Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबढ्दै गइरहेको साइबर अपराधका चुनौतीहरू

बढ्दै गइरहेको साइबर अपराधका चुनौतीहरू


काठमाडौं । विश्वमा नयाँ–नयाँ अपराधको जन्म सूचना र प्रविधिको विकासले नै गर्दा भएको हो । साइबर अपराधले त्यस्ता अपराध वा कानुनद्वारा वर्जित क्रियाकलापलाई जनाउँछ जसमा कम्प्युटरजन्य प्रविधि र इन्टरनेट प्रणाली सन्निहत हुन्छ । कम्प्युटर प्रविधि र सोमा आधारित इन्टरनेट सञ्जालको दुरूपयोग गरी आफूले अनुचित फाइदा लिने र अर्का पक्षलाई भौतिक वा आर्थिक नोक्सानी पु¥याउने, हैरानी दिने, प्रतिष्ठामा गैरकानुनी आघात पु-याउने, सामुदायिक तनाव बढाउने एवं सार्वजनिक नैतिकतामा खलल पार्ने कुरालाई विभिन्न मुलुकहरूले विद्युतीय कसुरको कोटीमा राखेका छन् । वैज्ञानिक आविष्कार र नवप्रवर्तनले विश्वकै दैनिक जनजीवनमा अतुलनीय परिवर्तन ल्याएको छ ।

सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारसँगै द्रुत गतिमा प्रविधिजन्य अपराध पनि बढ्दै गएको छ । अहिले इन्टरनेट अपराध र साइबर सुरक्षा हरेक राष्ट्रको ज्वलन्त मुद्दा बनेका छन् । यसले हरेक राष्ट्रको अर्थतन्त्रमा नराम्रो प्रभाव पारेको छ । नेपालमा आईसीटीको विकास र सेवाको वितरणले सूचना तथा सञ्चार प्रविधिमैत्री समाज निर्माणलाई धेरै सहज बनाउनुका साथै नयाँ–नयाँ चुनौतीहरू पनि खडा गरिदिएको छ ।

विश्वव्यापी एक अध्ययनअनुसार विश्वका कुल साइबर अपराधमध्ये करिब २३ प्रतिशत अमेरिकामा हुन्छन् भने चीनमा ९ प्रतिशत र जर्मनीमा ६ प्रतिशत साइबर अपराध हुन्छन् । यसै गरेर विश्वमा कम्प्युटर कानुनको बारेमा प्रकाशित पहिलो आलेख सन् १९६० मा प्रकाशित रोय एन फिडद्वारा लिखित अ लयर्स गाइड थ्रो द कम्प्युटर म्याजलाई मानिन्छ । सन् १९७० देखि मुलुकहरूले व्यक्तिगत गोपनीयता जोगाउन मोटामोटीरूपमा कानुन निर्माण गर्न थाले ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार ६१ प्रतिशत नेपाली जनतासँग इन्टरनेट पहुँच छ । लगभग सबैजसो जनताले दूरसञ्चार सेवा लिएका छन् । डिजिटल डिभाइसहरूको प्रयोग पनि बढ्दो छ । दूरसञ्चार र इन्टरनेटका प्रयोगकर्ता बढिरहँदा यसको दुरूपयोगका घटना पनि बढिरहेका छन् । पछिल्ला केही घटनाहरू हेर्ने हो भने नेपालको साइबर स्पेस चौतर्फी खतरामा रहेको पाइन्छ । देश विदेशबाट नेपालको साइबर स्पेसमा कम्प्युटर, मोबाइल र यसका अन्य विभिन्न नेटवर्कहरूबाट आक्रमण हुने क्रम रोकिएको छैन । सरकार, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक, बैंक, एयरलाइन्सलगायतका कम्पनीका सिष्टममा अझै आक्रमण भइरहेका छन् । तर सबै घटना बाहिर आउँदैनन् ।

केही समय अगाडि नेपालका कतिपय सरकारी कार्यालयहरूको बेभसाइट ह्याक भएको घटना ताजै छन् । उदाहरणका लागि केही समयअघि माइक्रोसफ्टले सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा बढी ‘मालवेयर इन्फेक्सन’ हुने देशमा नेपाल चौथो स्थानमा रहेको तथ्य आएको छ । मालवेयर इन्फेक्सनको उच्च खतरा भएका विश्वका उच्च जोखिमका ५० देशहरूको अध्ययनमा शीर्ष १९ देशमध्ये १७ देशहरू एसिया क्षेत्रका देशहरू परेका छन् । यी देशहरूमध्ये पनि दक्षिण एसियाली मुलुक पाकिस्तान पहिलो स्थानमा छ भने बंगलादेश तेस्रो स्थानमा छ । नेपाल जताबाट हेर्दा पनि यो अपराधको उच्च जोखिममा रहेको देखिन्छ ।

कास्परस्की ल्याबको एक अध्ययनले नेपाल साइबर सुरक्षाको उच्च जोखिममा रहेको देखाएको छ । उक्त संस्थाको खोजी अध्ययनले नेपालका नौ ठूला बैंकहरूको प्रविधि र सिष्टम निकै खतरामा रहेको पुष्टि गरेको थियो । टर्कीको एक ह्याकर समूहले गत वर्ष नेपालका सानिमा बैंक र युनिभर्सल डेभलपमेन्ट बैंकमा रहेका निकै संवेदनीशल डाटा कब्जामा लिई अनलाइनमा पोस्ट गरेको घटना सबैलाई थाहा नै छ। त्यसैगरी, नेपालकै एक प्रतिष्ठित एयरलाइन्स कम्पनीको पूरै इमेल सर्भर ह्याक भएर नचाहिने इमेलहरू अन्यलाई पठाइरहेको तथ्य बाहिर आएको थियो । सोचौँ त यसरी इमेल सर्भरमै ह्याक हुन सक्छ भने भोलिका दिनमा एयरलाइन्स कम्पनीको ककपिटमा आक्रमण भयो भने कुन अवस्था आउला ? नेपालमा त्यो स्तरको सुरक्षाबारे अहिलेसम्म कसैले सोचेको पनि पाइँदैन ।

नेपालमा हाल साइबर अपराध भन्नेबित्तिकै अधिकांश घटना फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालबाट आउँछन् भन्ने बुझिन्छ । र त्यस्ता घटनालाई सामान्यरूपमा लिँदा झनै समस्या निम्तिरहेको छ । अहिले सामाजिक सञ्जालमा गाली, मानहानी वा चरित्र हत्याका पोस्ट मात्रै हुने गरेका छैनन् । यही माध्यमलाई अपनाएर ठूला करपोरेट हाउसहरूमा आक्रमण समेत हुन थालेका छन् । फेसबुकमा नचाहिने स्पाम छोडेर लक्षित कर्पाेरेट सेक्टरलाई पठाउने क्रम ब्यापक बढेको छ । साथै साइबर अपराधी वा लुटेराहरूले लक्षित वर्ग छान्दै अनलाइनमा सेक्स विज्ञापन, पोर्नोग्राफी वा अन्य सेक्स ब्यापार गर्ने र अनलाइन मनी ट्रान्सफरबाट रकम कारोबार गर्ने गरिरहेका छन् ।

सामाजिक सञ्जालबाट हुने गर्छन् धेरै अपराध
केही समय अगाडि मात्र नेपालकी चर्चित नायिका करिश्मा मानान्धरले आफूमाथि साइबर अपराध गरिएको भन्दै उजुरी गरेकी थिइन्। युट्युबतिर तथानाम अरुलाई गालीगलौज गरेर तथाकथित भाइरल बनेको भनिएका एक व्यक्तिले नायिका मानन्धरको चरित्रहत्या गरेको आरोप नायिकाको थियो । सेलिब्रेटी जोडिएको केस भएकाले यसले केही प्रचार पाएको थियो । सामाजिक सञ्जालमा हेर्ने हो भने यस्ता गतिविधि धेरैतिर र धेरै जनालाई भएको सिधा देखिन्छ ।

नेपालमा सबैभन्दा बढी सामाजिक सञ्जालबाट साइबर अपराध हुनेगरेको छ । फेसबुक, ट्वीटर, भाइबर, स्काइप, ह्वाट्एसप, इन्स्टाग्राम, इमोजस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता बढिरहेकोमा दिनहुँ जसो आठदेखि १० जना यस्ता सञ्जालबाट पीडित भएको भन्दै महानगरीय अपराध अनुसन्धान शाखाअन्तर्गतको साइबर क्राइम शाखामा उजुरी टिपाउँछन् । सबै अपराधको तथ्यांक स्वयं प्रहरीसँग पनि छैन । थोरै घटनाको उजुरी मात्रै प्रहरीसम्म पुग्ने गरेको छ । चेतना वा अज्ञानताका कारण र कतिपय इज्जत र लोकप्रतिष्ठाका कारण पनि उजुरी नभएका हुन्छन् । विद्युतीय कारोबार ऐनअन्तर्गत उजुरी भएका घटनाहरूलाई जिल्ला अदालत काठमाडौंले मात्रै हेर्ने व्यवस्था छ । नक्कली फेसबुक एकाउन्ट बनाएर गाली गलौज, धम्की, चरित्र हत्या गर्ने गतिविधि भइरहेका छन् । अधिकांश घटनामा महिला, नेता, कलाकार र प्रहरी स्वयम् नै परेका छन् ।

कतिपय अवस्थामा नेपाल साइबर अपराधको अखडा बन्ने हो कि भन्ने प्रश्न पनि उठ्न थालेका छन् । यसलाई पुष्टि हुनेगरी विभिन्न थरीका साइबर अपराधका घटना समेत भइरहेका छन् । तर, मुख्य कुरा हाम्रो साइबर सेक्युरिटीको संरचना नै कमजोर भएकाले झनै जोखिम निम्तिएको छ भने त्यसतर्फ सम्बन्धित निकाय र सरोकारवालाको ध्यान अझै यसतर्फ खास आकर्षित हुन सकेको छैन । कतिपय सन्दर्भमा जेमा पनि भैहाल्छ र चलिहाल्छ नि भन्ने चिन्तनले विषयको गार्म्भीयतालाई नजरअन्दाज गर्ने परिपाटी व्यापक छ ।

नेपालमा हाल विद्यमान विद्युतीय कारोबार ऐन २०६३ ले निम्न कार्यलाई साइबर अपराधअन्तर्गत राखेको छ ।
– कम्प्युटर, कम्प्युटर स्रोत संकेतको चोरी, नष्ट वा परिवर्तन गर्ने (दफा–४४)
– कम्प्युटर सामग्रीमा अनाधिकृत पहुँच – दफा ४५
– कम्प्युटर सूचना प्रणालीमा क्षति पु-याउने दफा ४६
– विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने दफा ४७
– सूचनाको गोपनीयता भङ्ग गर्ने दफा ४८
– झुट्टा व्यहोरोको सूचना दिने दफा ४९
– झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेस गर्ने वा देखाउने दफा ५०
– तोकिएको कागजमा दालिखा नगर्ने दफा ५१
– कम्प्युटर जालसाजी गर्ने दफा ५२
– कम्प्युटरसम्बन्धी कसुर गर्न दुरुत्साहन गर्न दफा ५३
– मतियारलाई सञ्जाय दफा – ५४
– नेपाल राज्यबाहिर गरेको कसुरमा हुने सजाय दफा – ५८
– अन्य सजाय दफा ५८
साइबर अपराध नियन्त्रणका सन्दर्भमा नेपालमा हाल कार्यान्वयनमा रहेको कानुन अधुरो र अपुग छ । समय सान्दर्भिक कानुन र संयन्त्रको विकास भएन् भने नेपालमा यो अपराध झन्झन् बढ्दै विकराल हुने देखिन्छ । साइबर अपराधसम्बन्धी विशिष्टीकृत कानुनको अभाव, विद्युतीय कारोबार ऐनले साइबर अपराधका नवीनतम कसुरलाई सम्बोधन गर्न सकेको छैन । उक्त ऐनमा अपराधीलाई हुने सजायको मात्रा तथा पीडितले पाउने क्षतिपूर्तिको मात्रामा धेरै समस्या छन् । साइबर सुरक्षाका सन्दर्भमा नेपालको तयारी निकै कम्जोर र लथालिङ्ग अवस्थामा रहेको पाउन सकिन्छ ।

अबको समयमा साइबर अपराध झन् बढेर जाने निश्चित भइसक्दा पनि त्यसको रोकथाम गर्न सरकारले सोअनुरूपको कानुन र प्रविधिलाई अनुसरण गर्नमा देखाइरहेको सुस्तता र द्विविधाले भोलिको समयमा झन् धेरै चुनौतीको सामना नेपालले गर्नुपर्ने हुन्छ । अतः समय रहँदै यो विषयको सम्बोधनमा सरकार तत्पर बनिहालोस् भन्ने आम नागरिकको अपेक्षा रहेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया