Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसंकटमा ‘लाटोकोसेरो’हरूको संविधान

संकटमा ‘लाटोकोसेरो’हरूको संविधान


काठमाडौं । इसपनीति कथामा ‘लाटोकोसेरो’ (उज्यालोमा आँखा नदेख्ने)हरूले नयाँ संविधान जारी गरेको एउटा प्रसङ्ग आउँछ । उनीहरूको ‘संविधानसभा’मा ‘घाम (उज्यालो)को अस्तित्व छ कि छैन ?’ भन्ने प्रश्नमा ठूलो बहस हुन्छ । उज्यालो देख्न नसक्ने भए पनि महसुस गर्न सक्नेहरूले ‘घामको अस्तित्व’ छ र त्यसको स्वीकृति नयाँ संविधानमा उल्लेख गर्नुपर्छ भनेर आफ्नो दलिल पेश गरेका थिए । तर अन्त्यमा ‘घामको अस्तित्व छैन’ भन्नेमा दुई तिहाइभन्दा बढी मत पुग्छ र त्यहीअनुसारको संविधान जारी हुन्छ । ‘घामको अस्तित्व छ’ भन्नेहरू अल्पमतमा पर्छन् र उनीहरूले निषेध र बहिष्कार झेल्नु पर्छ ।

हाम्रो विसं २०७२ असोज ३ गते जारी भएको वर्तमान संविधान पनि उल्लिखित लाटोकोसेरोहरूले जारी गरेको संविधानजस्तै भएको छ । यो संविधान जारी हुनुअघि छ सय एक जना सभासदहरूले तीन महिनाभन्दा बढी समय लागाएर सम्पूर्ण राज्यसत्ताको पनि सहयोग लिएर हरेक नेपालीजनका घरदैलो पुगेर एकखालको जनमत संग्रहजस्तो गरेका थिए । त्यसमा ७५वटै जिल्लाबाट मत संकलन गरी सयौँ बोराका पोकाहरू राजधानीको बानेश्वरस्थित संविधानसभा बैठक भवनसम्म आइपुगेका पनि थिए । त्यसमा अन्तर्राष्ट्रिय पर्यवेक्षणहरू समेत हाजिर गराएर मत सर्वेक्षण डाटा संकलन गरिएको थियो । त्यसमा ८० प्रतिशतभन्दा बढी जनताले ‘संघीयता चाहिँदैन’ भनेका थिए भने ९० प्रतिशत जनताले ‘धर्म निरपेक्षता चाहिँदैन’ भनेका थिए । तर अन्त्यमा लाटोकोसेरोहरूले घामको अस्तित्व नदेखेजस्तै हाम्रा छ सय एक सभासदहरूले पनि ८० प्रतिशत ९० प्रतिशत जनसंख्याले नचाहेका ‘संघीयता’ र ‘धर्म निरपेक्षता’ लादेरै छाडे । ‘गणतन्त्रका’का बारेमा चाहिँ प्रश्न नसोधिएको भन्ने छ । त्यो किन भने राजसंस्था त्यसबखत पहिले ‘कमरेड’ र अहिलेका ‘मिस्टर’ प्रचण्डले भनेका जस्तो गएकै थिएन ।

ती संकलित सयकडौँ बोराहरू खाल्डो खनेर पुरिए भनेर वरिष्ठ अधिवक्ताहरू स्वागत नेपाल, बालकृष्ण न्यौपाने, डा. सुरेन्द भण्डारीदेखि पछिल्ला चरणका धेरै चर्चित वकिल नवजागरण अभियन्ता ध्रुवलाल श्रेष्ठहरूलगायतले दैनिक नै जस्तो टीभीका पर्दाहरूमा मुद्ददा उठाइरहने गर्नुभएको मैले यहाँ थप वर्णन ल्याउनै परेन । यसैकारण मैले वर्तमान संविधानलाई जारी भएका दिनदेखि नै ‘यो लाटोकोसेरोहरूको संविधानजस्तो हो र यो धेरै दिन चल्दैन । मात्र आम हाम्रो जनमत घामको अस्तित्व महसुस गर्न नसक्ने लाटोकोसेरोहरूजस्तो कविलाई चेतना र दासमानसिकताबाट माथि उठ्न सकेका दिन (नवजागरण पादुर्भाव) यो संविधान पनि खाल्डो खनेर पुरिने निश्चित छ’ जारी भएका दिनदेखि नै लेख्दै बोल्दै आइरहेको र यो तथ्यबाट कुरो सुरु नगरी अगाडिको मार्गदर्शन पनि नहुने निश्चित छ ।

यी सबै तथ्यहरूको वर्णन ल्याएर आजको संकट निवारणको उपाय खोज्नु निकै चुनौतिपूर्ण कार्य भएको छ । त्यसका लागि उपयुक्त शास्त्र र शस्त्रको खोजी अपरिहार्य भएको छ । कुरो कहाँबाट प्रारम्भ गरेर कहाँ बिट मार्ने ? यस्ता स्तम्भ लेखनमा क्रमशः गरेर अगाडि बढ्नु आवश्यक हुन्छ । क्रमशः गर्दा आफ्नै साक्षात्कार अनुभवका दशी साक्षीले पुष्टि र प्रमाणित तथ्यहरू र घटित परिणामहरू टुक्रा–टुक्रा गरेर वर्णनमा ल्याउँदा नयाँ पुस्तालाई सजिलैसँग बुझ्न र आत्मजागरण हुन सहज हुन्छ ।

उदाहरण एक पर्यटकीय नगरी पोखरामा सम्पन्न एउटा कार्यक्रम प्रसङ्ग अभिलेख गर्छु । यो धेरै टाढाको उदाहरण होइन । नेपाली कांग्रेसको पछिल्लो महाधिवेशन सम्पन्न हुन यस्तै एक/डेढ वर्ष बाँकी थियो होला । त्यसबखत जननायक विश्वेश्वरप्रसाद कोइरालाका कान्छा पुत्र नेपाली कांग्रेसका महामन्त्री तथा सांसद पनि शशांक कोइाराला ‘कांग्रेसभित्र शेरबहादुर देउवालाई सभापति उम्मेदवारमा पराजित गर्नसक्ने एक मात्र बलियो उम्मेदवार म मात्रै हुँ’ भन्दै देश दौडाहामा निस्केका कार्यक्रम हुन्थ्ये । नेपालको राजस्व (कर) चोरी र ठगीमा शिरोमणि नाम कहलिएका व्यापारीहरू (उद्योगपतिलाई त डा. रामशरण महत, महेश आचार्यजस्ता सत्ताधारी अर्थशास्त्रीहरूले खुट्टा टिक्नै दिएनन्)को एउटा झुण्डले पनि उनलाई घेरेर बोकेका हुँदा हेलिकोप्टर हवाईजहाज जतिखेर जहाँ पुग्न पनि उनलाई सुविधा उपलब्ध थियो ।

हाल गण्डकी प्रदेशका कांग्रेस प्रमुख, १६ वर्ष कास्की कांग्रेसको सभापति हुँदै केन्द्रीय सदस्य, सांसद पनि भएका बीपी, गणेशमान, कृष्ण प्रसाद भट्टराईको सहयात्री भएर सारा जीवन कांग्रेसमा बिताएका एक पाको भलादमी जननेतृत्व हुन्, शुक्रराज शर्मा । कांग्रेसभित्र उनीबारे शेरबहादुर देउवाको ढोकामा सशरीर लात्ताले हानेर शेरबहादुर देउवाभन्दा पनि अझ खतम शेखर कोइरालाको पोल्टामा पुगेको भन्ने पनि चर्चा छ । उनले नै लेखेको ‘कांग्रेसमा संकल्पित ५२ वर्ष’ नामक पुस्तकको विचार विमर्श समीक्षा कार्यक्रमको प्रमुख अतिथि भएर शशांक कोइराला पोखरा पुगेका थिए र पुस्तक प्रस्तुति—सम्पादकका हैसियतले मेरो पनि शशांकजीसँग जम्का भेट हुनपुग्यो । त्यो कार्यक्रममा शशांक कोइरालालाई भिमबहादुर तामाङले वनारसको सारनाथमा औँला समाएर सिंगान पुछ्दै बोर्डिङ स्कुल लाँदा/ल्याउँदाका बखत आफू गंगा किनारको बालुवाको थुप्रोको आड लिएर ‘सहिद क्याप्टेन यज्ञबहादुर थापा’का रिक्रुट पूर्वमन्त्री गोपाल राईसँग पेस्तोल बन्दुक चलाउन सिकिरहेको देखि अहोरात्र कांग्रेस भइरहँदा पनि शशांक कोइरालाले नचिनेको मैले बोल्दा ‘कांग्रेको महामन्त्री भएर रेवती रमण सुवेदीलाई न चिन्ने यो कस्तो कांग्रेस होला ? अहिलेसम्म मैले बुझेको छैन’ त्याहाँ प्राडा सुरेन्द्र केसीले कांग्रेसलाई प्रश्न गरेका जस्ता अन्य विवरण यहाँ आवश्यक पनि भएन । औचित्य पनि हुन्न । मूल कुरो त्यहाँ मैले शशांकलाई सल्लाह दिएको र अहिले आएर परिणामबाट लादिएको संविधान संकटमा कसरी पुग्यो भन्ने एउटा टुक्रा उदाहरण प्रसङ्गमै आउँछ ।

‘शशांकजी ! तपाईँ जननायक बीपी कोइरालाको कान्छो प्यारो छोरा भएका नाताले शेरबहादुरलाई सभापतिमा हराउँछु जस्तो लागेको होला । नेपाली राजनीति पछिल्लो जटिलता नबुझेका कारण त्यस्तो लागेको होला । तपाईँ रामचन्द्र पौडेलको भरमा बोलिरहनुभएको छ । लेखेर राख्नुहोला अन्तिम समयमा रामचन्द्रले तपाईँलाई लात हानेर शेरबहादुर देउवाको इँजार समाउनेछन् । कुनै पनि हिसाबले तपाईँलाई कांग्रेसको सभापति हुन दिइँदैन । जननेता हुने बाटो भने तपाईँलाई अहिलेदेखि नै खुकुलो छ । सात प्रदेश संघीयता नेपाल सिध्याउन ल्याएको रहेछ भन्ने त अहिलेसम्मका बाबुराम, प्रचण्ड, माधव या भनौँ १२ बुँदे दिल्ली सम्झौताका भागिदारहरूका लगौंटी खुस्किएका क्रिया कलाप गतिविधि सबै घामजत्तिकै छर्लङ्गै भइसकेकै छ । आजकै मिति यहीँबाट नेपाली कांग्रेसका महामन्त्रीका हैसियतले बीपी विचारको शपथ खाएर ‘सात प्रदेश खारेजीको भद्र अवज्ञा आन्दोलन’ उद्घोष गर्नुहोस् । तीन करोड संख्यामा एक करोड जति त विदेशी मुलुकहरूमा भौतारिन विवश जम्मा दुई करोड जनसंख्या माथि शासन गर्न केन्द्रको सांसद संख्या र भवन सुविधा व्यवस्थापन नै अनावश्यक ठूलो र भड्किलो भइरहेकोमा त्यस्ता सात/सात वटा महंगा र भड्किला संरचनाहरू नेपालले थग्नै सक्दैन । यो हन्ड्रेड प्रतिशत पूराको पूरै नेपाल राष्ट्र चलाउन विदेशीलाई ठेक्का दिने डिजाइनअन्तर्गतको छ ।

त्यहाँ मैले के सोचेर शशांक कोइरालालाई यो सल्लाह दिएको थिएँ र त्यहाँबाट हिँडेका शशांक यो तीन/चार वर्षको अवधिमा कहाँ–कहाँ हुँदै अहिले आएर त अनागरिक बनाइएका फुच्चे पत्रकार रवि लामिछानेले चलाएको गृह मन्त्रालय समाल्न हानाथाप गरिरहेका भेट्दा छक्क पर्नुजस्तो हुनु त आफ्ना ठाउँमा भइहाल्यो । त्योभन्दा पनि महत्वपूर्ण कुरा त नेपाली कांग्रेसको सोच समझ नियत तीन करोड नेपालीमाझ नै छर्लङ्ग हुने कुरो हो । यहाँ व्यक्ति शशांक कोइराला गौण भएर समग्र बीपी, गणेशमान, कृष्ण प्रसाद भट्टरार्ई, महेन्द्र नारायण निधी, सीके प्रसार्ईँहरूको कांग्रेसको इतिहास प्रजापरिषद्जस्ताहरूको भन्दा पनि धुजाधुजा भएको उदाहरण हो । जब कांग्रेसको यो हालत र हविगत टड्कारो भइसकेको छ भने र छिमेकी भारत र चीनले पनि अब नेपालका पछिल्ला देउवा, ओली, माधव, प्रचण्ड, बाबुराम, उपेन्द्र यादव, कमल थापा आदि इत्यादिका पार्टीहरूलाई चलाउनु भनेको ‘गुहु कोट्याउँदा गनाउने’ जस्तै मात्र हुने बुझिसकेकाले उनीहरू पनि अब नेपाललाई स्थिरता दिने निर्णयमा पुगेका सर्वत्र सूचनाहरू रेकर्ड भइरहेका छन् । भनेपछि अब पनि संघीयता थेगिने कल्पना गर्नु कविलाई चेतना या दास मानसिकता मात्र हुन जान्छ । यसैकारण लाटोकोसेरोहरूको संविधान शैलीले लेखिएको संघीयता धर्मनिरपेक्षता लादिएको चालू संविधानको अन्त्येष्टि अपरिहार्य हुन आइपुगेको पंक्तिकार ठहरमा पुगेको हो । अस्तु ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया