सकारात्मक चिन्तन : रचनात्मक जीवन
काठमाडौं । मानव जीवनमा सकारात्मक सोच र चिन्तनको ज्यादै ठूलो महत्व रहेको हुन्छ । विज्ञानले पनि सकारात्मक सोचको महत्वबारे प्रमाणित गरिसकेको छ । विज्ञानले के पुष्टि गरेको छ भने हामी जति सकारात्मक सोच राख्छौं हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा त्यति नै सकारात्मक प्रभाव पर्ने गर्दछ । अर्थात् सकारात्मक सोच राख्ने व्यक्ति शारीरिक र मानसिकरूपमा पनि स्वस्थ र तन्दुरुस्त रहने गर्दछ ।
तर हामीले बुझ्नुपर्ने एउटा महत्वपूर्ण कुराचाहिं के हो भने सकारात्मक सोच राख्नको लागि हाम्रो दैनिक कर्म र व्यवहार पनि सकारात्मक नै हुनुपर्दछ । नत्र भने काम कुराचाहिँ नकारात्मक गर्ने अनि सोचाइ मात्र सकारात्मक राख्न खोज्ने हो भने त्यसको कुनै अर्थ वा उपादेयता रहँदैन । जस्तो चुरोट र खैनीको अम्मली बन्ने अनि मलाई क्यान्सर लाग्दै लाग्दैन भन्ने त्यस्तो खालको सकारात्मक सोच राखेर हुँदैन । भक्तपुरको बाटो हिंड्ने अनि म अवश्य पनि काठमाडौं पुग्छु भन्ने त्यस्तो किसिमको सोचाइ राखेर पनि हुँदैन । भनाइको तात्पर्य यदि हामीले आफ्नो मन मस्तिष्कलाई सकारात्मक सोचतर्फ उन्मुख गराउने हो भने हाम्रो कर्म र व्यवहार पनि सोहीअनुरूप सकारात्मक हुनु पर्दछ । हामी जति असल कर्म गर्दै जान्छौं त्यही मात्रा वा अनुपातले हाम्रो विचारमा पनि शुद्धता आउन थाल्दछ । र, यसको विपरीत यदि हामीले गलत कर्म अथवा गलत व्यवहार गर्दै गयौं भने हाम्रो विचार र हाम्रो संकल्प पनि सोहीअनुरूप प्रदूषित बन्दै जान्छ । जब मानिसको सोचाइ नकारात्मक हुन्छ तब उसले हरेक कुरामा नकारात्मकता देख्न थाल्दछ । र, यसरी नकारात्मक सोचाई राख्ने मानिस शारीरिक र मानसिक रूपमा पनि रोगी बन्न पुग्दछ ।
आज मानिस भौतिक दृष्टिले सुखी र सम्पन्न देखिए पनि आध्यात्मिकरूपमा भने कमजोर र निरिह बन्दै गइरहेको हो कि जस्तो महसुस हुन थालेको छ । वास्तवमा आध्यात्मिकरूपमा देखिएको यही कमजोरी र निरिहपनले गर्दा आज मानिसको विचार र संकल्प पनि सकारात्मकभन्दा बढी नकारात्मक नै बन्दै गइरहेको देखिन्छ । जसको परिणामस्वरूप आज हाम्रो समाजवरपर विभिन्न प्रकारका हत्या, हिंसा र बलात्कारका घटनाहरू पनि बढ्दै गइरहेको हामी पाउँछौं । यद्यपि यस्ता अपराधजनक घटनाहरू नियन्त्रणका लागि भनी राज्येले कानुनको यथेष्ट व्यवस्था नगरेको होइन, गरेको छ । तर पनि समाजमा यस्ता हिंसा र अपराधका घटनाहरू घट्नुको साटो दिनप्रतिदिन बढ्दै गइरहेको देखिन्छ । यसबाट के स्पष्ट हुन्छ भने कानुनले मात्र पनि यसको निराकरण गर्न सकिने अवस्था छैन । यसको लािग मानिसको सोच र चिन्तनमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता देखिन्छ । यसकारण मानव मनमा सकारात्मक चिन्तन बनाइराख्न र नकारात्मक चिन्तन गर्ने बानीलाई परित्याग गर्न अब हामीले समाजमा आध्यात्मिक जागरण पनि ल्याउनु पर्ने आवश्यकता देखिन्छ ।
यसरी मानव जीवनमा आध्यात्मिक जागरणको कुरा गर्दा सकारात्मक सोचको विकास गर्ने एउटा महत्वपूर्ण पक्ष हो सन्तोष । किनकि असन्तुष्ट मानिसले कहिल्यै पनि सकारात्मक सोच राख्न सक्तैन । हाम्रो संस्कृतिमा पनि एउटा भनाइ छ – ‘सन्तोषम् परम् सुखम्’ अर्थात् सन्तोष नै सबैभन्दा ठूलो सुख हो । जब मानिस सन्तोष रहने अभ्यास गर्दछ तब उसको सोचाइमा पनि सकारात्मक परिवर्तन आउन थाल्दछ । किनकि असन्तोष मानिस कहिल्यै पनि सुखी रहन सक्तैन । बरु ऊ सधैँ नकारात्मक सोच र चिन्तनमा नै डुबिरहेको हुन्छ । त्यसो भन्दैमा फेरि ‘आपूm त सन्तोषी मान्छे परियो’ भनेर दिनभरि खाटमा सुतेर बसिरहनुपर्छ भन्ने पनि होइन । सन्तुष्ट रहनु भनेको कर्म नगरी त्यत्तिकै निष्क्रिय बस्नुपर्छ भन्ने कदापि होइन । बरु सन्तुष्ट रहनु भनेको आफ्नो कर्ममा निरन्तर लागिरहनु र त्यसबाट जे–जस्तो फल प्राप्त हुन्छ त्यसलाई सहजरूपमा ग्रहण गर्नु र आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले अगाडि बढ्ने प्रण गर्नु हो । यस अर्थमा अल्छी र निष्क्रिय व्यक्ति कहिले पनि सकारात्मक रहन सक्तैन । फेरि नकारात्मक सोच राख्ने मानिस शारीरिक र मानसिक रूपमा पनि रोगग्रस्त भइरहेको हुन्छ । स्वास्थ्य विज्ञानले पनि प्रमाणित गरिसकेको छ कि मानिस जति नकारात्मक सोच राख्छ उसको शरीरको रक्त प्रवाह पनि विषाक्त बन्दै जान्छ । फलस्वरूप उसको रोग प्रतिरोधात्मक क्षमता घट्न गई उसलाई विभिन्न प्रकारका रोगहरूले आक्रमण गर्न थाल्दछ । मानिस जब रोगी हुन्छ तब स्वाभाविकरूपमा उसले जीवनमा उत्पादनशील कार्य गर्न सक्तैन । उसको जीवनको महत्वपूर्ण समय त्यत्तिकै खेर जान्छ । अन्ततः ऊ स्वयंको लागि मात्र नभई अरुको लागि समेत बोझ बन्न पुग्दछ । त्यसैले आध्यात्मिक ज्ञानले ओतप्रोत स्वस्थ र सकारात्मक चिन्तनबाट नै हिंसारहित समाजको निर्माणमा टेवा पु-याउन सकिन्छ ।
वास्तवमा मनुष्य जीवन सुख दिन, सुख लिन, प्रेम सद्भावना बाँड्न र प्रेम सद्भावना प्राप्त गर्न, खुशी रहन अनि खुशी बाँड्नका लागि नै परमात्माबाट प्राप्त भएको अनुपम उपहार हो । यसको सही प्रयोजनबाट मानिस स्वयं तथा अन्य हजारौं लाखौं प्राणीहरूको उपकार र कल्याण गर्न सक्तछ । मनमा यदि सकारात्मक विचार र संकल्पहरू चल्दछन् भने मानिसभित्रको शक्ति पनि त्यही अनुपातमा वृद्धि हुन पुग्दछ । तर यसको विपरीत नकारात्मक प्रकृतिका विचारहरू मात्र मनमा उत्पन्न भइरहन्छन् भने परिणाम पनि त्यहीअनुसारको प्राप्त हुनजान्छ । अंग्रेजीमा पनि एउटा भनाइ छ– जस्तो बीउ तिमी रोप्छौ त्यस्तै फल प्राप्त गर्दछौ । निश्चितरूपमा हामी जस्तो सोच्दछौं त्यस्तै प्रकारको व्यक्तित्व र जीवनशैली हामी निर्माण गरिरहेका हुन्छौं । त्यसैले आज मानिसको मनमा चिन्ता, भय, तनाव र हिंसाको भावना उत्पन्न हुनुको मूल कारण पनि यही सत्य ज्ञान र सकारात्मक सोचको अभाव नै हो भन्न सकिन्छ ।
तसर्थ आजको मानिसले भौतिक सुखसुविधामा मात्र अत्यधिक लिप्त नभएर स्वयंलाई आध्यात्मिक ज्ञानबाट पनि ओतप्रोत गर्नुपर्ने आवश्यकता देखिन्छ । आफ्नो आन्तरिक शक्तिलाई खेर जान नदिन कहिलेकाहीं शान्तपूर्वक बसेर अन्तर्मुखी बनी आत्मचिन्तन र शुभ चिन्तन अर्थात् सकारात्मक चिन्तनको अभ्यासलाई पनि हामीले प्रधानता दिने गर्नुपर्ने हुन्छ । यसबाट हामी आफ्नो कर्मक्षेत्रमा निश्चिन्त र निर्भिकताका साथ सजग र चेतनशील बनेर आफ्नो मानवीय कर्तव्य र दायित्व निर्वाह गर्न सक्तछौं भने यस किसिमको आध्यात्मिक ज्ञानबाट परिचालित सकारात्मक चिन्तन र रचनात्मक जीवनशैली दिनको शुभारम्भदेखि नै नियमित र व्यवस्थित ढंगले सञ्चालित हुने गर्दछ । यस अर्थमा सकारात्मक चिन्तनका लागि आवश्यक साधन भनेको आध्यात्मिक ज्ञानका आधारमा परमात्मामा अटुट आस्था र विश्वास राख्नु पनि हो ।
संक्षिप्तरूपमा भन्नुपर्दा मानिसमा सकारात्मक चिन्तन र रचनात्मक जीवनशैलीबीच एक–अर्कासँग अन्तरनिहित सम्बन्ध रहेको हुन्छ । त्यसैले सकारात्मक चिन्तन र रचनात्मक जीवनशैलीलाई दिगोरूपमा अपनाउन सक्ने व्यक्तिले नै सबै क्षेत्रमा सन्तुलन कायम राख्दै सबैको आशीर्वाद र शुभ भावना प्राप्त गरी सुखद् र आनन्दमय जीवनयापन गर्न सक्तछ र अरुलाई पनि त्यस किसिमको जीवन निर्वाह गर्ने प्रेरणा दिन सक्तछ । निश्चितरूपमा यसबाट हिंसारहित स्वच्छ र स्वस्थ समाज निर्माणमा पनि महत्वपूर्ण टेवा पुग्न जान्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया