल लगाएर आएका बिरामीलाई समयमै उपचार गर्न सक्छु । न त तीन दिनदेखि भोकै छु हजुर भन्ने बिरामीलाई सहयोग गर्न सकेँ मैले। न त परिवार र समाजलाई समय दिन सकेँ मैले । कसरी भनूँ आफ्ना सन्ततिलाई स्वदेशमै पसिना बगाऊ भनेर ? बेला आइसक्यो बाबु मेरो गल्ती नदोहो-याऊ भन्ने। न त कुनै सामाजिक सुरक्षा छ यहाँ, न त कुनै सन्तुष्टि छ, चौबीसै घण्टा बिरामीको उपचारमा खटिइने डाक्टर र नर्सलाई बिरामीको मृत्युको कारण तिमी नै हो भन्ने सुन्न परेको छ, बिजुली नआएर भेन्टिलेटर बन्द हुँदा अथवा बजारमा किनिने औषधिको गुणस्तर सही नहुँदा पनि तिमीले नै बदनामी सुन्नुपरेको छ, न त तिमीलाई सुरक्षा दिने कोही छ यहाँ आफ्नो सुरक्षा त तिमी आफैँले गर्नु छ । तिम्रो पनि परिवार होला, तिम्रा पनि बाल–बच्चा होलान् । म कसरी भनूँ तिमीलाई मेरो गल्ती दोहो¥याऊ भनेर जुन गल्ती मैले फर्किएर गरेँ। डा. प्रेम ज्ञवाली !!”

पढेपछि एकछिन अल्मलिएँ र सोच्न थालेँ हालै राष्ट्रपतिको सवारी सुरक्षाको नाममा प्रहरीको कुटाइ खाई गम्भीर घाइते भएका डाक्टर जनिथ लाल सिंह यदि क्यानडाको टोरोन्टोमा नै कार्यरत भएको भए यस्तो अमानवीय, प्रहरीको लाठी चार्ज, राज्यबाटै अपमानको अवस्था बेहोर्नु र सहनु पर्ने थियो होला ?

डाक्टर जनिथ भेट गर्ने सिलसिलामा टोरोन्टो पुगेको थिएँ । डाक्टर जनिथ टोरन्टो विश्वविद्यालयअन्तर्गत माउन्ट साइनाई अस्पतालबाट आर्थोपेडिक ओन्कोलोजी – हाडजोर्नी क्यान्सर सर्जरीमा आफ्नो सुपर स्पेसलिटी तालिम हासिल गरी टोरोन्टोमा नै कार्यरत थिए। ‘सार्कोमा क्यान्सरको विषेशज्ञता हासिल गर्ने नेपालकै पहिलो डाक्टर हुन् उनी ।

No description available.

करिब दुई महिनाको उक्त बसाइमा डाक्टरको दिनचर्या हेर्न र बुझ्ने मौका पाइयो। सानो परिवार, स्मिता (जनिथको श्रीमती जो छालासम्बन्धी डाक्टर पनि हुन्) र एक छोरी सरहानाको जीवनशैली हाँसीखुसी मज्जाले रमाइलोसँग चलेको थियो। जनिथ कार्यरत अस्पताल हेर्ने मौका पनि पाइयो र उनका गुरुहरूसँग बार्ता गर्ने मौका पनि पाइयो। विश्वविख्यात तर सरल स्वभावका डाक्टरहरू जय र पिटरको टिममा काम गर्ने मौका पाएकोले जनिथ धेरै सौभाग्यशालीजस्तो लाग्यो । सबै राम्रो प्रणालीमा चलेको सुन्न र हेर्न पाइयो। उनको काम जटिल, कठिन पक्कै हुन्छ होला तर काम गर्ने वातावरण नेपालको अवस्थासँग तुलना गर्नै ठाउँ नै छैन ।

टोरोन्टो पुगेको केही दिनपछि जनिथले अचानक हामीलाई प्रश्न गरे ‘म के गरूँ ? यहीँ काम गरेर बसूँ ?’ म एकछिन अलमलमा परेँ । एक हिसाबले रिस उठ्यो अर्को हिसाबले प्रश्न जायज लाग्यो । मैले सोधेँ ‘किन र ?’ जनिथको जवाफ थियो, ‘नेपालमा काम गर्ने वातावरण नै छैन जताततै राजनीति, चाकडी, चप्सुली, क्षमताको कदर नहुने, धेरै शिक्षित युवाहरू कामको खोजीमा देशबाट पलायन बढ्दो । मेरा साथीहरू धेरै विदेशतिर लागिसक्यो । कोही कोसिस गर्दै जाने तर्खरमा मिलाउँदै छन् ।’

मैले भनेँ, ‘नेपालमा यहाँजस्तो त कहाँ हुन्छ र ? सुविधा, अवसर र पैसाको मामिला धेरै आशा गर्नै सकिन्न । पैसा र सुविधा मात्रै सबै होइन तिम्रो विषेशज्ञता, योगदान नेपालमै नेपाली जनता खासगरी गरिबदुःखीको सेवाको लागि दिए राम्रो हुन्छ। मेरो इच्छा त हामी सबै परिवार सँगै बस्न पाए हुन्छ । तिमी स्मितासँग पनि परामर्श गर्नु अनि निर्णय मैले होइन तिमीहरूले नै सोचेर गर्नू, तिमीहरूले जे निर्णय गरे पनि हाम्रो लागि मान्य हुन्छ। हतार छैन अहिले रमाइलो गरौँ ।’

जनिथले मेरो मनको कुरा बुझ्न खोजेको जस्तो लाग्यो । जे होस् त्यो दिन, अनि रात त्यति सहज भएन हामीलाई। अब के भन्ला, स्वाभाविकैले हामी चिन्तित थियौँ । के निर्णय गर्ला भन्ने अनुमान गर्न सकेको थिएन ।

भोलिपल्टै म सुतेको कोठामा मुसुमुसु हाँस्दै ‘हामी काठमाडौं फर्किने भयौँ, तीन वर्ष काम गर्छु । यदि सन्तुष्ट हुन नसके मलाई रोक्न पाउनु हुन्न’ जनिथले भन्दै गयो । त्यो निर्णय हाम्रो लागि सबैभन्दा ठूलो सुखद क्षण हुनपुग्यो ।

छोरा, छोरीहरू, आमा, बुबा, परिवार, देश समेतलाई त्यागी विदेश जाने, उतै पलायन हुने घर–घरको कहानी भइसकेको छ। यसबाट उत्पन्न भएका सामाजिक, आर्थिक, पारिवारिक चुनौतीहरू दिनदिनै बढ्दो सामाजिक सञ्जालमा हेर्न र सुन्न पाइन्छ। आर्थिक हिसाबले कमजोर परिवारदेखि अर्बौँ सम्पत्ति हुने परिवार यो चपेटाबाट मुक्त भएको देखिँदैन। एकताका आफ्नो छोरा अथवा छोरी विदेशमा छ भनी गर्वका साथ समाजमा सुनाउँदै हिँड्ने दिन थियो तर आज त्यसको ठीक उल्टो भएको छ ।

जनिथ फर्केर नेपाल आए, अरूले जे प्रतिक्रिया दिएपनि परिवार खुसीले गदगद थियो र छ । दीनदुःखी जनता सेवा पाएर खुसी भएको सुनेको छु । आज गर्वका साथ मेरो छोरा नेपालमा छ भन्दा रमाइलो लाग्छ ।

आफ्नो पेसामा स्थापित हुन जनिथलाई त्यति सजिलोचाहिँ भएन । सर्वप्रथम त विषयगत मिल्ने जागिर पाउन नै भौतारिन प-यो । छ महिनाभन्दा बढी समय जागिर खोज्नमै लाग्यो। सरकारी अस्पताल पहिलो प्रथमिकता भए पनि पाउन सकेन किनभने उसले कसैको चाकडी गरेन । बल्लतल्ल एउटा प्राइभेट अस्पतालमा अफर आयो । केही महिना काम गरेपछि भक्तपुर क्यान्सर अस्पतालमा थोरै तलब भए पनि विषयगत अस्पताल भएकोले काम गर्न पुगे । आउनजान पेट्रोलको खर्च समेत नपुग भए पनि खुसीका साथ आफ्नो काम गरिनै रहे। तर अस्पताल चलाउने गैरसरकारी संस्थाको फितलो व्यवस्थापन, पदाधिकरी र सल्लाहकारहरू (जो हाल सकारात्मक सोचको अभियन्ताको रूपमा समेत परिचित छन्)को व्यक्तिगत आकांक्षा, भ्रष्टाचार र अक्षमताका कारण ऊ समेत अधिकांश डाक्टरहरू पेसागत रूपमा असन्तुष्ट जनाई जागिर छाडन बाध्य भए । हाल भक्तपुर क्यान्सर अस्पतालको जिम्मा नेपाल सरकार र भक्तपुर नगरपालिकाको संयुक्त व्यवस्थापनमा चलिआएको छ । जनिथ हाल नयाँ व्यवस्थापन आएपछि फेरि मागअनुसार आफ्नो भोलन्टरी सेवा दिँदै आएको छ ।

No description available.

नेपाल चिकित्सा विज्ञान प्रतिष्ठानअन्तर्गत ट्रमा सेन्टरमा सरकारी छनोट प्रक्रिया सफलतापूर्वक उत्तीर्ण गरी वरिष्ठ हाड जोर्नी क्यान्सर चिकित्सकको रूपमा कार्यरत रहीआएको छ । जनिथ शल्यक्रियाको अलावा पोस्ट ग्रयाजुएट गर्ने डाक्टरहरूलाई अध्यापन गर्दै आएको छ। उसको मिहिनेत, पेसाप्रति लगावले गर्दा सीमित स्रोत र साधनका बाबजुद दिनप्रतिदिन उकासिँदो सेवा दिन सकेको सुनेको छु। आर्थिक अभाव हुने गरिब बिरामीहरूलाई आफूले नै विभिन्न माध्यमबाट आर्थिक संकलन गरी सहयोग गरेका धेरै उदहारण देखेको छु। त्यसको अलावा सार्कोमा क्यान्सरसम्बन्धी सेवा काठमाडौंका सबै ठूला अस्पतालहरूमा योगदान दिँदै आएको छ ।

‘सार्कोमा क्यान्सर’ हाल नेपालमै उपचार गर्नसक्ने वातावरण सर्जन भएको छ । हाडजोर्नी क्यान्सर डाक्टरहरूको सञ्जाल ३ टीमसार्क बनिसकेको छ। हालै ३ टीमसार्कको आयोजनामा बृहत् सञ्जालको स्थापना गरी पहिलो अन्तर्राष्ट्रिय कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ जसमा नेपालीको अलावा मित्रराष्ट्र भारतका वरिष्ठ विषेशज्ञको पनि सहभागिता थियो ।

जनिथले राम्रो गरिरहेको सुनिन्छ । कामको सिलसिलामा उतारचढाव भए पनि अझै धेरै गर्न प्रतिबद्ध देखिन्छ । अचानक २०२३ को फेब्रुअरी १० मा उनले आफूले सपनामा पनि नसोचेको घृणित घटनाको सामना गर्नुप¥यो जुन सम्पूर्ण डाक्टरलगायत स्वास्थ्यकर्मीहरूका लागि खपीनसक्नु पीडा, दुःखका साथै चुनौती थियो। यो लेख्दालेख्दै स्वास्थ्यकर्मीहरूमाथि अरु थप ज्यादती गरेका समाचार आइसकेको छ ।

हुन त यो डाक्टरमाथि भएका ज्यादतीको देशभरका जनता, सम्पूर्ण संघसंस्था, बुद्धिजीवी, केही राजनीतिक दलहरूले समेत स्वतः स्फूर्त विरोध नजनाएको होइन । देशका सम्पूर्ण अस्पताल एक दिन ज्यादतीको विरोधमा बन्द गरी ऐक्यबद्धता जनाए । केही दिन सामाजिक सञ्जाल, अनलाइन, डिजिटल मिडिया, सडक आदिमा समेत व्यापक चर्चा चल्यो मानौं तुरन्तै कारबाही होस् । सरकारले सो घटनाको छानबिन गर्न समिति गठन गरी एक हप्तामा प्रतिवेदन पेश गरी न्याय दिने उल्लेख ग-यो । प्रहरी हवल्दारलाई निलम्बन पनि ग-यो । तर विडम्बना हालसम्म छानबिन कहाँ पुग्यो नेपाल मेडिकल एसोसिएसनलाई समेत थाहा छैन। डाक्टर जनिथले व्यक्तिगत तवरमा प्रहरी हवल्दारलाई माफी दिइएको घोषणा गरिसकेको अवस्था छ । विगतका अरु घटनाजस्तै यो पनि फासफुस हुने त होइन भन्ने अड्कल गर्न थालेको छ। संघीय संसद्मा यस विषयमा खासै ठाउँ पाउन सकेन ? के यही नै हो लोकतन्त्र ? राष्ट्रपतिले यो घटनाबारे बोल्नुपर्दैन ? सरकार पटक्कै गम्भीर भएको देखिएन ? यो कसले सुनिदिने हो ? के देशमा डाक्टर चिकित्साकर्मी नचाहिने ?

नेताहरू युवाहरू विदेश पलायनका कुरा गर्ने, भाषण गर्ने मागिखाने भाँडोजस्तै भइसक्यो। सुगाले ‘गोपी कृष्णको’को रटान दिएजस्तै यस विषयमा नबोल्ने सायदै कोही होला। यसरी शिक्षित स्वास्थ्यको मेरुदण्ड वर्गहरूलाई राज्यले नै अन्याय गर्ने, सुरक्षा दिन नसक्ने, न्यायको धोका बन्द गर्ने हो भने आफ्नो मातृभूमि, मेरो देश, राष्ट्रवादीको खोक्रो नारा दिएर युवा वर्ग त के सामान्य जनसमुदाय पनि देश छोड्न बाध्य हुनेछ ।

नेताहरूले एक–अर्कालाई गालिगलोच गरेको, धोका दिएको, बोल्नै नहुने सार्वजनिकरूपमा बोलेको देखेर जनताले कस्ताको हातमा देश हाँक्ने जिम्मा दियो भन्ने पक्कै लागेको छ होला । जनतालाई कस्तो सन्देश दिएको हो ?

No description available.

नयाँ सरकार बनेको झण्डै सय दिन भइसकेको छ। आजसम्म देशका जल्दाबल्दा समस्या समाधान तथा विकासको कुरा उठेको सुनिँदैन । कान नै पक्नेगरी गठबन्धन, नयाँ गठबन्धन, को प्रधानमत्री बनाउने, को संवैधानिक पदमा जाने, राष्ट्रपति को हुने, कसरी शक्ति बाँडफाँट गर्नेबाहेक कुनै जनहितका कुरा गरेको सुनिएको छैन। विगतका यी दिनहरूमा आशा गरेका वैकल्पिक नयाँ दलहरू र नवप्रवेशी संघीय युवा नेताहरूको सक्षमता पनि उदाङ्गिएको छ । बुझ्नेले त राम्रै बुझेको छ तर सबै लाचार छन्। के यसरी देश विकास हुन्छ ? देश कतातिर जाँदै छ ?

डा. प्रेम ज्ञवालीले त्यसै आफ्नो मनका कुरा लेखेको होइन होला । लेखमा कति पीडा छ, अपमानित भएको भावना, निराशा, क्रोधका झझल्को प्रस्ट देखिन्छ। डा. प्रेम ज्ञवाली एक प्रतिनिधि पात्र मात्र हुन् । उनीसँग परिचय छैन । डा. ज्ञवालीलाई हाम्रो सलाम छ ।

हुन त डाक्टर जनिथ आफ्नो अस्पतालको नियमित कर्तव्यमा लागिसकेको छ । तैपनि देशले गरेको अन्यायप्रति ऊ लगायत लाखौँ चिकित्साकर्मीहरूले के सोचेका होलान् ? त्यो घाउ कहिले निको हुने होला ? मनमनै प्रश्न गरेँ के डाक्टरलाई देश फर्काएर गल्ती गरेकै हो त ?


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया